Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशिक्षक डाक्टरको अपमान विकृत समाजको परिणाम

शिक्षक डाक्टरको अपमान विकृत समाजको परिणाम


काठमाडौं । सामान्यतयाः भूमि उत्पादनशील रहन्छ भन्ने मान्यता स्थापित रहँदै आएको छ । विपरीत अवस्था कायम रही उत्पादनशील मानिएको भूमिमा विविध कारणले उपात्दनजन्य स्वधर्म लोप हुन गई उत्पादनको निरन्तरता कायम हुन नसकी उर्वराशक्तिमा आएको ह्रासोन्मुख अवस्थाको परिणाम नै अनुत्पादक क्षेत्रको विकासको सम्भावना अभिवृद्धि हुनु हो । जसमा विशेष गरी बालीयोग्य उत्पादनको लागि अयोग्य ठहरिएका सिमसार क्षेत्रलगायतका अन्य कृषिजन्य फसलहरू सहज रूपमा उत्पादन गर्न नसक्ने क्षेत्रहरू समाविष्ट गरिएको हुन्छ ।

बृहत्तर आकारको भूमिमा उत्पादकत्व अभिवृद्धि हुने धेरै सम्भावनाहरू जीवन्त रहे पनि बढ्दो जनसंख्या वृद्धिका कारण सानो आकारको पारिवारिक संरचना विकासको सम्भावनाले धेरै हदसम्म जमिनको स्वामित्व बृहत्तर आकारबाट क्रमशः न्यूनीकरण हुँदै साना–साना इकाईमा परिणत हुने संस्कृतिको विकासले निश्चतरूपमा कृषिजन्य उत्पादकत्वमा न्यूनता छाउने अवस्था पैदा हुनेछ ।

जसले केवल उत्पादनमूलक कृषिक्षेत्रलाई क्रमबद्ध रूपमा अनुत्पादक क्षेत्रविकासमा परिणत गर्ने अवस्था तयार पार्न सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ । साना इकाईका भूमिहरू बस्तीविकासका लागि उपयुक्त रहन्छ भन्ने मान्यताका साथै कृषिक्षेत्रको तुलनामा अन्य प्रयोजनबाट प्राप्त हुने मुनाफा व्यक्तिगत तवरमा पनि अधिक रहने हुँदा जमिनको मूल्यवृद्धि हुने देखिन्छ । यसका अतिरिक्त कृषि विकासका लागि आवश्यक रहेको तत्व सिँचाइ, मलखाद, बीउविजन, प्राविधिक जनशक्ति, यान्त्रिकीकरणको समय–समयमा अभाव रहनु नै कृषि क्षेत्र क्षयीकरणको मूल कारक तत्व विशेष हो ।

प्रस्तुत अवधारणालाई समूहगत भावनाको विकासले सुधार गर्दै लक्ष्यअनुरूपको कृषिक्षेत्रलाई अभिवृद्धि गर्न नसकिने भने पक्कै पनि होइन । तथापि आमूल परिवर्तन तथा सुधारका लागि आवश्यक पर्ने कृषिजन्य भूमिको अभाव नै मूल चुनौतीको रूपमा रहेको पाइन्छ । ठूला सहरकेन्द्रित क्षेत्रहरूमा बृहत् कृषि भूमिको सम्भावना लगभग शून्यप्राय अवस्थामा रहनुको साथै नवनिर्माण भएका सहरोन्मुख ग्रामीण बस्तीहरूमा पनि कृषि फसलबाट प्राप्त हुने आम्दानीको तुलनामा जमिनको ठेक्का, भाडाजन्य संस्कृतिको विकास, कृषि श्रमको अभावले सम्बद्ध क्षेत्रको अवस्था समेत दिन प्रतिदिन खस्किँदै गएको महसुस गर्न सकिनेछ ।

तदुपरान्त उत्पादनशील मानिएको भूमिलाई क्रमशः अनुत्पादक भूमिको रूपमा रूपान्तरण गर्न केही समूह उद्दत रहेको देखिन्छ । आफ्नो स्वामित्वमा रहेको भू–अधिकारलाई दुरूपयोग गर्दै यथोचितरूपमा कृषि उत्पादकत्वमा प्रत्यक्ष वा परोक्ष ऋणात्मक प्रभाव पार्नेगरी स्वयम् भूमिमा आफ्नो उल्लेख्य सहभागिता नजनाई भू–श्रमिक वा अन्य तत्सँग सम्बन्धित समूहलाई आफू अनुकूलको उपयोगमा ल्याउने कार्यले यस क्षेत्रको विकासमा सकारात्मक परिणाम हासिल गर्न सक्दैन । प्रस्तुत कार्यको विकासले निश्चितरूपमा कृषि उत्पादकत्वमा ह्रास आई उत्पादनशील भूमि अन्य प्रयोजनको लागि प्रयोग हुने खतरा बढेकै कारण अनुत्पादक भूमिको अत्यधिकता कायम रहने सम्भावनालाई हामी जो–कसैले पनि चाहेर पनि विमुख पार्न सक्दैनौँ । जुन निश्चितरूपमा कृषि कार्यको लागि शुभ संकेत भने पक्कै पनि होइन ।

किनभने अझै पनि राज्यको भूमिसुधारसम्बन्धी अवधारणाले मूर्तरूप हासिल गर्न नसकेकै कारण लक्षित प्रगति सफलरूपमा देख्न नसकिएको मात्र हो । समग्र कृषि क्षेत्रको उत्थान गर्ने सु–उद्देश्यले अभिप्रेरित रहेर राज्यले कायमी भूमिसुधारसम्बन्धी पुराना अवधारणागत मान्यतामा आमूल सुधार गर्दै भूमिलाई आधुनिकीकरण गर्न विभिन्न नौ भागमा विभाजन गरी कार्यान्वयनमा ल्याएको वर्तमान अवस्था हो । यद्यपि कृषि भूमि तथा गैरकृषि भूमिको पहिचानमा भने सधैँ नै विवाद खडा हुने गरेको पाइन्छ । निश्चय पनि कृषिभूमिको तुलनामा व्यावसायिक वा आवास प्रयोजनका लागि छुट्टाइएको जमिनको मूल्य तुलनात्मकरूपमा अधिक रहने भएकै कारण सहजरूपमा समस्या समाधानमा व्यवधान खडा हुने गरेको मात्र हो ।

योदेखि बाहेक जुन सम्प्रदाय विशेषसँग हदबन्दी केन्द्रित भूमि अवस्थित रहेको छ ती समूहमा पनि कृषिक्षेत्रभन्दा अन्य सेवा व्यवसाय गर्नेतर्फ लालायित हुने प्रवृत्तिले कुनै पनि हालतमा कृषिलाई उत्पादनमूलक क्षेत्रको रूपमा परिणत गर्न सघाउ पु-याउने छैन । जसका लागि सधँै नै वैकल्पिक व्यवस्थापनको खाँचो रहेको हुन्छ । अन्यथा जति पटक भूमिसुधार गरे पनि लक्ष्य प्राप्ति हुन सक्दैन, यसले झन् कृषियोग्य जमिनलाई क्रमशः खण्डीकरणतर्फ लैजान मार्गप्रशस्त गर्ने अवस्था मात्र तयार गर्नेछ । यो हुनु भनेको कृषिलाई उत्पादनमूलक क्षेत्र विशेषभन्दा पनि अनुत्पादक क्षेत्रको रूपमा रूपान्तरण गर्ने संस्कृतिको विकासलाई प्रोत्साहित गर्नेबाहेक अर्को कुनै ठोस उपलब्धिमूलक आर्थिक सुधारको लक्ष्य प्राप्त हुन सक्दैन ।

मुलुकमा जति पनि भूमिसुधारहरू भए त्यसमा विशेषगरी कृषक वा मोहीलाई नै प्रोत्साहित गर्ने लक्ष्य लिए पनि कृषि कार्य गर्न उक्त समूह समेत अनिच्छुक्क रहँदा अन्ततः कृषि क्षेत्रले अनुत्पादक क्षेत्रको विशेषको रूपमा क्रमशः रूपान्तरण हुन बाध्य हुनुपरेको तथ्यलाई अन्यथा लिन मिल्दैन  । तत् सन्दर्भमा कृषकको जीवनस्तर सुधारका लागि मोहीयानी जमिनको स्वामित्वमा विसं २०२१ सालमा गरिएको भूमिसुधारले भू–स्वामित्वको २५ प्रतिशत अंश जोताहा मोही तथा ७५ प्रतिशत अंश भू–स्वामीलाई वितरण गर्ने योजनाले पनि जमिनको उत्पादकत्व क्षमतामा उल्लेख्य सुधार गर्नुको साटो ह्रासोन्मुखतातर्फ उद्दत गराउन सहयोगीको भूमिका निर्वाह गरेको पाइयो । किनकि दोहोरो स्वामित्वमा कृषकको स्थान केवल २५ प्रतिशत मात्र रहे–भएकै कारण खेती नगर्ने संस्कृतिको विकासले प्राथमिकता पाएको देखिन्छ । अर्कोतर्फ विनालगानी भू–स्वामित्व प्राप्त हुँदा जग्गाधनी तथा मोही किसान बीचमा द्वन्द्व बढ्नुलाई अस्वाभाविक प्रक्रिया मान्न सकिँदैन ।

प्रस्तुत भूमि व्यवस्थापनबाट पनि सहजरूपमा कृषकलाई राहत व्यवस्थापन हुन नसकेको महसुस गरी राज्यले वि.सं.२०५२ सालमा कृषक तथा जग्गाधनी बीचको भू–स्वामित्वलाई समान–समान आधारमा बराबरको हकदार कायम गर्दा सम्बद्ध क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा गरे पनि जग्गाधनीको हातमा धेरै हदसम्म भू–स्वामित्वको अवस्था केवल शून्यप्रायः रहन गएको पाइयो । तथापि कृषि क्षेत्र सुधारको नाममा कुनै ठोस गुञ्जायस कायम राख्न सकिएन । जसले केवल मानव बस्ती विकास तथा सहरी क्रंकिटको जङ्गली अवधारणा विकासलाई मात्र प्रोत्साहित गरेको वर्तमान अवस्था हो । जुन वातावरणीय प्रतिकूलता रहनुको साथै हरित क्षेत्र न्यूनीकरणको सबैभन्दा खराब परिसूचकको रूपमा यस प्रकारको कार्यलाई लिन सकिन्छ ।

प्रस्तुत प्रवृत्तिको समस्याबाट नेपाल पनि अछुतो रहन सकेको छैन । जसमा सुधारका लागि पकेट क्षेत्र निर्धारण गरी राज्य, स्थानीयस्तर तथा भू–स्वामीको सामूहिक लगानीमा परिकल्पनायोग्य कृषि विकासको सम्भावना विकासलाई कार्यान्वयनमा ल्याउनु अत्यन्त जरुरी भइसकेको छ । जसका लागि सम्बद्ध क्षेत्रको माटोको गुणस्तरमा उल्लेख्य सुधार गर्नुका साथै सहरी विकासका नयाँ योजनाहरू तत्कालका लागि लागू नगर्ने प्रतिबद्धता सरोकारवाला पक्षले व्यक्त गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त राज्यले उचित मु–आब्जाको व्यवस्थापन गरी जग्गा अधिग्रहण गरेरै भए पनि कृषि क्षेत्र निर्धारण गर्ने हो भने निश्चय पनि अनुत्पादक अवस्थामा रहेको यस क्षेत्रलाई धेरै हदसम्म उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने प्रवल सम्भावनाहरू अझै पनि जीवन्त रहेका छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया