Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशिक्षक डाक्टरको अपमान विकृत समाजको परिणाम

शिक्षक डाक्टरको अपमान विकृत समाजको परिणाम


काठमाडौं । शिक्षक र डाक्टर चेतना र स्वस्थताका प्रतीक हुन् । शिक्षक एउटा कच्चा ज्ञान भएको मानिसलाई परिपक्क चेतनशील मानिसमा परिवर्तन गर्न लागिपरेको हुन्छ । उसले बालबालिकालाई सामाजिकीकरण गर्दै समाजमा सहज वातावरणमा बाँच्न सिकाइरहेको हुन्छ । डाक्टर मानिसको स्वास्थपूर्ण जीवनका परिचायक हुन् जसले मानिसलाई स्वस्थ भएर समाजमा जिउन सहयोग गरिरहेका हुन्छन् । यी दुवै असल समाजका पथप्रदर्शक हुन् जसले आममानिसलाई गुणस्तरीय जीवन जिउन प्रेरित गरिरहेका हुन्छन् ।

पछिल्ला दिनमा यी दुवै आक्रमणका शिकार बन्दै गएका छन् । स–साना अञ्जानमा हुने गरेका कमीकमजोरीहरूलाई नै मूल मुद्दा बनाएर उनीहरूमा निर्मम आक्रमण भएको पाइन्छ । असल र स्वस्थ समाजका निर्मातामाथि नै यसरी बढ्दै गएको आक्रमणले वर्तमान सामाजिक संस्कारमाथि नै प्रश्न चिह्न खडा गरिदिएको छ । खराब व्यवस्था र त्यसमा निर्भर रहेको सामाजिक संस्कारले मुलुकमा विकास भएन, आमनागरिकको जीवनस्तरमा परिवर्तन हुन सकेन भन्दै नयाँ–नयाँ व्यवस्थाको अभ्यास गर्न थालियो । राणाकाल, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रदेखि गणतन्त्रसम्म आइपुगियो तर राजनीति व्यवस्थामा क्रमशः परिवर्तन भए पनि राजनीति संस्कारका परिवर्तन हुन सकेन । जसका कारण समाज विकृत बन्दै गयो ।

विकृत समाजको सोच र विचार पनि विकृत नै बन्न पुग्यो । विकृत सोच र विचारले सामाजिक संस्कारलाई नकारात्मक बाटोतर्फ मोडिदियो । जसले मानिसमा भय, घृणा, ईर्ष्या, अहङ्कार, चुक्ली, द्वेष, सन्देह, लोभ, मोह, हीनता, आग्रह, असत्य जस्ता दुर्गुण सिर्जना गरिदियो । यिनै दुर्गुणका कारण मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, धोका, स्वार्थीपन, रुखोपन, अल्छीपन, आलस्यता, अस्तव्यस्तता देखापर्न थाले । मानिसको दैनिक जीवनमा बढ्दै गएको अस्तव्यस्तताबाट मानिसमा दुःख, तनाव, कुण्ठा, निराशा, लाचारी, असफलता, दरिद्रता, असन्तोष सिर्जना हुन पुग्यो । परिणामस्वरूप मानिस दिनानुदिन दुःखी बन्दै गयो र सबैमा दोष मात्र देख्न थाल्यो ।

सुखी बन्ने सकारात्मक सोचलाई सबल बनाउने उपायमा मानिसले ध्यान पु¥याउन सकेन । विश्वास, अभय, सहिष्णुता, सामञ्जस्यता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदिले मानिसमा सदाचारी र सबलपन ल्याउँछ । यस्ता सद्गुणले व्यवहारमा शुद्धता ल्याई उत्साही, आशावादी, प्रसन्न, विनम्र, सहृदयी, सहानुभूतियुक्त, अनुशासित बनाइदिन्छ भने दुर्गुणहरूले आन्तरिक शक्ति दुर्बल बनाई मानिसलाई सदा दुःखी बनाइदिन्छ, जसबाट मानिसको आदर्श जीवन गुम्न पुग्छ ।

सकरात्मक भावनासँग प्रेम, आदर्श, अध्ययन, आत्मविश्वास र सफलताको विश्वास जोडिएको हुन्छ । सकारात्मक भावनाले मानिसको आन्तरिक शक्ति बढाउँछ र जीवनलाई आदर्श बनाइदिन्छ । सकारात्मक भावनाहरूले हाम्रो जीवनमा नयाँ दृष्टिकोण ल्याउँछ । सकारात्मक भावनाहरूले जीवनमा सन्तोष, समृद्धि, शान्ति र सामाजिक नैतिकता सिर्जना गरिदिन्छ । सकारात्मक भावनाको उपादेयतालाई मनन गरी जीवनमा लागू गर्दा मानिसले आफूले आफैंलाई हरेक मार्गलाई सफल बनाउन सक्छ । जीवनमा सन्तुलन र सफलताबाट आनन्दको अनुभूति हुन सक्छ । जसले जीवनलाई सधैँ स्वच्छ र ताजगी बनाई दिन सक्छ । तसर्थ, सबैका लागि राम्रो सोच्नु सकारात्मक भावना हो ।

पछिल्ला दिनहरूमा राजनीतिक वृतमा व्यक्तिवादी प्रशिक्षण हाबी हुँदै गयो । राजनीतिक दलले आफ्नो व्यक्तिगत उद्देश्य पूरा गर्ने अभिप्रायले आफ्ना नेता कार्यकर्ताहरूलाई प्रशिक्षित गरे । गरिबी, भोकमरी, अशिक्षा र असमानताको भूमरीमा मडारिरहेका ग्रामीण नागरिकले यसमा सम्भावना देखे । उनीहरू सोही दल वा राजनीतिक नेताहरूको पक्षपोषण गर्न थाले । नेताहरूको हुँकारमा साथ दिए, दीर्घकालीन समस्याभन्दा पनि उनीहरूलाई वर्तमान समस्याले ग्रसित बनाइरह्यो । दलले आम मानिसलाई नागरिक शक्तिको रूपमा प्रयोग गर्दै आफ्ना अभिष्ट पूरा गर्दै आए ।

राजनीतिक दलले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई काम गरिखाने प्रशिक्षण दिएनन् । वाक युद्ध गर्न, चन्दा उठाउन, लुट्न, कमिसन लिन, चोर्न, हत्या हिंसा गरेर भए पनि आफ्नो लक्ष्य पूरा गर्न राजनीतिक प्रशिक्षण गर्दै गए । मानिसको इमान, जमान र इज्जत पैसामा मापन गर्न थालियो, दैनिक पसिना बगाएर सिर्जना हुने आयभन्दा मुख बजाएर, ढाँट छल गरेर, कसैलाई शारीरिक, आर्थिक वा सामाजिक क्षति पु¥याएर आय गर्नेको जमात दिनानुदिन बढ्दै गयो । दैनिक शारीरिक परिश्रम गरेर, पसिना बगाएर जीविकोपार्जन गर्नेहरूको दैनिक समाजमा खच्किँदै गयो । ऊ केवल सरकारलाई कर तिरिदिने करदाता मात्र बन्न पुग्यो । शारीरिक परिश्रमबाट जीविको पार्जन हुन नसक्ने परिस्थिति बन्दै गएपछि मानिसहरू कित विदेशिन बाध्य बने कि त राजनीतिक दलको पिछलग्गु बन्न पुगे ।

समाजमा यो परिस्थितिको सिर्जना हुनुमा बेरोजगारी र जीवनोपयोगी शिक्षाकै कमी हो । शिक्षाले आममानिसलाई अल्मल्याइदियो । पढेर पनि काम छैन, नपढेर पनि काम छैन । पढेर जाने गन्तव्य पनि छैन, नपढेर पनि गर्ने केही छैन, एउटा शैक्षिकस्तर त सकिन्छ भन्ने हिसाबले मात्र विद्यार्थी उच्च शिक्षामा अलिअलि देखापरेका हुन् । पढ्नुको लक्ष्य र उद्देश्य के ? भन्ने उत्तर सरकारसँग छैन । राजनीतिक दल उच्च शिक्षा पढ्ने उमेरका युवाहरूलाई पढ्नबाट तिरस्कृत गरेर आफ्नो कार्यकर्ता बनाउने दाउमा छ । दलले नै विश्वविद्यालयमा ताला लगाउन, जलाउन, फोर्न, शिक्षकलाई पिट्न, कालोमोसो दल्न सिकायो ।

मुलुकमा शिक्षक र कृषकमाथि निरन्तर आक्रमण भइरह्यो । वास्तवमा समाजका पथ प्रदर्शक यी पेसा घृणित बनाइए । शिक्षकले सामाजिक चेतनाबाट समाज परिवर्तन गरिरहेको हुन्छ भने कृषकले उत्पादनको माध्यमबाट आत्मनिर्भर हुने चेतनाबाट समाज परिवर्तन गरिरहेको हुन्छ । तर आज उनीहरू नै मुलुकमा सुरक्षित छैनन् । जबसम्म मुलुकमा शिक्षक र कृषकको संरक्षण हुँदैन तबसम्म मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुन सक्दैन । एउटा शिक्षक स्कुल कलेजमा कुटिन्छ, एउटा डाक्टर अस्पतालमा कुटिन्छ, एउटा कृषक खेतका गरागरामा कुटिन्छ । यस परिस्थितिमा ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा संसद् भवन अगाडि नाङ्गै हिँडिरहेको छ । नाङ्गै हिँड्ने भन्दा पनि हामी देख्नेले लाज मानिदिनुपर्ने अवस्था छ ।

कसरी रोकिएला यो परिस्थिति ?
वास्तवमा अहिले देखापरेको यो परिस्थिति गलत राजनीति प्रशिक्षणकै कारण सिर्जना भएको हो । रोजगारी प्रदान गर्ने उद्योगधन्दा चन्दा आतंक मच्चाएर बन्द गराइयो, मजदुर आन्दोलनका नाममा कलकारखाना तोडफोड गरियो, रोजगार नागरिकलाई महत्वाकांक्षी बनाएर कामबाट विमुख बनाइयो । समाजवादका चर्का नारा लगाएर चोर्न र लुट्न सिकाइयो । कमिसनले वस्तु तथा सेवाको गुणस्तरमा कमी ल्याइदियो । नागरिकको दैनिक भान्सामा समेत कमिसनबाट पिल्सिएको विषादी खानाले बास ग¥यो । दलका व्यक्तिको व्यक्तिगत फाइदाका लागि देशको अस्मिता बेचिन पुग्यो, राज्यमा कमजोर सुरक्षा अभ्यास हुन पुग्यो, सरकारको नीति देश र नागरिकमैत्रीभन्दा पनि विदेशी निकायमैत्री बन्दै गए ।

वर्षमा २० खर्बको व्यापार हुँदा करिब १८ खर्बको आयात, करिब एक करोड मानिस मुलक बाहिर रोजगारीको खोजीमा, मुलुकको ऋण २३ खर्बभन्दा माथि प्रतिव्यक्ति ऋण ८१ हजार तीन सय छ । १७ खर्बको वार्षिक बजेट जसमा १२ खर्बको राजस्वको सम्भावना, पाँच खर्ब घाटा बजेट, त्यसको आपूर्ति ऋण र अनुदान । वैदेशिक अनुदान वर्षैपिच्छे निचोरिँदै गइरहेको छ भने ऋणको अंश निरन्तर बढिरहेको छ । नेपालीको प्रमुख पेसा कृषि जसको कुल गार्हस्थ उत्पादनमा लगभग २४ प्रतिशतको योगदान, औद्योगिक क्षेत्रको योगदान दिनैपिच्छे ओरालो लागिरहेको अवस्था । १२ खर्बको राजस्वमा पनि ५० प्रतिशत राजस्व आयातमा निर्भर, पूर्वाधार निर्माणमा हुने ठेक्कापट्टामा ३० प्रतिशत मात्र निर्माणमा लाग्ने अरू कमिसनमा जाने ।

राजनीतिक दलमा आबद्ध नेता कार्यकर्ता नै मानव बेचविखनमा आबद्ध, सुनको तस्कर, सरकारी जग्गाजमिन हडपेर व्यक्तिको नाममा ल्याउने, मानिसको स्वास्थ्यसँग जोडिएको औषधीमा कमिसन, आर्थिक कारोबार हुने हरेक निकायमा भागबण्डा, भागशान्ति, आफन्तको घुसपैठ, कुनै पनि आयोजनाको सुरु निर्माण लागत दोब्बरभन्दा बढी बनाएर नागरिक ठग्ने प्रवृत्ति, दण्डहीनता, अपराधीको संरक्षक, आफ्नो मौलिकता नभएको शिक्षा नीति, धार्मिक कुव्याख्याबाट धार्मिक क्षेत्रको विनास, मर्यादा र अनुशासनहीन नेतृत्व वर्तमान नेपाल सरकारका विशेषता हुन् ।

यति हुँदाहुँदै पनि आफ्नो पेशाको धर्म निर्वाह गरिरहेको पेशाकर्मीले पिटिनुपर्ने अवस्था आफैँमा अराजकता हो । यो अराजकता हिजो तिनै राजनीतिक दलको प्रशिक्षणको उत्पादन हो । यो उत्पादन तिनै दलबाट रोक्नुपर्छ । जुन दलको मानिसले पेशाकर्मीमाथि आक्रमण र हिंसा गर्छ सोही दलको प्रमुख नेतामाथि आक्रमण र हिंसा गरिनुपर्छ । एमाले कार्यकर्ताले कालोमोसो दल्ने काम गर्छ भने जनताले एमालेको अध्यक्षलाई कालोमोसो दल्नुपर्छ, त्यसै गरी, कांग्रेस, माओवादी, समाजवादी, राप्रपालगायत सबै दल । किनभने हिजो सिकाउने तिनै हुन् । दोष शिक्षक, डाक्टर कुट्नेको होइन, दोष त राजनीति दलको हो । तसर्थ, तिनलाई नै त्यसको फल नदिएसम्म यो अराजकता रोकिनेवाला छैन ।

नकारात्मक सोच हटाउन यस्तै नै एउटा सशक्त सकारात्मक सोच आवश्यक हुन्छ । नागरिकको आशालाई मर्न दिनुहुँदैन । परिश्रम नगरी प्रतिफल लिनेहरू आफू गर्न चाहँदैनन् र अरूले गरेको पनि सहन सक्दैनन् । यसरी आज समाज पूरै नकारात्मकतातिर गइरहेको छ । यसलाई सकरात्मकतातर्फ फर्काउन आमनेपाली नागरिकको भूमिका सशक्त हुन आवश्यक छ । राष्ट्रका लागि योगदान गरौँ, स्वाभिमान बाँचे हामी सबैको अस्तित्व बाँच्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया