खोटो संकलनका नकारात्मक पक्ष
काठमाडौं । नेपालबाट वर्षौँअघिदेखि नै चिराइँतो, जटामसी, पाँचऔँले, दालचिनी टिमुर, पदमचाल, सतुवा, वन लसुन, हर्रो, बर्रो, बोजोलगायत कैयन जडिबुटीहरू भारतमा सस्तो मूल्यमा निर्यात हुँदै आइरहेको छ । धेरै वर्ष पहिले गाडीको सुविधा नहुँदा ढाक्रे वा भरियाहरूले ती जडिबुटीहरू जालीले बाँधेर खकनसहितको डोकोमा बोकेर गोरेटो तथा घोडेटो बाटोबाट लस्करै ढुवानी गर्दा कुनै न कुनै जडिबुटीको हरर वास्ना आउँथ्यो । कुनै कुनै रुखको बोक्राबाहिर रहने झ्याउ वा झुल पनि भारततिर निकासी हुन्थ्यो । रिठ्ठा पनि भरियाले डोकाका डोका बोकेर नेपाल भारत सीमासम्म लैजान्थे । उनीहरूले खासै मूल्य पाउँथे वा पाउँदैनन् थाहा भएन । तर भारत गइसकेपछि त्यतिबेलै ती लोपोन्मुख जडिबुटीलगायतका उपजहरू महँगोमा बिक्री हुन्छ भन्ने पनि सुनिन्थ्यो ।
हाल देशमा केही दशकदेखि खोटो संकलन प्रशोधन र निर्यात गर्ने टर्पेन्टाइन उद्योगहरू पनि खुलेका छन् । जसले पहाडी भेगमा रहेका सल्लाहरूको रुखलाई घाउ पारेर सोली टाँसेर खोटो संकलन हुँदै आइरहेको छ । सल्लालाई घाउ पारेर खोटो संकलन गर्दा सल्लाका रुखहरू सुक्दै जाने र नास हुँदै त्यसै खेर जाने गरेको पनि पाइन्छ । सरकारलाई कर तिर्ने र केही हदसम्म भए पनि रोजगार दिँदै आएका यी उद्योगहरूले उल्लेखनीय भूमिका निर्वाह गरे पनि त्यसको नकारात्मक पक्ष पनि छ । त्यो हो वनको विनास । कुनै बखत सरकारले एउटा नारा पनि सार्वजनिक गरेको थियो– ‘हरियो वन नेपालको धन ।’ अहिले त्यो नारा खास लागू हुँदैन । हाम्रा वनका असल काठहरू तस्करी भएर भारत जान्छन् र नेपालमा मलेसियाको समेत कमसल खालका काठ भित्रिन्छन् । भारत निकासी हुने असल काठहरूको अवैधानिक कारोबारबाट वन कार्यालयका हाकिमहरू पनि मोटाउँदै आइरहेको बेलाबेलामा समाचारहरू पनि सुनिन्छन् ।
कुनै पनि क्रियाकलापमा सकारात्मक पक्ष र नकारात्मक पक्ष हेरिन्छ । सकारात्मक पक्ष बढी देखिएमा त्यो क्रियाकलाप वा गतिविधि सफल हुन्छ । खोटो संकलन कार्यमा बढी नकारात्मक पक्ष देखिन्छ । हाम्रो स्वास्थ्यलाई आवश्यक पर्ने अक्सिजनको आधार नै वनस्पति भएकाले रुखहरू विनास गर्नु आफैँमाथि घात गर्नु सरह ठानिन्छ । वनस्पति रहे प्राणी र प्राणी रहे वनस्पति भन्ने कुरालाई हृदयंगम गरेर मात्र अगाडि बढ्नु उचित ठानिन्छ । वनस्पति र प्राणी एक अर्काका परिपूरक हुन् । इकोसिस्टम बिग्रँदा सृष्टि नै असन्तुलित हुन जान्छ । त्यसैले वनविनास गर्नु भनेको प्राणीहरूकै लागि उचित हुँदैन । प्राणीहरूमा सबैभन्दा वुद्धिमान मानिस नै हो । उसले ख्याल नगरी कसले ख्याल गर्ने प्रकृति संरक्षणको सन्दर्भमा ?
प्रकृतिले हामीलाई धेरै चिज दिँदै आएका छन् पानी, खानी वनस्पतिलगायत । हामीलाई आवश्यक पर्ने धातुहरू खानीबाट प्राप्त गर्छौँ भने पानी धेरै नै आवश्यक वस्तु हो । पानी नभएको भए सिँचाइ हुँदैनथ्यो र खेतीपाती हुँदैनथ्यो, अर्को वाक्यमा भन्नुपर्दा हाम्रो अस्तित्व नै रहँदैनथ्यो । मानव सभ्यताका लागि वनस्पति अत्यावश्यक नै छ । गाईवस्तुका लागि घाँस आवश्यक हुन्छ । हामीलाई सागसब्जीको माध्यम पनि वनस्पति नै हो । त्यसैले वनस्पतिलाई धेरै नै माया गर्नुपर्दछ, विनास होइन । हामीले अन्धाधुन्द वनको विनास गर्नथाल्यौँ भने त्यसको प्रत्यक्ष असर हामीहरूलाई नै पर्छ । खोटो र कैयन जडिबुटीलाई मात्र होइन हामीहरूले क्षणिक फाइदाका लागि महत्वपूर्ण र अमूल्य वनस्पतिलाई नाश गर्न तम्सिन्छौँ । नेपालमा पाइने अर्को महत्वपूर्ण वनस्पति हो खयर । त्यो औषधिजन्य वनस्पति हो । कत्था मिलहरूमा जथाभावी मासिएका खयरका रुखका गिँडहरू देख्न सकिन्छ । पान सेवनका लागि कत्था आवश्यक ठानिन्छ । यो स्वास्थ्यको लागि पनि लाभदायक छ तर जथाभावी खयरका रुखहरूको विनास गर्नुहुँदैन ।
हामी प्रकृति सन्तुलनमा हेलचेक्र्याइँ ग¥यौँ भने त्यसको नकारात्मक असर हामीमै पर्ने कुरालाई मध्यनजर राख्नु अति नै जरुरी हुन्छ । वनस्पतिले हामीलाई प्राणवायु मात्र होइन घाँस, दाउरा, औषधी, फल, फूल पनि प्रदान गर्छ । वनस्पति यति महत्वपूर्ण हुँदाहुँदै पनि हामीले त्यसलाई मास्ने प्रयत्न गर्दछौँ र क्षणिक फाइदा उठाउन खोज्छौँ । त्यो सरासर गलत प्रवृत्ति नै हो भन्न सकिन्छ । हामीले हाम्रा बालबच्चालाई जति धेरै माया गर्छौँ वनस्पतिलाई पनि त्यत्तिकै माया गर्नुपर्छ । रोप्ने, संरक्षण गर्ने र हुर्काउने, बढाउने काम वुद्धिमान ठहरिएको मानिसले नै गर्नुपर्छ । अरू जन्तुहरूलाई त के नै थाहा हुन्छ र उनीहरू त प्रकृतिसँग रमाउने मात्र हुन्, संरक्षण गर्नुपर्छ भन्ने उनीहरूमा विचार उत्पन्न हुँदैन । त्यसैले जन्तुभन्दा धेरै माथि उठेर मानिसले नै वनको संरक्षण गर्नुपर्दछ ।
केही समयदेखि पहाडी मात्र होइन उच्चपहाडी भेगमा समेत ग्यासको प्रयोग हुँदै आइरहेको पाइन्छ । तराई भेग र शहरको त कुरै छोडौँ । ग्यासको प्रयोगले पनि वन विनास केही हदसम्म रोकिएको छ । त्यसमाथि गाईभैँसीलगायतका चौपायाहरू पाल्न छोडिँदा वन झन्पछि झन् बाक्लिँदै नगएको भने होइन । तर चौपाया पाल्न छोड्ने खेतबारी बाँझो राख्ने र आयातीत चामलको भात र विषादीसहितको तरकारी खान थाल्दा स्वास्थ्यमा भने नकारात्मक असर पर्दै आइरहेको छ । यो त भयो वन जोगिने कुरा ।
जडिबुटीको विनास त पहिलेदेखि नै हुँदै आइरहेको छ । अब भने त्यो विनास गर्ने काम रोक्नुपर्दछ र सकिन्छ भने बीउ खोज्दै, सार्दै, जोगाउँदै, हुर्काउँदै गर्नुपर्ने अवस्था छ । केही वर्षदेखि जडिबुटीको व्यावसायिक खेती पनि गरिँदैआएको भन्ने सुनिन्छ । तर बजारको अभावमा खासै उपलब्धि हासिल हुनसकेको भने पाइँदैन । नेपालमा आयुर्वेदिक उद्योगहरू र ब्यवसायहरू खुल्दै पनि आएका छन् । तर ती उद्योगहरूले खास जडिबुटी मात्र प्रशोधन र बिक्री वितरण गरेका होलान् भनेर शंका गर्नुपर्ने अवस्था पनि छ । यहाँ अनुगमन र निरीक्षण गर्ने निकाय पनि सक्रिय भएको पाइँदैन । नक्कली आयुर्वेदिक औषधीले फाइदाभन्दा पनि बेफाइदा गर्न सक्ने हुनाले यसतर्फ उपभोक्ता समेत सचेत हुनुपर्ने अवस्था छ ।
खोटोको प्रयोग तारपिन तेल, ग्रिज, रङ र अलकत्रा बनाउन प्रयोग हुन्छ । नेपालका विभिन्न स्थानहरूमा टर्पेन्टाइन उद्योगहरू छन्, जसले सल्लाको खोटो संकलन गरेर प्रशोधन गर्ने गर्छन् । उद्योगहरूले सस्तोमा खरिद गर्ने हुँदा एक केजी खोटो संकलन गरेबापत खोटोसंकलकले जम्मा १० रुपैयाँ मात्र पाउँछन्, जो न्यायसंगत छैन । मेहनत गरेअनुसारको पारिश्रमिक नपाउँदा स्थानीय कामदारहरू सन्तुष्ट छैनन् । १० केजी खोटो संकलन गर्नको लागि करिब २५ ओटा सल्लाका रुखहरूलाई घायल बनाउनुपर्छ । सल्लाका बोटहरूलाई घायल बनाइराख्नु पनि यातना दिएसरह हुन्छ । किन कि वनस्पति पनि जीव नै हुन् तर बोल्न र प्रतिक्रिया व्यक्त गर्न सक्दैनन् । यसरी अनुमान लगाउन सकिन्छ कि सल्लाका रुखहरूको विनास कसरी भइरहेको छ भनेर । सल्लाको सुसाइले पदयात्रीहरूलाई निकै आनन्द दिने र थकाइको महसुस नहुने हुँदा सल्लाको महत्व अझ बढी छ । खोलाको सुसाइ र सल्लाको सुसाइमा सुत्नेहरूको निन्द्रा पनि आरामले लाग्ने कुरा गाउँघरका बुढापाकाहरूले बताउने गर्छन् । सल्लाको सोत्तर गोठमा बिछ्याइदिनाले गाई भैँसीहरूले गुन मान्ने भनाइ पनि छ । सो सोत्तरबाट बन्ने प्रांगारिक मल निकै उर्वर हुने पनि अनुभवीहरूको भनाइ रहेको छ ।
पहाडी भेगतिर पहिले पहिले अर्थात् टुकी र लालटिनको प्रयोग हुनुभन्दा पहिले दियालो बालेर उज्यालोको काम चलाइन्थ्यो । त्यस दियालोमा खोटोको अंश रहने हुँदा झर्झराएर बल्ने र लामो यात्रासम्म पनि बलि नै रहने हुँदा रातमा कतै जाँदा दियालोको प्रयोग हुन्थ्यो । दियालोमा रहने खोटो ज्यादै प्रज्वलनशील हुन्छ । यस लेखकलाई पनि सम्झना छ त्यो दियालो बाल्ने चलनको । पछि टुकी र लम्फा आए, त्यसपछि लालटिनको प्रयोग हुन थाल्यो भने ठूलो जमघट तथा कार्यक्रमहरूमा मैन्टोलको प्रयोग हुन थाल्यो । जसमा मट्टितेल प्रयोग हुनेगथ्र्यो । अहिले अधिकांश गाउँघरमा बिजुली बत्ती पुगिसकेको हुँदा दियालो लोप भएझैँ टुकी, लम्फा, लालटिन र मैन्टोल (पेट्रोम्याक्स) पनि लोप भएर गए ।
विगत ४० वर्षदेखि खोटो संकलन गर्ने कार्यले गर्दा हालसम्म विभिन्न जिल्लाहरूमा रहेका वनका ७५ प्रतिशत सल्लाका रुखहरू सुक्ने अवस्थामा छन् । बेलैमा सजगता अपनाउन सकिएन भने डाँडाकाँडा र भिरपाखा सबै नाङ्गै हुने अवस्था पनि हुन आउँछ । त्यसैले सम्बन्धित निकायहरूले पनि समुदायलाई साथमा लिएर वन जोगाउने अभियानमा सरिक हुनु जरुरी देखिन्छ । राजस्व आउँछ र रोजगार पनि मिल्छ भन्दैमा प्राकृतिक सम्पदाहरू जथाभावी मास्ने कामलाई निरन्तरता दिनु उचित हुँदैन । वन मन्त्रालय र वन विभागलगायत जिल्लास्थित वन कार्यालयहरूले पनि यसतर्फ ध्यान दिनु जरुरी छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया