Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगधारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?

धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?


काठमाडौँ । संंसारमा हरेक मानिसको अनुहार फरक–फरक भएजस्तै विचारहरूमा पनि विविधता हुन्छ । विचारहरूको निर्माण त परिवेश वातावरण, सरसंगत र शिक्षाले नै बनाउँछ । विचारहरू आमाको सम्पर्कबाट बन्न सुरु हुन्छ र परिवारले यसलाई मलजल गर्छ । छिमेक साथीभाइ र विद्यालयमा पुगेपछि यो फराकिलो बन्छ । आजकल इन्टरनेट र मोबाइलको कारण विचार र ज्ञानको दायरा छिट्टै बढेर विश्वव्यापी बन्दै गइरहेको छ । सबैभन्दा धेरै आफ्नै परिवेश र वातावरणले मानिसको विचार बनाउन ठूलो भूमिका खेलेको हुन्छ । जसमा सामाजिक आर्थिक र राजनीतिक वातावरण मुख्य हुन् । वातावरण एउटै भए पनि प्रत्येकले भोगेको सत्यहरूमा विविधता हुन सक्छ । भोगाइअनुसार विचार निर्माण हुने भएकाले प्रत्येकको विचारमा पनि आफ्नोपन हुन्छ नै । यसैले आफ्नैजस्तो विचार अरूको भएन भनेर कुरा काट्दै हिँड्ने प्रवृत्ति गलत हो । यसका लागि अरूलाई र संसारलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ । अरूले गलतै गरेको भए पनि त्यो परिवेशले बनाएको तथ्य हो भन्ने सम्झनुपर्छ । सबै सँगै हिँडेर मात्र अरूको कुरा पनि बुझ्न सकिन्छ । आफ्नो पनि अरूलाई बुझाउन सकिन्छ । मानिस सामाजिक प्राणी भयकाले एक्लै हिँड्न उसलाई निकै गा¥हो महसुस हुन्छ । त्यो सम्भव पनि छैन । जुन दिन उसका हातपाखुरा चल्न छोड्छन्, त्यो दिन फेरि पनि ऊ समाजबाट छुट्दै र एक्लो हुँदै जाने अनुभव हाम्रा वृद्ध अग्रजहरूले बुझ्नुभएको तथ्य हो ।

एउटा बच्चा जन्मनेबित्तिकै डाँको छोडेर रुन्छ । किन रुन्छ ? यसको बारेमा केही अध्ययन गर्नुभएको छ ? बच्चालाई कसैले केही गरेको पनि हुँदैन । यसको मतलब यो हो कि बच्चा एक्कासी नयाँ वातावरणमा आइपुग्यो । उसलाई एकदमै असहज महसुस भयो । जसको कारणले ऊ रोयो । बिस्तारै ऊ अब भोक लागेपछि मात्र रुने हुन्छ । रोयपछि उसले दूध खान पायो । अब बच्चा र आमा दुवैले एउटा–एउटा विचार र ज्ञान हासिल गरे । भोक लागेपछि बच्चा रुन्छ भन्ने ज्ञान आमालाई भयो । बच्चालाई पनि रोएपछि दूध पाइन्छ भन्ने ज्ञान भयो । यसबाट धारणा विचार र ज्ञानको उत्पत्ति व्यवहारबाट हुने रहेछ भन्ने कुरा बुझियो ।

तलका विविध व्यवहारहरूबाट ज्ञानको उत्पत्ति हुने गर्छ । जो यस प्रकार छः–
सामाजिक आर्थिक राजनीतिक व्यवहार
 उत्पादनको काममा गरिने व्यवहारहरूजस्तै कृषि र औद्योगिक कर्महरू
 वैज्ञानिक प्रयोगहरू
विचारहरूको निर्माणमा विश्वास र अन्धविश्वास :-
तथ्यको आधारमा सत्य खोज्ने कुरा विज्ञानको तरिका हो । सत्य र तथ्यको वास्ता नगरी विश्वास गरिने कुरालाई अन्धविश्वास भन्ने गरिएको छ । सबै भौतिकवादीहरू अन्धविश्वासको विरोध गर्छन् । यसैगरी अध्यात्मवादीहरू पनि भौतिकवादको विरोध गरिरहेका हुन्छन् । कोरा भौतिकवादीहरू र कोरा अध्यात्मवादीहरू दुवै सत्यमा अडियोको छैनन् भन्ने लाग्छ । यसका केही प्रमाणित आधारहरू छन् । यी दुवैको विश्वास अन्धविश्वासमा अडेको छ । यस धर्तीमा यस्ता कयौं कुराहरू छन्, जो समाजमा घटित घटना परिघटनाहरू हुन् । तर यसलाई भौतिकवादीहरूले अन्धविश्वास भनी टारेका छन् । अध्यात्मवादले ईश्वरको लीला भनि चित्त बुझाएका छन् । अथवा सैतान भूतप्रेत भनी भयभित बनाएका छन् । तर यस्ता कुराहरू विज्ञानले प्रमाणित गर्न बाँकी तथ्यहरू हुन् । यस धर्तीमा सकारात्मक र नकारात्मक ऊर्जाहरू घुमिरहेका हुन्छन् । यस्ता ऊर्जाहरू मानव समाज र यस प्रकृतिबाटै उत्पत्ति भएका हुन् । मानिसका विश्वास र मान्यताहरूकै उपज पनि हुन् । जुन भूतप्रेत वा ईश्वरको रूपमा मानिसलाई नै तर्साइरहेका छन् । तपाईंले नजान्दा रेडियो पनि एउटा भूत, सैतान वा ईश्वर हो । टेलिभिजन त अझ ठूलो ईश्वर हो वा महाचण्डाल हो । यी दुई उपकरणहरू मानिसको पहुँचभित्र भएकाले हामीलाई सामान्य लाग्छन् । यस्ता धेरै विज्ञानका तथ्यहरू प्रकृतिमा गुपचुप रहेका छन् । त्यही तथ्यहरू नै हाम्रा लागि भूत प्रेत वा ईश्वर हुन् । अर्को उदाहरण विनाचालक गुड्ने कार पनि हो । भन्नुस् गज्जब छैन त ? यो त दिउँसै भूतले गाडी चलाएको भएन र ?

विचारहरू निर्माणमा जीवनका धुन
हार्मोनियम र गीतारको तारबाट कलाकारले स्वर र धुन निकाल्नुहुन्छ । यसैगरी प्रत्येक मानिसमा पनि केही न केही धुन विद्यमान हुन्छ । त्यस्तो धुन मानिसका दुःख र संंंंंंघर्षका आयामहरूबाट उत्पन्न भएका पनि हुन सक्छन् । जीवनका सुख र आनन्दबाट सिर्जित पनि हुन सक्छन् । जीवनका सफलताबाट सिर्जित पनि हुन सक्छन् वा असफलताबाट उत्पन्न भएको पनि हुन सक्छन् । प्रत्येक मानिसमा यो हुने नै गर्छ ।

प्रत्येक मानिसमा हुने मानवीय र सामाजिक भावना तथा निजी भावनाले उसमा हुने आदर्श विचार कति छ ? भनी मापन गर्न पनि सकिन्छ । तैपनि समस्यालाई समस्यामा जडकियकाहरूका लागि आदर्श विचार परिकल्पनाको वस्तुबाहेक केही हुन सक्दैन । दालभात खानकै लागि दिनरात मेहनत गर्दा पनि पुग्दैन भने अन्तरीक्षमा सयर गर्ने कुरा कसरी कल्पना गर्न सकिन्छ ? अरू ठूलाठूला कुरा सोच्नु बेकार हुन्छ । सबै कुरा आ–आफ्नो परिवेश र परिस्थितिमा भरपर्ने कुरा हो । कतिपयलाई मैलेजस्तै उसले किन गरेन ? भन्ने पनि लाग्न सक्छ । यस्तो अभिव्यक्त भएकै पनि सुनिन्छ । सबैको अवस्थाले कुन काम गर्न सक्ने र नसक्ने भन्ने कुराको ग्यारेन्टी हुन्छ । कस्तो विचार र योजना बन्छ भन्ने कुराको पनि यकिन हुन्छ । यस्तै, मानिसको सौख, चाहना वा इच्छाशक्तिले पनि यसमा भूमिका खेलेको हुन्छ । सौख र चाहनालाई प्रभाव पार्ने तत्व पनि सरसंंगत र वातावरण नै हो । यसैले हरेक मानिसको जीवनको धुन फरक–फरक हुन सक्छ । जसरी गिटारका फरक–फरक तारले फरक फरक धुन निकाल्छन् । एउटै धुन किन निस्केन भन्ने कुरा बुझ्न तारको अवस्थितिलाई राम्ररी नियाल्नु जरुरी छ ।

अर्को कुरा मानिसका परिवेश, वातावरण र उसले गर्ने कर्मबाट मानिसको विचार निर्माण हुने कुरा बुझियो । यसरी बन्ने विचारहरू सामाजिक मूल्य र मान्यता अनुरूप पनि हुनुपर्छ । सामाजिक मूल्य मान्यताविपरीत भएमा यो समाजविरुद्धको आचरण भयो । समाजविरुद्ध जानेलाई देशको ऐन, नियम र कानुनले नियमन गरेको हुन्छ । यसैले अपराध कर्म गर्नेहरूलाई दण्ड सजायको व्यवस्था गरिएको छ । तर हाम्रो यो संसदीय व्यवस्थामा दादागिरी गर्ने, तस्करी गर्ने, सरकारी जग्गा हत्याउने, मानिसहरू नै राजनीतिमा पनि हावी भएका छन् । अझ यिनीहरू केन्द्रीय नेतृत्वमा समेत पुगेका छन् । पार्टी सिस्टम र पार्टीभित्र पनि गुटगत अवस्था हाबी हुनाले अपराध कर्म गर्नेहरूले घुमीफिरी मौका पाउने गरेका छन् । चुनावमा पैसा बाँडी चुनावलाई पनि उनीहरू प्रभाव पार्न सक्छन् । यिनै व्यक्तिहरूले नै हाम्रो राज्य सत्ताको रेल चलाइरहेका छन् । भनाइ र गराइमा फरक पर्नु, सिद्धान्त र व्यवहारमा आकाश जमिन अन्तर हुनु यही नै मूख्य कारण हो ।

संंसारलाई हेर्ने हाम्रो आँखा सकारात्मक हुनुपर्छ भन्दै गर्दा सामाजिक मूल्य मान्यतामा सबै जना चलुन भन्नका लागि हो । जब सामाजिक मूल्य मान्यता त्यागेर कुनै मानिस, कुनै समूह वा पार्टी देशका नियम कानुनको धज्जी उडाउँछ । आफ्नै पार्टीको आन्तरिक नियम र अनुशासनको पनि ख्याल गर्दैन भने कसरी सकारात्मक हुन सकिएला र ? चुनावमा टिकट नपाउनेबित्तिकै कुनै नेतो चुनावको मुखमा आफ्नै साथीलाई हराउन विरोधी पार्टीमा प्रवेश गर्छ । पार्टीको अनुुशासन त तोडियो नि ! तिनै मानिसलाई पार्टीभित्रका गुटहरूले हानथाप गरेर पुनः पार्टीभित्र प्रवेश मात्र हैन आफ्नो गुटमा ल्याउन हानथाप गर्दछन् भने यहाँभन्दा विडम्बना के हुन सक्छ ? यी र यस्तै प्रकृतिका थुप्रै विकृतिहरू छन । यो नै संसदीय व्यवस्थाको सबैभन्दा खराब पक्षहरू हुन् । व्यक्तिगतरूपमा शीर्ष नेताका स्वार्थमाथि हुन्छन् । पार्टीगत स्वार्थभन्दा गुटको स्वार्थमाथि हुन्छ । देशको स्वार्थभन्दा पार्टीको स्वार्थ माथि हुन्छ । देश गरिब हुनु, विदेशीको इसारामा चल्ने हुन् । राष्ट्रिय स्वार्थको सधैं बलिदान हुनुको मुख्य कारक नै यस्तै–यस्तै गतिविधिहरू हुन् । यसलाई सच्याउनका लागि काम गर्नेको मूल्याङ्कन राम्रो गर्ने परिपाटी बसाल्नु आवश्यक छ । गलत गर्नेहरूलाई अपराधको प्रकृति हेरेर नसियत दिने व्यबस्था हुनुपर्छ । राम्रो गर्नेहरूलाई निरन्तर प्रोत्साहनको आवश्यक छ । जे कुरो हुनुहुँदैन भनियो त्यो कुरो निरन्तर हुँदै आयो । जे कुरा हुनुपर्छ भनियो त्यो आकाशको फलजस्तो भयो । सबैको दिमागलाई सकारात्मक बनाउन देश एउटा लयमा बग्नुपर्छ । राष्ट्रिय स्वार्थ सर्वोपरी बन्नुपर्छ । यसका लागि सिस्टममा सुधार या परिवर्तन गर्न आवश्यक परे पनि तयार हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया