Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलगानीमैत्री वातावरणका निर्धारक तत्वहरू

लगानीमैत्री वातावरणका निर्धारक तत्वहरू


काठमाडौं । आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका विषयले दैनिकजसो चर्चा पाइरहेका छन् । त्यसै पनि लामो समयदेखि गुमेको अवसरप्रति गुनासो गर्दै समृद्धिको यात्रामा अधीर नेपालीहरू त्यो समृद्धि र रूपान्तरण कहिले पाउने भनेर लामो समयदेखि प्रतीक्षामा छन् । यस अवस्थामा समृद्धि र रूपान्तरणको वास्तविक कार्यसूची भने धकेलिँदै आएको छ । पछिल्ला घटनाक्रमले पनि समृद्धिको सहज सङ्केत गरिरहेको छैन । तर, सकारात्मक सोच राख्नुको विकल्प पनि छैन । सरकार विकासको एकल प्रदाता पनि होइन न हुन नै सक्छ । निजी क्षेत्र आर्थिक विकासको इन्जिन हो तर आन्तरिक तथा बाह्य निजी क्षेत्र लगानीका लागि लजाइरहेको छ । सरकार भने उदार नीति, सस्तो श्रम, भौगोलिक अवस्थिति, हावापानी र प्राकृति स्रोतको उपलब्धताका कारण नेपाल बाह्य क्षेत्रको लगानी गन्तव्य हो भनिरहेको छ । विकसित मुलुकहरूको कुरा गर्ने हो भने लगानी निजी क्षेत्र आक्रामकरूपमा अर्थतन्त्रमा लगानी सहभागिता नदेखाई आर्थिक विकास भनौँ या समृद्धि प्राप्त गर्न सकिँदैन ।

लगानीमैत्री वातावरण नभईकन निजी क्षेत्र आफ्नो पुँजी लगानी गर्न उत्साही हुँदैन । लगानीको प्रतिफल कसरी, कहिले र कति आउँछ भन्ने आकलन गरेर नै स्वदेशी वा विदेशी लगानीकर्ता आफ्नो पुँजी र उद्यमशीलताको उपयोग गर्दछन् । प्रश्न उठ्न सक्छ, के भएमा बाह्य लगानीलाई आकर्षित गर्न सकिन्छ त ? समकालीन अर्थतन्त्रहरूको विश्लेषणबाट बाह्य लगानी आकर्षणका लागि केही आधारले पृष्ठभूूमि दिनैपर्छ ।

पहिलो आधार राजनीतिक स्थिरता हो । स्थिर राजनीतिक वातावरणले स्वदेशी र विदेशी दुवै प्रकारका लगानीकर्ताको लगानीको प्रतिफलाई आश्वस्त पार्दछ । यसको मतलब एकै राजनीतिक दल शक्तिमा रहनुपर्दछ भन्ने होइन, आर्थिक मामिलामा समान सोच र व्यवहार सबै राजनीतिक दलले राख्नु पर्दछ भन्ने हो । खास विचार दर्शन बोक्ने दलले अर्को विचार दर्शन बोक्ने दल सरकारमा पुग्दा त्यस्तालाई बेवास्ता गरेमा वा आर्थिक विषयलाई राजनीतिक स्वार्थपूर्तिमा ‘ट्रेड अफ’ गर्नपुगेमा लगानीकर्ताहरू हच्किन्छन् । राजनीतिक र आर्थिक विषय छुट्टै हुन् र आर्थिक विकासका लागि राजनीतिले अभिभावकत्व दिनु पर्दछ । नेपालमा एउटा सरकारले अघि सारेका नीति कार्यक्रमहरू अर्को सरकारले बेवास्ता गर्दा स्वदेशी र विदशी दुवै क्षेत्रका लगानीकर्ता हच्किएका छन् ।

लगानी वातावरणका लागि दोस्रो सर्त अर्थतन्त्रको बनावट हो । प्राकृतिक स्रोत–साधनको उपलब्धता, बजार विस्तारको सम्भावना र अर्थतन्त्रको मौलिक संरचनाले पनि लगानीकर्तालाई प्रभाव पार्दछ । हाम्रा सन्दर्भमा भन्दा प्राकृतिक स्रोतको प्रचुर उपलब्धता छ, विश्वको ३५ प्रतिशत जनसङ्ख्या दुईतिर छ, दुवैतिर उपभोगवादी जीवनशैली विकास भइरहेको छ । दुवै अर्थतन्त्र उदीयमान छन् । यस अर्थमा नेपाली अर्थतन्त्रले अवस्थितिको लाभ लिनसक्ने पर्याप्त सम्भावना पनि छ । जुन अन्य मुलुकहरूले सहजै पाउँदैनन् । जसको उपयोग भएको छैन ।

तेस्रो आधार नीति वातावरण हो । नेपालले नब्बेको दशकदेखि लगातार उदार आर्थिक नीति अवलम्बन गर्दै आएको छ । निजी क्षेत्र सक्षम भएका क्षेत्रमा उसको सहभागिताका लागि ढोका खुलाउन सरकार क्रमशः हात झिक्दै आफू उत्प्रेरक र सहजकर्ता हो, प्रतिस्पर्धी होइन भन्ने सन्देश दिइरहेको छ । जनआन्दोलन भाग १ पछि गठित नेपाली कांग्रेसको सरकारले उदारीकरणलाई राष्ट्रिय मुद्दामा स्थापित ग¥यो । संविधानले खुला र उदारीकृत अर्थतन्त्रलाई राज्यका नीति निर्देशक सिद्धान्तका रूपमा लिएको छ । संवैधानिक मर्मलाई आत्मसात गर्ने कानुनी संरचना पनि निर्माण गरेको छ । जुनसुकै विचार दर्शन बोक्ने राजनीतिक दल सरकारमा पुगे पनि निजीकरण, उदारीकरणजस्ता नीति अवधारणाबाट पछि हट्न सक्दैनन् । यसले नेपाललाई लगानी गन्तव्य बनाउने आधार दिएको छ । तर, बारम्बार बदलिरहने सरकारले गर्भित नीति अवधारणा लिए, औपचारिक नीतिप्रति स्वामित्व भने लिएनन् । परिणामतः लगानीकर्ता हच्किए ।

लगानी वातावरण बनाउने चौथो आधार भरपर्दो पूर्वाधार संरचना हो । सडक, सञ्चार, सुरक्षा, ऊर्जा र खानेपानीजस्ता पूर्वाधार संरचनाले लगानीको लागत र उत्पादित सेवा वस्तुको मूल्यलाई प्रभाव पार्दछ । कुनै पनि अर्थतन्त्रको लागत संरचना निर्धारणको प्रमुख आधार नै भौतिक पूर्वाधार हुन् । नेपालमा सडक यातायात विस्तारको चरणमा छ । खानेपानीको अवस्था त्यति नराम्रो भन्न मिल्दैन । सञ्चार प्रविधि सेवा उत्कृष्ट खालको छ । तर, ऊर्जाको उपलब्धता न्यून छ । नीति संरचनाले पूर्वाधारलाई पनि निजी क्षेत्रको लगानीयोग्य व्यवसायका रूपमा लिएको छ । तर, सञ्चार प्रविधि र विद्युत्मा बाहेक अन्य पूर्वाधारमा निजी क्षेत्रले व्यवसाय र उद्यमका रूपमा स्वीकारेको छैन । विमानस्थल, सडक, पानी, सुरुङमार्ग, रेलसेवा र ऊर्जा उत्पादनमा रहने लगानी जोखिमका कारण लगानीकर्ता त्यतातिर हच्केका छन् । सरकारी बजेटबाट मात्र भौतिक पूर्वाधारको मनग्य विस्तार सम्भव छैन । सरकारले उद्योग कारखाना खोलेमा लगानीकर्तालाई पूर्वाधार सेवा दिन्छु त भनेको छ, तर अवस्था र सामथ्र्य प्रतिबद्धताअनुरूप छैन । लगानीकर्ता यस कारण पनि आश्वस्त हुन सकेनन् ।

पाँचौँ आधार सीपमूलक मानव साधन र अनुकूल श्रम सम्बन्ध हो । अहिले नेपालको जनसांख्यिक संरचना विश्वै उत्कृष्ट खालको छ । ६१ दशमलव ९ प्रतिशत मानिसहरू आर्थिकरूपमा क्रियाशील समूहमा पर्दछन् । साथै सीमित रोजगारीका विकल्पहरू र सस्तो श्रम लगानीकर्ताका लागि वरदान हुन् । नेपाली श्रमिक कम सीपमूलक भए पनि थोरै समय र प्रयासमा क्षमता विकास गर्न सकिन्छ । लगानीकर्तालाई हच्काउने विषय भनेको श्रम सम्बन्ध हो । राजनीतिकरूपमा विभाजित बन्दै गएको नेपाली समाजको प्रभाव श्रमिकहरूमा पनि परिरहेको छ । औद्योगिक प्रतिष्ठानका ट्रेड युनियनहरू राजनीतिकरूपमा प्रशिक्षित र भगिनी संगठनका रूपमा स्थापित छन् । राजनीतिक दलहरू औद्योगिक प्रतिष्ठानहरूलाई राजनीतिको उर्वर भूमिका रूपमा उपयोग गरिरहेका छन् । परिणामतः उद्योगपति र कामदार एकै उद्देश्यका दुई पक्ष हुन सकेनन् । जहिले पनि निजी क्षेत्रबाट उठाइएको विषय हो नेपालको कानुन श्रममुखी छ, लगानीमुखी छैन । उनीहरूकै शब्दमा उनीहरूको पीडा ‘दललाई चन्दा र कार्यकर्तालाई रोजगारी’ हो । त्यसैले होला उद्यमी व्यवसायीहरू नै व्यवसाय छाडेर राजनीतितिर हौसिएका छन् ।

छैटौँ आधार बैंक तथा वित्तीय मध्यस्थता हो । बैंकले वित्तीय मध्यस्थताका माध्यमबाट बचतकर्ताको सानो साधनलाई पुँजीमा परिणत गर्दछ, जसलाई उद्यमीले लगानी गर्दछ । यस प्रक्रियामा अनुत्पादक साधनले उत्पादनशील आधार पाउछ भने कम प्राथमिकताका क्षेत्रबाट बढी उपयोगिताका क्षेत्रमा साधनको हस्तान्तरण हुनपुग्छ । सबल बैंक व्यवसाय भएमा बचतकर्ता, स्वयम् बैंक र उद्यमी तीनै पक्ष लाभान्वित हुन पुग्छन् । लगानीकर्ताले थोरै पुँजी मात्र आफ्नो खल्तीबाट लगानी गर्ने हो, उसले अरुको साधनलाई आफ्नो उद्यमशीलतासँग उन्नयन मात्र गर्ने हो । नेपालमा बैंक तथा वित्तीय व्यवसाय फस्टाएको भनिए पनि आफैंमा यिनीहरूको आन्तरिक अवस्था कमजोर छ । ‘म्यानुपुलेटिङ इफिसिन्सी’ र अस्वस्थ प्रतिस्पर्धा नै अधिकांश बैंक बाँच्ने आधार हुन् । बैंकहरू रियल स्टेटजस्ता छिटो प्रतिफल दिने अनुत्पादक क्षेत्रमा लगानी गर्न हौसिएका छन् । ठूला लगानी परियोजनामा उनीहरूको सामथ्र्य देखिएको छैन । त्यसैले नेपलमा बैंक आफैँ व्यवसाय त बन्यो, तर अन्य व्यवसायको प्रवद्र्धक बन्न भने सकेन ।

सतौँ आधार सकारात्मक र क्रियाशील कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्र लगानीमैत्री वातावरण बनाउन मात्र होइन, रािष्ट्रय विकासका सबै कार्यलाई क्रियाशीलता र संस्थागत गर्ने अक्सिजन नै हो । सेवा काउन्टरमा कर्मचारी हसिलो हुँदा लगानीकर्ता उत्साहित हुन्छन्, ढिट अनुहार लगाउँदा तर्सिन्छन् । लामो हात भए भाग्छन् । कर्मचारीतन्त्रको सकारात्मक क्रियाशीलता र सहयोगी भावनाले राज्यइच्छा गतिशील हुन्छन् । त्यसैले सरकारले नीति घोषणा गरेर मात्र हुँदोरहेनछ । उद्योगपति एवं लगानीकर्ताहरू नेपालको कर्मचारीतन्त्रको मौजुदा व्यवहार र कार्यसंस्कृति लगानी वातावरणका लागि सबैभन्दा ठूलो बाधक ठान्दछन् ।

आठौँ आधार स्वयम् व्यवसायीहरूको स्वभाव र संस्थागत जवाफदेहिता हो । व्यवसायीहरू आपसमा कसरी व्यवहार गर्दछन्, उनीहरूको क्षमता कति प्रतिस्पर्धी छ, स्वभाव कति व्यवसायी छ, त्यसले पनि स्थानीय लगानी वातावरणलाई निर्धारण गर्दछन् । स्थानीय लगानीकर्ताको क्षमता र प्रतिस्पर्धाले बाह्य लगानीकर्ता तान्ने गर्छ । व्यवसायका धेरै क्षेत्र हुन्छन्, क्षमता छुट्टाछुट्टै चाहिन्छ । तर, एक–अर्कामा परिपुरक सम्बन्धमा रहन्छ । दक्षिण कोरिया विकासका समयमा साना, उद्यम र ठूला व्यवसायीको सम्बन्ध सहयोगी थियो । नेपालमा आन्तरिक प्रतिस्पर्धा छ । प्रतिस्पर्धा अस्वस्थ पनि छ । क्षमता छ, तर सम्बन्धित क्षेत्रमा उपयोग छैन । व्यवसायीहरू राजनीतिमा लागेर अवसर हडप्न पनि पछि पर्दैनन् ।

नवौँ आधार जीवनस्तर हो । सम्पन्नताले थप सम्पन्नताको सम्भावना बोक्छ, विपन्नताले विपन्नता नै । गरिबी, विपन्नता, न्यून शिक्षा, अस्वस्थता र न्यून सीप पनि केही हदमा लगानी र उद्यमशीलता विकासका तगारा हुन् । तर, सहजकारी नीति व्यवहारले बिस्तारै यी कुरालाई अनुकूल बनाउन सकिन्छ । नेपालको मौजुदा अवस्था पारस्पारिक र अन्तरमुखी जीवन प्रणाली हो । जसले तत्काल लगानी वातावरण बनाउन न उत्प्रेण गर्छ न दुस्साहस । तर, सम्भावना यस अर्थमा छ कि सामाजिक सूचकरू सकारात्मक हुँदै छन्, आर्थिक सूचक मात्र न्यून अवस्थामा छन् ।

दशौँ आधार स्वागत संस्कृति हो । यसले विश्वासको वातावरण बनाउँछ । अरुको स्रोत साधन र सामथ्र्य उपयोग गर्नका लागि नीति, संरचना, प्रशासन, सङ्गठनजस्ता संरचनागत पक्ष मात्रअनुकूल भएर पुग्दैन, समग्ररूपमा स्वागत संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागि अभिमुखीकरण नै त्यसैअनुरूप हुनुपर्दछ । थाइल्यण्ड एसियाको भान्साघर त्यसै बनेको होइन, सिंगापुर विश्वकै उदार लगानीस्थल पनि रातारात बनेको होइन । अरुलाई स्वागत गर्ने, अरुको सामथ्र्यबाट सिक्ने, अरुलाई सहयोग गर्ने संस्कृति विकासका लागि हामी आफैँबाट थालनी गर्नुपर्दछ । अनि मात्र औद्योगिक वातावरण सहज बन्दछ ।

एघारौँ आधार भनेको कर प्रणाली हो । लगानी आकर्षणका लागि सामान्य कर दर, निश्चित अवधिका लागि कर सहुलियत र आर्जित आयको पुनर्लगानीमा कर छुट प्रावधान आवश्यक हुन्छ । यसको प्रत्याभूतिका लागि कतिपय मुलुकहरूले दोहोरो कर उन्मुक्ति सम्झौता, कर कटौतीका विशेष प्याकेज नै घोषणा गर्दै आएका छन् । त्यसैले कुनै पनि मुलुकले आफूलाई लगानी गन्तव्य बनाउन त्यसैअनुरूपको कर प्रणाली विकास गर्नुपर्छ । तर, पछिल्ला केही घटनाहरू कर प्रणालीमार्फत लगानी आकर्षण गर्न सकारात्मक देखिएन ।

नेपालको आर्थिक विकासका वास्तविक ड्राइभर भनेको जलविद्युत्, पर्यटन र कृषि नै हुन् । जलविद्युत्को प्रचुर सम्भावनामा अभावको क्षेत्र हो । सम्भावनालाई उपयोगमा बदल्नु आवश्यक छ । कहालीलाग्दो व्यापारघाटा र पलायन हुँदै गएको पुँजी र श्रमलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने आधार पनि यसैले दिन सक्छ । कार्बन व्यापार र स्वच्छ विकासको सम्भावना क्षेत्र पनि हो यो । यसको उपयोगबाट नेपालको आर्थिक विकास मात्र हुने होइन, नेपालको रणनीतिक महत्वलाई सिद्ध गर्ने आधार पनि जलविद्युत् हो । तर, यसमा राजनीतिको सस्तो खेल भने गर्नु हुँदैन, जस्तो कि अरुण, पञ्चेश्वर र कर्णालीमा देखिएको छ । दोस्रो ड्राइभर पर्यटन हो । यो नेपालको आयवृद्धि, पहिचान विस्तार र सम्बन्ध सुदृढीकरणको आधार हो । नेपालको भू–धरातल, सांस्कृतिक वैभव र प्राकृतिक अवस्थिति अनि सहयोगी जीवनशैलीले यसको सम्भावना सङ्केत गर्दछ । यसका लागि विश्वका एक सय ७८ भन्दा बढी मुलुकमा छरिएर रहेका नेपाली डायस्पोराको उपयोग गर्नुपर्दछ । पर्यटन र परराष्ट्र मन्त्रालयको औपचारिक प्रयास मात्र पर्याप्त छैन भन्ने पुष्टि अहिलेको पर्यटन व्यवसायको स्थितिले देखाउँछ । कृषि निर्वाहको व्यवसाय हो, तर खाद्य सुरक्षाको आधार कृषिबाट ठूलो अपेक्षाभन्दा खाद्य सुरक्षा धान्न र केही हदसम्म तुलनात्मक लाभ लिन सकिन्छ । यसका लागि कृषि साधनमा जोड दिई सघन खेती प्रणाली आवश्यक छ । तर, यी तिनै क्षेत्रका लागि लगानीका उल्लिखित आधारहरू सबल हुनैपर्दछ । यी तीन क्षेत्र आफैँ लगानी सम्भावना बोक्ने क्षेत्र हुन् भने यिनको विकासपछि अन्य व्यवसायका आधारहरू स्वतः विस्तार हुँदै जानेछन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया