अब सगरमाथा आरोहणमा मानवीय क्षति कम होला कि ?
काठमाडौं । हालै आएको समाचारअनुसार यही वर्षको सगरमाथा आरोहणको सिजनदेखि हरेक सगरमाथा आरोहीहरूले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो शरीरमा विशेष खालको विद्युतीय यन्त्र (इलेक्ट्रोनिक्स चिप्स) जडान गरेर आरोहण गर्न जानुपर्ने छ । हुन पनि विगत लामो समयदेखि सगरमाथालगायत अन्य हिमाल आरोहण गर्न जाने पर्वतारोहीहरूका लागि यस्तो व्यवस्था गर्नुपर्ने (इलेक्ट्रोनिक्स चिप्स जडान गर्ने) बारे छलफल र बहस भएको थियो । जे भए पनि धेरै ढिला गरी यो सिजनदेखि हरेक सगरमाथा आरोहीहरूले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो शरीरमा विशेष खालको विद्युतीय यन्त्र (इलेक्ट्रोनिक्स चिप्स) जडान गर्नुपर्ने निर्याय गरेको छ । आशा गरौँ, यो निर्णय व्यवहारमै लागू हुनेछ ।
हुन पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका क्रममा यस्तो (पर्वतारोही तथा पदयात्रीहरूले) आफ्नो शरीरमा विशेष खालको विद्युतीय यन्त्र (इलेक्ट्रोनिक्स चिप्स) जडान गर्ने व्यवस्था नभएकैले नेपालको पर्वतारोहण इतिहासमा कयौँपटक ठूलो–ठूलो मानवीय क्षति व्यहोर्दै आएको छ । विभिन्न तथ्याङ्कअनुसार अहिलेसम्म क्लाइम्बिङ शेर्पालगायत तीन सय २५ (कसैकसैले ३१९–३२२–३२३–३२५–३२८ जना भन्ने, लेख्ने गरेका छन्) जनाले सगरमाथा हिमाल आरोहण गर्ने क्रममा अकालमै आफ्नो अमूल्य जीवन गुमाएका छन् । अरू हिमालहरूमा पनि त्यसरी नै अकालमा आफ्नो अमूल्य जीवन गुमाउने पर्वतारोही तथा अन्य स्टाफहरूको संख्या ठूलै रहेको छ । यसरी सगरमाथा हिमाल आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन त्याग्नुपर्ने विभिन्न कारणहरूमा बाटा बनाउने, बाटामा भर्याङ टाङ्ने–राख्ने, डोरी टाँग्ने, क्याम्प खडा गर्ने, क्याम्प–१, क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा खानेकुरा र दैनिक उपभोगका लागि चाहिने सामान ओसार्ने हाई एल्टिच्युड पोर्टरहरू, क्लाइम्बिङ शेर्पाहरू अनि नेपाली तथा विदेशी आरोहीहरू रहेका छन् । यसरी तथ्य–तथ्याङ्क हेर्दाखेरि सन् १९२१ देखि सन् २०२३ (लगभग १०२ वर्ष)सम्म विभिन्न देशका तीन सय २५ जना पर्वतारोहीको मृत्यु भएको विकिपिडियाले राखेको नाम सूचीमा उल्लेख छ ।
सगरमाथा हिमाल आरोहण गर्नका लागि बाटो बनाउने क्रममा वा भनौँ रेखी गर्न जाने क्रममा सर्वप्रथम सन् १९२१ मा बेलायती पर्वतारोही दलमा सम्मिलित डाक्टर अलेक्जेन्डर मिसेल (एएम) केल्लासको मृत्यु भएको थियो । उनको तिब्बतको खाम्पाजोङ स्वायत्त क्षेत्रमा हृदयघातका कारण मृत्यु भएको मानिन्छ । त्यस्तै, १९२२ जुन ७ मा एकैचोटि (एकै वर्ष) सात जना शेर्पाको सगरमाथा आरोहणका लागि बाटो बनाउने र आवश्यक सरसामान ओसार्ने क्रममा मृत्यु भएको थियो । उनीहरू थिए– १ दोर्जे शेर्पा, २ ल्हाक्पा शेर्पा, ३ नोर्बु शेर्पा, ४ पासाङ शेर्पा, ५ पेमा शेर्पा र ६ साङ्गे शेर्पा । त्यो बेला तत्कालीन श्री ३ महाराजधिराज सरकारले नेपालमा फिरङ्गी (गोरो छाला भएका विदेशी) लाई नेपाल प्रवेश गर्ने अनुमति दिने चलन नभएकाले गर्दा बेलायती पर्वतारोही दलले सगरमाथाको उत्तरतर्फबाट बाटो खोज्ने, पत्ता लगाउने रेखी गर्ने र सके आरोहण नै गर्ने उद्देश्यले तत्कालीन तिब्बत सरकार (दलाई लामा)को अनुमति लिएर त्यसतर्फ प्रस्थान गरेको थियो । सोही आरोहण दलमा डाक्टर एएम केल्लास पनि सम्मिलित थिए । तर उनी आफैं डाक्टर भए पनि सगरमाथा आरोहणका लागि बाटो पत्ता लगाउने, रेखी गर्ने क्रममा मृत्युवरण गर्न पुगे । लगत्तै सन् १९२२ मा उत्तरतर्फबाट नै फेरि सगरमाथा आरोहण गर्ने प्रयास गर्दा सात जना शेर्पा (नेपाली)हरू हिम पहिरोमा परेर एकैचोटि मृत्युवरण गर्न पुगे । स्मरणीय छ, उनीहरू सातै जना नेपालबाट दोर्जेलिङ÷दार्जिलिङ गएर त्यहाँबाट फेरि तिब्बतको बाटो भएर सगरमाथाको उत्तरी मोहोडाबाट बेलायती पर्वतारोही दलका साथ सगरमाथा आरोहण गर्ने÷गराउने टोलीमा सामेल भएका थिए । यसरी सगरमाथा आरोहणको इतिहासमा ती सात जना नेपाली शेर्पाहरू सगरमाथा आरोहण गर्ने क्रममा चाहिने सरसामान ओसारपसार गर्ने क्रममा हिम पहिरोमा परेर मृत्युवरण गर्ने ठूलो समूह थियो । यसरी विश्व पर्वतारोहणकै इतिहासमा उनीहरू सगरमाथा आरोहण गर्ने क्रममा सहिद हुने पहिलो र ठूलो समूहका रूपमा दर्ज भए ।
त्यसपछि फेरि सन् १९२४ मे १३ मा बेलायती पर्वतारोही दलका सदस्यहरू सगरमाथा आरोहणका लागि उत्तर तर्फबाट गए । सो दलमा पनि मनबहादुर र महेश पुन नेपाली मूलका सम्भवतः तत्कालीन बेलायती सेनामा कार्यरत (किनभने, महेश पुनलाई ‘लान्स नाइक’ भनी जनाइएको छ)ले सगरमाथा आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका थिए । त्यसपछि एकैचोटि सन् १९३४ जुन ९ मा एन्ड्र्र्यु इर्भिन र जर्ज म्यालोरी संयुक्त अधिराज्य (युके) ले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गरे । उनीहरूले कतै त्यही बेला नै पो सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए कि ? भनी पछिल्लो पटक अध्ययन पनि भएको थियो । तर इर्भिन म्यालोरीले ऊबेलै सफलतापूर्वक सगरमाथा आरोहण गरेका थिए भन्ने कुनै ठोस आधार र पुष्टि हुनेखाले कुनै तथ्य–प्रमाण भने फेला परेन । हुन त इर्भिनको खल्तीमा भेटिएको उनका श्रीमतीको फोटाले आधार प्रमाण देला कि ? भनी बहस र छलफल भएको हो । तापनि त्यो बेलासम्मकै धेरै उचाइ (आठ हजार मिटर)सम्म इर्भिन र म्यालोरी पुगेका मात्रै होइन सगरमाथा सफलतापूर्वक आरोहण गरेका पो थिए कि ? भनी सन् १९९९ मा एक बेलायती पर्वतारोही दलले अध्ययन गरेका थिए ।
समयक्रमसँगै सगरमाथा आरोहणको प्रयास जारी थियो । यसै क्रममा फेरि सन् १९३४ मा संयुक्त अधिराज्य (युके)को अर्को एक टोली सगरमाथा आरोहणका लागि भनी तिब्बतको बाटो भएर गए । त्योबेला पनि सगरमाथा हिमाल आरोहणमा सफलता मिलेन । बरु बेलायती नागरिक माउरिस विल्सन र नेपालका दोर्जेमिङ्मा शेर्पाले पनि सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो अमूल्य जीवन उतै उत्सर्ग गरेका थिए । ‘विकिपिडिया’कै सूचनालाई आधार मानेर भन्नु पर्दाखेरि हालसम्म सगरमाथा हिमाल आरोहण गर्ने अथवा गराउने प्रयास गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नेमध्ये एक सय १८ जना (लगभग ४२/४४ प्रतिशत) प्रतिशत त नेपाली मूलका शेर्पा दाजुभाइहरू मात्रै रहनुभएको छ । त्यसपछि २४ जना भारतीय, २० जना अमेरिकी (त्यसमा दुई जना अमेरिकाबाहिर बस्ने अमेरिकी मूलका छन् ।) त्यस्तै गरेर आठ जना बेलायती, १८ जना जापानिज, १० जना चिनियाँ, ११ जना दक्षिण कोरियाली छन् । त्यसमा विश्व पर्वतारोही र पर्वतारोहणमा प्रसिद्धि कमाएका पर्वतारोहीहरू पनि रहेका छन् । जस्तोकि विश्व प्रसिद्ध पर्वतारोहीहरू स्कट फिसर, रब हल र एन्डु ह्यारिस, हिस्टो गाचेब आदि रहेका छन् । नेपालका केही प्रसिद्ध सगरमाथा आरोहीहरूले पनि सगरमाथामै आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका छन् । जस्तो कि ‘प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा एक हुन् । त्यस्तै, गरेर पहिलोपटक धेरै पटक सगरमाथा आरोहण गरेका फु दोर्जे शेर्पा (जो वास्तविक नेपाली नागरिक सगरमाथा आरोही) थिए भन्ने भनाइ छ । बाबुछिरी शेर्पा जसले २१ घण्टासम्म सगरमाथा शिखरमा बसेर विश्व कीर्तिमानी कायम गरेका थिए ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया