Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता

अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता


काठमाडौं । नेपाल विश्वमा कमजोर मुलुकमा गनिनुमा प्रशासनमा चुस्तता नहुनु पनि एक कारण हो । कर्मचारीतन्त्र मुलुकको स्थायी सरकार हो । तर नेपालको सन्दर्भमा कर्मचारीतन्त्रको गुण र दोष केलाउने हो भने सकारात्मकभन्दा पनि नकारात्मक कुराहरू धेरै भेटिन्छन् । सन् २०२३ को आँकडा हेर्ने हो भने बढी भ्रष्टाचार हुने मुलुकहरूमा नेपाल १०८औँ स्थानमा झरेको छ, जुन २०१२ मा १३९औँ स्थानमा थियो । यसरी केही सुधार भएर मात्र पुग्दैन, मुलुकको प्रशासन सुधारमा कायापलट भयो भने मात्र सही उपलब्धि ठानिन्छ । प्रशासनिक कमजोरीहरूमध्ये कैयन अड्डाहरूमा वर्षौँदेखि थुप्रिएर बसेका काम नलाग्ने कवाडी सामानहरूको समयमा लिलाम नहुनु पनि एक हो । नेपालका हरेक अड्डाहरूमा भ¥याङको छेउछाउ वा छानातिरका खुला ठाउँ वा अलग्गै अतिरिक्त स्टोरमा त्यसै थन्किएर तथा सडेर, खिया लागेर, मक्किएर बर्बाद भइरहेका दृश्यहरू देख्न सकिन्छ । मन्त्रालय, विभाग, आयोग तथा तीनका मातहतका कार्यालयहरूमा अड्डालाई नै अशोभनीय हुनेगरी थोत्रामोत्रा सामानहरू यत्रतत्र र भद्रगोल किसिमले भण्डारण गरिएको पाइन्छ ।

नेपालका विभिन्न नाकाहरू विशेषगरी नेपाल–भारत सीमा नाका भएर अवैधरूपमा भित्रिने विभिन्न सवारी साधनहरू जस्तै– कार, जिप, मोटरसाइकलहरू भन्सार कार्यालयहरूले जफत गरेपछि त्यसै जथाभावीरूपमा राखेको पाइन्छ । ती सवारी साधनहरू तत्कालै सरकारी कामको सिलसिलामा सञ्चालन गर्दै गरेको भए खियाले खाने थिएनन् । त्यसै भन्सार र अन्य सरकारी कार्यालयका कम्पाउन्डमा राखिरहँदा खियाले खाने, थोत्रो बन्ने हुन्छ र कवाडीको भाउमा बेच्नुपर्छ । त्यस्ता मूल्यवान सवारी साधनहरूको महत्व बुझ्नु जरुरी छ चाहे त्यो अवैध किन नहोस् त्यसलाई सरकारले नै सञ्चालनमा ल्याएमा बजेट जोगिने कुरामा मतान्तर छैन । राजधानी काठमाडौंका ट्राफिक कार्यालय परिसरमा पनि यस्ता सवारी साधनहरू विशेषगरी मोटरसाइकलहरू अलपत्र अवस्थामा रहेका देखिन्छन् । सिंहदरबारको उत्तरतर्फ रहेको खानेपानी ट्यांकीको अलिक पश्चिमतिरको भिरालो जमिनमा पनि मोटरसाइकलहरू त्यसै लडिरहेको अवस्था देखिन्छ । यस्तो अस्तव्यस्त दृश्य त्यही बाटो भएर सवार हुने सिंहदरबारभित्रका हाकिमहरूको नजर पक्कै पनि परिरेहको हुन्छ । तर यस्तो दयनीय अवस्था देखेर नदेखेझैं गरिनु उचित हुँदैन । त्यस बारेमा तत्कालै निक्र्यौल गर्ने उपायहरू खोज्नु कुनै पनि प्रशासकको कर्तव्य हुन आउँछ ।

कार्यालय प्रमुख, प्रशासन, लेखा र जिन्सी हेर्ने कर्मचारीहरूले यसतर्फ ध्यान दिनु जरुरी छ । यस्ता निकम्मा रहेका कवाडी सामानहरू तत्काल लिलाम गरेमा कार्यालयको स्वरूप पनि छरितो देखिने र त्यस्ता सामानले ओगटेको स्थान अरू काममा आउने हुन्छ । अड्डाहरूमा थुप्रिएका कवाडी सामानहरू समयमा लिलाम गरिसक्नुपर्ने नीति बनाएर लागू गर्न सकियो भने त्यो देशका लागि फाइदा पनि हुनेछ । केही रकम भए पनि सरकारी कोषमा जम्मा हुनेछ । काम लाग्ने सामान कार्यालयमा छँदाछँदै कर्मचारीको व्यक्तिगत फाइदाका लागि नयाँ सामान खरिद गर्ने परिपाटी पनि छ, जो गलत परम्परा हो । पुराना सामानलाई मर्मत सम्भार गरेर पुनः प्रयोग गर्न सकिने कतिपय सामानहरू थन्क्याएर राख्ने पनि गरिएको छ, त्यो कार्य पनि राम्रो होइन । निजी व्यवसायी तथा संस्थाहरूले अनावश्यक सामानहरू सकेसम्म कोठामा थुपार्दैनन्, तत्कालै कवाडीवालालाई बेचिहाल्छन् । किनकि व्यवसायस्थलमा रहेको कोठामा अनुत्पादक सामान राख्दा नोक्सानी नै ठहर्छ । कवाडीवालाहरूले कागज किलोको आठ रुपैयाँ र फलाम १८ रुपैयाँमा लैजाने गरेका छन् । किलोको १८ रुपैयाँमा खरिद गरेको फलामका टुक्राहरू उनीहरूले कवाडी संकलन केन्द्रमा लगेर महँगोमा बेच्छन् भन्ने पनि सुनिन्छ । जे होस् सस्तोमा लगे पनि घरको शोभा त बढ्ने भयो, त्यसमै चित्त बुझाउनुपर्छ । कवाडीवालाहरूप्रतिको नकारात्मक कुरा र टीकाटिप्पणी गरेर काम छैन । गफले मात्र समाज र देश बन्दैन ।

निजी व्यवसायीहरूले कवाडी सामान त्यसै भद्रगोल हुने गरी राख्न चाहँदैनन् । तर सरकारी अड्डाहरूमा भने त्यसका लागि व्यक्तिगतरूची रहँदैन र थुप्रिएर बसेका देखिन्छन् कवाडी सामानहरू बरण्डा, सिँढी र स्टोरका कुना काप्चामा असरल्ल हुनेगरी । त्यसरी थुप्रिने वा चाङका चाङ रहनेहरूमा थोत्रा दराज, पंखा, हिटर, कुर्सी, टेबुल, सोफा, फोटोकपी मेसिन, कम्प्युटर, प्रिन्टर, इन्भर्टर, भ्याकुम क्लिनर । सरकारी अस्पतालहरूमा फ्रिज, डायग्नोसिस उपकरण, स्टेरिलाइजरलगायतका सामानहरू त्यसै थुप्रिएर बसेका पाइन्छन्, जुन निजी स्वास्थ्य संस्थाहरूमा यस्तो अवस्था देखिँदैन । प्राविधिक क्षेत्रका सरकारी निकायहरूमा भने पुराना तथा थोत्रा मेसिन, उपकरण, सवारी साधनहरू बढी मात्रामा अलपत्र अवस्थामा रहेको पाइन्छन् । उखानै छ ‘सरकारी काम कहिले जाला घाम’ त्यसैले लिलामीका कार्यहरू मात्र होइन वषौँअघिदेखि नै तमाम सरकारी कामहरू छिटोछरितो र पारदर्शी भएको पाइँदैन । जुन लापरबाही अधिकृत तथा कर्मचारीहरूबाटै भइरहेको पाइन्छ । कतिपय कर्मचारीहरूमा दायित्वबोध गरेको पाइँदैन, सकेसम्म लापरबाही हेलचेक्य्राइँ बढी नै देखिन्छ । तत्काल केही व्यक्तिगत फाइदा हुने देखिन्छ भने कर्मचारीले तत्परता देखाउँछन् नत्र भने मतलब नै गर्दैनन् । यस्ता कार्यहरूमध्ये एउटा हो लिलामीका काम । जसमा सम्बन्धित कर्मचारीले झन्झट मान्नेगरेको पाइन्छ । सूचना वा कोटेसन वा बोलपत्र आह्वान गर्नु, कवाडी सामानहरू वर्गीकरण गर्नु, व्यवस्थितरूपमा मिलाउनु नै गाह्रो मानिने हुँदा त्यस्ता सामानहरू यत्तिकै बेवारिसे भएर बसेका हुन्छन्, कैयन निकाय वा अड्डाहरूमा ।

राजधानी काठमाडौं उपत्यकामा कवाडी सामानहरू संकलन गर्ने श्रमिकहरूमा विशेषगरी तराईतिरका नै भेटिन्छन् । उनीहरूले महिनामा एक लाखसम्म कमाइ गर्छन् भनेर सञ्चार माध्यमहरूबाट समाचारहरू सम्प्रेषण भइरहेकै छन् । तर त्यस्तो काम गर्न पहाडी भेगका मानिसहरू लजाउने बरु एकछाक खाने मनस्थितिमा हुन्छन् । काम सानो भन्ने नै ठूलो हुँदैन, केवल सोच मात्र सानो र ठूलो हुने हो । नेपाल भारत सीमा वरपरका श्रमिकहरू राजधानी काठमाडौंमा धेरै नै देखिन्छन् । उनीहरू कर्मशील हुन्छन्, फाल्तु कुरा गरेर समय खेर फालेको देखिँदैन । तरकारी र फलफूल बिक्री मात्र होइन भाँडाकुँडा साट्ने, जुत्ता–चप्पल मर्मत गर्नेमा पहाडीहरूभन्दा बढी तराईवासी र सीमापारिका भारतीयहरू नै बढी देखिन्छन् । उनीहरू नम्र बोल्छन्, भाउताउ मिलाउँछन्, जुन स्वभाव नेपाली व्यापारीमा देखिँदैन । पानीपुरी र चटपटे पनि पहाडीहरूको पसलमा भन्दा तराईवासीको पसलमा बढी बिक्री हुनेगरेको पाइन्छ ।

नेपालबाट कवाडी सामानहरू बोकेका मालवाहक गाडीहरू राजमार्गमा देख्न सकिन्छ । प्लास्टिक तथा फलाम–स्टिलका कवाडी सामानहरू नै धेरै मात्रामा नेपालबाट भारततर्फ निर्यात हुने गरेको पाइन्छ । नेपालभित्रकै उद्योगहरूले पनि त्यस्ता कवाडी सामानहरू कच्चा पदार्थको रूपमा प्रयोग गरेको भन्ने पनि यदाकदा सुन्नमा आउँछ । हामीले कवाडीवालालाई बेचेको हार्पिकको बोत्तल रिसाइकिल गरेर मोमो खाने प्लेट बनेर पनि आउन सक्छ । जुठाभाँडा सफा गर्न प्रयोग गरिएको प्लास्टिक बाँटा रिसाइकिल गरेर नुहाउने बाल्टिन बनेर पनि फेरि हाम्रो घरमा आउन सक्छ । त्यस्तै, चोखोमा नगनिएका फलाम र आल्मुनियमका भाँडावर्तन पुनर्उत्पादन भई अन्य भाँडाकुँडाका रूपमा हाम्रो भान्सामा भित्रिन सक्छन् । डम्पिङसाइटबाट संकलन गरेर लगिएका प्लास्टिकहरूबाट पनि पुनर्उत्पादन भएका कैयन भाँडाकुँडाहरू हाम्रा घरहरूमा भित्रिने गर्छन् । सरकारी अड्डाहरूले समय–समयमा लिलाम बढाबढको बोलपत्र आह्वान गरेको पनि सूचनाहरू प्रकाशन भइरहेको पाइन्छन् । तर यस्तो कार्य कुनै–कुनै कार्यालयले मात्र गरेको पाइन्छ । सबै निकाय वा अड्डाहरूले काम नलाग्ने सामानहरू समयमै लिलाम गरेमा कार्यालय सभ्य देखिन्छ र थोरै भए पनि सरकारी आम्दानी हुन्छ । त्यसै अव्यवस्थितरूपमा कवाडी सामानहरू राख्दा कार्यालय राम्रो देखिँदैन । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । कवाडी सामान राखिराख्न उचित हुँदैन ।

सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ अनुसार तामेली भइसकेका सरकारी कागजातहरू धुल्याउने नियम त छ । तै पनि कतिपय कार्यालयहरूमा पुराना कागजातहरू त्यसै थुप्रिएर बसेको पनि पाइन्छ । धुल्याउनुपर्ने मुठाका मुठा कागजातहरू मन्त्रालय, विभाग तथा कार्यालयहरूको भ¥याङ तथा छिँडीमा भद्रगोल किसिमले थुपारिएको देखिन्छन् । हावा नछिर्ने अँध्यारो कोठाहरूमा समेत त्यस्ता सामानहरू राख्नाले ओसिने र ढुसी लागेर झनै काम नलाग्ने अवस्थामा रहनेगरेका छन् । जसलाई लापरबाही नै भन्न सकिन्छ । त्यसैले सरकारी कर्मचारीहरूले यसतर्फ गम्भीररूपमा सोचविचार गरेर त्यस्ता सामानहरू लिलाम गर्नेतिर ध्यान दिनु जरुरी छ । सभ्य, चुस्त र दुरुस्त प्रशासन नै वर्तमान देशको आवश्यकता पनि हो भन्नुमा दुईमत छैन र निर्विवाद पनि छ । विश्वसामु नेपाललाई उदाहरणको रूपमा प्रस्तुत गर्नेतर्फ आजैबाट प्रण गरौँ र तत्परता देखाऔँ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया