Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकम्पनीको नाम राख्दा के ध्यान दिने ?

कम्पनीको नाम राख्दा के ध्यान दिने ?


काठमाडौं । कम्पनी दर्ताको लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दिनहुँ भिड हुँदै आएको छ । कम्पनी रजिस्ट्रारको कार्यालय स्थापना हुनुभन्दा अगाडि उद्योग मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागको कम्पनी रजिस्ट्रेसन शाखाले कम्पनी दर्ताको काम गर्दथ्यो भने आकार र पुँजी हेरेर घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समिति र मातहतका कार्यालयहरूमा पनि कम्पनी दर्ता हुन्थे ।

नेपालमा कम्पनी ऐन २०२१ र २०५३ मा व्यवस्था भएअनुसार पब्लिक लिमिटेड र प्राइभेट लिमिटेड कम्पनी मात्र सञ्चालनमा थिए भने कम्पनी ऐन २०६३ ले मुनाफा वितरण नगर्ने कम्पनी दर्ता गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ । प्रबन्धपत्रको दफा १ र नियमावलीको नियम १ मा कम्पनीको नाम उल्लेख गर्नुपर्छ । त्यस्तै, दफा २ र नियम २ मा कम्पनीको रजिस्ट्रर्ड कार्यालय र कारोबार गर्ने स्थान उल्लेख गर्नुपर्छ भने दफा ३ मा कारोबारको प्रकृति तथा दफा ४ मा कम्पनीको उद्देश्य र दफा ५ मा उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू उल्लेख गर्नुपर्छ ।

यहाँ कम्पनीको नाम राख्दा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्न मनासिब देखिन्छ । कैयन कम्पनीका नाम देवी, देवता तथा धार्मिकस्थल र पर्यटकीयस्थलको नामबाट राख्ने गरेको पाइन्छ । त्यसरी नाम राख्दा भेगीय तथा आञ्चलिक शब्दहरू राख्दा राम्रो हुन्छ । दाङमा पाथीभरा यातायात प्रालि र झापामा स्वर्गद्वारी यातायात प्रालि राख्न उचित हुँदैन । किनकि त्यहाँका जनताहरूलाई आफ्नो भेगका स्थल र सम्पदाहरूको मात्र अपनत्व बढी हुन्छ । संघीय राजधानी काठमाडौँमा अपि हिमालदेखि कञ्चनजंघा हिमालसम्मका हिमालहरूका नामहरू राख्दा सुहाउँछ । तर झापामा अपि र धनगढीमा कञ्चनजंघा नाम राख्न उपयुक्त हुँदैन ।

बुटवलमा कन्काई विकास बैंक राख्नुभन्दा तिनाउ विकास बैंक नाम राखेको सुहाएको देखिन्छ भने नेपालगञ्जमा रारा विकास बैंक राखेको पनि राम्रो हो । त्यस्तै, पूर्वमा दन्तकाली, बुढासुब्बा, पाथिभरा नाम राख्नु उपयुक्त हुन्छ भने पश्चिममा त्रिपुरासुन्दरी, लटिनाथ, खप्तड नाम राख्नु उपयुक्त ठहर्छ । मधेश प्रदेशमा मिथिला वा जानकी वा जनकपुर राख्दा सुहाउँछ । विन्द्यवासिनी, गोरखकाली, कालिकाजस्ता शब्दहरू पनि साविक पश्चिमाञ्चल क्षेत्र तथा हालको गण्डकी प्रदेशमा मात्र सुहाउँछ । सुदूरपूर्व र सुदूरपश्चिममा यस्ता नामहरू नराख्दा नै उत्तम ठहर्छ ।

कुनै कम्पनीको नामको सुरुमा ‘सगरमाथा’ शब्द राखिएको छ भने अरूले पनि सोही अर्थ झल्काउने गरी अगाडि श्री, ॐ, द, न्यू थपेर पनि नाम राख्ने गरेको पाइन्छ । यसो गर्नु पनि खासै राम्रो हुँदैन । कम्पनीमा दर्ता भएका कुनै–कुनै होटलको माथि भित्तामा दर्ता गर्दा बखतको नाम ‘होटल प्रालि भनेर उल्लेख गरेको र छेउछाउतिर अरू एक–दुई वटा साइनबोर्ड पनि देखिने गरेका छन् । जसमा ‘.. रेस्टुरेन्ट वा फास्टफुड वा खाजाघर’ भनेर उल्लेख गरेको पाइन्छ । तर एकै ठाउँमा गरिने व्यवसाय भने एउटै भएको पाइन्छ । यसरी एउटै व्यवसायका लागि अनधिकृत साइनबोर्डहरू झुन्ड्याउनु गैरकानुनी काम हो । कम्पनीको रूपमा दर्ता भएको एउटै होटलले थरिथरिका साइनबोर्ड राख्नुहुँदैन । प्रबन्धपत्रमा जे–जे उद्देश्यहरू उल्लेख गरेको छ र सम्बन्धित निकायबाट इजाजत वा अनुमति लिइएको छ ।

सोहीअनुसार कारोबार गरे पुगिहाल्छ नि । किन राख्नुप¥यो भित्तै ढाक्ने गरी कम्पनीका विभिन्न छद्मभेषी नामहरू ? मासु, पसल, रेस्टुरेन्ट, मःमः पसल र मांशाहारी कारोबार गर्ने अन्य कम्पनीहरूले सरस्वती, शिव, बुद्धजस्ता देवी देवताहरूको नामबाट कम्पनीको नाम जुराउन सुहाउँदैन । यस्ता नाम राखिएमा ग्राहकहरूलाई अपाच्य तथा असजिलो लाग्न सक्छ । कम्पनीको उद्देश्यसँग मेल खाने खालको नाम चयन गर्नु धेरै राम्रो पक्ष हो । हाउजिङ कम्पनीले पेट्रोल बेच्ने किसिमको उद्देश्य राख्नु उपयुक्त देखिँदैन । त्यस्तै, ‘उद्योग’ शब्द राखेर यातायात व्यवसाय गर्न सुहाउँदैन । कतिपय कम्पनीहरूको उद्देश्य र नाममा मेल खाएको पाइँदैन ।

उदाहरणका लागि ‘मनकामना प्रालि’ मात्र राखेर कम्पनी चलाउनु पनि राम्रो होइन । बहुमुखी उद्देश्य छ भने ‘मनकामना मल्टिपर्पोज प्रालि’ राख्दा राम्रो हुन्छ । यो उदाहरण मात्र हो, यो नाम दर्ता भइसकेको पनि हुन सक्छ । प्रबन्धपत्रको दफा ४ मा उद्देश्य प्राप्तिका लागि गरिने कार्यहरूमा कसैकसैले उद्देश्य नै उल्लेख गरेर कम्पनी दर्ता गरेको पनि पाइन्छ । त्यो पनि सरासर गलत काम हो ।

कुनै–कुनै साइनबोर्डमा कम्पनीको नाम झट्ट हेर्दा ज्यादै राम्रो देखिन्छ । तर भित्रभित्रै अवैध धन्दा गर्ने गरेका समाचारहरू पनि फाट्टफुट्ट सुनिने गरेको पाइन्छ । फोटोकपी पसलमा हुन्डीको कारोबार गरेको आरोपमा हालै मात्र एक व्यवसायी पक्राउ परेको समाचार पनि आएको थियो । सानातिना पसल पनि प्रालिमा दर्ता गरेको पाइन्छ, जुन गलत कार्य हो । आकार र पुँजी हेरेर घरेलु, वाणिज्य तथा नगरपालिका तथा गाउँपालिकाका वडाहरूमा पनि व्यवसाय दर्ता गर्न सकिने व्यवस्था छ । स्थायी लेखा नम्बर प्राप्त गर्ने अर्थात् पान दर्ता भने जरुरी छ । कुनै पनि उद्योग, कम्पनी, व्यवसायको कारोबार पारदर्शी हुन सक्यो भने देशको लागि पनि राम्रो हुने र व्यवसायीहरूको छवि पनि राम्रो हुने कुरामा दुई मत छैन ।

कम्पनी दर्ता गर्दाका बखत प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरेको नाम र साइनबोर्ड तथा अफिसियल कागजात जस्तैः लेटर प्याड, बिल, भरपाई, टिकट, ब्रोसर, बुकलेट, पत्रपत्रिका तथा अन्य कागजातहरूमा हुबहु नाम उल्लेख गर्नु मनासिब हुन आउँछ । त्यसरी नाम परक पार्दा ग्राहकहरूमा भ्रम पर्न जाने हुन्छ ।

ट्राभल एन्ड टुर्स कम्पनीले ट्रेकिङ तथा एक्स्पिडिसनका उद्देश्यहरू पनि नराख्दा हुन्छ । पर्यटनसँग सम्बन्धी कम्पनीहरूले नामको पछाडि एउटा मात्र शब्द राखेको पनि पाइन्छ र उद्देश्यहरू तमाम राखिएको पाइन्छ । त्यसो पनि गर्नु मनासिब देखिँदैन । पर्यटनअन्तर्गतका साहसिक खेलहरूजस्तैः बञ्जी जम्पिङ, प्याग्लाइडिङ, ¥याफ्टिङ, क्यानोइङ र क्यानोनिङ व्यवसाय गर्नका लागि एड्भेञ्चर कम्पनीको रूपमा दर्ता गर्दा उपयुक्त हुन्छ । ख्याति प्राप्त कम्पनीको नामसँग मिल्दोजुल्दो नाम राख्न नपाइने नियम हुँदाहुँदै मिल्दोजुल्दो नाम राख्ने गरेको पनि पाइन्छ र उजुरी परेपछि कसैकसैले मुद्दा समेत खेप्नु परिरहेको छ । त्यस्तै, कम्पनीको नाम मात्र होइन उत्पादन हुने सामग्रीको ट्रेडमार्क पनि मिल्दोजुल्दो राख्ने गरेको पाइन्छ । त्यसका लागि उद्योग विभागको ट्रेडमार्क शाखाले ध्यान दिनु जरुरी पनि छ ।

साइन बोर्डहरूमा ज्यादा शाब्दिक त्रुटि
काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमा गर्दा मुख्य मात्र होइन सहायक चोकहरूमा समेत रोदी घरहरू सञ्चालनमा आएका छन् । कम्पनीको रूपमा दर्ता भएका प्रायःजसो ‘रोदीघरहरू’ ले ‘रोधीघर’ भनेर उल्लेख गरेको पाइन्छ, जुन सरासर गलत कार्य हो । कम्पनी रजिस्ट्रारको कार्यालयले पनि एक जना भाषाविद्को व्यवस्था गर्नु जरुरी देखिएको छ । नेपाली भाषा झन् पछि झन् बिग्रँदो अवस्थामा गइरहेको आभाष पाइन्छ । भाषा आयोगले पनि यसतर्फ ध्यान दिनु जरुरी छ । जसले अशुद्ध भाषा प्रयोग गरेको छ, उसलाई सचेत गराई सच्याउन लगाउने नीति बनाउनु जरुरी देखिन्छ ।

संस्थानको नाम एउटा उद्देश्य अर्को
नेपालको एउटा पुरानो अर्धसरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड छ । जसको नाममै नुनको मात्र कारोबार गर्ने भन्ने बुझिन्छ । तर उसले रासायनिक मल, पेट्रोलियम पदार्थ, ग्याँस, खाद्यान्न, चिनीलगायतका तमाम वस्तुहरू उत्पादन, संकलन, आयात र बिक्री वितरण गर्दै आएको छ । नाम भने कामअनुसारको छैन । त्यसैले उत्पादन, आयात र बिक्री जनाउने कुनै विशेष शब्द राखेर कर्पोरेसनको नाम परिवर्तन गर्नुपर्ने देखिन्छ । पुरानै नामले ख्याती कमाएको हुँदा कर्पोरेसनले नाम परिवर्तन गर्नेतर्फ चासो नदेखाएको अनुमान गर्न सकिन्छ । कुनै बखतको जल्दोबल्दो संस्थानको रूपमा रहेको नेसनल ट्रेडिङ लिमिटेडले बहुमुखी व्यापार गर्न सुहाउँथ्यो । यो संस्थान हाल बन्द अवस्थामा छ ।

अन्य सरकारी औद्योगिक संस्थानहरू २०४६ पछि जथाभावी राजनीतिक नियुक्ति र राजनीतिक हस्तक्षेप हुन थालेपछि सरकारी उद्योगहरू डुब्दै गए र धराशायी हुँदै गए । पार्टीका कार्यकर्ता भएको कारण आठ कक्षा नपढेका पनि संस्थानका सञ्चालक बने । यस्ता विकृति र विसंगति तथा नचाहिँदा कामका प्रशस्त उदाहरण यो लेखकले बुझिसकेको छ । देशमा व्याप्त बेथितिकै कारण नेपाल अहिले आयातमुखी अर्थात् परनिर्भरको अवस्थामा गुज्रिरहेको छ, यो कुरा सबैमा जगजाहेर नै छ । सरकारी संस्थानहरू किन डुबे भन्ने विषयमा यसपूर्व मेरा धेरै लेखहरू प्रकाशन भइसकेका छन् ।

यहाँ प्रसंग कम्पनीको नाम चयनसम्बन्धी भएको हुँदा व्यवसायीहरूले कम्पनीको नाम जुराउँदा अर्थपूर्ण किसिमले राख्नुपर्छ । पहिले–पहिले नाम जुध्छ कि जुध्दैन भनेर कम्पनी रजिस्ट्रारको कार्यालयमा नै गएर सोध्नुपर्यो । हाल अनलाइनको माध्यमबाट नै नाम जुध्ने र नजुध्ने निक्र्यौल गर्न सकिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा धाइरहनुपर्दैन । प्रबन्धपत्र र नियमावली पनि अनलाइनबाट नै पेस गरे पुग्छ । कुनै–कुनै बखत अदक्ष कर्मचारीका कारण एउटै नाम गरेका तीन चारवटा कम्पनी पनि दर्ता भएका थिए । जुन समस्या हाल देखिएको पाइँदैन।

अन्त्यमा, कम्पनीका संस्थापक सेयरधनीहरूले मात्र होइन अन्य उद्योगी तथा व्यवसायहरूले कम्पनी, उद्योग तथा व्यवसायको नाम राख्दा ज्यादै ख्याल गर्नुपर्ने हुन्छ । अतः कम्पनीको सुहाउने किसिमको नाम राख्नुपर्छ, अनर्थको नाम जुन गएमा कम्पनीको छवि नै बिग्रन सक्छ । सकेसम्म अरू कम्पनीको नामसँग मिल्दोजुल्दो राख्नुहुँदैन । नाम जति छोटो भयो त्यति राम्रो हुन्छ । कुनै–कुनै कम्पनीको नाम दुई लाइनसम्मको पनि हुने गर्यो । बीचमा दुई तीनवटा ‘एन्ड’ भएका कम्पनीहरू पनि दर्ता भएका थिए । हाल भने यस्तो काम हुनेगरेको छैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया