भ्रष्टचारजन्य विकृति निराकरणको उपाय के छ ?
काठमाडौं । आजकल भ्रष्टाचारको विरुद्धमा देशै जुरुक्क उचालिएको जस्तो भान हुन्छ । सामाजिक सञ्जाल तातिएको छ । हाम्रा मिडियाहरू सबैउस्तै गरी प्राथमिकताका साथ यस्ता समाचारहरू छाप्ने गर्छन् । सर्वसाधारण जनताहरू पनि भ्रष्टाचारको विरुद्धमा देखिन्छन् । तर चुनाव आउनेवित्तिकै जसलाई विरोध गरेको हो, उसैलाई भोटचाहिँ नतमस्तक भएर दिने चलन छ । यसको कारण के हो त ? कारण स्पष्ट छ, देश भ्रष्टाचारमय भएको छ । स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म सरकारी निकायहरू भ्रष्टाचारको दलदलमा फसेका छन । कुनैकुनै अपवाद होलान त्यो बेग्लै कुरा हो । परिस्थिति यस्तो छ, बचेखुचेको इमान्दार मानिसलाई पनि भ्रष्टाचार गरुँगरुँ लाग्ने वातावरण छ । किनकि इमान्दार मानिसको यहाँ कुनै नाम र इज्जत पनि छैन । एकजना भ्रष्ट खरदारले एक दुई वटा राम्रो घर सहरमा बनाइसक्दा इमान्दार अर्का अधिकृतले एउटा घडेरी जोड्न सकेको हुँदैन । एउटा चप्पलको फित्ता गाँस्दै राजनीतिमा आएको एउटा नेताले आलिसान बंंंंगला बनाइसक्दा अर्का इमान्दार नेताको धोतीटोपी नै हराइसकेको हुन्छ । बेइमानहरूको राज चलेकाले इमान्दारको शाख गिरेको अवस्था छ । भ्रष्टाचार गर्नु खराब हो । यो सामाजिक अपराध हो, भन्ने जान्दाजान्दै पनि चुनाव आएपछि जसले पैसाको छेलोखेलो गर्न सक्छ भोट पनि उसैलाई दिइन्छ । भ्रष्टाचारजन्य क्रियाकलापका लागि अड्डा अदालतदेखि पुलिस प्रशासनसम्म, स्थानीय निकायदेखि केन्द्रीय निकायसम्म, राजनीतिक व्यक्तिदेखि अख्तियारसम्मको अघोषित गठजोड छ । यसैले कसैसँग कसैले डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट राजनीतिक सामाजिक र आर्थिक वातावरणलाई विकृतिमय बनाउन ठूलो भूमिका खेलेको छ ।
भ्रष्टाचार र विकृतिविरुद्ध उफ्रीउफ्री विरोध गर्ने तिनै मानिसहरू पदमा पुगेपछि आफैँ भ्रष्टाचारमा लिप्त भएको देखिन्छन् । यसबाट के बुझिन्छ भने भष्ट्राचारको विरोध गर्नुभनेको सत्ता र पद प्राप्तिका लागि हो । यसैले सर्वसाधारण जनताले त्यस्ता नेताहरूलाई पत्याउन पनि छोडिसकेका छन् । ती जतिसुकै ठूलो क्रान्ति गरेर आएको किन नहोस् । जतिसुकै जेल बसेर आएको किन नहोस् । नेताहरूको साख गिरेको छ ।
पृथ्वीनारायण शाहले भष्ट्राचारले देशको अवस्था कस्तो बन्छ ? राम्रो अनुभव गरेको बुझिन्छ । आफ्नो समयमा भ्रष्टाचारले देशमा ल्याउने दूरावस्तालाई चिनेर नै ‘घुस लिन्या र दिन्या दुवै अपराधी हुन्’ भन्ने उक्ति दुनियाँलाई सुनाएर जानुभएको थियो । यसलाई हाम्रा राजनीतिज्ञहरूले बेवास्ता गरेको देखिन्छ । सबैलाई समानताको सिद्धान्तमा हिँडाउन खडा भएका कम्युनिस्ट पार्टीहरूले समेत यसलाई अनुशरण गरेको पाइँदैन । सामन्त राजाको कुरा किन मान्नु ? भनेर होला सायद । खादा, माला लाउने र सुख सयलमय जीवनका लागि भने राजालाई उछिनेको समेत दृष्य देखिएको छ ।
हामीले देखेको र मनन् गरेको तथ्य यो हो कि संसारमा जे–जति नराम्रा कामहरू भएका छन्, त्यो राम्रा कुराको आवरणमा भएका छन् । यस सवालमा हाम्रो देशको अवस्थालाई हेर्ने हो भने कम्युनिस्टहरूले पुँजीवादी पार्टीहरूलाई पनि उछिन्न खोजिरहेका छन् । यसमा पनि काहीँकतै अपवादलाई भने थाती राखौँ । आरोप लगाइहाल्नु अन्याय हुन सक्छ । नयाँ आउने पार्टीले के गर्लान् ? व्यवहारको कसीमा पर्खेर हेर्नुपर्नेछ । अहिले विरोध गरिहाल्ने हतार नगरौँ भन्ने लागेको छ । नकारात्मकताको गन्ध आयो भनी विरोध भने हुन लागिसकेको छ । यसबाट के बुझिन्छ भने राम्रो आवरणमा नराम्रो काम गर्न सजिलो बाटो रहेछ । कोही राम्रो गर्छु भन्दाभन्दै नराम्रोको दलदलमा फसेका पनि छन । मनैदेखि राम्रो गर्छु भनेर लागेकाहरू पनि परिवेश र वातावरणका कारणले आफै बदलियर नराम्रोमा परिणत भएका छन । कोही जानी जानी नीजि स्वार्थ सिद्ध गर्न राम्राराम्रा कुरा गर्दै राजनीतिमा छिरेका छन् । निश्चित पद र ठाउँमा पुगेपछि आप्mनो स्वार्थ सिद्ध गरेका छन् । यस्ता असंंख्य उदाहरणहरू छन् । त्यो स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म छ ।
हाम्रा पार्टीहरूको कार्यकर्ता भर्ना गर्ने र चुनावी टिकट दिने मापदण्ड पनि उस्तै छ । जो यस प्रकार छ :–
१)जोसँग पैसाको चलखेल गर्न सक्ने खुबी छ ।
२)जोसँग कुराले धेरै मानिसहरूलाई प्रभाव पार्ने कला छ ।
३)जो भाषण कलामा निःपूर्ण छ ।
४)जो चाकडी चाप्लुसी गर्न माहिर छ आदि ।
यसमध्ये दुईवटा बुँदा त नेतृत्वका लागि आवश्यक गुणहरू नै हो । दुई र तीन नंं बुँदाको आवश्यकता नकार्न सकिन्नँ । अर्को अति आवश्यकीय एउटा बुँदा छ । त्यो हो सामान्य आर्थिक व्यवहारमा कोकतिसम्म लोभी छ ? यसको परीक्षण गरेको पाइँदैन । हुन त माथिको मापदण्ड औपचारिक होइन । व्यवहारमा देखिएको तथ्य हो यो । यहि तथ्यको कारणले संसद्मा काण्डैकाण्ड लागेका नेताहरूको गर्जन ठूलो छ । उनीहरू नै एक हिसाबले प्रभावकारी देखिन्छन् । घडी काण्ड, बाख्रा काण्ड र सुन काण्डको बारेमा तपाईंहरूलाई थाहै होला । संसद्मा के–के भइरहेछ नियालेर सबैले हेर्नु भएकै छ । हाम्रोजस्तो विकासोन्मुख देशको समस्या हो यो । हाम्रा मिसन चौरासी भनी कुर्लने पार्टीहरूले नेता र कार्यकर्ताहरूमा हुनुपर्ने गुणहरू र भर्ती गर्दा अपनाउनुपर्ने मापदण्डलाई इमान्दारीपूर्वक सच्याउनु आवश्यक छ । बनाइएको मापदण्डअनुसार सबै जनाले आफूलाई सच्याउनु जरुरी छ ।
के हाम्रा पार्टीका हेड क्वाटरहरूले आफूलाई सच्याउन अनुशासनका नियमहरू बनाउन र पालना गर्न दुःख कष्टहरू गर्लान् ? यो त कसैले पनि पत्याउँदैन । तैपनि कम्युनिस्ट पार्टी भनी नामकरण भएको पार्टीहरूले यति नगर्ने हो भने कसरी कम्युनिस्ट पार्टी भए त ? खोई माक्र्सवादी शैली र माओकालीन अनुशासनका नियमहरू ? त्यो त समयक्रममा नियमहरू बदलियो पनि भन्न सकिएला । तर त्यसको ठाउँमा त्योभन्दा पनि राम्रो अझ आधुनिक र वैज्ञानिक नीति नियमहरू आफैँ पनि बनाउन पक्कै सक्नुहुन्छ । तर त्यतापट्टि हाम्रा नेताहरूको ध्यान जाने देखिँदैन । बरु कसरी भ्रष्टाचारलाई मलजल गर्न सकिन्छ ? त्यतापट्टी राम्रो ध्यान गएको पाइन्छ । यदि कम्युनिस्ट अनुशासन र सादगीका कुरा छोड्दिने हो भने पनि राम्रा नीति नियम र थिति भएका पुँजीवादी मुलुकहरूको अनुशरण गरौँ न त ? पश्चिम युरोपको उत्तरी क्षेत्रमा अवस्थित नार्डिक देशहरूलाई हेरौँ । डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड, न्युजील्यान्ड आदिबाट सिकौँ । जहाँ भ्रष्टाचार गर्नुहुँदैन भन्ने चेतना छ । संस्कार र संस्कृतिमै यो विकास भएको छ । विदेशीको नक्कल गर्दा राम्रा कुराको चाहिँ गरौँ न ! त्यति पनि गर्न नसक्ने भए किन कम्युनिज्मको सिद्धान्तको रट लगाउने ?
भ्रष्टाचारको विरुद्धमा शून्य सहनशीलता अपनाऔँ । यो पनि औपचारिकतामा सबैले सहमति जनाएका नै छन् । संयुक्त राष्ट्र संघको भ्रष्टाचारविरुद्धको महासन्धिमा नेपालले पनि १० डिसेम्बर २००३ मा हस्ताक्षर गरिसकेको छ । संंयुक्त राष्ट्र संघको पहिलोपल्ट हस्ताक्षर गरेको दिन ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइँदै आएको छ । नेपाल पनि यस अभियानमा औपचारिकरूपले भने जोडिएकै छ । तर व्यवहारमा डेग चलेको देखिँदैन । यसै भएको कारणले सच्चिए ठाउँ छ, नसच्चिए जता गए पनि हुन्छ, भनेजस्तै परिस्थितिले बाध्य बनाइसकेको छ । नसच्चिए स्वतन्त्रकै नाममा भए पनि देशभरि विस्तारै नयाँ अनुहारहरू आउने सम्भावना देखिँदैछ । नेपालको पूर्वमध्य र सुदूर पश्चिमबाट एउटा÷एउटा झिल्कोले त्यो संकेत गरेको छ ।
पार्टीहरूले आफ्नो अनुशासनको मापदण्ड असल बनाए सबै कुरा सुल्झिने थियो । यो पनि सम्भावना छैन । व्यवहारमा नसच्चिएसम्म कागजमा बनाएको नीतिनियम र कानुनको केही अर्थ हुनेछैन । सबैभन्दा महत्वपूर्ण कुरा देशमा नीति नियम र कानुनहरू चुस्तदुरुस्त र व्यवहारमा लागू हुने खालको हुनुपर्यो । ढिलासुस्ती र भ्रष्टाचारलाई मलजल गर्ने खालको नीति नियमहरू, कानुहरू तुरुन्त संंसद्मा प्रस्ताव ल्याई सच्याउने काम गरिनुपर्यो । नेपालमा बनेका मेसिनरी सामानहरू मोटर, मोटर साइकलको भन्सार तिरेको बिल चाहिने कानुनी प्रावधानले गर्दा दर्ता हुन नसकेको गुनासो पनि विगतमा सुनिएको हो । यस्ता प्रावधान र कानुहरूलाई तुरुन्त हटाउनु पनि आवश्यक छ । घुस लिने कर्मचारी वा भ्रष्टाचार गर्ने जोसुकै भएपनि कारबाही हुने गरी अगाडि बढनु आवस्यक छ । हामीले सिङ्गापुरको कथा व्यथालाई पनि एकपटक अध्ययन गरौँ न । त्यहाँ पनि पहिले भ्रष्टाचार ज्यादा हुन्थ्यो । त्यहाँ भ्रष्टाचारविरुद्ध कानुन निर्माण गरियो । कानुन लागू गर्ने प्रभावकारी निकायको स्थापना गरियो । कानुनबमोजिम सजायको व्यवस्था भयो । अनि चुस्त दुरुस्त प्रशासनको माध्यमले कार्यान्वयन पक्ष प्रबल बनाइयो । यसैले अनुगमन मूल्याङ्कन र कार्यान्वयन पक्ष राम्रो नभएसम्म केही हुनेवाला छैन । पहिलो कुरा त देश बनाउने चिन्ता मनैदेखि हुनुपर्यो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया