Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंकटमा रेड पाण्डा

संकटमा रेड पाण्डा


काठमाडौं । रातो पाण्डाको वैज्ञानिक नाम एलुरस फुल्गेन्स हो । यो दूर्लभ स्तनधारी वन्यजन्तु हो । स्थानीय भाषामा यो जनावर हाब्रेको नामले पनि चिनिन्छ । हाब्रे सोझो जन्तु हो । यसले खाने कुरामा मालिंगो, रुइस, भालुचिण्डे, पानीलहरो, झाप्रा र फुट्टो रहेका छन् । यो जन्तु विशेष गरेर तेर्सो परेको रुखको हाँगामा बस्न रूचाउँछ । थुतुनोमा सेतो भएको, आँखा छेउको भाग, खुट्टा र शरीरमुनिको भाग कालो भएको हाब्रेको कानको टुप्पो र नाक वरपरको भागचाहिँ सेतो हुन्छ ।

रातो पाण्डा ध्वाँसे र रातो रंगका हुन्छन् । यिनीहरूको मुख गोलाकारको हुन्छ भने कानचाहिँ लामो अनि खुट्टा छोटा हुन्छन् । झट्ट हेर्दा बिरालोजस्तो देखिने यो जीव आकारमा भने बिरालोभन्दा अलिक ठूलो हुन्छ । यिनीहरूको लम्बाइ पुच्छरसहित करिब सवामिटरसम्म हुन्छ । हाब्रेको तौल वा वजन चारदेखि छ किलोग्रामसम्मको हुन्छ भने यिनीहरूको आयु १० देखि १५ वर्षसम्मको हुन्छ । लामो र गोलो आकारको थोप्ला भएको रेडपाण्डाको पुच्छर र जिउमा नरम भुत्ला हुन्छ । यसको पुच्छर करिब ५० सेन्टिमिटर लामो र शरीरको लम्बाइ ६० सेन्टिमिटर जति हुन्छ । कुल एक मिटर जति लम्बाइ र ५० देखि ६० मिटर अग्लो हुन्छ । एउटा वयस्क रेडपाण्डाको तौल जंगली अवस्थामा औसत चार किलोग्राम हुन्छ भने चिडिया खानामा पालिएको अवस्थामा औसत करिब चारदेखि पाँच किलोग्राम हुन्छ ।

रेड पाण्डा सर्वभक्षी जन्तु हो । सर्वभक्षी भन्नाले यो जन्तु मांसाहारी र शाकाहारी दुवै हो । यसले बाँसको काण्डलाई खुबै मन पराउँछ । खासगरी शाकाहारी खानाका रूपमा यसले फलपूmल, च्याउ, रुखका जरा, लेउ, ओकवृक्षका गेडा आदि खान्छ । तर यो जन्तुको लागि सबैभन्दा सजिलै र पचाउन सक्ने खानेकुरा भनेको बाँस नै हो । विशेषगरी यसले गुराँस तथा बाँस र निगालोका नरम टुसा र अन्य वनस्पतिका जरा, पात तथा फलहरू खाने गर्छ । यसले बाँस र निगालोका नरम टुसाहरू खाने भएकाले शेर्पा भाषामा यसलाई ‘निगाला पान्यौ’ अर्थात् निगालो खाने जनावर पनि भन्ने गरिन्छ । त्यसो त यी जनावरहरू प्रायः बाँसको घारी र अन्य शितोष्ण वनस्पतिहरूको बाहुल्यता रहेको जंगली क्षेत्रमै बस्न बढी रुचाउँछन् । त्यसैगरी मांसाहारी खानाका रूपमा चराचुरुङ्गीको अण्डा र साना–मसिना स्तनधारी जीवहरू पनि यसले भ्याउँछ । खाएको खाना पचाउन शरद ऋतु यसका लागि निकै उपयुक्त रहन्छ । किनभने जाडोयाममा आपूmले खाएको खाना पचाउन यसलाई निकै अप्ठ्यारो पर्छ । साथै, यसको अगाडिका दाँतले मुखमा आहारा राख्न सहयोग गर्छ । स्मरण रहोस् पश्चिम नेपालदेखि उत्तर पश्चिम चीनको हिमाली जंगली भेगमा पाइने रेड पाण्डाले बाँसको काण्ड मात्र खाएर जीवन गुजारा गर्छ । विशेषगरी यसको पानी खाने तरिका पनि खुबै मजाको हुन्छ । आफ्ना नङ्ग्रालाई पानीमा बेस्सरी घचेटेर डुबाई त्यही नङ्ग्रा चुस्छ र आफ्नो तिर्खा मेट्छ ।

हाब्रे प्रायः दिनभर रुखको ओडार, टोट्काभित्र सुत्छ र साँझ–बिहानी पख मात्र बढी सक्रिय रहन्छ । यिनीहरूको जीवनको धेरैजसो भाग रुखमै बित्ने गर्छ । यो जीवप्रायः एक्लै बस्न रुचाउँछ । खासगरी माउ र बच्चा तथा जोडी बनाउने बेला मात्र भाले पोथी एकै ठाउँमा भेटिन्छन् । गोधुली साँझ र मिर्मरे बिहानमा चलाख रहने यो जन्तु दिउँसोको समयमा सुस्त हुन्छ र रुखको हाँगा वा टोड्कामा धुम्धुम्ती बसिरहन्छ । अझ रेड पाण्डा रातको समयमा धेरै क्रियाशील रहन्छ । यसको स्वभाव एकान्तप्रेमी हुन्छ । यसले कुनै–कुनै बेलामात्र आवाज निकाल्छ । जसले उसको संगीसँग सञ्चारको काम गर्छ । गर्मीको समय खुट्टालाई भुइँमा झुण्ड्याएर सुत्छ भने जाडोयाममा आफ्नो भुत्ले पुच्छरअनुहारमा गुतेर सुत्छ । चिसो ठाउँ ज्यादै नै रुचाउने यो जन्तुले २५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहन सक्तैन । भाले रेड पाण्डा पोथीको तुलनामा अझ एकान्तप्रेमी हुन्छ । भाले रेड पाण्डा प्रजनन गर्ने समयमा चलाख रहन्छ ।

पोथी हाब्रेले पुस–माघमा भाले खोज्छ र जेठ असारतिर बच्चा जन्माउने गर्छ । यिनीहरूको गर्भाधान अवधि सामान्यतया साढे तीनदेखि पाँच महिना (एक सय १२ देखि एक सय ५० दिन)सम्मको हुने गर्छ । पोथी हाब्रेले एक पटकमा एकदेखि चार वटासम्म बच्चा जन्माउँछ तर जन्मदाको समयमा ती बच्चाहरूको आँखा खुलेको हुँदैन । बच्चाहरू करिब २–३ वर्षको उमेरमा वयस्क हुन्छन् भने यिनीहरू आफ्नो माउ वा आमासँग करिब छ–सात महिना मात्र रहन्छन् । आफ्नी आमाले अर्को वर्षको वैशाखतिर अर्को सन्तान नजन्माउँदासम्म रेड पाण्डा आमाकै साथमा रहन्छ । भालेले आफ्नो बच्चालाई पालनपोषणमा मद्दत गर्न बिरलै रुचाउँछ । अठार महिनाको भएपछि यो गर्भाधानका लागि उचित ठहरिन्छ । त्यसपछि दुई वर्षको उमेरदेखि यो एउटा परिपक्व रेड पाण्डामा रूपान्तर हुन्छ ।

रेड पाण्डाको वास्तविक संख्या पत्ता लगाउन निकै गाह्रो छ । रेड पाण्डाजस्तै देखिने अन्य जन्तुका कारण यसको संख्या पत्ता लगाउन गाह्रो भएको हो । यद्यपि यसको यकीन संख्या यति नै छ भनेर भन्न कठिन भए पनि डब्लुडब्लुएफको एक तथ्याङ्कअनुसार यो जन्तु विश्वभर एघार हजारदेखि बीसहजारको हाराहारीमा रहेको अनुमान छ । सबैभन्दा धेरै रेड पाण्डा चीनमा छन् । रातो पाण्डाको सबैभन्दा बढी संख्या चीनमा रहेको छ । चीनमा यसको संख्या सात हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालको सन्दर्भमा मकालु–वरुण राष्ट्रिय निकुञ्जद्वारा केही समय अगाडि प्रकाशित एक पुस्तिका (ब्रोसर)अनुसार उच्च पहाडी र हिमाली क्षेत्र गरी करिब तीन सय वटा जति रहेको अनुमान गरिएको छ । नेपालबाहेक भारत, भुटान र म्यानमारजस्ता मुलुकहरूमा यसको संख्या उल्लेख्यरूपमा रहेको बताइन्छ ।

हाब्रेको बासस्थानबारे भन्नुपर्दा यो जनावर हिमाली भेगको १५ सयदेखि चार हजार मिटरसम्मको उचाइमा पाइन्छ । हिमाली क्षेत्रको मध्यमखाले वातावरणमा पाइने रेड पाण्डा खासगरी दुई उपजातिका हुन्छन् । ‘आइलरस फल्गेन्स’ उपजातिका रेड पाण्डा नेपाल, भुटान तथा भारतको सिक्किम तथा आसामको दक्षिणी भू–भागमा पाइन्छ । हाम्रो देशमा यो जनावर विशेष गरी लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा कञ्चनजंगा संरक्षण क्षेत्रमा पाइन्छ । विशेषगरी संखुवासभा, मकालु, याफु, सिसुवाखोला, हटिया, चेपुवा, पावाखोला र नुममा यो जनावर भेटिने गर्छ । स्मरण रहोस् यी गाविसहरू उच्च हिमाली र विकट क्षेत्रको वर्गमा पर्छ । यसका साथै भारतको सिंंहलीला पर्वत वन क्षेत्र, सिक्किम र अरुणाञ्चल प्रदेशमा पनि यो जन्तु पाइन्छ । तर हाब्रेको एउटा विशेषता के हुन्छ भने यसले बढी गर्मी सहन सक्तैन । त्यसैले १८ सय मिटर अर्थात् पाँच हजार फिटभन्दा तल्लो क्षेत्रमा यिनीहरू विरलै मात्र भेटिन्छन् । स्मरण रहोस्, विश्वकै एक मात्र पाण्डा प्रजनन् केन्द्र भारतको दार्जीलिङस्थित चिडियाखानामा स्थापना गरिएको छ ।

विश्वकै दूर्लभ जन्तुको सूचीमा पर्ने हाब्रे अर्थात् रातो पाण्डाको चोरी शिकारी, अवैध व्यापार वा अनियन्त्रित तरिकाबाट बिक्री वितरण एवम् कम प्रजनन दरका कारण हाल यसको संख्यामा क्रमिकरूपले ह्रास आइरहेको छ । खासगरी पाण्डाको बासस्थान अर्थात् बाँसको बाहुल्यता हुने जंगल मासिने अवस्थामा रहेकाले पनि पाण्डाहरूको संख्या संकटमा परेको भनाइ विशेषज्ञहरूको रहेको छ । मानिसले घरबस्ती बसाल्न तथा कृषि कार्य गर्न बाँस–जंगल फँडानी गर्दा तथा काठ दाउराको व्यापक प्रयोग गर्नाले पनि रेड पाण्डाको संख्या घटेको हो । यसको भुत्लाका लागि मानिसले यसको शिकार गर्ने गर्छन् । रेड पाण्डाको प्रमुख शत्रु भनेको मलसाँप्रो र हिउँ चितुवा हो । त्यसो त अवैधरूपमा चोरी शिकार गर्ने मानिस पनि यसका शत्रुकै रूपमा लिन सकिन्छ ।

नेपाल सरकारले रातो पाण्डालाई संरक्षित जंगली जनावरको श्रेणीमा राखेको छ । तथापि नेपाल तथा अन्तर्राष्ट्रियस्तरमै यसको संरक्षणको व्यापक प्रयास भए पनि रेड पाण्डा लोपोन्मुख जन्तुको सूचीमा परेको छ । जहाँसम्म यस्ता वन्यजन्तु संरक्षणका लागि गरिएको कानुनी प्रावधानको कुरा छ, नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले व्यवस्था गरेअनुसार यस किसिमको दूर्लभ वन्यजन्तुको अवैध व्यापार वा चोरी शिकारी गर्ने व्यक्तिलाई कसुर हेरी एक लाख जरिवाना, १५ वर्ष कैद वा दुवै हुन सक्ने प्रावधान रहेको छ । तर कानुनी प्रावधानले मात्र यस्ता दूर्लभ जनावरहरूको संरक्षण गर्न सकिँदैन । सरकार वा सम्बद्ध निकायले यसको संरक्षणका लागि ठोस र प्रभावकारी नीति वा कार्यक्रम नै ल्याउनुपर्ने आवश्यक देखिन्छ । यद्यपि रेड पाण्डा संरक्षणका लागि विश्व वन्यजन्तु संरक्षण कोषजस्ता अन्तर्राष्ट्यि गैरसरकारी संगठनहरूले पनि आवश्यक प्रयास र कार्य गरिरहेका छन् । तथापि विभिन्न कारणवश यसको बासस्थान मासिँदै जानु र यसले खाने गरेको आहारको कमीले गर्दा नेपालबाट यो जनावर लोप हुने अवस्थामा पुगेको हो । त्यसैले यसको संरक्षणका लागि सरकार वा सम्बद्ध निकायले तत्काल आवश्यक कदम उठाउनुपर्ने जरुरी भइसकेको छ । हाब्रे र हाब्रेजस्ता अन्य दूर्लभ जीवजन्तु संरक्षणका लागि बेलैमा आवश्यक कदम नचाल्ने वा यसको बासस्थानको उचित संरक्षण नगर्ने हो भने यस्ता सुन्दर र दूर्लभ जीवजन्तहरू केही वर्षभित्रै लोप भएर चिडियाखानामा मात्र सीमित रहन पुग्ने पक्का छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया