Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको विकासमा गैरसरकारी संस्थाको महत्व

नेपालको विकासमा गैरसरकारी संस्थाको महत्व


काठमाडौँ । गैरसरकारी Non-governmental शब्द ग्रीक साहित्यको Anarchist को प्रत्यक्ष अनुवाद हो । जसको अर्थ विना वा गैर हुन्छ । यसैले गैरसरकारी संस्था सरकारभन्दा भिन्दै वा गैरसरकारी संयन्त्रमा चल्ने संस्थाहरू हुन् भनेर बुझ्न सकिन्छ । संयुक्त राष्ट्र संघको वडापत्रमा पनि गैरसरकारी संस्था भन्नाले अन्तर सरकारी सम्झौताबाट स्थापित नभएका संगठनलाई संकेत गरेको छ । गैरसरकारी संस्था भनेको के हो ? भन्ने बारेमा विभिन्न विद्वानहरूको आफ्नैैआफ्नैै तरिकाहरूबाट परिभाषा गरेका छन् । गैरसरकारी संस्थाहरूको कार्य क्षेत्र बृहत् र फराकिलो छ, जसमा वातावरण, सामुदायिक विकास तथा खासगरी गरिबीका कारण विभिन्न कार्यक्रम र उत्प्रेरणा जगाउने कार्यहरू हुन्छन् । संस्था दर्ता ऐन २०३४ को दफा २ (क) मा गरिएको परिभाषाअनुसार ‘सामाजिक धार्मिक, साहित्यिक सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, बौद्धिक, सैद्धान्तिक, शारीरिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यहरूको विकास र विस्तार गर्ने उद्देश्यले स्थापना भएको संघ, संस्था क्लब मण्डल, परिषद्, अध्ययन केन्द्र, मैत्री संघ आदिलाई गैरसरकारी संस्थाको रूपमा लिइएको छ । नाफाको उद्देश्य नराखी सेवाको भावना जगाई समाजको धार्मिक तथा बौद्धिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक, आर्थिक, व्यावसायिक तथा परोपकारी कार्यहरूको विकास र विस्तार गर्न गैरसरकारी तथा सामाजिक संस्थाहरूको स्थापना गरिन्छ ।

गैरसरकारी संस्थाहरू विशेष वर्ग र व्यवसायको हितको लागि स्वस्फूर्तरूपमा स्थापना र सञ्चालन हुने आपसी सद्भाव तथा समझदारीको आधारमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउने हुँदा सरकारी क्षेत्रको तुलनामा बढी गतिशील, व्यावहारिक प्रभावकारी तथा कर्तव्यनिष्ट भई कुनै पनि राष्ट्रको उत्थान र चौतर्फी विकास अभियानमा आफ्ना विविध कार्यक्रमहरूको कार्यान्वयनद्वारा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यता रही आएको छ । औपचारिकरूपमा गैरसरकारी संस्थाको उत्पत्तिको सन्दर्भलाई पाँच किसिमबाट विश्लेषण गर्न सकिन्छ – (१) दैवी समस्या समाधानको लागि खुलेका संगठनहरू (२) सामाजिक सेवागत भावनाले खुलेका संगठनहरू (३) जाति, भाषा, धर्म आदिको सम्वर्द्धनमा खुलेका संगठनहरू (४) विकासका साझेदारी संस्थाका रूपमा खुलेका संगठनहरू (५) चेतनामूलक संगठनहरू । केही वर्षको अन्तरालमै गैससहरूको आकार र जटिलतामा वृद्धि भएको देखिन्छ । यस्ता गैससहरूको प्रभाव सार्वजनिक विषयका नीतिगत क्षेत्रहरूमा अझ बढ्दो स्थितिमा रहेको छ । गैससको महत्व बहुसंख्यक जनताको आधारभूत आवश्यकताको परिपूर्तिमा देखापरेको बजारमुखी नीतिको असफलता र राज्यको असफलताबाट उठेको छ । संयुक्त राष्ट्र संघको घोषणापत्रको धारा ६९ मा आर्थिक तथा सामाजिक समितिले आफ्नै क्षमतामा निर्भर रहने गैसससित उपयुक्त सल्लाह र सहयोगका लागि आवश्यक व्यवस्था मिलाउन सक्छन् भन्ने उल्लेख गरिएको छ । राज्यको सहयोगी अंगका रूपमा रही काम गर्ने गैससप्रतिको दातृसंस्थाहरूको वैचारिक, आर्थिक तथा व्यावहारिक झुकावले पनि गैससको महत्व निकै बढाएको छ ।

विश्व बैंकको परिभाषामा पनि एनजीओ भनेको त्यस्तो निजी संगठन हो, जसले अशक्त, गरिब जनताको चाहना अभिवृद्धि गर्ने खालका कार्य गर्ने वातावरण संरक्षण गर्ने, आधारभूत सामाजिक सेवा पुर्याउने र सामुदायिक विकासका कार्यहरू गर्नेछन् । एनजीओ भन्ने शब्दको अर्थ कुनै नाफा नकमाउने संगठन जो सरकारबाट स्वतन्त्र हुन्छ, त्यसलाई जनाउन प्रयोग गरिन्छ । एनजीओहरू मूल्यमा आधारित संगठनका प्रतिरूपक हुन् र साधारणतया सेवा प्रदान गर्ने, योजना तर्जुमा र अनुसन्धान गर्ने कबुलियत गरेका हुन्छन् । गैरसरकारी संस्थाको मूल्य र मान्यता नाफारहित र स्वयंसेवी हुन्छ । स्वायत्तता भएको नेपालो कानुनअनुसार विधिवत दर्ता हुनु, प्रजातान्त्रिक विचारधारामा विश्वास राख्नु, आफ्नो दायित्व तथा जवाफदेहीतालाई पूर्णरूपले बहन गर्न सक्नु, दलगत स्वार्थमा नलाग्नु, नेतृत्वदायी क्षमतामा आधारित हुनु, यसका अन्य आधारहरू हुन् ।

गैरसरकारी संघ संस्थाको उद्देश्य कार्य क्षेत्र, पद्धति र प्रकारका आधारमा यिनीहरूलाई विभिन्न तहमा विभाजन गर्न सकिन्छ ।

एनजीओहरूलाई निम्न तीन किसिममा विभाजन गर्न सकिन्छ :– (१) सामाजिक कल्याणमा अभिप्रेरित गैरसरकारी संस्थाहरूः– गैरसरकारी संस्थाहरूको औपचारिकरूपमा विकास हुनुमा सामाजिक कल्याणबाट अभिप्रेरित हुनु हो । समाजमा देखिएका सामाजिक समस्याहरू, दैवी प्रकोप भोकमरी, स्वास्थ्य, शिक्षा आदि समस्याको समाधान गर्दै मानव सेवा गर्ने उद्देश्यले प्रेरित संस्थाहरू यसअन्तर्गत पर्छन् । स्थानीय क्लबहरूदेखि क्षेत्रीय र स्थानीय तहका विभिन्न गैरसरकारी संस्थाहरू । (२) पेसागत गैरसरकारी संस्थाहरूः– विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूले अध्ययन अनुसन्धानलाई जोड दिने मान्यताले स्थापना भएका गैरसरकारी संस्थाहरू यसअन्तर्गत पर्छन् । (३) क्षेत्रगत निश्चित गरिएका गैरसरकारी संस्थाहरूः– यस शीर्षकअन्तर्गत अध्ययनका विभिन्न क्षेत्रहरूलाई समेटेर कार्य गर्ने गरी गैरसरकारी संस्थाहरू स्थापना भएका हुन्छन् :– जसमा शिक्षा, स्वास्थ्य सेवा, कृषि उत्पादन, निर्माण आदिमा निश्चित कार्यक्रम लिएर जान गैरसरकारी संंस्थाहरू यसअन्तर्गत पर्न आउँछन् । गैरसरकारी संस्थाको पद्धतिको निर्धारण गर्दै कोर्टेन अगाडि भन्दछन्–पहिलो प्रस्तावको गैससहरूको प्राथमिकताको मुख्य विषय आफ्नो अस्तित्वको रक्षाको निम्ति संघर्षरत जनताहरूको मुक्ति र जनकल्याण थियो । दोस्रो पुस्ताका गैरसरकारी संस्थानहरू साना खालका आत्मनिर्भर स्थानीय संस्थाहरूको विकास गर्ने उद्देश्यले स्थापना भएको थिए । तेस्रो पुस्ता समन्वित विकास गर्ने उद्देश्यले गैससको स्थापना भएको थियो । यस पुस्ताका गैससले विकासका लागि दिगो प्रणालीको विकासका लागि जन सहभागिता र जन अभिप्रेरित विकास प्रक्रियाको लागि काम गरेका छन् । चौथो पुस्तामा कार्टेनले गैरसरकारी संस्थाहरूको मूल अभिप्राय विकासका लागि वैकल्पिक रणनीतिको रूपरेखा तयार पार्नु हो भनेका छन् ।

नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरसरकारी संस्थाहरूको महत्व धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू द्वितीय विश्वयुद्धपछि युद्धबाट पीडित व्यक्तिहरूलाई मद्दत गर्न खुलेका थिए । उदाहरणका लागि सन् १९४२ मा अकसफाम, सन् १९४५ मा केयर स्थापना भई कल्याणकारी कार्य गर्न थाले । युरोपको आर्थिक स्थितिमा सुधार आएपछि, संस्थाहरूले विकासोन्मुख देशतर्फ ध्यान दिन थाले । सन् १९७० को दशकमा विकासले विपन्न वर्गलाई गरिबी र अन्यायबाट उकास्न सहयोग गर्न सक्छ भन्ने धारणा थियो । ब्राजिलका शिक्षाविद् पाउलोफेरीको सचेतनाको सिद्धान्तबाट ब्राजिलका गैरसरकारी संस्थाहरू प्रभावित भए । साक्षरता कक्षाद्वारा विपन्नहरूलाई सचेत एवं शक्ति सम्पन्न गराउने धारणा देखापर्यो । स्थानीय तहमा चेतनाको विकास गरी स्थानीय स्रोत र साधनको अत्यधिक परिचालन गर्न गैरसरकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । क्षमता वृद्धि गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गराउने जनताको क्षमता वृद्धिको पहिचान गरी कार्यक्रमहरू सञ्चालन गर्ने काममा गैरसरकारी संस्थाहरूले ठूलो भूमिका निर्वाह गर्न सक्छन् । समाजको हितको लागि मुनाफा नलिने उद्देश्यले स्थापित स्वयंसेवी संघसंस्थालाई गैर–सरकारी संस्था भनिन्छ । गैर सरकारी संस्थाहरूले स्थानीयस्तरमा सञ्चालित विकास कार्यक्रमहरूमा स्वास्थ्य तथा जनसंख्याका पक्षहरू आबद्ध गर्न, जनताको पहुँचमा कार्यक्रम पुर्याउन, योजना व्यवस्थापनमा जनसहभागिता जुटाउन मेरुदण्डकै रूपमा कार्य गर्छन् । साथै, विकेन्द्रीकरणको भावनाअनुसार जनताको घरदैलोमा कार्यक्रम पुर्याउने संस्थाको रूपमा पनि लिन सकिन्छ । गैससहरूले आफ्नो क्षमताअनुसारको परिवार संख्या व्यवस्थापन गर्न, विकास निर्माण कार्यमा अपनत्व जगाउन, विकासको प्रतिफल समानरूपले सबै क्षेत्रका जनताको पहुँचमा पुर्याउन, जनतालाई सशक्तीकरण गर्न, मानवअधिकारको प्रत्याभूति दिलाउन र सरकारलाई जनताप्रति उत्तरदायी बनाउनेजस्ता कार्यमा दबाब समूहका रूपमा कार्य गर्न सक्छन् र अन्ततोगत्वा प्रजनन् दर, मृत्यु दर र बसाइँ–सराइमा यथोचित व्यवस्थापन गर्न सघाउ पुर्याउँछन् । यसमा यिनीहरू समूह निर्माण गरी घरदैलो पहुँच एवम् घुम्ती शिविरजस्ता कार्यक्रमको माध्यमबाट जनतमा पुग्न सक्छन् । गैरसरकारी संस्थाहरू मूलतः एक वा त्योभन्दा बढी उद्देश्यहरू राखेर संगठित भएका सामाजिक कार्यकर्ताहरू विकास व्यवसायीहरू परोपकार कार्यकर्ताहरू, मानवअधिकार कार्यकर्ताहरू, वातावरण कार्यकर्ताहरूका संस्थाहरू हुन् । गैरसरकारी संघसंस्थाहरू सानो प्रशासनिक संयन्त्रमा आबद्ध रही कार्यक्रम सञ्चालन गर्छन् । जनतासँग प्रत्यक्ष सम्पर्क राखी जनतालाई नै कार्यप्रति सचेतना जगाउँदै स्थानीयस्तरमा स्रोत परिचालन गरी आयआर्जनका माध्यमबाट जनताको जीवनस्तर सुधार्ने प्रयत्न गरिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया