एसईई सफलताका सूत्र
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) यही चैत्र १५ गतेबाट बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । चैत्र २७ गते सकिने यस परीक्षामा करिब चार लाख ८९ हजार चार सय ४४ परीक्षार्थी सम्मिलित हुने आकलन गरिएको छ । यस वर्षदेखि प्रत्येक विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङ आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी ननग्रेडिङ आएमा अर्को वर्षसम्म पर्खेर ती विषयको परीक्षा दिनेछन् । यसअघि सैद्धान्तिक र प्रयोगात्क अंक जोडेर ३५ प्रतिशत ल्याए ग्रेडमा गणना हुन्थ्यो ।
वर्तमानको विद्यालय संरचनाअनुसार कक्षा एकदेखि आठसम्म आधारभूत र कक्षा नौदेखि १२ सम्म माध्यमिक तह भनी परिभाषित गरेको छ । विगत आठ दशकभन्दा लामो समयदेखि विद्यालय तहको अन्तिम परीक्षाको रूपमा कक्षा १० मा लिइँदै आएकोमा एसएलसीलाई एसईईमा रूपान्तरण गरिएको छ । नयाँ व्यवस्थाअनुसार विद्यालय तहको अन्तिम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ । विसं १९९० सालदेखि एसएलसीको रूपमा लिइँदै आएको परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । विसं १९९८ सालमा सबैभन्दा बढी ७७ दशमलव ७८ प्रतिशत र विसं २०३८ सालमा सबैभन्दा घटी १६ दशमलव ६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ । विगत परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबैभन्दा घटी ३३ दशमलव २४ र सबैभन्दा बढी सामाजिकमा ४८ दशमलव चार भएको पाइन्छ । यति लामो समयसम्म विद्यार्थीको उपलब्धिस्तर ५० प्रतिशत पनि नपुग्नुमा के विद्यार्थी मात्रै दोषी छन् त ? शतप्रतिशत उपलब्धिस्तर पुर्याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न विलम्ब भइसकेको छ । शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भए पनि विद्यार्थीको उपलब्धिमा झन् ह्रास आउनु गम्भीर चिन्ताको विषय हो ।
विद्यार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टिप्सहरूले टेवा पुर्याउन सक्छन् ।
-परीक्षा तयारीको समयमा स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्छ । स्वस्थकर आहारविहार र सहज परिश्रमप्रति विशेष ध्यान दिनुपर्छ ।
– एसईईलाई हाउगुजीको रूपमा नलिई सहजरूपमा आत्मसात गरेर सकारात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्छ ।
-मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आफूले सोचेजस्तो जाँच दिन पनि सकिन्नँ ।
-अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउनेतर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्छ । किनकि विगतमा कहिलेकाहीँ पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका छन् ।
-कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिँदै दैनिक समय तालिका बनाएर सबै विषयलाई समानुपातिकरूपमा नियमित अध्ययन गर्ने ।
-सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्ने ।
-यस वर्षको नमुना प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भर्खरै वेबसाइटमा राखेको छ । यी प्रश्नपत्रलगायत विगतका प्रश्नहरूको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
-परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ परीक्षा हलमा प्रवेश गर्नुपर्छ ।
=विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्याल्कुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नुपर्छ ।
-परीक्षा केन्द्रको वस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहज हुन्छ ।
-प्रवेशपत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशनहरू परीक्षा सुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ ।
-उत्तर लेख्दा प्रत्येक प्रश्नका लागि छुट्याइएको अंकभार ख्यालगरी उत्तर लेख्नका लागि समय व्यवस्थापन गर्नुपर्छ ।
-प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मौलिकता झल्किने गरी बुँदागतरूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ ।
-सबै प्रश्नका उत्तरहरू लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरूलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।
एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातावरण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाडस दिएर मर्यादितरूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारीभित्र पर्छ । यस मानेमा एसईई अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो ।
त्यस्तै, विद्यालयले विद्यार्थीको रूचि क्षमताअनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनुपर्छ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । किनकि एसएलसीको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफ्नो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो । तसर्थ आफ्ना विद्यार्थीको उपलब्धिस्तर उच्चतम बनाउन विद्यार्थीका प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरूको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्छ । विद्यार्थीले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको यकिन गर्ने परीक्षा पनि हो एसईई ।
प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्छ । यसप्रकार एसईई प्रत्यक्षरूपमा विद्यार्थीको लागि मात्र भएजस्तो लागे पनि परोक्षरूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको, योजना नीति–नियम कायक्रम जाँच्ने कसी पनि हो । त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुर्याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ, एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावकलगायतको पनि परीक्षा हो । (पूर्व जिल्ला शिक्षा अधिकारी)
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया