Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका

आर्थिक विकासको लक्ष्यमा कृषिको भूमिका


काठमाडौं । कृषि क्षेत्रमा हाल कायम रहँदै आएको न्यून–जनशक्तीय चापलाई उद्यमशीलताको माध्यमबाट अधिकाधिक वृद्धि गर्दै कृषि व्यावसायिक महायात्राको प्रस्थान विन्दु पहिल्याउने कार्यमा सहयोगीको भूमिका निर्वाह हुने देखिन्छ ।

परिणामतः उत्पादन एवं सेवाका अवसरलाई समान–समानरूपमा वृद्धि गर्दै न्यूनभन्दा न्यून श्रम–स्रोतको उच्चत्तम उपयोग र प्रयोगबाट उत्पादकत्व अभिवृद्धि गर्ने विधिसम्मत प्रक्रियाको गति नै यथार्थमा उद्यमशीलताको विशेषता समेत हो । जसले गुणात्मक कृषि कार्यलाई अब्बलतामुखी बनाउँदै सम्बद्ध क्षेत्रको विकासको लक्ष्यले मुलुकको आर्थिक विकासलाई गति प्रदान गर्नेछभन्दा त्यति फरक नपर्ला  ।

यस क्षेत्रमा कायम रहँदै आएको जटिल अवधारणाको विविधस्वरूपअन्तर्गत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई व्यवसायमूलकतातर्फ अग्रसर गराउने क्रममा रहेको सैद्धान्तिक धरातललाई आत्मसाथ गर्दै सोमा अन्तनिर्हित पद्धतिमा आधारित प्राविधिक जनशक्ति विकासमा जोड दिनु नै व्यावसायिक संगठनात्मक ढाँचाको विस्तृतीकरण एवं कृषि उद्यमशीलता अभिवृद्धि गर्ने लक्ष्यसमेत हो ।

परिणामतः आर्थिक विकासको दृष्टिकोणबाट सधैँ नै पछाडि पर्दै आएको यस क्षेत्रलाई क्रमबद्धरूपमा अगाडि बढ्न सहयोग एवं हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिन सकिनेछ । जसअन्र्तगत कृषिप्रधान भनिएको मुलुक नेपालमा मुख्य खाद्यान्न बाली धानलगायतका अन्य आवश्यक बाली समेतमा आयातित परनिर्भता कायम रहनु निक्कै नै चिन्ताको विषय हो । जसलाई उद्यमशीलताको अवधारणागत विकासका माध्यमबाट केही हदसम्म भए पनि न्यून गर्न सक्ने हो भने, खाद्यान्न बालीको परनिर्भरताको दरमा अवश्य पनि कमी आउने छ  ।

प्रस्तुत कार्यको विकासबाट अनुमानित कृषि लागतको साथै दक्षता विकासको क्षेत्रमा उल्लेख्य सुधारको अपेक्षा गर्न सकिनेछ । किनकि मुलुकको कुल निर्यातयोग्य वस्तुमा कृषिको भूमिका उच्च रहनुको साथै राष्ट्रिय आयको प्रमुख आय स्रोत समेत कृषि नै रहेकोे हँुदा उद्यमशीलताका माध्यमबाट सम्बद्ध क्षेत्रको विकासलाई अगाडि लैजानु चुनौतीहरूको बीचमा अवसरको खोजी गर्नु सरहको अवस्था हो । तसर्थ, कायमी चुनौतीहरूको बाबजुद पनि मुलुकको आर्थिक विकासको मेरुदण्ड तथा रोजगारी सिर्जनाको आरम्भभूमिको रूपमा प्रतिस्थापन गर्नु एक कठिन एवं साहसिक कार्य हो ।

किनभने अल्पविकसित तथा विकासोन्मुख राज्यव्यवस्थामा सहजै औद्योगिक समूहको विकास भइनसकेको वर्तमान अवस्थामा कृषि नै आर्थिक विकासको माध्यम बन्न सक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसलाई नागरिक जीवन निर्वाहका साथै सम्बद्ध मुलुकहरूको ग्रामीण अर्थतन्त्र विकासको मुख्य धरोहरको रूपमा समेत लिने गरिन्छ । नेपालको तुलनामा कृषि उद्यमशीलतालाई मुख्य केन्द्रविन्दु बनाएर कृषिजन्य विकासलाई अगाडि बढाएकै कारण चीन, भारत, संयुक्त राज्य अमेरिकालगायतका राष्ट्रहरूले समुच्च आर्थिक लाभ हासिल गर्दै उन्नतिको शिखर चुम्न सक्षम रहेको तथ्यलाई पाठका रूपमा लिँदै हामीले पनि यस क्षेत्रको विकासमा कम्मर कस्ने बेला आइसकेको छ ।

तदुपरान्तः आयातीत कृषिलाई न्यूनतामुखी मार्गमा प्रतिस्थापन गर्दै निर्यातलाई बढावा दिनुपर्ने हुन्छ । जसले कृषि क्षेत्रलाई व्यावसायिक यात्रामा पदार्पण गराउँदै औद्योगिक कृषि युगको प्रस्थानविन्दु तय गर्नेछ । औद्योगिक सीमितता रहेकै कारण नेपालजस्ता विकासको पथमा निरन्तर अगाडि बढिरहेको मुलुकहरूले कृषि उद्यमशीलताको कार्यदिशालाई मुख्य आधार बनाउँदै अगाडि बढ्ने प्रण गर्ने हो भने मनग्य आर्थिक लाभ हासिल गर्दै नागरिक समृद्धिको लक्ष्यमा उल्लेख्य सुधारको परिकल्पना अवश्य पनि गर्न सकिनेछ । प्रस्तुत अवस्था पैदा हुनु भनेको निश्चितरूपमा मुलुकले अल्पविकसित अवस्थाको धारलाई त्याग्दै विकासशील मुलुकको यात्रा प्रारम्भ गर्नु सरह होभन्दा हामीहरू कसैको पनि दुईमत नहोला ।

जसका लागि आवश्यक पर्ने पुँजी निर्माणमा जोड दिने सन्दर्भमा सम्बद्ध क्षेत्रको उत्पादन अभिवृद्धिको साथै निर्यातजन्य वातावरणको विकासलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । यी यस्ता कार्यगत विशेषता हुन्, जसले उत्पादकत्वमा वृद्धि गर्ने कार्यलाई सहयोग प्रदान गर्नेछ । किनकि समूलरूपमा उत्पादनको क्षेत्रमा सकारात्मक नतिजा उपलब्ध नभएसम्म मुनाफा हासिल गर्न सक्ने अवस्था प्रारम्भ हुने छैन । तसर्थ उल्लेखित तत्व विशेषमा लाभ प्राप्तिका लागि कृषि दक्षतामा आमूल सुधारको सदैव खाँचो रहन्छ । जुन परिवर्तनको द्योतक परिणाम समेत हो । तत्पश्चात परम्परागत मान्यता आधारित कृषि कार्यलाई यान्त्रीकरणको माध्यमद्वारा विस्थापित गर्दै सम्बद्ध क्षेत्रमा दक्षता अभिवृद्धिको मार्गलाई एक्काइसौं शताब्दीको कृषि विकासको मूल मन्त्रको रूपमा अगाडि बढाउनु उपयुक्त हुनेछ ।

जसको पूर्ण सफलताका लागि वैज्ञानिक भूमिसुधारको अवधारणालाई कागजी दस्तावेजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नु जरुरी भइसकेको छ । फलतः सम्बद्ध क्षेत्रमा कायम रहँदै आएको निष्क्रिय जमिनदारीपनलाई निर्मूल पार्दै वास्तविक प्रतिफल उन्मुख कृषि अवधारणाको विकासले सही गन्तव्य निर्धारण गर्नेछ । जसका लागि आवश्यक परे अतिरिक्त बाली प्रत्यारोपणको कार्यलाई आधुनिक कृषि क्षेत्रमा प्रतिस्थापन गर्दै लैजानु उद्यमशीलताको अर्को महत्वपूर्ण पाटो हो ।

यस क्षेत्रमा रहने गरेको नयाँ र नौलो अनुसन्धानको प्रक्रियालाई युक्तिसंगत ढङ्गबाट अगाडि बढाउने हो भने सन्तोषजनक नतिजा अवश्य पनि प्राप्त हुने नै छ । किनकि वैज्ञानिक अनुसन्धानको गतिले अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि उन्नत प्रविधि विकासलाई जोड दिने हँुदा आम्दानी तथा उत्पादनको क्षेत्रमा सोचेभन्दा अधिक सफलता प्राप्त हुने तथ्यहरूले प्रमाणित गर्दै आएको वर्तमान अवस्था हो । यो हुनु भनेको कृषि व्यावसायिक युगको आधारविन्दु खडा गर्नु सरहको अवस्था हो । जसबाट वर्षभरि खानपुग्ने खाद्यान्न, आम्दानी तथा कृषि रोजगारको सुनिश्चितता प्राप्त हुने देखिन्छ । प्रस्तुत उद्यमशीलताउन्मुख कार्यको विकासले हाल नेपाली सामाजिक व्यवहारमा प्रचलनमा रहँदै आएको परम्परागत पारिवारिक खेतीलाई विस्थापित गर्दै युग सुहाउँदो वैज्ञानिक खेतीको आधारशीला तयार गर्न निर्णायक भूमिका निभाउनेछ  ।

निश्चितरूपमा विकसित कृषिले उत्पादकत्व अभिवृद्धि तथा दक्षता वृद्धि गर्ने अवस्था तयार भए कृषि आत्मनिर्भरताको क्षेत्रमा उल्ेलख्य सुधार हुन गई गरिब तथा धनीबीचको आर्थिक असमानताको अमूक छापलाई मेट्दै समानताको बिगुल फुक्न सक्षम रहनेछ । परिणामतः विसंगतीपूर्ण आर्थिक असमानताको दरलाई कृषि उद्यमशीलताको माध्यमबाट पृथक राख्दै समतामूलक समाजको निर्माणमा न्यायोचित लाभ हासिल गर्न यस प्रकारका कार्यहरू कोशेढुङ्गा सावित हुने देखिन्छ  ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया