विज्ञान र प्रविधिले मार्क्सवादी विचारमा ल्याएको खटपट
काठमाडौं । दुनियाँको आजसम्मको संघर्षको इतिहास श्रम, सम्पत्ति र सत्ताको सन्तुलन मिलाउन नसक्दाको परिणाम हो । मार्क्सवादी विचारले संसारलाई अतिरिक्त मूल्यको सिद्धान्त दियो । अतिरिक्त मूल्यको सिद्धान्तअनुसार पुँजीपतिले मजदुरको श्रमबाट एक सय रुपैयाँ कमाउँदा मजदुरलाई २० रुपैयाँ दिएर बाँकी ८० रुपैयाँ जुन आफ्नो पकेटमा बचत गर्छ त्यो नै अतिरिक्त मूल्य हो । यही अतिरिक्त मूल्यको कारण कारखाना मालिक वा पुँजीपति सम्पन्न हुँदै जान्छ । श्रम चोरिएको कारण मजदूर झन पछि झन गरिब बन्दै जान्छ । पुँजीवादी देशमा मजदुरहरू कम ज्याला र आफ्नो दूरावस्थाको कारण आन्दोलन त गर्छन् । तर पुँजीवादी देशको सत्ताले मजदुरहरूको आवाज सुन्दैन । किनकि, सरकार पुँजीपतिहरूको नियन्त्रणमा हुन्छ । सरकारले पुँजीपतिको पक्ष लागेर मजदुरहरूलाई दबाउँछ । यसरी श्रम मजदुरको खर्च भयो । पुँजी अर्थात् सम्पत्ति मालिकले कमायो र सत्ताले मालिकको पक्ष लियो । यसो भएको हुनाले श्रम सम्पत्ति र सत्ताको सन्तुलन बिग्रियो । यही असन्तुलनको कारण संसारमा ठूला–ठूला मजदुर आन्दोलन, ठूला–ठूला संघर्ष र क्रान्ति भएका छन् ।
यसै नियमअनुसार परापूर्व कालमा जंगली युग पार गरेर मानिस खेतीपातीको युगमा आइपुग्यो । निजी सम्पत्तिको सुरुवात नभइसकेको समयमा विभिन्न कविला समूहहरू हुन्थ्यो त्यो बखत । कविला समूहका पनि नाइकेहरू हुन्थे । राम्रा जमिन, खेती र अनाजका लागि मारकाट र युद्ध हुन्थ्यो त्यतिखेर पनि । यस्तो युद्धमा जित्नेले हार्ने समूहका सदस्यहरूलाई दासको रूपमा राख्ने चलन चल्यो । समाज अब दासहरू र दास मालिकको रूपमा विभाजित भयो । समूहको नाइके विस्तारै राजा बन्यो । यस्तो किसिमको दास युग पनि हजारौँ वर्ष चलेको देखिन्छ । मिश्रको पिरामिड चीनको ग्रेटवाल र संसारका चामत्कारिक संरचनाहरू हजारौँ दासहरूलाई कोर्रा लगाई लगाई श्रममा जोताएर तयार पारिएका हुन् । प्रायःजसो यसबेला यस्ता दासहरू जमिन उर्वर बनाउने र खेतीको काममा प्रयोग हुन्थे । यसबेला पनि दासहरूले विद्रोह गरे । दास मालिकहरूको सत्ताले दासहरूलाई दमन गथ्र्याे । सबैभन्दा ठूलो दास विद्रोह रोमको स्पार्टकसमा भएको थियो । श्रम, सम्पत्ति र सत्ताको सन्तुलन यतिखेर पनि मिलेको थिएन । श्रम गर्ने दासहरूको अवस्था दयनीय थियो । सम्पत्ति दास मालिकहरूसँग हुन्थ्यो । सत्ता पनि मालिककै पक्षमा हुन्थ्यो । यो बेलासम्म निजी सम्पत्तिको सुरुवात भइसकेको थियो ।
यस्ता दासप्रथा हजारौँ वर्षसम्म रहेको अनुमान छ । दासहरूद्वारा बेला–बेला भएको विद्रोहको फलस्वरूप दासहरू फुकुवा गरिए तर पनि मालिकका खेतमा काम गर्न जानुपर्ने बाध्यता रहिनै रह्यो । किनकि खेती गर्ने जमिन मालिकसँग नै हुन्थ्यो । यसैले अब जमिन मालिक र मोही किसानको युग सुरु भयो । यसैलाई मार्क्सवादले सामन्ती युग भनी व्याख्या गरेको छ । ठूला–ठूला जग्गाका मालिकहरू र मोही (जग्गा कमाउने वा जग्गामा काम गर्ने किसान)हरू दुई कित्तामा छुट्टिए ।
यो समय पनि हजारौँ वर्ष रह्यो । रहिरहेकै पनि छ, भाग्य कर्मको खेल, उच्च जात र निच जात, कर्मकाण्डी समाज यसै समयमा विकास भएको हो । चार वेद र गीतामा लेखिएको भन्दा फरक भाष्य र कर्मकाण्डी कुरा सामन्त राजाहरू र गुरु पुरोहितको स्वार्थअनुसार रचिएका हुन् । भाग्यको कारण कोही राजा भए र कोही रैती । भाग्यकै कारण कोही धनी भए र कोही गरिब । पहिलो जन्ममा गरेको पापले गर्दा गरिब भएको र अछुत भएको भनी शोषणको रूपलाई यहाँ लुकाउन खोजिएको छ । वास्तवमा उही श्रम, सम्पत्ति र सत्ताको असन्तुलन नै यस युगको पनि अशान्तिको कारक बन्यो ।
यसैले संसारमा शान्ति कायम गर्न श्रम, सम्पत्ति र सत्ताको सन्तुलन मिल्नुपर्छ भन्ने देखियो । सत्ता र सम्पत्ति जहिले पनि बसिखानेहरूको हातमा रहिरह्यो । काम गर्नेको हातमा सम्पत्ति नरहने अवस्था सधै सिर्जना भइरह्यो । यसैले कार्ल मार्क्सले तलका कुराहरूमा जोड दिएको देखिन्छ ।
१) सर्वहारा वर्गको हातमा सत्ता
२) सर्वहारा वर्गको अधिनायकत्व
३) साम्यवादी शासनको परिकल्पना
सर्वहारा वर्ग या श्रम गर्नेको हातमा सत्ता भनिए पनि कम्युनिस्ट मुलुकहरूमा अर्थतन्त्रको नियन्त्रण राज्यले गर्न थाल्यो । राज्य नियन्त्रित अर्थतन्त्रले श्रम गर्नेहरूको हित हुन्छ भन्ने मानिसहरूलाई भ्रम पर्यो । तर राज्यसत्तामा पुग्ने हर्ताकर्ताहरूले श्रम गर्नेहरूको हित सधैँ गर्न सकेनन् । श्रम गर्नेहरू कमाराजस्ता र सत्तामा बस्नेहरू मालिकजस्ता बन्न थाले । सबैभन्दा पहिलो र लामो समय टिकेको समाजवादी सत्ता सोभियत सत्ता थियो । यो निकै वर्ष टिक्यो, कालान्तरमा यसले पनि जनताको आवश्यकता परिपूर्ति गर्न सकेन । कारण जनता पाउरोटी चाहन्थे सोभियत सरकारले ठूला–ठूला मेसिन र युद्ध सामग्रीहरूको उत्पादन गथ्र्यो । श्रम गर्नेहरूको श्रमको उपज जुन पुँजी हो, तत्कालीन सोभियत सत्ताले गलत ठाउँमा प्रयोग गर्यो । यसैको सिको गर्ने पूर्वी युरोपमा समेत सत्ताको विरोधमा आन्तरिक अन्तर्विरोध उत्पन्न भयो ।
सत्तामा पुगिसकेकाहरू ओर्लिन चाहेनन् । सर्वहाराको अधिनायकत्वको नाममा सत्तासीनहरूको अधिनायकत्व कायम भयो । सत्तामा बस्नेहरूको चैन र सत्ता लिप्सा हेर्न लायक थियो । व्यक्तिगत सम्पत्ति राख्न पाउने पुँजीवादी देशहरू पनि उनीहरूको विरोधी भइदिँदा संसारका विभिन्न देशहरूमा कम्युनिस्ट सत्ता गर्लामगुर्लुम ढल्यो । आइया र आत्था भन्ने ठाउँ काहीँ बाँकी रहेन । यसैले श्रम सम्पत्ति र सत्ताको सन्तुलन भएको कम्युनिस्ट मुलुकहरूमा पनि देख्न पाइएन । कम्युनिस्ट सत्ता र कम्युनिस्ट आदर्शका विचार सफल हुन नसक्नुका निम्न कारणहरू देखिन्छन् ।
(क) माक्र्सको भनाइ ठीक ढंगले बुझ्न नसक्नु
माक्र्सको भनाइ त निजी सम्पत्तिको उदयसँगै राज्यको उत्पत्ति भएको भन्ने छ । निजी सम्पत्तिको उदयले समाज बसिखाने र गरिखाने दुई वर्गको उत्पत्ति भयो । गरिब वर्गले काम नगरे धनी र मालिक वर्गको सम्पत्तिको स्रोत सुक्ने भयो । उचित ज्याला नदिँदा श्रमिकले विद्रोह गर्ने भए । यही विद्रोह दबाउन राज्यसत्ताको उदय भयो । यसैले समाज साम्यवादमा पुग्दा निजी सम्पत्ति नरहने हुँदा राज्यसत्ताको आवश्यक पर्दैन भन्ने परिकल्पना छ । कम्युनिस्ट देशहरूमा राज्यका हर्ताकर्ताले पुँजी र सत्ता एकीकृत गरी जनतामाथि सत्ताको लाठी चलाइरहे । सत्ताबाट कहिल्यै नओर्ली आफू श्रमिकवर्गको मालिक भई रह्यो । श्रम सम्पत्ति र सत्ताको सन्तुलन कहाँनिर भयो त ?
(ख) समयअनुसार चल्न नसक्नु
समयसँगै मानिसहरूको रहन सहन, विचार र व्यवहार फरक हुँदै जान्छ । ज्ञान छिपछिपेबाट गहिरो हुँदै जान्छ । जीवनस्तर पनि निम्नबाट उच्चतिर पदारोपण गर्न खोज्छ । यसले गर्दा जनताका मागहरू र आवश्यकताहरू पनि परिवर्तन हुँदै जाने हुन्छ । यस कुरालाई नेतृत्वले जब बुझ्दैन भने यस्तो नेतृत्व असफल हुनु स्वाभाविक हो ।
(ग) नयाँ उत्पादक शक्तिको उदय हुनु
परिवर्तित समयसँगै संसारमा नयाँ–नयाँ आविष्कार हुन थाले । नयाँ आविष्कारले मानिसहरूलाई चाहिने आवश्यकताका वस्तुहरू उत्पादन गर्न नयाँ–नयाँ मेसिनहरूको आविष्कार भयो । अब मानिसले गर्ने काम मेसिनले गर्न थाल्यो । जस्तै, हाइड्रोपावरको काममा पुरानो पद्धतिअनुसार डेड दुई सय कर्मचारी चाहिने ठाउँमा पाँच सात जना प्राविधिकहरू (इन्जिनियरहरू)ले कम्प्युटरमा बसेर सबै काम सम्पन्न गर्न सक्ने भए । कृषि क्षेत्रमा बीउ रोप्नेदेखि बाली काट्नेसम्म सबै काम मेसिनले गर्ने भयो । उद्योग क्षेत्रमा पनि मजदुरले गर्ने काम सबै मेसिनहरूले गर्ने हुन थाल्यो । रोबोर्टहरूको आविष्कार भयो । रोबर्टहरूले मानिसले जस्तै काम गर्ने भयो । यसकारण उत्पादक शक्ति पहिले मजदुर थिए भने अहिले मेसिन भयो । यसरी नयाँ उत्पादक शक्तिको विकास हुँदा मार्क्सले भन्ने गरेको मजदुर वा उत्पादक शक्तिले आजकल काम पनि नपाउने र माम पनि नपाउने अवस्था सिर्जना भयो । काम नपाएकाले मामको लागि संघर्ष गर्ने र क्रान्ति गर्ने कुरामै दुविधा उत्पन्न भयो ।
विज्ञान प्रविधि प्रयोग गरी पुँजीपति झन् पछि झन् बढी पुँजी जम्मा गर्ने भए । मजदुरको आवश्यकता नपरेकाले अतिरिक्त मूल्य सिँगै पुँजीपतिको पोल्टामा जाने भयो । यसैले अब मजदुर बेरोजगार भए । बेरोजगारसँग केही पनि बाँकी रहेन । काम गर्ने रोबर्टसम्मको आविष्कार भइसकेको हुनाले श्रमिकको आवश्यकता पर्ने कुरै भएन । यसैले यतिखेर भने एकातिर बेरोजगार अर्कातिर सम्पत्ति र सत्ताको बीच अन्तर्विरोध उत्पन्न भइरहेको छ विश्वमा । यो कुरा बुझ्न नसक्नु नै समाजवादी आन्दोलन असफल हुनुको कारण हो ।
अब के हुन्छ त ?
अब यस्तो अन्तर विरोधको हल समाजवादीहरूले पनि विज्ञान प्रविधिलाई उपयोग गरेर मात्र सम्भव हुन्छ । पुँजीपतिहरूले आफूलाई परिआएको संकट विज्ञान प्रविधिको उपयोग गरेर नै समाधान गरेका हुन् । नत्र मजदुरहरूसँग उनीहरूको सधैँ टसल हुने गथ्र्यो ।
आजको विश्व व्यवस्थामा नयाँ उत्पादक शक्तिको उदय भएको छ । सत्ता सम्पत्ति र बेरोजगारहरूको रूपमा फेरि पनि सन्तुलन बिग्रेको छ । यो सन्तुलन मिलाउन आम उपभोक्ताबीच विज्ञान प्रविधि स्वयम्ले उपयोग गर्नु आवश्यक छ । यो कुरामा समाजवादीहरूले ध्यान पु-याउन जरुरी छ ।
(घ) राज्य नियन्त्रित अर्थतन्त्र
समाजवादी सोच राख्नेहरूले अहिलेसम्म विश्वमा उपयोग गर्दै आएको अर्थतन्त्रको रूप राज्य नियन्त्रित अर्थतन्त्र हो । यो अर्थतन्त्रको रूप विश्वमा फेल भइसकेको छ । अब यसको ठाउँमा सामुदायिक अर्थतन्त्र लागू गर्नुपर्छ । समूह र समुदायको इतिहास राज्यको उत्पत्ति हुनुभन्दा अगाडिको हो । हामीहरूले मानव विकासको इतिहासमा कविला समाजको बारेमा सुनेका र पढेका छौँ । यो अति प्राचीन संरचना हो । अतः राज्यले समूह र समुदायहरूको नेतृत्व विकासमा जोड दिनुपर्छ । सुरुवातमा अर्थतन्त्रलाई मिश्रितरूपमा अगाडि बढाउन पनि सकिन्छ । सामुदायिक अर्थतन्त्रको विकास गर्न सके मात्र समाजवादमा पुग्न सजिलो बन्दै जान्छ ।
यस्तो आर्थिक मोडेललाई नमुनाको रूपमा पुजीँवादी व्यवस्थाभित्र पनि सम्भव बनाउन सकिन्छ । एउटै व्यवस्थाभित्र दुई किसिमको आर्थिक मोडेल दिन सकिने अवस्था बदलिँदो विश्व परिवेशले सम्भव बनाइदिएको छ ।
पानीले आफ्नो सतह आफैँ मिलाउँछ भनेजस्तै समाजमा श्रम, सम्पत्ति र सत्ताको सन्तुलन हुनुपर्छ । यो नभएसम्म आरोह अवरोह भइरहन्छ । समाज आफैँ सन्तुलन मिल्न व्यघ्र हुन्छ । यो नत कुनै कसैसँग कसैको बदलवा भाव हो, न त वैरभाव । केही पनि होइन । बरु सामाजिक सन्तुलनको सिद्धान्तसँग यो सम्बन्धित छ । सम्पूर्ण मानव जगत् सम्पत्ति र सत्ताको सन्तुलन मिल्नु नै आजको परिप्रेक्षमा सामाजिक सन्तुलन मिल्नु हो । यसलाई सामाजिक सन्तुलनको सिद्धान्त पनि भन्न सकिन्छ । माक्र्सवादी दर्शनको दार्शनिक आधार पनि यहि हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया