Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआफैँले स्वास्थ्य बिगार्दैछन् उपभोक्ताहरू

आफैँले स्वास्थ्य बिगार्दैछन् उपभोक्ताहरू


काठमाडौं । राजधानी काठमाडौबाट बस यात्रा गरी जाने र आउने यात्रुहरूले बसपार्कमा किन्ने गरेका गुँदपाक, पुष्टकारी, दालमोठ, भुजिया, चाउचाउ, कुरकुरेलगायतका अनेक तयारी खाद्यपदार्थहरू हतार–हतारमा किन्ने गरेको पाइन्छ । उपभोक्ताहरूले ती खाद्यवस्तुहरूको गुणस्तरका बारेमा अनभिज्ञझैँ हुन्छन् भने कतिपय उद्योगीले प्याकिङ गरिएका खाद्यवस्तुहरूको प्याकेटबाहिर उत्पादित मिति र म्याद सकिने मिति उल्लेख गरेको समेत पाइँदैन । त्यस्तै, ढुंगाअड्डा नाकामा गाडी रोकेको मौकामा बसको झ्यालबाट पुर्याएर होस् वा ढोकाबाट भित्रैसम्म छिरेर डुलुवा व्यापारीहरूले उपभोक्ताहरूलाई विभिन्न खाद्यवस्तु भिडाइहाल्ने गर्छन् । पानी पनि मिति र गुणस्तर चिह्न नहेरी किन्ने चलन छ । राजमार्गहरूमा उपलब्ध हुने चिजवस्तुहरू पनि उत्तिकै बिक्री हुने गरेको पाइन्छ । कोक, फ्यान्टा, फ्रुटीहरू किन्दा पनि उपभोक्ताहरू सचेत भएको पाइँदैन । होटल, रेस्टुरेन्टमा पाइने खाजा तथा खानाको गुणस्तरका बारेमा यहाँ उल्लेख नगर्दा पनि हुन्छ । किन कि यसबारे धेरैलाई जानकारी नै छ । जानकारी हुँदाहुँदै पनि बाध्य भएर उपभोक्ताले ती वस्तुहरू निर्धक्कसँग उपभोग गर्दै आइरहेका छन् । ठूला व्यापारिक संस्थाहरू (जस्तै– भाटभटेनी, बिगमार्ट) बाट बिक्री नभएका र म्याद नाघेका कतिपय खाद्य सामग्रीहरू कुनै–कुनै व्यापारीले सस्तोमा खरिद गरेर पुनः प्याकिङ गरेर र नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेका समाचारहरू पनि यदाकदा सुन्न र हेर्न पाइन्छ । सम्बन्धित सरकारी निकायबाट अनुगमनका कार्यहरू पनि बेलाबेलामा भइरहेको पाइन्छ । तर त्यो अनुगमन केवल नाम मात्रको हो भन्नुमा अत्युक्ति हुने छैन । उपभोक्ता हितमा गरिने अनुगमन मात्र होइन अन्य कैयन अनुगमनमा सरकारी संयन्त्रले प्रभावकारी कार्य गरेको पाइँदैन ।

कुनै समय न्यूरोड गेटनिर रहेको एउटा गुँदपाक पसलमा ज्यादै भीड हुन्थ्यो । त्यहाँको गुँदपाक ज्यादै राम्रो हुने दाबी गर्थे मान्छेहरू । पहिले–पहिले आ–आफ्ना गृहजिल्लामा लैजाने र परिवारका सदस्यहरूलाई खुवाउने गर्थे । तर त्यो पसलका साहुले मिठाई पसलहरूमा रहेका बासी र सडेका मिठाई जम्मा पारेर गुँदपाक तयार पार्ने गरिएको कुरा सञ्चारमाध्यममार्फत् छताछुल्ल भयो । उक्त पसल कारबाहीमा परेपछि हाल बन्द छ । त्यसपछि कति समयसम्म उपभोक्ताहरू गुँदपाक र पुष्टकारी उपभोग गर्नै छाडे । अहिले बसपार्क र ढुंगाअड्डा नाकामा गुणस्तरहीन गुँदपाक र पुष्टकारी बिकी गरिन्छन् भन्ने कुरामा शंका छैन । भनिन्छ, काठमाडौंका होटलहरूमा जेको पकौडा पकाए पनि बिक्री हुन्छ । त्यसैले कालोधन्दा गरेर दाम कमाउनेहरूबीच तँछाडमछाड हुनेगर्छ । कठमाडौंमा मान्छे ठग्न सजिलो छ । फेसबुकमा कुनै वस्तुको विज्ञापन गरेर अनलाइन सपिङमार्फत कारोबार गर्ने र गुणस्तरहीन सामान बेच्ने र पछि सम्पर्कविहीन हुने गरेको घटनाहरू पनि सुन्नमा आउँछ ।

उपभोक्ताहरू सडेगलेका, बासी र म्याद नाघेका खाद्यपदार्थ झुक्किएर वा लापरबाहीका साथ उपभोग गरेका कारण आफ्नो स्वास्थ्य बिगारिरहेका छन् । बजारमा पाइने चामललगायतका खाद्यपदार्थहरू आयात गरेको कैयन दिनसम्म पनि गोदाममा बसेको हुन्छ भने खुद्रा पसलसम्म पुग्दा निकै पुरानो हुने गरेका छन् । कतिपय खाद्यपदार्थहरूको भन्सार चेकजाँचका साथै नाकामा गुणस्तर पनि परीक्षण गरिनु आवश्यक छ । प्रायः चामलको बोरामा प्याकिङ इन नेपाल भनी लेखिएको हुन्छ । बजारमा पोषणमुक्त पुराना खाद्य सामग्रीहरूले बजार ढाकेको पाइन्छ । जुन वस्तुहरू कहिले आयात गरिएका हुन्छन्, खुद्रा बिक्रेता र उपभोक्तालाई नै थाहा हुँदैन ।

तरकारी तथा फलफूलको पनि नाकामा परीक्षण गरिँदैन । हेर्दा निकै ताजा लाग्ने ती फलफूल तथा तरकारीहरूमा कति विषादी बाँकी छ त्यो हेरिँदैन र सिधै आउँछ, मन्डीमा र बिक्री हुन्छ तथा भान्सा भान्सामा थोक तथा खुद्राको रूपमा पुग्छ । रासायनिक मल र विषादीका कारण सलक्क परेका र ताजा देखिने ती तरकारी र फलफूलले जनस्वास्थ्यमा कति नकारात्मक प्रभाव वा खराबी गर्छ भन्ने जान्दाजान्दै पनि उपभोक्ताहरू ती वस्तुहरू उपभोग गर्न बाध्य छन् । यता देश कृषिप्रधानबाट कुर्सीप्रधानमा परिणत भइसकेको छ । सम्बन्धित मन्त्रालय वा मातहतका सम्बन्धित निकायहरूले किसानहरूलाई वास्ता गरेको देखिँदैन । कैयन खेतबारीहरू बाँझै छन् । युवायुवतीहरू विदेशमा र बुढापाकाहरू र अशक्तहरू गाउँमा चिन्तित भएर बसेका छन् । सरकार देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ भन्दै मख्ख परेको छ । रेमिट्यान्सको पनि खासै सदुपयोग भएको पाइँदैन । वैदेशिक रोजगारीको क्रममा दश वर्षमा दश हजारले ज्यान गुमाएको आँकडा भर्खरै मात्र प्रकाशनमा आइसकेको छ ।

अहिले जिल्लाजिल्लामा रहेका साना होस् वा मध्यम खालका बजारहरूमा सहजैरूपमा अखाद्य र कम गुणस्तरका खाद्यवस्तुहरू खुलमखुला बिक्रीवितरण भइरहेको पाइन्छ । ड्राइफुड होस् वा ड्राइफ्रुट कतिपय खाद्यवस्तुहरू उपभोग गर्न लायकका छैनन् । गाउँघरका उपभोक्ताहरूको पाचन प्रणाली बलियो भएको कारणले केही थाहा हुँदैन । तर विस्तारैविस्तारै त्यस्ता वस्तुहरूका कारण उपभोक्ताहरू विभिन्न रोगका शिकार हुने गरेका छन् ।

गुणस्तरका सम्बन्धमा खाद्यवस्तुमा मात्र होइन अन्य कैयन वस्तुहरू गुणस्तरमा प्रश्न चिह्न उठ्न सक्छ । तीमध्ये औषधी पनि हो । केही समयअघि नेपालमा उत्पादित औषधीहरूमध्ये अधिकांश गुणस्तरहीन भएको समाचार आएको थियो । त्यसपछि कति सुधार भयो कतिलाई चेतावनी दिइयो र कतिलाई सजाय तथा जरिवाना गरियो त्यो भने प्रकाशमा आएको देखिँदैन । साल्ट ट्रेडिङ कर्पोरेसनबाट प्याकिङ हुने आयो नुनका बारेमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ । सो आयो नुनमा आवश्यकताभन्दा बढी आयोडिन मिसाइएको कारण उपभोक्ताहरूमा थाइराइडको समस्या देखिएको अध्ययनले देखाएको थियो । त्यस सम्बन्धमा सरकारले अध्ययन गरे नगरेको कतै भेटिँदैन र सुनिँदैन । त्यस्तै, दुग्ध विकास संस्थानले बिक्रीवितरण गर्दै आएको दुग्ध पदार्थहरूमा पनि कमीकमजोरीहरू नभेटिएका भने होइनन् । तर यस सम्बन्धमा अनुगमन गर्ने निकाय गम्भीररूपमा अगाडि बढेको पाइँदैन ।

धेरै वर्ष पहिले दाङमा सोह्रवटा कुकुरको मासु पकाएर एउटा होटलले दुष्कार्य गरेको सुनिन्थ्यो । एकपटक पोखरामा मरेका चल्लाहरूको मासुबाट बनेका परिकार बिक्री गरेको समाचार पनि नआएको होइन । लामो समयसम्म डिपफ्रिजमा राखेर होटल व्यवसायीहरू काम विशेषले हप्तौंसम्म गाउँघरमा गएका हुन्छन् । लगातार लामो समयसम्म फ्रिजमा राखिएको मासुबाट बनेका परिकारहरू उपभोक्तालाई बेचिन्छ । यस सम्बन्धमा कसले हेर्ने ? मलेखुमा त्रिशुलीका माछा भनेर जनकपुरका पोखरीका माछा खुवाउने काम गर्दै आएको सुन्नमा आउँछ । जनकपुरको माछा भनेर भारतका माछा पनि सहजै बिक्री वितरण हुँदै आएको पनि सुनिन्छ । एउटा नाम चलेको सेकुवा रेस्टुरेन्टले बोकाको भन्दै भैँसीको मासुका परिकार पकाउने गरेको पनि सुनिन्थ्यो ।

यो देशमा अग्र्यानिक खाद्य वस्तु भनेर अन्य वस्तु बेच्नेको पनि कमी छैन, विशेषगरी सहर बजारमा । अग्र्यानिक भनेर किनेर घरमा लगी पकाएर खाँदा खासै स्वाद नभएको कुरा पनि कतैकतै सुनिन्छ । अग्र्यानिक भनेर किनिने ती वस्तुहरू पनि निकै महँगा छन् । काठमाडौंमा फापरको पिठो २५० र कोदोको पिठो एक सय ३० रुपियाँसम्ममा बिक्री हुने गरेको छ । अहिले बजारमा कर्णालीको सिमीको दाल भनेर अन्यत्रै बिक्री गर्ने गरेको पनि पाइन्छ । मासका लागि प्रसिद्ध मानिने ठाउँका नामबाट पनि जुनसुकै ठाउँका मास बेचेर पनि विक्रेताहरूले धेरै नै फाइदा लिनेगरेको पाइन्छ । भारतबाट आयातीत स्याउ र सुन्तलालगायतका अन्य फलफूलहरू पनि नेपालका पहाडी तथा हिमाली क्षेत्रको भनी बिक्री गर्ने गरेको पाइन्छ । केही महिनाअघि भारतमा म्याद सकिएका बिस्कुट तथा चकलेट नेपालमा ल्याई नयाँ उत्पादन मिति राखेर बिक्री गरेको कुरा सञ्चार माध्यमहरूबाट जानकारी भएको थियो । तैपनि त्यस्ता समाचारहरूलाई पूर्णतया बेवास्ता गरी उपभोक्ताहरूले जानीजानी किनेर उपभोग गरेको पाइन्छ ।

कुनै पनि उपभोग्य वस्तु सस्तो छ भनेर किन्दा पनि डर छ । किनकि उपभोक्ता सस्तो हुनाको कारण थाहा पाउन चाहँदैनन् । गुणस्तरहीन खाद्यवस्तुहरू निर्धक्कसँग उपभोग गर्छन् । त्यसैका कारण आफ्नो स्वास्थ्य र ओइराउँछन् अस्पतालहरूमा पैसाका बिटाहरू बिगार्छन् । सस्तो बेसाले पखाला लाग्छ भन्ने उखान धेरैले सुनेका छन् तर जनमानसमा त्यो उखानलाई खासै वास्ता गरेको पाइँदैन । बरु उपभोक्ताहरूमा महँगो उपभोग गरौँ र स्वास्थ्य बचाऔँ भन्ने ध्याउन्न नै हुँदैन ।

भर्खरै मात्र एउटा टेलिभिजन समाचारमा बोतलबन्दी पानीमा लामखुट्टेको लार्भा नाचिरहेको देखिन्थ्यो । कुनै बखत यस्तै बोतलहरूमा लेउ लागेको र प्लास्टिक तथा फलामका टुक्रा पनि भेटिएको समाचार आएको थियो । फ्रुटीमा किराहरू भेटिएको समाचार पनि नआएको होइन । कुनै समय केक, फेन्टाका बोतलमा पनि ठोस बस्तुका टुक्राहरू भेटिएका थिए । सरकारले पनि यस्ता लापरवाही विकृति र विसंगतिविरुद्ध आक्रामक हुनुपर्नेमा खासै चासो दिएका पाइँदैन ।

प्याकिङ गरिएका बेसार, मसला र खुर्सानीको धुलोमा पनि मिसावट गर्ने गरेको पाइएको छ । यस्ता चिजहरू आफैँले तयार गर्न फुर्सद मिलाउन नसकेपछि प्याकेटमा मिसाइने वस्तुहरू उपभोग गर्नाले उपभोक्ताहरूको स्वास्थ्यमा नोक्सानी नपुग्ने कुरै छैन । उपभोक्ताहरूले चामलमा लगाइने गरेको पालिस पनि उत्तिकै हानिकारक भए पनि बाध्यतावश उपभोग गर्दै आएका हुन्छन् ।

सामान्य मात्र होइन शिक्षित उपभोक्ताहरू समेत उपभोग्य वस्तुप्रति सचेत भएको पाइँदैन । केटाकेटीहरूले हतारमा आइसक्रिम, केकजस्ता तयारी खाद्यवस्तुहरू ल्याएर सिधै भान्सामा गई प्लेट चम्चामा राखेर अभिभावकलाई दिइहाल्छन् र हतार–हतार गरी मुखमा हाल्छन् । तर ती वस्तु किन्नुअघि बनेको मिति चले–नचलेको कम्पनीको बारेमा जानकारी लिन खोज्दैनन् । हालका दिनहरूमा केटाकेटीहरू अत्यधिक बजार लिएका चटपटे, पानीपुरी र चाउमिनप्रति ज्यादै आकर्षित भएको पाइन्छ । पानीपुरीमा हार्पिकमा प्रयोग हुने रसायन र चटपटेमा अखाद्य रंगको प्रयोग हुने गरेको कुरा पनि सञ्चारमाध्यमहरूले प्रकाशन र प्रसारण नगरेको होइन । तैपनि त्यस्ता वस्तुहरूमा केटाकेटीहरू मरिहत्ते गर्ने गरेको पाइन्छ ।

सरकारको ध्यान : तेल, पिठो विदेशबाट आयात गर्नुभन्दा कच्चापदार्थ नै आयात गर्न लगाएर यतैका कलकारखानाहरूबाट उत्पादन भएमा उपभोक्ताको स्वास्थ्य बिग्रिने थिएन र उद्योगहरूमा केहीले रोजगार पनि पाउने थिए । विज्ञहरूका अनुसार रिफाइन्ड तेलले फाइदा गर्दैन । तर नेपालमा सिधै तेल आयात गरी प्याकिङ गर्ने गरेको पाइन्छ । त्यस्तै, आटा–पिठो पनि आयात नगरेर गेडा गहुँ नै आयात गरी उपभोक्ताहरू उद्योगीहरूलाई उत्पादन गर्ने वातावरण बनाउनु जरुरी देखिएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया