Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजिजुबाजेको पालाका साबुन : कण्टकारी, रिठ्ठा र पिना

जिजुबाजेको पालाका साबुन : कण्टकारी, रिठ्ठा र पिना


काठमाडौं । सरसफाइका लागि नेपालीहरूले सुरुसुरुमा साबुनको रूपमा विभिन्न परम्परागत वस्तुको प्रयोग गर्थे । साबुनको प्रयोग हुनुभन्दा पहिले तोरीको पिना र रिठाले नुहाउने तथा कण्टकारी र चिउरीको पिनाले लुगा धुने चलन थियो । पहिलेपहिले मैला लुगा खरानीमा पकाएर पँधेरोमा लगी दाबिलोले हिर्काएर धोएर पखालेर सुकाउने चलन पनि थियो । कसैकसैले कुनै वनस्पतिका पातहरू थिचेर वा मिचेर त्यसको प्रयोग लुगा धुनमा प्रयोग गर्थे ।

नेपालमा साबुनको प्रयोग हुनथालेको धेरै नै भइसक्यो । शरीर तथा लुगा सरसफाइमा प्रयोग हुने थरिथरिका साबुनहरू अहिले बजारमा छ्यापछ्याप्ती पाइन्छन् । सुरुसुरुमा भारतबाट लुगा धुने प्रताप साबुन र डीसीएम साबुन आयात हुन्थे । जसले लुगा धुने मात्र होइन कसैकसैले त्यसै साबुनले नुहाउने पनि गर्थे । लाइफब्वाय साबुन भारतबाट आयातीत पहिलो नुहाउने साबुनको नाम थियो । ब्रस र मञ्जनको चलन सुरु हुनुअघि विभिन्न किसिमका वृक्षका सानासाना डालाहरूको सहायताले दाँत माझ्ने चलन थियो । कुनै बखत सैजन(सजिवन)को डाँठले माझ्दा दाँत अझ सफा हुने भनाइ पनि थियो । सजिवनको डाँठ भाँच्दा त्यसबाट साबुनयुक्त तरल पदार्थ बग्ने गर्छ । केटाकेटी छँदा यस लेखकले दुबोको लहरोलाई गोलो गाँठो बनाएर त्यसै चोपमा डुबाएर बेलुनझै फोकाहरू उडाउने गरेको अझै सम्झना छ । अहिले बजारमा केटाकेटीहरूले त्यस्तो फोकाहरू उडाउनका लागि सामग्रीहरू पाइन्छन् । कुनैकुनै केटाकेटीहरूले त्यस्ता फोकाहरू उडाउनको लागि स्याम्पुको सहायता पनि लिने गरेको पाइन्छ ।

साबुनको प्रयोग हुनुअघि विगतका विभिन्न कालमा विभिन्न वनस्पतिहरू सरसफाइका लागि प्रयोगमा आउँने गर्थे । ती वनस्पती यसप्रकार छन् –

रिठ्ठा: अझै पनि कतैकतै पँधेरोनिरै रिठाका बोटहरू भेटिन्छन् र देखिन्छन् । रुखमा चढेर झारिएको वा आफैँ भुइँमा झरेका रिठाको छिपिएको फललाई लोहोरोले हिर्काएर फुटाई भित्रको कालो गेडा फालेर बोक्रा मात्र मसिनो बनाई नुहाउन वा धुन प्रयोगमा आउँथ्यो । रिठाको फल फुटाउँदा भित्र कडा खालको कालो गेडा हुन्छ । यो लेखकलाई सानो छँदा साथीहरूसँग खेल्दैगर्दा रिठाको त्यो कालो गेडा ढुंगामा रगटेर साथीहरूको हातखुट्टामा च्वास्सच्वास्स पोलिदिने गरेको सम्झना अझै पनि ताजा छ । साथै, रिठाको कालो गेडालाई फोडेर त्यसभित्र रहेको घाँजी वा गुदी पनि खाइन्थ्यो । तर त्यो खानयोग्य थियो वा थिएन थाहा भएन । त्यो खाँदा कुनै प्रकारको खराबी गरेको भने थाहा भएन ।

कन्टकारी: आफैं उम्रिई हुर्किई भान्टाको बोटको आकारमा देखिने पातमा काँडाहरू रहने र हरियो फलेर पाकेपछि पहेँलो देखिने कन्टकारी नामको फललाई पनि कुनै बखतसम्म लुगा धुनका लागि प्रयोग गरिन्थ्यो । यसलाई भेग वा ठाउँअनुसार विभिन्न नामले चिनिन्छ । रोल्पातिर भटकारा वा बिही, अर्घाखाँचीतिर कण्टकुवारी, काठमाडौंतिर कण्ठकारी, कतै वनबिरी, दाङतिर कचिङ्ग्रो, कतै भर्कटे, कतै मयनकाँडा, प्युठानतिर भर्कटे, कतै भेँडेकटारे कतै भुटकुरो वा भटकारा र कतै कच्रेटो नामले चिनिन्छ । कन्टकारीको प्रयोग दाँतको किरा झार्न पनि प्रयोग हुनेगर्थ्यो भन्ने भनाइ पनि छ । केटाकेटीहरूले मनोरञ्जनका लागि कन्टकारीको फललाई उफार्ने र गुडाउने पनि गरिन्थ्यो ।

चिलाउनेको पात: साबुनको प्रयोग हुनुभन्दा पहिले गाउँघरमा पहिलेपहिले चिलाउनेको पात मिचेर त्यसलाई लुगा धुन प्रयोग गरिन्थ्यो । सायद यो कमैले प्रयोग गरेको हुनुपर्छ ।

खिर्रो: कुनै बखत खिर्रोको पात लोहोरोले कुटेर लुगा धुनका लागि प्रयोग गरिन्थ्यो । साथै, दुवाली थुनेर यसकै सहायताले माछा मार्ने चलन थियो ।

तीतेपाती: कुनैबखत नुहाउनको लागि तीतेपातीलाई मसिनो पारेर नुहाउने चलन पनि थियो ।

तोरीको पिना: तोरीको पिना पनि नुहाउनका लागि परम्परागतरूपमा प्रयोग हुने वस्तु हो । यसले नुहाएमा कपाल मुलायम हुने र छाला सुख्खा नहुने भएकाले कसैकसैले अहिले पनि तोरीको पिनाले नुहाउने गरेको पाइन्छ ।

चिउरीको पिना: पहिलेपहिले लुगा धुनको लागि चिउरीको पिना पनि प्रयोग हुन्थ्यो । दुवाली छेकेर माछा मार्न पनि चिउरीको पिना नै प्रयोग हुन्छ । जो अहिले पनि चलन चल्तीमा छ ।

मास मकैको पीठो: कुनै बखत हातगोडाको मयल फाल्नका लागि मास मकैको पीठोको पनि प्रयोग हुन्थ्यो । खासगरि कतैकतै मास मकैको पीठोमा अदुवा र नुन मिसाएर रोटी पकाउने चलन पनि छ । सो रोटी मीठो मात्र होइन पोषणयुक्त पनि मानिन्छ । यो चलन हालका दिनमा हराउँदै गएको छ ।

रातोमाटो: वनस्पति नभए पनि कतैकतै विशेष प्रकारको रातो माटो पनि नुहाउनका लागि प्रयोग हुन्थ्यो । पहिलेपहिले शौच गरिसकेपछि माटोपानीले हात धुने चलन पनि थियो । धर्मशास्त्रअनुसार जमिन वा माटोलाई पवित्र मानिन्छ । हातखुट्टामा चोटपटक लागेमा सफा ठाउँको माटोको धुलो राखेमा पनि घाउ निको हुन्थ्यो । हुन त हालका दिनहरूमा स्वास्थ्यकर्मीहरूका अनुसार घाउमा माटो परेमा धनुष्टङ्कार रोग हुन्छ भनिन्छ । यो लेखकलाई आफूले घाउमा पहेँला फूलेका बिरुवाको रस निचोरेर कैयनपटक घाउ निको पारेको अझै पनि सम्झना छ ।

विज्ञापनहरूमा देखिने भ्रम: अहिले बजारमा भाँडा माझ्ने साबुनमा कागतीको मात्रा भएको भनेर प्रचार गरेको देखिन्छ । त्यस्तै, नुहाउने साबुनमा निम मिसाएको भनिन्छ र स्याम्पुहरूमा अमला, रिठ्ठा, जटामसीलगायतका वनस्पतिका अंगहरू मिसाइएको छ भनेर प्रचारबाजी गर्ने गरिएको छ । खासमा ती केमिकल अर्थात् रसायन हुन् ।

विज्ञापन गहुँको रोटी, मकैको रोटी, कोदोको रोटी, फापरको रोटी, जौँको रोटीको बन्नै सक्दैन । तर कम स्वस्थकर मानिने पाउरोटी, चाउचाउ, केक, पेस्ट्री, बर्गर, चाउमिन, पिजा र मःमको जोडदारसँग विज्ञापन हुने गरेको पाइन्छ । हामीले सञ्चार माध्यमहरूमा गाउँघरमा उत्पादन हुने बहुगुणी अनाजहरू मकै, गहुँ, जौँ, कोदो, फापर आदिको विज्ञापन देखेका र सुनेका हुँदैनौं । तर आयातीत अस्वस्थकर र पालिस लगाइएको अर्को शब्दमा भन्नुपर्दा खान अयोग्य चामलको विज्ञापनहरू ज्यादै सुन्नु र देख्नुपरिरहेको छ । त्यस्तै, साबुन, स्याम्पु, केश तेल, पाउडर, क्रिम मञ्जनहरूको विज्ञापन हुँदै आएको छ । बजारमा प्रतिस्पर्धा पनि ती वस्तुहरूको छ ।

कपासबाट बनेका सिरक, डसना र ऊनीको कम्बलको होइन फाइबरवाला सिरक, डसना अनि कम्बलहरूको पहुँच छ । नेपालीका घरघरमा ढुंगा, माटोले बनेको घर होइन अस्वस्थकर मानिने सिमेन्टबाट बन्ने घरको चाहना बढ्दो छ जनमानसमा । वातावरणमैत्री काठको सट्टा आल्मुनियमका झ्याल, ढोका प्रयोग भइरहेका छन् । त्यस्तै, ढुंगा र झिंगटीका होइन फाइबरका बन्छन् छानाहरू ।

पहिलेपहिलेका मानिसहरू शतायुका हुन्थे भने अहिले आधुनिकताको नाममा प्रकृतिबाट विमुख भई आफ्नो आयु घटाइरहेका छन् मानिसहरू । नानाथरिका अस्वस्थकर खानपानका कारण ज्यान बिगार्ने अनि महँगा औषधी सेवन गरेर र अनावश्यक डाइग्नोसिस गरेर स्वास्थ्य झन् बिगार्ने र धन खर्च गर्न गरेको स्पष्टरूपमा देखिन्छ ।

कर्णाली भेगका कतिपय प्राङ्गारिक अनाजहरू अन्यत्र जान्छन् र त्यहाँ पुग्ने गर्छन् आयातीत अनाजहरू । मह उत्पादन गरेर अन्यत्र पठाउने र अस्वस्थकर चिनीको प्रयोगले स्वास्थ्य बिगार्दैछन् उनीहरू । गाउँघरमा पशुपालन गर्न छाडेपछि प्राङ्गारिक मलको अभाव हुन गई रासायनिक मलको प्रयोग बढ्दै गइरहेको छ । देशमा माटोको उर्भरा शक्ति सरदर ७० प्रतिशतमा झरिसकेको पछिल्लो आँकडाले देखाउँछ । नेपाललाई पहिले कृषिप्रधान देश भनेर चिनिन्थ्यो भने अहिले व्यङ्ग्यको रूपमा कुर्सीप्रधान देश भनिन्छ । त्यसको कारण यहाँ उल्लेख गरिरहन आवश्यक छैन । किनकि यी कुरा सबैमा जगजाहेर नै छ । कृषि मन्त्रालय, कृषि विभाग, कृषि अनुसन्धान परिषद्, जिल्लास्थित कृषि कार्यालयहरूका कार्यबोझ पनि घट्दै गइरहेको पाइन्छ । देश आयातमुखी र परनिर्भर हुँदैगएको छ भने देशभित्र रोजगारका अवसरहरू पनि घट्दै गइरहेका छन् । जसका कारण जोखिम मोलेर वैदशिक रोजगारका लागि हुत्तिँदैछन् युवायुवतीहरू ।

आधुनिक जमानाअनुसार विभिन्न उपभोग्य वस्तुहरू बजारमा पाइन्छन् । तर कतिपय अग्रजहरूले परम्परागत वस्तुहरू नै प्रयोग गर्न रुचाउने गरेको पाइन्छ । जमानाअनुसार चल्न कतिपय बुढापाकाहरूले मान्दैनन् । पुरानै वस्तु र विधिको प्रयोग गर्न रुचाउनेहरू पनि समाजमा भेटिन्छन् । हालका दिनहरूमा आयातीत उपभोग्य वस्तुहरूको प्रयोगले स्वास्थ्यमा विभिन्न समस्याहरू देखिन थालेपछि कतिपयले गाउँघरमै उत्पादित वस्तुहरूको प्रयोगमा जोड दिन थालेको पनि पाइन्छ । तर गाउँघरका खेतबारीहरू बाँझो हुँदै जाँदा उत्पादनमा कमी भएकै कारण आयातीत वस्तुहरू नै प्रयोग गर्न बाध्य हुनुपरेको पनि छ ।

नेपालमा साबुन, डिटर्जेन्ट पाउडर, वासिङ पाउडर र स्याम्पु उत्पादन गर्ने उद्योगहरू खुल्नुभन्दा पहिले ती वस्तुहरू भारतबाट नै आयात हुन्थे । अहिले चीनबाट र तेस्रो मुलुकहरूबाट समेत यस्ता सामग्रीहरू आयात हुन्छन् । सौन्दर्य प्रशाधनका सामग्रीहरू समेत आयस्तर हेरेर प्रयोग गर्नेगरेको पाइन्छ । धनीमानीहरूले यस्ता वस्तुहरू तेस्रो मुलुकमा उत्पादित नै प्रयोग गर्छन्, त्यस्तै मध्यम वर्गकाले छिमेकी मुलुकबाट आयात गरिएका र निम्न आय भएका उपभोक्ताले स्वदेशमै उत्पादित सस्तोखालका वस्तुहरू खरिद गरेर उपभोग गर्दछन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया