Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगतयारी खानेकुरा : स्वास्थ्यमा असर

तयारी खानेकुरा : स्वास्थ्यमा असर


काठमाडौं । दश वर्ष पहिले नै पत्रिकाहरूमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरूले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन् । यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरू पर्छन् ।

जतिबेला पत्रिकामा यो खबर निस्किएको थियो, त्यस समाचारको फोटोकपी नक्साल नजिकैको एकजना चौधरी भाइको पसलमा कसैले छाडेको रहेछ । त्यही बेलामा ती चौधरी भाइको सानो नानीलाई उनकी आमाले स्कुल जाने बेलामा स्कुलको टिफिनमा ‘खानेकुरा बनाउन भ्याएन, यही नै लैजाऊ’ भनेर एक चाउचाउ हालिरहेकी ती महिलालाई त्यो फोटोकपी एकप्रति दिइयो । उनले कनिकुथी गरेर पढिन् र ‘क्यान्सर’ शब्द पढेपछि त उनी छोरालाई हेर्न थालिन् । अनुहार अँध्यारो भयो तर छोराबाट उनको खाजा चाउचाउ लिन सकिनन् । ‘आजलाई भयो, अब के गरुँ त मान्दैन,’ उनले भनिन् ।

घरपरिवारका मानिसले प्रायः आजको भोलि नै कुनै समस्या नहुने भएकाले यसरी खाना खाँदैमा केही खराबी हुँदैन भन्ने ठान्छन् । तर जसरी चुरोट र रक्सीले आजको भोलि नै नराम्रो प्रभाव पार्दैन, त्यसैगरी यसरी खाइने पिज्जा, बर्गर, चाउचाउले पनि एकै दिनमा नराम्रो प्रभाव पार्दैन । चुरोट र रक्सीचाहिँ बच्चाले माग्यो वा झगडा ग¥यो भनेर कुनै पनि आमाबाबुले बालबालिकालाई दिँदैन भने यसरी तयारी खानेकुरा मात्रै दिने किन होला ? भन्ने प्रसङ्ग उठ्छ नै ।

यस विषयमा झण्डै २५ वर्षअघि रजनी जोशीले आफ्नो स्नातकोत्तरको शोधपत्रमा यस्तै विषयमा अध्ययन गरेकी थिइन् । प्रायः महिलाले यो स्वास्थ्यकर हुन्छ भनेर विज्ञापन आउँछ त्यसैले राम्रो होला भनेर दिएको वा समय नभएकाले किनेर प्याकेटमा दिएपछि भइहाल्ने भनेर वा बच्चालाई एकदम मनपर्छ र बच्चाले खान्छु भनेर, झगडा गर्छ, अरूले खाएको देखेपछि उसलाई खान मन लाग्छ अनि कसरी नदिने ? आदिजस्ता उत्तर आएका थिए । अहिले पनि आमाबाबुलाई सोध्यो भने त्यसैगरी उत्तर आउँछ होला र अहिले त्यसमा सित्तैमा उपहार पाइने भनेर जोडिएपछि बालबालिकाहरू झन् होमिएर किन्छन् र उनीहरूको खाजा, खाना सबै त्यही बन्छ ।

यस्ता खानेकुराहरूले मोटोपन र क्यान्सर दुईवटै असर गर्छन् र मोटोपन फेरि आफैँमा अनेकथरिका समस्या सिर्जना गर्न सक्छ । सानो उमेरको माटोपन भएकाहरूको पछि मुटुको रोग, चिनी रोग आदिजस्ता समस्या त हुन्छन् नै । मोटोपन कारणले गर्दा पछि ढाड र घुँडा दुख्ने समस्या आउँछ । यसका साथै यस्ता तयारी चाउचाउहरूको खानाका कारणले हरियो तरकारी, भात, रोटी, दालजस्ता पोषणयुक्त खानेकुरा खान त्यति मन लाग्दैन । अनि त्यसपछि विभिन्न किसिमका भिटामिनहरूको कमी हुन जान्छ । यस्ता तयारी खानेकुराहरूको विषयमा र त्यसले पर्ने नकारात्मक असरहरूका बारेमा बालरोग विशेषज्ञहरूले लेख्दै आउनुभएको छ ।

टेलिभिजन, रेडियोहरूमा जसरी पैसा तिरेर यस्ता खानेकुराहरूका बारेमा विज्ञापन आउँछ, त्यसैगरी स्वास्थ्यका खानेकुराका बारेमा कतै विज्ञापन आउँदैन । नेपालका डाक्टरहरूले मात्र होइन, विश्वभरिका डाक्टरहरूले बच्चाहरूले खाने तयारी खानेकुराको विज्ञापन र त्यसको विरोधमा बोलिरहेका छन् । तयारी खानेकुरामा रहेको नुन, बोसो, चिनी आदिले बच्चाहरूलाई सानैदेखि अस्वस्थ्यकर खानेकुरा र क्यान्सरका लागि जग बस्छ भनेर लेखेका छन् ।

अस्ट्रेलियाको क्यान्सर परिषद्का एकजना सदस्य डा टेरी स्लेमिनले भनेका छन्, ‘विभिन्न किसिमका विज्ञापनहरूमा बालबालिका प्रयोग गरेपछि बालबालिकाले त्यस्ता खानेकुरा चाहन्छन् । बच्चाहरूलाई यस्तो बानी परेपछि उनीहरूको जीवन नै आवश्यक हुन्छ । अस्ट्रेलियाको क्यान्सर परिषद्ले त्यहाँको सरकारलाई यसरी विभिन्न किसिमका प्याकेटका तयारी खानेकुराको विज्ञापनमा जथाभावी बालबालिकालाई प्रयोग नगर्नका लागि नियम बनाउन आग्रह गर्नेछ ताकि यस्ता खानेकुराहरूको प्रयोगले भविष्यमा हुने क्यान्सर बच्चालाई नलागोस् ।

यसरी तयारी खानेकुराहरूले बालबालिका र वयस्कलाई पनि क्यान्सरको खतरा निम्त्याउँछ । यसरी तयारी र प्याकेटमा राखेका खानेकुराहरूले महिलाको शरीरका चिनीको मात्र बढाउँछ । तौल बढाउँछ र स्तन क्यान्सर, पाठेघर क्यान्सर र मूत्रनलीको क्यान्सरको सम्भावना बढाउँछ । त्यस्ता तयारी खानेकुराहरूमा मैदा, बोसो र रासायनिक पदार्थ मिसिएको हुनाले यस्ता समस्या देखिन्छन् । ६५ हजार महिलामा १३ वर्षसम्म गरिएको अध्ययनअनुसार दुई हजार चार सय ७८ जना महिलाको महिनावारी रोकिएपछि पनि यस्ता खानेकुराहरूको प्रयोगले स्तनको क्यान्सरको खतरा बढाउन सक्छ । एक लाख ८८ हजार रजोनिवृत्ति भएका महिलालाई सोधिएको प्रश्नमा उनीहरूले कस्तो किसिमको खाना खान्छन् ? के ख्वाइन्छ भनेर अध्ययन गरिएको थिया । तीमध्ये जो महिलाले यसरी तयारी प्याकेटका खानेकुराहरू खाएको कुरा बताए । उनीहरूमध्ये ३५ हजारलाई स्तन क्यान्सर भएको देखियो । ‘यी अध्ययनले खानेकुरामा बढी चिल्लो पदार्थ स्तन क्यान्सरसँग सम्बन्ध रहेको देखाइएको छ’ भनेर डा आन्ना तेहीबाउट (ब्रिटेनले) लेखेकी छिन् ।

बालबालिकालाई यस्तो खाना खान हुँदैन भनेर स्कुलमा शिक्षकले वा घरमा आमाबाबुले भन्दैनन् । कतिपयलाई त यस्ता खानेकुराहरूको खाए नराम्रो के हुन्छ र भन्ने धारणा हुन्छ । त्यही आमाबाबुले चुरोट खाने बालबालिका गाली गर्छन्, सम्झाउँछन् तर तयारी खानेकुरा, प्याकेटका चाउचाउ, विभिन्न किसिमका चिजबल्स र आदि खान उल्टै पैसा दिन्छन् । आमाबाबुलाई पनि यस्ता खानेकुराले पछि जीवनभरको रोग निम्ताउँछ भन्ने थाहा हुँदैन । ‘बालबलिकालाई हात धोएर खान खाउ नत्र बिरामी भइन्छ’ भन्ने आमाबाबुले ‘प्याकेटका खानेकुरा नखाऊ, बिरामी भइन्छ भन्दैनन्’ किनभने उनीहरूलाई यसको बारेमा कसैले पनि जानकारी दिएको छैन ।

क्यान्सर त एउटा समस्या भयो, त्यसैगरी हड्डीहरू कमजोर हुनु, मुटुका अरू रोगहरू हुनु पनि खानेकुरासँग जोडिएका छन् । सानोको जग नै गलत बसेपछि, शरीर सानैदेखि कमजोर हुन्छ र ठूलो भएपछि अनेकथरिका रोगहरू हुन थाल्छन् । यदि सानासाना नानीहरूलाई उनीहरूले बुझ्ने भाषामा यस्ता खानेकुराहरूले बिगार गर्छन् भनेर बुझाइयो र छलफल गरियो भने समस्या केही हुँदैनन् । अमेरिकामा ३० प्रतिशत बच्चाहरू र ६० प्रतिशत बयस्कहरूमा मोटोपन रहेको पाइन्छ । यसको मुख्य कारण नै प्याकेटका खानेकुराहरू हुन् र यसले गर्दा प्रतिवर्ष एक सय ७१ विलियन डलर सरकारले खर्च गर्नुपर्छ ।

प्याकेटमा राखेका खानेकुराहरूको स्वाद बढाउने कुरा नै विभिन्न किसिमका रासायनिक पदार्थ र चिल्लो पदार्थ हुन् । यिनले खानेकुरा प्याकमा राखेपछि लामो समय बिग्रिन दिँदैन । त्यसैले प्याकेटमा भएका खानेकुरा सधैँ ताजा जस्तै त देखिन्छन् तर वास्तवमा यी हानिकारक नै हुन्छन् । मलेसियामा उपभोक्ता सङ्घ आफैँले एक अध्ययन गरेर बताएको छ । सङ्घले २००८ मा अप्रिलदेखि जुनमा नेपाल, फिजी, सिङ्गापुर, भारत, चाइना, थाइल्यान्ड र इन्डोनेसियामा एक अध्ययन गरेको थियो । यस्ता खानेकुराहरूको प्रयोगले हाम्रा बालबालिका मानौँ बमको अदृश्य गोलामा बसिरहेका छन् । यस्ता विज्ञापनहरू विभिन्न स्कुलमा गएर खिचिन्छ, बालबालिकालाई लोभ्याइएका र फेरि उनीहरूलाई नै यस्ता प्याकेटका खानेकुरा खान दिएर बालबालिकाको पढाइस्तर कमजोर देखियो ।

तयारी खानाले बालबालिकाको शारीरिक र मानसिक दुवैरूपमा कमजोर बनाउने हुँदा यसतर्फ सबैको ध्यान जानु आवश्यक छ । बालबालिकाले तयारी खाना खाँदा उनीहरूलाई रोग हुने कारणले यस्तो बानीका लागि विभिन्न किसिमका विज्ञापनले प्रेरित गर्ने र बालबािलकाले खाएको देखेर विज्ञापनको नक्कल गर्ने हुनाले अस्ट्रेलियाको चिकित्सक सङ्घले यसरी खानेकुराको विज्ञापन गर्न नै प्रतिबन्ध लगाउन माग गरेको छ । यसरी अन्य देशका डाक्टरहरूले बालबालिकाको स्वास्थ्यका लागि आवाज उठाइरहेका बेलामा नेपाली चिकित्सकहरू र स्वास्थ्यकर्मीले पनि आवाज उठाउनुपर्ने देखिन्छ ।

केही दिनअघि काठमाडौंमा माइक्रोबसमा चढेको बेलामा १२ कक्षामा अध्ययरत दुई किशोरीले दुईवटा चाउचाउ खाइरहेको देखेर मैले उनीहरूलाई १० वर्षअघि ‘तयारी खानेकुरा घातक’ भनेर लेखिएको समाचारको फोटोकपीको एकप्रति दिएँ । चाउचाउले क्यान्सर पनि हुन्छ भन्ने त थाहा थिएन भन्दै आँखाभरि आँसु गरेर एक किशोरीले खाँदै गरेको चाउचाउको प्याकेट झोलामा राखिन् । माइक्रोमा बसेका अन्य यात्रुले पनि भने यो त खराब कुरा हो तर यस्तो वस्तुको नराम्रो असरका बारेमा बाहिर ल्याउन आवश्यक छ । साँच्ची नै यसका बारेमा धेरै जनालाई जानकारी पनि छैन । जबसम्म यसबारेमा नागरिकस्तरमा सचेतना बढाउन सकिँदैन तबसम्म क्यान्सलगायत रोगहरूको सङ्क्रमण झन् बढ्दै जाने निश्चित छ । (लेखक जनस्वास्थ्यविद् हुनुहुन्छ)


क्याटेगोरी : विचार / ब्लग, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया