Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसफल साक्षरताका आधार र सात ‘स’

सफल साक्षरताका आधार र सात ‘स’


काठमाडौं । देशको शासन प्रणाली राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएपछि नयाँ नेपालको चर्चा पर्याप्त हुने गरेको छ । धेरैजसो योजना कार्यक्रम तथा सभा सम्मेलनमा नयाँ नेपालको चर्चा भएको पाइन्छ । सामान्यतया नयाँ नेपाल भन्नेबित्तिकै पुरानो आकार प्रकार र संरचनामा भिन्न बुझाउँछ । देशको शासन प्रणाली र योजना कार्यक्रमहरूलाई समयसापेक्ष परिमार्जन र परिष्कृत गरी युग सुहाउँदो समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्छ । उपलब्ध साधनस्रोतलाई उच्चतम प्रयोग गरी अधिकाधिक आयआर्जन गर्न प्रत्येक व्यक्ति नवीन ज्ञान र सिपबाट सुसज्जित र दक्ष हुन जरुरी हुन्छ । दक्षता हाँसिल गर्न विज्ञान प्रविधिमा पहुँच पुर्याएर आफ्नो आवश्यक्ताअनुसार प्रयोग गर्न साक्षर÷शिक्षित हुनु अपरिहार्य छ ।

राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरण गरी समृद्ध नयाँ नेपाल बनाउने परिकल्पनालाई यथार्थमा बदल्न साक्षरता अभियान आधारशिला हो । विज्ञान प्रविधि र सूचनामा सहज पहुँच भएमा मात्र व्यक्तिको सक्षमतामा बढोत्तरी हुन्छ । क्षमतावान दक्ष मानवीय साधन स्रोतले देश विकासमा मेरुदण्डीय भूमिका खेल्छ । वर्षौंदेखि समाजमा जरा गाडेर रहेको निरक्षरतालाई लरतरो प्रयासबाट सजिलै निर्मूल पार्न सकिँदैन भन्ने विगतका असफल प्रयासबाट पुष्टि हुन्छ । साक्षर नेपाल अभियानलाई सार्थक लक्ष्यमा पु¥याउन अहिले पनि निरक्षर कहाँ छन् ? यकिन गर्नुपरेको छ । तिनीहरूलाई पढ्न कक्षा केन्द्रमा कसरी ल्याउने ? उत्प्रेरणा जगाउने उपायको पहिचान गर्नुपरेको छ । पढ्नका लागि सुगमता प्रदान गर्न पर्याप्त साधनस्रोतको रोचक व्यवस्थापनको खाँचो छ । नवसाक्षरहरूलाई निरन्तर शिक्षा आर्जन गर्ने ऊर्जा र उत्साह प्रदान गर्ने वातावरण तर्जुमा गर्न सबैको निस्वार्थ जाँगरिलो सहभागिता जुटाउन आवश्यक छ । यसप्रकार चुनौतीपूर्ण तर विकासका लागि अपरिहार्य साक्षरता अभियान सफलताका लागि सबैको सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, स्वामित्व र समीक्षा (सात ‘स’) जस्ता रचनात्मक सहयोग खाँचो पर्छ ।

सद्भाव: राजनीतिक दल, समुदाय, व्यक्तिको सक्रिय सहभागिता एवं सद्भावबाट लक्ष्यमा पुग्न सुगमता प्रदान गर्दछ । जसको लागि निस्वार्थ रचनात्मक संलग्नता अपरिहार्य छ । अभियानलाई सबैको सद्भावयुक्त कार्यक्रमको रूपमा स्थापित गरिनुपर्छ । सबैखाले राजनीतिक दल, समुदाय व्यक्तिको निस्वार्थ सद्भाव पाउन सके अभियानलाई लक्ष्यमा पुग्न सुगमता प्रदान गर्छ । निरक्षरलाई करले नभई रहरले पढ्ने सद्भावयुक्त साधनस्रोत सम्पन्न कक्षा केन्द्र बढी व्यावहारिक हुन्छ । अतः साक्षरता अभियानको प्रभावकारिता सबैको सद्भावमा मात्रै नतिजामुखी हुने कुरामा दुईमत छैन ।

सहयोग: अभियानलाई आवश्यक पर्ने नपुग साधन स्रोत जुटाउन, सबै संघसंस्था र व्यक्तिको खुला हृदयसाथ आ–आफ्नो गच्छेअनुसारको सहयोग जुटाउने काममा कन्जुस्याइँ भएमा निश्चय नै अभियानले सफलता पाउनेछ । अभियानको प्रचारप्रसार, जनचेतना फैलाउने, साधनस्रोत जुटाउनेलगायत सबैले आफ्नो औकातअनुसारको सहयोग गरे लक्ष्यमा पुग्न टेवा पुग्छ ।

सहकार्यः समाज विविधखाले संस्कार, सस्कृति, सामाजिक, आर्थिक अवस्थामा भएका नागरिकहरूको समष्टि हो । त्यसकारण सरकारको आह्वानमा सञ्चालित यस महत्वपूर्ण अभियानको सफलताका लागि सरकारी गैरसरकारी संघ–संस्था, व्यक्ति पदाधिकारी, शिक्षक विद्यार्थीको केन्द्रदेखि स्थानीयस्तरसम्म सहकार्य अपरिहार्य हुन्छ । यस यथार्थलाई आत्मसात गरेर अभियानले यथासक्य सबैको संलग्नतालाई प्रोत्साहित गर्ने नीति लिन चुक्नुहुन्न ।

समन्वय: राष्ट्रभर एकैपटक व्यापकरूपमा सञ्चालित साक्षर नेपाल अभियानलाई व्यवस्थित एवं एकरूपता ल्याउन साधनस्रोत जुटाउन र तिनीहरूको अधिकतम उपयोग गर्न समन्वय हुनुपर्छ । सरोकारवाला पदाधिकारीले आफ्नो पदीय जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । अनुगमन निरीक्षण वस्तुनिष्ठ, नतिजामूलक बनाउन पनि समन्वयको खाँचो पर्छ । समन्वय कार्य दूरदर्शी पारदर्शी एवं प्रजातान्त्रिक मान्यतामा आधारित भए उदाहरणीय हुन सक्छ ।

समर्पण: निरक्षरलाई साक्षर बनाएर उसको जीवनशैलीमा कायापलट गरी जीवनस्तर उकास्ने अहम भूमिका खेल्ने यस पुण्य काममा व्यक्तिगत लाभहानिको लेखाजोखा नगरीकन जिम्मेवार व्यक्तिहरूलाई सचेत गराउँदै सबै नेपाली समर्पित हुने अठोट गरेमा देश विकासको मूल तगारोको रूपमा रहेको निरक्षरतालाई सदाका लागि बिदा गर्न सकिन्छ ।

स्वामित्व: राज्यले प्राथमिकता दिएर सञ्चालित यस अभियानको बजेट प्रत्येक नेपालीले सरकारलाई तिरेको राजस्व करबाट सञ्चालित छ । साथै, अभियानको सफलताले देशको विकासमा फड्को मार्ने र त्यसको लाभहानिको भागिदारी सबै नेपाली हुने हुँदा यसमा सबैको स्वामित्वको खाँचो पर्छ ।

समीक्षा: अभियानका लागि गरिएका कार्यक्रमहरू जस्तै निरक्षर पहिचान, साधनस्रोतको चुस्तदुरुस्त प्रयोग, सहभागीहरूको प्रगति अवस्था आदिको निरन्तर अनुगमनमा सुगमता प्रदान हुन्छ । निरन्तर समीक्षाले सबल र दुर्बल पक्षको पहिचान गरी कार्यशैली बढी प्रभावकारिता ल्याउन मद्दत पुग्छ ।

यसप्रकार उल्लेखित सात ‘स’को अतिरिक्त साक्षरता अभियानलाई सफल बनाउन व्यक्ति, समाज, संघसंस्था सबैले उच्च प्राथमिकताका साथ आ–आफ्नो क्षेत्रबाट मन बचन र कर्मले दत्तचित्त साथ लागेमा साक्षर नेपाल अभियानको लक्ष्य हासिल गर्न सकिन्छ । साक्षरता प्रतिशत र देश विकासको गति समानुपातिक हुने यथार्थ हो । तसर्थ समृद्ध नेपालको आधारशिलाको रूपमा साक्षरता अभियानलाई लिन सकिन्छ । किनकि गरिबी, पछौटेपन, अन्धविश्वासलाई चिर्न व्यक्ति साक्षर र शिक्षित हुनु सर्त हो । अतः ‘सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै’ भन्ने भावनाबाट प्रेरित भई व्यवहारमा उतार्न सके हामी निरक्षरतामुक्त नयाँ नेपालको सौभाग्यशाली नागरिक बन्ने अवसर पाउनेछौँ । (लेखक पूर्व जिल्ला शिक्षा अधिकारी हुन्)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया