Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा बीमा कम्पनीहरूको वास्तविकता

नेपालमा बीमा कम्पनीहरूको वास्तविकता


काठमाडौँ । नेपालमा बीमा व्यवसायको इतिहास धेरै लामो नभए पनि बीमा ऐन, २०४८ प्रकाशमा आउनुअघि नै यहाँ उक्त व्यवसाय गरिन्थ्यो । विगतमा यहाँ बैंकिङ र अन्य व्यापारका साथै बीमा व्यवसाय पनि गरिन्थ्यो ।

विसं १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापनापछि नेपालमा बीमा इतिहासको सुरु भए पनि विसं २००८ असोज ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना गरी बीमा व्यवसाय सञ्चालन गरिएको हो । जुन यहाँको इतिहासमा प्रथम बीमा कम्पनी मानिन्छ ।

उक्त बीमा कम्पनीको प्रमुख उद्देश्य तत्कालीन अवस्थाको चोरी, आगलागी र एक ठाउँबाट अर्को ठाउँमा सामग्रीहरू आदानप्रदान गर्दा हुने जोखिमको स्वामित्व ग्रहण गर्नु थियो । यो बीमा कम्पनीको नेपाल बैंकसँग निकट सम्बन्ध थियो । जसले गन्तव्यस्थल नपुगुन्जेलसम्म जोखिम बहन गर्न बीमा गथ्र्यो । विशेषतः यी सामग्रीहरू भारतबाट रक्सौल र वीरगञ्ज हुँदै भन्सार छुटाई गन्तस्थलसम्म पुर्याइन्थ्यो ।

विसं २००८ मा स्थापित उक्त बीमा कम्पनी विसं २०१६ मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनीको रूपमा परिवर्तन गरियो । विसं २०४८ मा यसको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो । जसले स्थापनाकालदेखि हालसम्म पनि निर्जीवन बीमाको काम मात्रै गर्दै आएको छ । विसं २०२४ पुस १ गते कम्पनी ऐन, २०२१ बमोजिम सरकारी स्वामित्वमा रहने गरी राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना गरियो । जुन तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको थियो । विसं २०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित गरी विसं २०२५ पुस १ गते उक्त संस्थानको नाम राष्ट्रिय बीमा संस्थान राखियो । त्यस बेलासम्म नेपालमा कुनै जीवन बीमा कम्पनी नभएकाले भारतको जीवन बीमा निगमले विशेष सर्तहरूमा यहाँ जीवन बीमा व्यवसाय सञ्चालन गरेको थियो । परन्तु, विसं २०३९ फागुनदेखि राष्ट्रिय बीमा संस्थानले पनि यहाँ जीवन बीमाको काम सुरु ग¥यो र यहाँका नागरिकहरूलाई जीवन बीमा गर्न सजिलो भयो ।

विसं २०४४ मा यहाँ नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना गरियो । जसले विगतमा जीवन तथा निर्जीवन बीमा व्यवसाय गथ्र्यो । हाल यस कम्पनीको नाम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी कम्पनी लिमिटेड रहेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाको काम गर्छ भने एनएलजी कम्पनी लिमिटेडले निर्जीवन बीमाको काम गर्छ ।

पछिल्लो समय नेपालमा बीमा कम्पनीहरूको संख्या बढेको छ । हाल यहाँ १४ जीवन र १४ निर्जीव बीमा कम्पनीहरू छन् । यसबाहेक दुई पुनर्बीमा र चार लघुबीमा कम्पनीहरू पनि सञ्चालनमा छन् । बीमा क्षेत्रमा विकास गर्ने उद्देश्यले बीमा ऐन, २०४९ लाई समय सापेक्ष परिवर्तन गरी बीमा ऐन, २०७९ कार्यान्वयनमा ल्याइएको छ । यति मात्र नभई यहाँका बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा समितिलाई नेपाल बीमा प्राधिकरण बनाइएको छ । उक्त निकायको पुनः संरचना गरी झन्डै नेपाल राष्ट्र बैंकको संरचनापछि बनाइँदैछ ।

केही वर्षयता यहाँ बीमा व्यवसायको विकास एवं विस्तारको साथै अस्वस्थ प्रतिस्पर्धा पनि हुन थालेको छ । जसको समयमै निरोकरण गर्न नसकेमा यहाँको बीमा व्यवसाय फस्टाउन सक्दैन ।

उदाहरणका लागि यहाँका केही बीमा कम्पनीहरूमा व्यापार वृद्धि भएको देखाए पनि उक्त कम्पनीहरूलाई प्राप्त हुने बीमा शुल्क रकम सम्बन्धित कम्पनीहरूको अन्य खर्च, बजारीकरण खर्च र व्यापार प्रवर्द्धन खर्च इङ्गित गरेर गैरकानुनीरूपमा बीमितलाई नै दिने वा बीमक तथा बीमितहरूमा कार्यरत कर्मचारीहरूको मिलेमतोमा हिनामिना गर्ने प्रवृत्ति देखिएको छ ।

यति मात्र नभई केही बीमा कम्पनीहरू सरकारले कृषि तथा पशुपालन क्षेत्रमा प्रदान गर्दै आएको अनुदानको दुरुपयोग गरेका छन् । यस्ता कुकृत्यहरू समयमै हटाउन नसकेमा यहाँका बीमा कम्पनीहरू भविष्यमा धरासायी नहोला भन्न सकिँदैन ।

नेपालमा बीमा कम्पनीहरूको संख्या बढी भएपछि नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीहरूको संख्या घटाउने नीति ल्यायो र यिनीहरूको पुँजी वृद्धि गर्ने निधो ग¥यो । फलतः प्रत्येक जीवन बीमा कम्पनीले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने भयो ।

उक्त बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणले तोकिएको चुक्ता पुँजी समयमा पुर्याउन नसक्दा मर्जरका लागि जोड दिइएको छ । परन्तु, आजसम्म पनि केही बीमा कम्पनीहरूले तोकिएको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।

नेपालका जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ, हिमालय लाइफ र नेसनल लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी, निर्जीवन बीमा कम्पनीहरूमध्ये सिद्धार्थ प्रिमियर, सगरमाथा, लुम्बिनी, शिखर र आईजीआई प्रुडेन्सियलले तोकिएको चुक्ता पुँजी कायम गरेका छन् । अरू जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई आ–आफ्नो योजना बुझाएर तोकिएको चुक्ता पुँजी जुटाउन तत्पर छन् ।

विगतमा नेपालका बीमा कम्पनीहरूले लगानी विविधीकरण गर्न नपाएको गुनासोलाई मध्यनजर राखी तत्कालीन बीमा समिति (हाल बीमा प्राधिकरण)ले विसं २०७५ चैत महिनामा उक्त कम्पनीलाई बैंकहरूको मुद्दती निक्षेप र सेयर खरिद बिक्रीका साथै घरजग्गा व्यवसाय, कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधार एवं उत्पादनमूलक क्षेत्रहरूमा लगानी गर्न पाउने व्यवस्था गरेको थियो । परन्तु, उक्त व्यवस्था गरेको पाँच वर्ष बितिसक्दा उक्त कम्पनीहरूले नयाँ क्षेत्रमा लगानी गर्न सकेका छैनन् ।

उक्त निर्देशिकाअनुसार यहाँका बीमा कम्पनीहरूले आफ्ना कुल प्राविधिक सञ्चित कोषबाट वाणिज्य बैंकहरूमा न्यूनतम ४० प्रतिशत, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, विकास बैंकहरूमा बढीमा २० प्रतिशत र फाइनान्स कम्पनीहरूमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । उक्त बीमा कम्पनीहरूले नेपाल सरकारको बचत पत्र र ऋण पत्रमा पाँच प्रतिशतसम्म, पूर्वाधार विकास बैंकको मुद्दतीमा ४० प्रतिशतसम्म, घरजग्गा व्यवसायमा पाँच प्रतिशतसम्म, सूचीकृत कम्पनीका साधारण सेयर खरिदमा १० प्रतिशतसम्म र अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसैगरी यी कम्पनीहरूले सूचीकृत कम्पनीका ऋण पत्रमा २० प्रतिशतसम्म, कृषि, पर्यटन, जलस्रोतलगायत पूर्वाधार विकासमा २० प्रतिशतसम्म नागरिक लगानी कोष र म्युचुयल फन्ड खरिदमा पाँच प्रतिशतसम्म लगानी गर्न पाउन व्यवस्था छ ।

यद्यपि, यी कम्पनीहरूले हालसम्म पनि निर्देशिकाअनुसार लगानी विविधीकरण गर्न सकेका छैनन् । यिनीहरूको अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा गरिएको छ भने बाँकी ऋण पत्र र सूचीकृत सेयर खरिदमा केन्द्रित छ ।

उक्त निर्देशिकामा यहाँका बीमा कम्पनीहरूले कृषि उत्पादन तथा वितरण, शीत भण्डार निर्माण, केबलकार निर्माण, सडक निर्माण, जलविद्युत् उत्पादन, सौर्य ऊर्जा उत्पादन आदि क्षेत्रहरूमा बढीमा दश प्रतिशत लगानी गर्न पाउने प्रावधान छ । परन्तु, यी क्षेत्रहरूमा आजसम्म पनि अपेक्षा गरेअनुरुप लगानी गर्न सकिएको छैन ।

कुनै पनि देशको सर्वतोमुखी विकासको लागि पूर्वाधार विकासले महत्वपूर्ण भूमिका खेल्छ । यही कारणले विसं २०७८ मा तत्कालीन बीमा समितिले निर्देशन जारी गरे पनि बीमा कम्पनीहरूले यसमा ध्यान दिएका छैनन् । वास्तवमा पूर्वाधार विकासमा अनिवार्य लगानीको प्रावधान नभएको, प्रतिफल प्राप्त गर्न धेरै वर्ष कुर्नुपर्ने र उक्त कम्पनीहरूसँग विशेषज्ञता समेत नभएकाले त्यसतर्फ आकर्षण देखिँदैन ।

हालसम्म नेपालका बीमा कम्पनीहरूले यहाँको वाणिज्य बैंकहरूको मुद्दती खातामा निक्षेप संकलन गरी केही आम्दानी गरिरहेका छन् । यसमा जोखिम नभए पनि कृषि, उद्योग, पूर्वाधार निर्माण, ऊर्जा विकासजस्ता विविध क्षेत्रहरूमा लगानी नगरीकन मनग्य आम्दानी गर्न सकिँदैन । तसर्थ, यसबारे सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया