Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसेयरबजारमा सुधारको आवश्यकता

सेयरबजारमा सुधारको आवश्यकता


काठमाडौं । नयाँ अर्थमन्त्रीले बहाली गर्नासाथ सेयरबजारले ठूलो आशा राखेको थियो । त्यसकारण केही दिन सेयरबजार माथि गयो । तर त्यो छोटो समयमा नै खस्कियो र अहिले खस्किएको अवस्था छ । सेयरबजार तलमाथि हुनुलाई सामान्य मानिए पनि निराशाको संकेत आउने गरी तल झर्नुलाई राम्रो मानिँदैन । कतिपयले यसलाई स्वाभाविक प्रक्रिया अथवा करेक्सन भनेका छन् । तर यो करेक्सन मात्र नभएर यो कमजोर हुँदै गएको अवस्था हो । किनकि करेक्सनले मात्र सुधार हुने देखिँदैन । अहिले सानातिना सुधारभन्दा पनि नीतिगत सुधारको आवश्यकता देखिएको छ ।

३२ सय पुगेको नेप्से घट्दै गएर अहिले २६ सयको हाराहारीमा आइपुग्नुलाई करेक्सन हो भन्नुलाई राम्रो मान्न सकिँदैन । करेक्सन भनेको त आज घट्ने भोलि बढ्ने हो । तर अहिले त निरन्तर घटिरहेको अवस्था छ । जो जसले जसरी भाष्य निर्माण गरे पनि सेयरबजार खस्किँदै गएको यथार्थतालाई नजर अन्दाज गर्नुहुँदैन । बुझ्नुपर्ने कुरा के छ भने सेयरबजार जति घट्नुपर्ने थियो त्यो घटिन नै सकेको छ । अब घटेर जाने ठाउँ नै देखिँदैन । यो घट्ने सीमासम्म पुगिसकेको हुँदा अहिलेको समय भनेको लगानी गर्ने उपयुक्त समय हो । यसको लागि विवेकपूर्ण र बुद्धिमत्तापूर्वक किसिमले लगानी गर्नुपर्छ ।

सेयरबजार यति सेन्सेटिभ हुन्छ कि सानोतिनो परिवर्तन वा सम्भावनाको आकलनले पनि बजारलाई असर पार्न सक्छ । त्यसकारणले गर्दा नयाँ अर्थमन्त्री आउनासाथ लगानीकर्ता केही सुधारात्मक सम्भावनाकोे प्रतीक्षामा थिए । अर्थमन्त्रीले पनि सेयरबजार सुधार गर्ने प्रतिबद्धता जाहेर गरेका थिए र लगानीकर्तालाई आश्वस्त पार्दै अर्थमन्त्रीले अब पहिलेको जस्तो हुँदैन ढुक्क भएर लगानी गर्न सुझाव गरेका पनि थिए । अर्थमन्त्रीको प्रतिबद्धतामा विश्वास गरेर छोटो समयको लागि सेयरबजार एक्कासी उकालो लागेको पनि थियो । सुधारको क्रममा उनले सम्बन्धित निकायहरूसँग सुधारका लागि आवश्यक सुझाव माग गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत संसद्मा नयाँ सरकारलाई सेयरबजारले स्वागत गरेको भनेका थिए । यसरी अर्थमन्त्री र प्रधानमन्त्रीले सेयरबजारप्रति जुन सकारात्मक अभिव्यक्ति दिए त्यसले गर्दा लगानीकर्ता बढी विश्वस्त हुन पुगे । परिणामस्वरुप सेयरबजार उकासिएको जस्तो हुन गयो ।

अर्थमन्त्री र प्रधानमन्त्रीले जुन प्रतिबद्धता गरेका थिए । ती सबै यथार्थतामा परिणत हुन सकेनन् र सेयरबजारले विश्वास गर्न पनि सकेन । सेयरबजारले विश्वास गर्नका लागि त अर्थ मन्त्रालयबाट सुधारात्मक योजना आउनु पर्ने थियो । केही पनि आउन सकेनन् र केही दिन उकालो लागेको सेयरबजारको यात्रा पुनः ओरालो लागिरहेको अहिलेको अवस्था हो । प्रधानमन्त्री र अर्थमन्त्रीका प्रतिबद्धता केवल प्रतिबद्धता मात्र भए सेयरबजारमा केही सुधार आउन सकेन । सत्ता समीकरणको साझा संकल्पमा समेत सेयरबजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने कुरा उल्लेख भएको थियो । प्रधानमन्त्री, अर्थमन्त्री र संसद्मा प्रस्तुत गरिएको संकल्पले समेत सेयरबजारमा सुधार ल्याउने सम्बन्धमा केही गर्न नसकेको हुनाले सेयरबजार कमजोर हुँदै गएको अहिलेको अवस्था हो । प्रतिबद्धताअनुसार सुधारका कार्यक्रम आउनुपर्ने थिए, किन आउन सकेनन् प्रश्न अनुत्तरित नै छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीको भनाइमा विश्वास गरेर लगानीकर्ताहरूले ठूलो रकम सेयरमा लगानी गरे । अहिले सेयरबजार घट्दो क्रममा भएकाले उनीहरूले आफू फसेको अनुभव गरिरहेका छन् । जिम्मेवार नेतृत्वले भनेका कुरामा विश्वास गर्नु स्वाभाविक पनि थियो । अहिले न त केही तदर्थ निर्णय हुन सकेका छन् न त नीतिगत सुधारकै कार्यक्रम ल्याइएका छन् । जिम्मेवार निकायबाट कुनै चासो नलिए पछि सेयरबजार अलमलमा पर्नु कुनै आश्चर्यको कुरो भएन पनि । नीतिमा सबैभन्दा ठूलो भनेको राजनीति हो र यही नीतिबाट अन्य नीति तय गरिन्छन् । राजनीतिले नै काम नगरेपछि अन्य नीति प्रभावकारी नहुने नै भए । यहाँ कमजोरी कहाँ देखियो भने अर्थमन्त्रीको अभिव्यक्तिबाट उकालो लाग्नुपर्ने सेयरबजार झनै ओरालो लाग्दै गरेकाले लगानीकर्ताहरूको जोखिम बढ्दै गएको छ । यस्तो अवस्था सिर्जना हुनुमा लगानीकर्ताको कुनै गल्ती देखिँदैन । जिम्मेवार पदाधिकारीबाट सकारात्मक अभिव्यक्ति नआएको भए यति नराम्रोसँग लगानीकर्ता फस्ने अवस्था आउने थिएन ।

खस्किँदो सेयरबजारले पुँजीबजारलाई त यसै धक्का दिन्छ नै देशको समग्र अर्थतन्त्रलाई नै असर पार्छ । आगामी वैशाख १६ र १७ मा नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पनि यो विषय पेचिलो हुन सक्छ । लगानी सम्मेलन गर्दैमा लगानी आउने होइन । लगानीको लागि अनकूल वातावरण हुनुपर्छ । लगानी गर्नका लागि आवश्यक हुने एक आधार भनेको पुँजीबजार हो । उनीहरूले कुनै अध्ययन नगरी लगानी गर्दैनन् । सेयरबजारलाई कुनै पनि देशको अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ । सेयरबजारले जोखिम मोलिरहेको अवस्थामा लगानी आउने सम्भावना हुँदैहँुदैन । यसतर्फ राजनीति नेतृत्वको ध्यान दिनुपर्ने हो दिएको देखिँदैन । सेयरबजारको सुधार गरिन्छ भन्दैमा सुधार हुने होइन । यसको लागि त राजनीतिले प्रतिबद्धता गरेका कुराहरू जिम्मेवारी निभाउनुपर्छ । जिम्मेवार निकायहरूले आफ्नो जिम्मेवारी ननिभाएको अवस्थामा हुने भनेको नै यस्तै हो । जुन अहिले भइरहेको छ ।

अर्थमन्त्रीले पद समाल्नेवित्तिकै खस्किँदै गएको सेयरबजारलाई उकास्न आवश्यक सुझाव माग गरेका थिए र सम्बन्धित निकायबाट सुझाव पेस भएको पनि लामो अवधि भइसकेको छ । यस अवधिमा केही सुधारात्मक प्रयाससम्म नभएकोले सेयरबजारमाझ नै जोखिम बढ्दै गएको छ । सेयरबजारलाई यसरी नै छोडिदिने हो भने समग्र पुँजीबजार नै अस्तव्यस्त हुने सम्भावना देखिन्छ ।

अहिले लगानीकर्ता निकै रुमलिएको अवस्थामा देखिन्छन् । सेयरबजारमा त्यसै सुधार आउने होइन । यसको लागि त देशको अर्थतन्त्र चलायमान हुनुपर्छ । चलायमान हुन नसकेको अवस्थामा पुँजीबजारको विकास हुन सक्दैन । सरकारले पुँजीगत खर्च गर्नै सकेको छैन । आर्थिक वर्ष व्यतीत भएको सात महिना भइसक्दा पनि २५ प्रतिशतमा पुँजीगत खुम्चिएको छ । यस्तो सरकारी खर्चले पुँजीबजारले गति लिन सक्दैसक्दैन । खर्चै गर्न नसक्ने भएपछि बजारमा पैसा प्रवाह हुन सक्दैन । जब हातहातमा पैसा हुन्छ, त्यसबेला मात्र सेयरबजार फस्टाउने हो । औद्योगिक वातावरण बन्न सकेको छैन । उद्योगधन्दाहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्, रोजगारीका ढोकाहरू बन्द हुँदै गएका छन् । मन्दी बढ्दै गएको छ, मूल्यवृद्धिजस्ता कुराहरू जो अर्थतन्त्र चलायमान बनाउन घातक छन् । तिनीहरूमा सुधार आउन नसकेको कारणले गर्दा पनि सेयरबजार कमजोर हुँदै गएको अहिलेको अवस्था हो ।

आगामी आर्थिक वर्षको बजेट आउँदो जेठ १५ गतेका दिन पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैलाई लक्षित गरेर अर्थमन्त्रीले बजेट वक्तव्यमार्फत सम्बोधन गर्ने विचार गरेका हुन सक्छन् । तर त्यस समयसम्म फर्किँदा सेयरबजारले निकै जोखिम मोल्नुपर्ने हुन आउँछ । त्यसकारण अहिले सुधारको लागि पेस गरिएका सुझावहरूलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीनरूपमा लागू गर्नका लागि वर्गीकरण गरेर कार्यान्वयन गर्दै जानुपर्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र कमजोर भएको हुनाले पनि सेयरबजारले गतिलिन नसकेको अवस्था हो । बाह्य क्षेत्रअन्तर्गत विप्रेषणबाट प्राप्त भएको रकमलाई लगानी गर्न नसकिएको हुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्को कुरा आन्तरिक उत्पादनमा वृद्धि नभएको हुनाले पनि आयातलाई विस्थापन गर्न सकिएको छैन । यसरी देशको अर्थतन्त्रमा अहिले चौतर्फी दबाब सिर्जना भएको छ । अर्थतन्त्रको यस्तो अवस्थामा मन्दी आएकै हुन्छ ।

सबल अर्थतन्त्रको लागि आयात न्यूनीकरण र निर्यात बढ्दै जानुपर्छ । त्यस्तैगरी पुँजीगत खर्च बढेको र लक्ष्यअनुसार राजस्व प्राप्त भएको हुनुपर्छ । आन्तरिक उत्पादनमा वृद्धि गरेर निर्यात बढाएर आयातलाई विस्थापित गर्नु सकियो भने विदेशी मुद्रा सञ्चिति बढ्ने हुन्छ । यस प्रकारको अवस्थामा देशको अर्थतन्त्र सबल हुन्छ र अर्थतन्त्रका सूचकहरू पनि सकारात्मक हुन सक्छन् । अहिले अर्थतन्त्रका अवयवहरू कमजोर एवं नकारात्मक भएका हुँदा सेयरबजार पनि खस्किँदै गएको अवस्था हो । समग्र अर्थतन्त्रमा सुधार नआएको अवस्थामा सेयरबजार पनि चलायमान हुन सक्दैन । अतः अहिलेको अवस्थामा सेयरबजारमा आशातीत सुधार ल्याउन कठिन नै देखिन्छ । यद्यपि राष्ट्रिय अर्थतन्त्रको केन्द्रीय संगठनको रूपमा रहेका अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले तत्कालका लागि भने केही सुधारात्मक कार्यक्रम ल्याउनैपर्छ अन्यथा सेयरबजार समस्याग्रस्त हुनेछ ।

सरकारले सेयरबजारप्रति गरेको प्रतिबद्धताले लगानीकर्ताको विश्वास लिन सकेको देखिँदैन । सरकारले जहिले पनि प्रतिबद्धता गर्छ । तर कार्यान्वयन नगर्दा समस्या थपिँदै गएको देखिन्छन् । सेयर धितो कर्जाको सीमा, जोखिम भार, ब्रोकर कमिसन घटाउने, एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउनेजस्ता सामान्य विषयहरूमा पनि सुधार नगर्दा सेयरबजार समस्याग्रस्त बन्दै गएको छ । तत्काल यी क्षेत्रमा केही मात्र सुधार भए पनि सेयरबजार उकालिने सम्भावना हुन्छ । यसैतर्फ सम्बन्धित निकायहरूको ध्यान जानुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया