सिंहदरबारको सुरक्षामाथि सधैँ प्रश्न
काठमाडौं । सिंहदरबारको कथाः राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईसं १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । अचम्मको र पत्याउनै नसकिने कुरा यो छ कि यसको निर्माण कार्य सुरू भएको एक वर्षभित्र नै सम्पन्न भएको थियो । निर्माण पूरा हुँदा यसमा सत्र सय वटा कोठाहरू थिए जुन त्यस बेलाको मात्र नभएर एसियाकै सबैभन्दा ठूलो दरबार थियो । यसको निर्माणका लागि त्यसबेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो । यो नेपालको एक ऐतिहासिक दरबार हो । विसं २००७ सालमा जहानियाँ राणा शासनको अवसान भएपछि यो दरबारमा धेरैजसो सरकारी निकायहरू (विभिन्न मन्त्रालयलगायत अन्य सरकारी कार्यालयहरू) तथा सार्वजनिक संस्थानहरू (नेपाल दूरसञ्चार संस्थानको केन्द्रीय कार्यालय, नेपाल टेलिभिजन र राष्ट्रिय कम्प्युटर केन्द्र) राख्ने काम भयो । यो दरबार निर्माणको लागि रोल्पाको खुंग्रीबाट समेत मास ल्याइएको कुरा पनि यदाकदा सुन्न पाइन्छ । भिजाएको मासलाई कुटेर लेदो बनाई तयार गरिएको बरी वा मस्यौरा निकै कडा हुने गरेको धेरैलाई जानकारी छ । रोल्पाको खुंग्रीको मास राप्तीभर प्रख्यात पनि छ । खुंग्रीमा मास हाल पहिलेको जस्तो उत्पादन भने हुँदैन । कारण एउटै हो रासायनिक मलको प्रयोगले गर्दा माटोको उर्वराशक्तिमा कमी ।
विसं २०३० सालमा यस दरबारमा ठूलो आगलागी भएको थियो । त्यसबाट यसको पछाडिपट्टिको धेरैजसो भाग जलेर नष्ट भएको थियो । त्यसमा कैयन अभिलेखलगायत सरकारी कागजातहरू जलेका थिए । त्यस भीषण तथा कहालीलाग्दो आगलागीपश्चात् कैयन सरकारी कार्यालयहरू अन्यत्र सार्ने काम भएको थियो । हाल सिंहदरबार परिसरमा नयाँ भवनहरू थपिँदै गएका छन् । यो दरबार पूर्णतया युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यसबेला उनले दरबारका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाटै झिकाइएका थिए । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको यो दरबारलाई रेक्ट्रोफिटिङ गरेर नयाँ स्वरूप दिइएको छ । दरबारको माथिल्लो कौशीमा पश्चिततर्फ फर्किएको पित्तलको ठूलो सिंहको मूर्ति राखिएको छ । नेपाल टेलिभिजनको स्थापनाकालमा यही चौथो तलाबाट प्रसारणको सुरुआत भएको थियो । कार्यालयको कामको सिलसिलामा यो लेखक पनि त्यहाँ पुगेको थियो । त्यतिबेला अभिनेता तथा नेपाल टेलिभिजनका महाप्रबन्धक नीर शाहलाई भेट्दा यो लेखकले आफूलाई गौरवान्वित ठानेको थियो । किनकि लेखकले उनले अभिनय गरेका चलचित्रहरू हेरिसकेको थियो र उनको अभिनयबाट प्रभावित पनि भएको थियो ।
यो लेखकले सरकारी सेवाको सिलसिलामा सिंहदरबारभित्र पटक–पटक गरी चौध वर्ष बिताएको थियो । मैले सम्झेअनुसार २०४६ सालसम्म सिंहदरबारको पश्चिमपट्टि रहेको मूल गेटबाट पासविना प्रवेश गरिन्थ्यो । तर जो कोही मान्छे गेटबाट प्रवेश गर्न डराउँ’थे । अहिलेजस्तो पूर्वी गेट र दक्षिण गेट भन्ने थिएनन् । त्यतिबेला सिंहदरबारभित्र जथाभावी मान्छेहरूको लर्को लाग्दैन’थ्यो । काम परेकाबाहेक अन्य मान्छेहरू दरबारभित्र पस्न हिच्किचाउँ’थे । सिंहदरबारभित्र आवश्यक गाडीहरू मात्र गुड्थे, त्यतिबेला अहिलेको जस्तो प्रदूषित थिएन सिंहदरबार परिसर ।
राणाकालदेखि नै प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहेक सबै मन्त्रालयहरू छन् । सुरुसुरुमा दरबार परिसरभित्र धेरैजसो मन्त्रालय थिए । पछिल्लोपटक बाहिरबाट सिंहदरबारमा सारिएका मन्त्रालयहरू हुन् । स्थानीय विकास मन्त्रालय, खेलकूद मन्त्रालय र शिक्षा मन्त्रालभित्र छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अहिले पनि सिंहदरबारको बाहिरपट्टि अर्थात् सिंहदरबारको पश्चिमपट्टि रहेको छ । कुनै बखत सिंहदरबारभित्र रहेको मुख्य भवनको पश्चिमपट्टि बग्गीखानातर्फको खाली जमिनमा सर्वोच्च अदालतको भवन निर्माणस्थल भनेर बोर्ड पनि राखिएको थियो । तर सर्वोच्च अदालत साविककै स्थान र भवनबाट नै सेवा प्रवाह भइरहेको छ ।
पश्चिम गेट अर्थात् एकमात्र गेटबाट प्रवेश गर्नका लागि बानेश्वरतिरका कर्मचारीहरूलाई कठिनै थियो किनकि पूर्वबाट पश्चिततिर हिँड्यो र गेटबाट छिरेर फेरि पूर्वतर्फ लाग्नुपथ्र्याे । त्यसबखत रत्नपार्क, पुरानो बसपार्क र बागबजारस्थित भक्तपुर बसपार्कमा ओर्लिने कर्मचारीहरूलाई भने पश्चिम गेटबाट प्रवेश गर्न सजिलो थियो । नेपाल दूरसञ्चार संस्थान सिंहदरबारबाट बाहिरिएपछि र राष्ट्रिय कम्प्युटर केन्द्र खारेज भएपछि अहिले त्यहाँ एउटा मात्र संस्थान छ, नेपाल टेलिभिजन । हुन त त्यहाँ राणाकालदेखि नै रेडियो नेपाल पनि रहेको छ जुन पूर्ण सरकारी संस्थानको रूपमा रहेको छ ।
एकजनाको साथमा पन्ध्रवटा पास
२०६८ सालमा यो लेखक काम विशेषले चक्रपथस्थित एउटा इन्जिनियरिङ कन्सल्टेन्सीमा गएको थियो । इन्जिनियर आइनपुगेकाले लेखक कुर्सीमा बसेर उनलाई कुरिरहेको थियो । अर्को कोठाबाट आएको आवाज लेखकको कानमा ठोक्कियो ‘किन धन्दा मान्छौ ? सिंहदरबार छिर्ने पास मसँग त पन्ध्र वटा छन् । चाहिएमा मलाई भन्नु ।’ लेखकले सोच्यो ‘सिंहदरबारभित्रको संवेदनशीलतालाई त्यहाँ रहने कसैले पनि गम्भीरतापूर्वक लिँदारहेनछन् । यो त एउटा उदाहरण मात्र हो, अरूसँग पनि हुन सक्छन् त्यस्ता कैयन पास सिंहदरबारमा जो पायो त्यही मान्छे छिर्नका लागि । लेखकले त्यस कन्सल्टेन्सीमा कुनै पनि प्रतिक्रिया जनाएर सवालजवाफ गर्ने कुरा त्यति सजिलो थिएन । तर सिंहदरबारकै एक कर्मचारीका लागि त्यो निकै चिन्ताको विषय ठान्ने काम मात्र भयो।
पर्यटनमन्त्रीलाई कठालो समाउँदै हातपात:
म खेलकुद मन्त्रालयमा कार्यरत रहँदा मन्त्रीको सचिवालयबाट सिंहदरबारभित्र प्रवेशको लागि गेटबाहिरबाट पन्ध्र जनाको पास माग भयो । स्वकीय सचिवले जान्ने भएर पन्ध्र जनाको पास पठाइदिनुभयो । ती पन्ध्र जना खेलकुद मन्त्रालयमा नभई पर्यटन मन्त्रालयमा गई पर्यटनमन्त्रीको कठालो समाएर हातपात गरेपछि सिंहदरबारमा तरंग मच्चियो । त्यसैले सिंहदरबारभित्रको सुरक्षा व्यवस्था अत्यन्तै फितलो छ भन्नुमा अत्युक्ति हुने छैन ।
सिंहदरबारभित्र बढ्यो प्रदूषण: हालका दिनहरूमा सिंहदरबार परिसरमा रहेका सडकहरूमा सरकारी मात्रै होइन निजी सवारी साधनहरूको लर्को देख्न पाइन्छ । कहिलेकाहीँ त बाटो पार गर्न पनि गाह्रो पर्छ । यसरी जथाभावीरूपमा अनेक गाडीहरूबाट तमाम मान्छेलाई सिंहदरबारभित्र छिर्न दिने हो भने पासको के अर्थ भयो र ? ज्यादा गाडीहरू गुड्नाले सिंहदरबारभित्रको वायु प्रदूषण विकराल छ । बबरमहलको भन्दा कम प्रदूषित छैन त्यहाँको वायुमण्डल ।
थरिथरिका मानिसको प्रवेश: सिंहदरबारभित्र प्रवेश गर्नेहरूमा सेवाग्राहीबाहेकका अन्य तमाम मानिसहरू पनि हुन्छन् । सेल्फी वा भिडियो लिनजानेको पनि कमी छैन सिंहदरबार परिसरमा । कोही सिंहदरबार कस्तो रहेछ भनेर घुम्न पनि आउने गर्छन् । सिंहदरबार छिरेर फोटो वा भिडियो बनाई फेसबुकमा सम्प्रेषण गरेर चर्चा बटुल्नेहरूको पनि कमी छैन यहाँ । सिंहदरबारभित्र अनावश्यक मान्छेहरूको भीडभाड देख्दा दिक्कलाग्दो छ । कोहीकोही त मन्त्रीसँग उभिएर वा बसेर फोटो खिचाउनेहरूको कमी पनि छैन यहाँ ।
सिंहदरबार छिरेर फाइदा लिनेहरूमा टाठाबाठा मात्र:
अहिले सिंहदरबारभित्र छिर्नेहरूमा टाठाबाठाका साथै चुल्ठे, मुन्द्रे, ट्याटु खोपेका, हाफपाइन्टलगायतका सबैले प्रवेश पाउँछन् । सहायक कर्मचारीहरूलाई नटेर्ने र अनुमति नै नलिई मन्त्री तथा सचिवको कार्यकक्षमा सिधै पस्ने गरेको यस लेखकले प्रत्यक्ष देख्दै आएको कुरा हो । काम पट्याउन यस्तै टाठाबाठाहरूलाई सिधासादाको तुलनामा सजिलो हुने गरेको पाइन्छ । यहाँ रङ बदल्नेहरूले पनि फाइदा लिने गरेका छन् । बजेट हत्याउने र नीति निर्माणमा समेत असाधारण किसिमबाट दबाब हुने गरेको कुरा पनि यदाकदा सुनिने गरेको छ। त्यसैले भन्न सकिन्छ ‘पहुँच छ भने काम हुन्छ र पहुँच छैन भने सिंहदरबार जति प्रवेश गर्न सफल भए पनि हातलाग्यो शून्य हुन्छ ।’
प्रवेश पास पहिले र अहिले: २०४६ अघि दरबारभित्र प्रवेश गर्नको लागि प्रवेश पासको जरुरत पर्दैन’थ्यो भन्ने कुरा माथि नै उल्लेख गरिएको छ । त्यसपछि भने सिंहदरबार प्रवेश गर्नका लागि पहिले सम्बन्धित मन्त्रालय वा निकायले लिखितरूपमा पास प्राप्त गर्नका लागि प्रहरी सुरक्षा गणलाई पत्राचार गर्नुपथ्र्यो । तर कारण खुलाएर मात्र पत्र लेख्नुपथ्र्यो । अहिले भने नागरिकता बोकेका जसलाई पनि पास दिने गरिएको पाइन्छ । सिंहदरबारभित्र रहेका निकाय वा मन्त्रालयहरूबाट तोकिएका कर्मचारीमार्फत् अनलाइन पद्धतिबाट पास पठाइने व्यवस्था सुरुआत भएको करिब पन्ध्र वर्ष भइसकेको छ । जसले गर्दा जो कोहीलाई पनि सहजै सिंहदरबारमा प्रवेश गर्न झन् सजिलो भएको छ ।
सिंहदरबारका कुकुरहर: कुनै समय एक टेलिभिजनका प्रस्तोताले एक कार्यक्रममा ‘सिंहदरबारका कुकुरहरू’ भन्ने शब्दहरू धेरैपटक दोहो¥या भई दोहो¥याई भट्याइरहेका थिए । बुझ्नेले कसरी बुझे त्यो आ–आफ्नो ठाउँमा रह्यो । तर यो लेखकलाई भने मजा लागेको थियो । प्रस्तोताले भन्न खोजेको तात्पर्य भने बेग्लै थियो । वास्तवमा धेरै पहिलेदेखि नै सिंहदरबारभित्र धेरै कुकुरहरू विचरण गर्छन् । निकायपिच्छेका क्यान्टिनहरूले फालेका हड्डीलगायतका खाना नै ती कुकुरहरूका आहारा हुँदै आएको छ । हुन पनि त्यहाँ धेरै कुकुरहरू छन् । एकपटक यो लेखकले सिंहदरबारको मुख्यभवन अगाडि सुतिरहेका बाह्र वटा कुकुरको फोटो फेसबुकमा सम्प्रेषण गर्दा धेरैले त्यो पोस्ट अचम्म मान्दै रुचाएका थिए ।
अन्त्यमा, जथाभावी तवरले सिंहदरबारभित्र जो पायो त्यहीँलाई प्रवेश गराउने प्रचलनमा कडाई गरिएन भने कुनै पनि बेला त्यहाँ अप्रिय घटनाहरू नघट्लान भन्न सकिन्नँ । त्यसैले दरबारमा प्रवेश पास वितरणमा कडाई गर्नु नित्तान्त जरुरी देखिएको छ । यसका लागि गृह मन्त्रालयले जिम्मेवारीपूर्वक निर्णय गर्नुपर्छ भन्ने लाग्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया