Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजीवन व्यवस्थापन र पुनर्जन्म (जीवन दर्शन)

जीवन व्यवस्थापन र पुनर्जन्म (जीवन दर्शन)


काठमाडौं,जेठ २३
लक्ष्मण सिटौंला
त्यतिबेला म सानै थिएँ । जतिबेला मेरी हजुरआमाको स्नेही काख मेरा निम्ति सबथोक थियो । साँच्चै भन्नुपर्दा यो जीवन र जगतबारे मैले हजुरआमाबाट नै बुझ्ने अवसर पाएको थिएँ । लगभग गरिबीको रेखामुनि हुर्केको थिएँ म । तर त्यो गरिबी मेरो हजुरआमाले कहिले पनि मलार्ई महसुस हुन दिनुभएन । केही नभए पनि सबैथोक छ भन्ने व्यवहार उहाँमा झल्किन्थ्यो र जीवनको अन्तिम पलसम्म पनि त्यही व्यवहार उहाँमा निश्चिन्त बाँचिरहेको थियो ।

मेरो पढाइमा उहाँकै आशिर्वाद थियो । ‘पढ्न अल्छी गर्नुहुन्न है’ भनेर मलार्ई सधैं झकझक्याउने उहाँले भने कहिले स्कुल देख्नुभएको थिएन । यो कथा आजभन्दा ४० वर्ष अगाडिको हो जतिबेला म शान्ति विद्यागृह लैनचौरमा अध्ययन गर्थेँ । अक्सर हामीहरू उहाँलार्ई ‘बुबु’ सम्बोधन गरेर बोलाउथ्यौँ । मेरा दिदीहरूले पनि उहाँलाई बुबु नै भनेर सम्बोधन गर्थेँ । उहाँलार्ई किन बुबु भनेर सम्बोधन गरियो त्यो कुरा मैले आजसम्म पनि बुझेको छैन । त्यो ‘बुबु’ नाम हामी सबै नातिनातिनामा प्रिय थियो । बुबु कहिले गाउँमा त कहिले सहरमा बस्नुहुन्थ्यो । हाम्रो घर अहिलेको सामाखुशी चोकबाट उत्तर शिवपुरी हुँदै लगभग १८ किलोमीटरको दूरी समुद्रादेवी पारथोकमा पर्छ । अहिले पनि बुबुको पवित्र पैतालाले टेकेको त्यो भूमि त्यहीँ छ । जस्ताको तस्तै छ ।

बुबुको सम्झना बोकेर बाँचिरहेछन् त्यहाँका बिरुवाहरू आजको दिनसम्म पनि । कयौ शिशिर, वसन्त, पतझड, हिउँद, वर्षात, गर्मी र चिसोको तापले त्यहाँका रुखबिरुवालाई छोए भागे तर बुबुको स्नेही सम्झनाको कोमल घाम आज पनि त्यहाँको पाखाभरि लागिरहेकै छ । एउटा सत्य आजको दिनसम्म पनि जिवित छ मेरो आँखामा ।त्यो सत्य थियो बुबुको अजम्बरी व्यवहार । अहिलेको वाणिज्य भाषामा भन्ने हो भने व्यवस्थापन । जीवनको व्यवस्थापन गर्न नसकेरै हो मानिस गरिब र दुःखी हुने । आजका धनी मानिसहरू धनी भएर पनि उचित व्यवस्थापनको अभावका कारण झन दरिद्र भएजस्ता देखिन्छन्् । बुबुमा एउटा यस्तो व्यवस्थापन थियो कि उहाँसँग नभएको केही थिएन । एउटा सन्दुक थियो उहाँको ।

त्यो सन्दूक यति क्लासिकल थियो कि त्योभित्र सबथोक अटेका थिए । जब सानै थिएँ, बुबुले सन्दुक खोलेपछि म झम्टेर सन्दूक नजिक जान्थे । आजसम्म पनि सन्दुकभित्रबाट आएको त्यो गुधुली बासना म सम्झिन्छु । नजिक गैसकेपछि म हात थाप्थे । उहाँले बुझ्नुहुन्थ्यो र मेरो हातमा घ्यु मह वा सक्खर केही राखिदिनु हुन्थ्यो । अनि हात चाट्तै म आफ्नो पढ्ने स्थानमा जान्थे ।

म यस्तो कल्पना गर्थे कि त्यो सन्दूक भनेको हामीले दैनिक खाने चिजबिजको भण्डारण हो । त्यहाँभित्र सबै कुरा उत्पादन हुन्छ । एकदिन बुबु बाहिर बसेर जुठो भाँडा माझ्दै हुनुहुन्थ्यो । एक छिमेकी आमैलाई केही चिज दिन प¥यो । बुबुको हात जुठो थियो । उहाँले आफ्नो गलाबाट साँचोको झुप्पो निकाल्न लाउनुभो मलार्ई र भन्नूभो ’त्यहाँ एक गोल्टिन घ्यु छ झिकेर देऊ’ । बुबुले आफ्नो साचो कहिले पनि अरुलाई दिएको देखेको थिइनँ मैले । बुबुको गलाबाट साचो झिकेर म भान्साकोठामा गएँ ।
पित्तलको पहेँलो ताल्चा थियो र त्यही प्रकारको साँचो थियो ।

सन्दुक खोलेँ । खोल्नासाथ एकप्रकार मीठो महक चारैतिर फैलियो । त्यो महकमा सारा प्रकृतिको सानिध्य सुगन्ध बिस्फारित भएजस्तो लाग्यो । सन्दुक खोलेर यसो निहारे । सारा संसार थियो त्यहाँभित्र । तुल्सीको काठ, धुपबत्ती, मह, घ्यु, फिडकिरी, जौतिल, अबिर, केशरी, कसार, चिउरा, सक्खर, सुन, पैसा आदि आदि । घ्युको गोल्टिन बट्टा निकालेँ । बाहिर उभिरहेकी छिमेकी आमैलाई दिएँ । र फेरि पढ्न लेख्न थालेँ । साँचो तात्कालै बुबुलाई नै दिएँ ।

त्यो सन्दुक कहिले पनि रित्तो भएन । मलार्ई थाहा छैन उहाँले कहिले हो यी सबै कुराले त्यो सन्दुक भरेको । आधा घन्टा अगाडि म आफैँले सन्दुक खोलेर हेर्दा त्यहाँ मालाबाउ केरा थिएन । पछि भात खाँदा दूधसँग केरा खान्छस् ? भनेर सोध्नुभयो । केरा कतै बाहिर नै होला भन्ने सोचेँ । पछि उहाँले सन्दुक खोल्नुभयो र एक काइँयो मालाबाउ केरा निकाल्नुभो । पाकेर पटपटी फुटेका पहेंला केराको हाता देखेर म अचम्मित भएँ । सन्दुक खोल्दा गहिरिएर हेरेको थिएँ तर केरा थिएन । सोचिरहेँ केरा आफैँ कसरी उत्पत्ति भयो चकित भएँ ।

हजुरामा कति दयालु कति धर्मात्मा कति पवित्र हुनुहुन्थ्यो भन्ने कुरा अब म विस्तार गर्छु । ७० वर्षको उमेरसम्म उहाँ आफ्नो लागि आफैँले सबै काम गरिरहनुभयो । मेरो स्कुल जाने लुगा समेत उहाँले नै धुनुहुन्थ्यो । सामाखुशी चोकमा एउटा सरकारी धारो थियो । त्यो धारोमा पानी लिन भने मैले बुबुलाई सघाउथेँ । घरमा भात खाने बेलामा कोही पाहुना आए भने उहाँले पहिला पाहुनालाई ख्वाउनुहुन्थ्यो । पाहुनाले खाएर बाँकी रह्यो भने बल्ल आफू खानुहुन्थ्यो । भुसको चुलो थियो हाम्रो । त्यसमा ढुटो बेस्सरी खादिन्थ्यो । भुसको चुल्होमा हाल्ने दाउर उहाँ आफैँ खोज्नुहुन्थ्यो ।

 हामी गुर्जेका तामाङहरूसँग दुई तीन रूपैयाँमा दाउरा किन्थ्यौँ । खानको लागि उहाँको नाउँमा एउटा खेत थियो न्यारकोटे त्यही खेतको आयस्था आउथ्यो । एउटा कोठा थियो त्यही धानको भकारी थियो । बुबु खाटमा सुत्नुहुन्थ्यो म भैमा गुन्द्री ओछ्याएर सुत्ने गर्थे । आफुसँग नभएको कुनै चिज कसैले उहाँसँग माग्यो भने उहाँ आफैँले किनेर भएँ पनि त्यो चिज दिनुहुन्थ्यो । उहाँको भान्सा कसैले छुने सम्भावना थिएन । मैले पनि सधैं अलग बसेर खाए किनभने मेरो ब्रतबन्ध गरेको थिएन ।

कहिलेकाहीँ उहाँलार्ई गार्हो भएको बेलामा भन्नुहुन्थ्यो ‘मने तेरो ब्रतबन्ध गरेपछि मलार्ई भात पकाएर ख्वाउलास् नि’ म पनि कहिलेकाहीँ बुबालार्ई भन्ने गर्थे बुबा मेरो ब्रतबन्ध छिटो गरिदिनुस् भनेर । बुबु हरेक पटक बाहिर छिमेकीको घरमा जाँदा वा बजार गएर फर्की आउनासाथ आफूले लगाएको पूरै कपडा बदल्नुहुन्थ्यो । खाना भलै भुसको चुलीमा पकाए पनि उहाँ धोतिपाटा फेरेर पकाउनुहुन्थ्यो । बाथरुम जाँदा लगाएको कपडा धोएर मात्रै पुनः प्रयोग गर्नुहुन्थ्यो । बिहान ४ बजे उठेर नित्यकर्म सकी पूजा प्रार्थना गरेर मलार्ई समयमै उठेर पढ्न लगाउनुहुन्थ्यो । खाना खाँदा सकेसम्म नबोल्ने, खादा सात्विक भोजन गर्ने ।

धर्म, कर्म, दान, दातब्य, मानव सेवा, सुघ्घर सरसफाइ आदिमा उहाँ कहिले चुक्नुभएन । घामको प्रकाशमा किटाणु नास गर्ने क्षमता हुन्छ भन्ने कुरा मैले पहिलोचोटी जानेको थिएँ उहाँबाट । सिरक र अरु लुगाफाटाहरू चिसो नहुँदा पनि घाममा सुकाएको देख्थे । उहाँको निधारमा सधैं सेतो चन्दनको टीका देख्थे म । मैले सोच्थेँ कि बुबु विधवा भएकोले यो सेतो टीका निधारमा लगाउनुभएको होला भनेर । आरतीपछि सेतो चन्दन र बिगुत घोटेर निधारमा लगाउनुहुन्थ्यो । सधैं सफा लुगामा सधैं कपाल सपक्क कोरेर बस्दा कुनै देवीमाताको अगाडि छु कि जस्तो अनुभूति गर्थेँ म ।

हाँका तीन तीन बुहारीहरू (मेरा माताहरू) थिए तर कहिले पनि उहाँ अरुको बोझ बन्न रुचाउनु भएन । कहिलेकाहीँ बिरामी पर्दा मलार्ई भन्नुहुन्थ्यो तेरा बाउहरूले होइन मलार्ई तेरै हातले दागबत्ती दिएस् बाबु । त्यसो किन भन्नुभएको हो त्यस्ता कुरा म बुझ्ने भैसकेको थिइनँ । आमाप्रति गर्नुपर्ने कर्तव्य छोराहरूले नगरेपछि नै चित्त दुख्दा एउटी आमाले भन्ने कुरा हो भन्ने कुरा मैले दश कक्षा पुगेपछि मात्रै थाहा पाएँ ।‘बिहे नगरुन्जेल मात्रै हो छोरा आफ्नो हुने बिहेपछि बुहारीले छोरालार्ई खोस्छे बाबु’ भनेर बुबुले भनेको कुरा आज पनि म सम्झिन्छु । सबै छोराबुहारी नातिनातिना भएर पनि एउटा रित्तो र एकलास चरीजस्तो अनुभूत गर्नुहुन्थ्यो उहाँले र आँखाबाट आँसु झार्नुहुन्थ्यो । बुबा पहाडबाट आउँदा मैले बुबु रोएको कुरा सुनाउथे बुबालार्ई ।

बुबाले पनि त्यति सुनेजस्तो लाग्दैनथ्यो । मैले एसएलसी दिएर आईए भर्ना भएपछि बुबु हामीसँगै बस्न थाल्नुभयो । हजुरआमासँग मैले बिताएका ती सुनौला पलहरू आज सम्झिँदा उहाँ अझैसम्म हामीसँगै भएको अनुभूति हुन्छ ।चराचर जगतका हरेक सिर्जनालार्ई उहाँले देखाएको माया म अझै सम्झिन्छु । उहाँ जीवलार्ई मात्रै होइन अजिव चिजलाई पनि माया गर्नुहुन्थ्यो भन्ने कुरा मैले बुझेको थिएँ । उहाँ भन्नुहुन्थ्यो ढुंगालार्ई पनि दुख्छ । उहाँ भन्नुहुन्थ्यो रुखलाई नकाट । रुख नतास । त्यहाँबाट पनि रगत बग्छ । हरेक पूर्णिमामा हरेक एकादशीमा उहाँ निराहर व्रत बसेको आज पनि मलार्ई सम्झना छ । आजको मान्छे पैसाले भौतिकताले सप्पन्न त छ तर त्यो सम्पन्नताभित्र पनि मान्छे यति धेरै दुःखी छ कि ऊ कतै एकान्तमा बसेर धुरुधुरु रोइरहेको देखेको छु ।

बुबुलाई हरेक कुराको पूर्ण ज्ञान थियो । हरेक कुराको तर्कलार्ई उहाँले महाभारत गीता र रामायणसँग जोड्नुहुन्थ्यो । निरक्षर मेरी बुबुलाई यी सबै कुराको ज्ञान कसरी भएको होला अचम्मित हुन्थेँ म । प्राचीन कालका ऋषिमुनिमा जस्तै बुबुमा जुन दया माया र मानवतावादी सोच थियो साच्चै ती सम्झनयोग्य गुणहरू हुन् उहाँका । सधैं हसिलो मुहार, सदैव सत्कर्मप्रति उत्प्रेरित, सदैव पर सेवाप्रति दत्तचित्त, सदैव प्रकृतिप्रति झुकाव, सत्यवादी र आफ्नो कर्मममा सदैव विश्वास राख्ने बुबु एकदिन खाना खाँदै गर्दा अचानक बेहोस हुनुभो । खाना खाँदाखाँदै बान्ता भो उहाँलाई । बोकेर ओछ्यानमा लगे । एक्कासी आकाश आफ्नै टाउकोमा खसेजस्तो भो । केही महिना मात्रै भएको थियो उहाँ सामाखुशीबाट हामी बसेको भाडाको कोठामा हामीसँगै बस्ने गरेर आउनुभएको ।

म जागीरे भैसकेको थिएँ । सोचेँ अब म मेरी हजुरआमालार्ई पाल्न सक्ने भएको छु । निधारमा सेतो बिगुत चम्किरहेको थियो । ढल्दा यसरी ढल्नुभो कि कुनै आँधीले एउटा बलियो रुखको जरासहित उखेलेर पाखा लगाइदिएको छ र हामी नातिनातिना बोटवरिपरि उम्रेका कलिला मुना हौं । धेरै बोलायौँ । उहाँमा होस आएन । निको नहुने भएपछि हामीले ट्याक्सीमा राखेर वीर हस्पिटलमा भर्ना ग¥यौँ । वीर हस्पिटलमा डाक्टर सत्याल हुनुहुन्थ्यो त्यहाँका प्रमुख । बेलुकी सबै रिपोर्ट आयो । बुबुको एक्कासी प्रेसर बढेर ब्रेन ह्यामरेज भएको छ । उहाँको टाउकाको एउटा मसिनो नसा फुटेर ब्रेनभरि रगत जमेको छ । ‘ब्रेनमा पोखिएको रगत सुकाउन र चुँडिएको मसिनो रक्त नलीबाट बगेको रगत थाम्नको लागि हामीले विशेषज्ञको रिपोर्टिङअनुसार औषधि स्लेनपानीको माध्यमबाट दिइरहेका छौँ’ डाक्टर सत्यालले यसो भनिरहँदा बुबा, काका फूपू र म अगाडि थियौँ ।

दुई, तीन गर्दै चार दिन बित्यो । बुबुको अनुहारमा उस्तै छ दिप्ती, उस्तै छ जुनकीरी उज्यालो, उस्तै छ रुमानी चमक, मात्रै बोल्नु हुन्न । मात्रै उहाँ होसमा हुनुहुन्न । सबेरै भाउजूले निधारमा दलिदिनु भएको विगुतको टीका यस्तो देखिन्थ्यो कि निर्मल आकाशमा पूर्ण चन्द्रमा झुल्किएको छ । म हजुरआमालाई लगातार कुरिरहेछु । ओखती र उपचारमा कुनै कमी थिएन । सातौँ दिनको दिन उहाँले हात चलाउनुभो । म उहाँको सिरानी मै थिएँ । हरेक घन्टा घन्टामा उहाँको पैतालामा मालिस गर्दिन्थे । अलिकति आशाको दियो बलेर आयो । बुबुले केही भन्न खोजेजस्तो लाग्यो । आँखा खोल्नु भैदिए कस्तो आनन्द हुन्थ्यो भनेर आशावादी हुन्थे । बुवा र काका वाडमा आउनुभो । बुबुले हात चलाएको केही भन्न खोजेको कुराहरू उहाँहरूलाई व्यक्त गरेँ ।

आमा निको भएर घर लैजान पाए कति खुशी हुन्थेँ म भनेर बुबाले गहका डिल भिजाउनुभो । सँगै बस्नुभएको भाउजूको मुहारमा अलिकति खुशी छायो । तर त्यो खुशी धेरै समय रहेन । बुबुको एक्कासी मुटुको धड्कन बढेर आयो । सास फेर्न गाह्रो भएजस्तो लाग्यो । ‘बाबु लौन हजुरआमालाई चाप्यो ।’ भाउजू आत्तिनुभो । म दौडेर काउन्टर पुगेँ । दुई जना नर्सहरू आए । त्यति नै बेला बुबुलाई भेन्टिलेटरमा हालियो । भेन्टिलेटरमा हालिएको चौथो दिन पनि उहाँको स्वास्थ्यमा प्रगति नदेखिएपछि हामीले डाक्टर सत्यालसँग सोध्याँै । बुबुलार्ई बाहिर ल्याइयो । आफ्नै सामान्य बेडमा ।

बुबुको शरीरभरि इन्जेक्सन र अन्य सुइराहरूले घोचेको घाउ देखेर बेस्सरी रोएँ म । शरीर सुन्निन थालिसकेको थियो । ओठ मा चमक थिएन । निधार खाली थियो । बिगुतको टीका कतै उडेर गैसकेको थियो । हातमा कुनै तातो थिएन । मुहारबाट देखिने त्यो जुनेली उज्यालो अस्ताउन लागेको भान हुन्थ्यो । मलार्ई सम्झना थियो कि उहाँले आफू सद्दे हुँदा भन्नुभएको एउटा कुरा (कि कथमकदाचित्त म बिमार परेर बोल्न नसक्ने अवस्थामा पुगेँ भने मेरो अन्तिम समय नबिगारिदेओ है । म भगवान श्री पशुपतिनाथको पाउमा मृत्युवरण गर्न पाऊँ । यो कुरा बुबाहरूलाई फुपूहरूलाई पनि थाहा थियो ।

बाह्राँै दिनको दिन । बुबुको धुकधुकी कुरेर हामी सबै बसिरहेका थियौँ । बुबुलार्ई अझै निको हुन्छ भनेर मैले नै हस्पिटलबाट पशुपति लैजान दिइरहेको थिइन । मेरी ठूली दिदी रुँदै आउनुभो र भन्नुभो ‘मने अब जिद्दी नगर बुबुको अन्तिम इच्छा हामी सबै मिलेर पूरा गरिदिनुपर्छ’ हस्पिटलले पनि आशा मारिसकेको थियो । मैले पनि सोचे घाटमा गएका बिरामीहरू पनि त निको भएर फर्केर घर आएका घटनाहरू छन् नि । घाटे वैद्य र अरु डाक्टरहरू पनि त्यहाँ हुन्छन् भन्ने कुरा थाहा पाएपछि त्यही दिन करि २ः३० बजे बुबुलाई हस्पिटलको बेडबाट उठाएर पशुपति लग्यौँ । पशुपति लैजाँदै गर्दा बुबुको अवस्था अत्यन्तै नाजुक भैसकेको थियो ।

त्यो अन्तिम सास बुबुले श्री पशुपतिनाथको आँगनमा फेरिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । गाडीबाट निकालेर सिधै ब्रह्मनालमा लिएर सुतायौँ । मुखमा जल राख्यौँ । निधारमा रक्तचन्दनको लेप र बिगुत लगाइदियौँ । बुबुको ममतामयी काखमा हेरिरहँे । एकछिन् जिन्दगीको अतीत सम्झिएँ । आराध्यदेवको पशुवाटिकामा हेरँे । आँसुका धाराहरू गुड्दै खसे बुबुको काखमा । बुबुका कानका लोतीहरू लत्रिए । एकछिन् त्यो मुहार धपक्कै बल्यो । उज्यालो पार्नुभो आफ्नो वरिपरि आफ्नै बलले । र देखेँ त्यो अजरा अमर अजन्म हंश उडेर माथि गएको । र उहाँले एउटा लामो प्रश्वास लिनुभो र आफ्नो देह यो धरालाई चढाउनुभो ।

बुबुको पार्थिव शरीरलार्ई एकै क्षणमा आगोले खायो । बुबुको भौतिक रूप खरानी भयो । बुबुलाई महासमुद्रतिर लिएर गइन् वागमतीले । अब बुबु यो लोकबाट परलोकको यात्रामा जानुभयो ।कुरो यतिमात्र थिएन । म घोत्लिन थालेँ बुबु खै ? । करिब सात आठ महिनासम्म बुबुको सम्झनाले म धेरै रोएँ । बुबुको त्यो महायात्रा कति टाढाको थियो या बुबु यतै कतै अर्को जुनी लिएर घुमेकी पो छिन् कि भन्ने तर्कनाले मलार्ई राम्रोसँग निद्रा पनि पर्न छोडेको थियो । बुबुको त्यो महाप्रस्थानबाट मेरा बुबाहरू कति दुःखी थिएँ मलार्ई थाहा छैन तर मभित्रको ‘म’ धेरै महिनासम्म रोइरह्यो । आँखाअगाडि मैले पहिलोचोटी आफ्नै मान्छेको मृत्यु देखेको थिएँ । पछि मलार्ई यो तर्कना पनि आउँथ्यो कि, के मानिसले अर्को जुनी लिन्छ त ? के मान्छेको पुनर्जन्म हुन्छ त ?

पूर्वजन्मको पापले गर्दा यस्तो भयो, अब अर्को जुनीमा मलार्ई यस्तो कहिले नहोस् भनी मानिसहरूले कुरा गरेको सुन्थेँ म । मृत्यु मानिसको सबैभन्दा रहस्यमय महायात्रा हो । धेरै सत्यमध्ये यो एउटा ध्रुवसत्य हो । जीवनयात्राको अन्त्य नै मृत्यु हो । के मृत्युुले परलोक या यो लोकको दोस्रो ढोका खोल्छ त ? आजको विज्ञानले पनि भन्छ चेतनाको मृत्युु हुँदैन । हाम्रा वैदिक शास्त्रहरूमा पनि पुनर्जन्मसम्बन्धी धेरै व्याख्या उपव्याख्याहरू भएका छन् । विश्वको सर्वश्रेष्ठ ग्रन्थ गीताको खण्ड २.२० मा भगवान श्रीकृष्णले भनेका छन्, ‘आत्माका लागि न कहिल्यै जन्म छ न नै मृत्यु । आत्मा कहिले जन्मिएन, जन्मिदैन र जन्मिने छैन । ऊ अजन्मा छ, ऊ नित्य छ, ऊ शाश्वत छ र सनातन छ । शरीर मर्दा ऊ मर्दैन ।’ आत्माको देहान्तरण सम्बन्धमा एउटा सम्मानित र प्रमाणिक ग्रन्थ हो गीता ।यसले पुनर्जीवन वा पुनर्जन्मसम्बन्धी प्रक्रियालार्ई सुक्ष्म ढंगले परिव्याख्या गरेको छ । यसले भन्छ, भौतिक देह र पराभौतिक आत्मा कहिले पनि एक रूप हुन सक्तैन ।

बिचार गरौँ, हाम्रा शरीरमा जसरी सात वर्ष अगाडि जीवित रहेका जीवकोष वा अणुहरू सात वर्षपछि नयाँ हुन्छन् । तिनीहरू आफैँ मर्छन् र अर्को पलाउँछन् । हरेक सात वर्षमा हाम्रै शरीरको कोषको देह परिवर्तन हुन्छ । परिवर्तन नहुने आत्मा चेतना मात्रै हो । जसरी हामी बालक युवक हुँदै वृद्द अवस्थामा परिवर्तन हुन्छौँ तर हाम्रो आत्मा सधैं उस्तै रह्यो । न बालक भो न युवा भो न वृद्ध भो । त्यो आत्मा भनेको ‘म’ हो । त्यो त्यस्तै रहन्छ । यो संसारको गोप्य तथ्य भनेको यहाँ कोही पनि मर्दैनन् । हाम्रो शरीर आत्मारुपी भगवान राख्ने मन्दिर हो । यो मन्दिर कालान्तरमा भत्किएला उजाडिएला नासिएला किनकी भौतिक तत्व नाशवान छ । तर, मन्दिरभित्र विराजमान त्यो अमर अजन्मा आत्मा अविश्रान्त बसिरहन्छन् । बरु त्यो देवले फेरि अर्को मन्दिर पाउँछ फेरि आरती पाउँछ फेरि पूजा र प्रार्थना पाउँछ । मन्दिर फेरिएको हो भगवान त उनै एक हुन् जुन हिजो थिएँ आज छन् र भोलि पनि रहिरहने छन् ।

हजुरआमा बितेको प्रातडनाले एउटा बैराग्यता वा वितराग मनभित्र श्लेष्म घुमिरहेको थियो ममा । उहाँ बितेको केही महिनापछि हाम्रो परिवारमा एउटी सुकन्या पुत्री जन्मिइन् भाउजूको कोखबाट । बुबाले सधैं भन्नुहुन्थ्यो मेरी आमा फेरि जन्मिएर हाम्रै घरमा आउनुहुन्छ । बुबालार्ई सायद पुनर्जन्ममाथि विश्वास थियो ।
भाउजू पनि हजुरआमालाई अति नै माया श्रद्धा र भक्ति गर्नुहुन्थ्यो । भाउजूको गर्भबाट पहिलो छोरी जन्मिएपछि बुहारीको कोखबाट मेरी आमा जन्मनुभो भनेर बुबा असाध्य खुशी हुनुभो । र त्यस दिनपछि बुबाको अनुहार आजसम्म मैले अँध्यारो देखेको छैन । क्रमशः …..


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x