Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवातावरण संरक्षणमा स्थानीय सरकारको महत्व

वातावरण संरक्षणमा स्थानीय सरकारको महत्व


काठमाडौं । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएको हुन्छ । वातावरण विनाशले मानव, वनस्पति तथा अन्य जीवजन्तुको बाँच्ने आधार नष्ट हुँदै गएकाले वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वाभाविकै हो । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रष्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । यसै सिलसिलामा जुन ५, १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनको रूपमा अङ्गिकार गरी विश्व वातावरण दिवस मनाउने गरेको पाइन्छ । वातावरण संरक्षणको लागि विश्वभर राजनीतिक र सामाजिक सचेतना जगाउनु यो दिवसको मुख्य उद्देश्य हो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ । यसै सन्दर्भमा विश्वभर हरेक वर्ष चार सय बिलियन टन प्लास्टिक उत्पादन हुन्छ । जसमध्ये ५० प्रतिशत प्लाष्टिक त केवल एकपटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ जसले गर्दा प्लास्टिक प्रदूषणले विश्वलाई ठूलो असर पारेकाले विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषणविरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।

मुख्यतः वातावरण तथा ओजोन तहको विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालको सन्दर्भमा राजधानी काठमाडौंमा बेलाबखत ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको पाइन्छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमशृङ्खला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखापर्नु, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखापर्नु, वन्यजन्तु लोप हुनु, हैजाजस्ता रोग फैलिनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण तथा ओजोन तह विनाशबाट उत्पन्न परिणाम हुन् । पछिल्ला दशकमा सर्वाेच्च शिखर सगरमाथालगायत हिमाली क्षेत्र आसपास देखिने भूपरिदृश्य पहिलेको जस्तो अवस्थामा छैन । हिमालको हिउँ पग्लिएको छ । हिमनदी साँगुरिदै छन् र हिमताल फैलिँदो छ । चाँदीजस्तो हिमाल वातावरण विनाशको असरले कालो देखिन थालेका छन् । त्यस्तै, हिमनदीहरू तापक्रम वृद्धिका गतिका सूचकका रूपमा लिन सकिन्छ । तापक्रम बढ्दै जाँदा हिमालको हिउँ पग्लिई हिमनदी तीव्ररूपमा बगेको छ । विगत पाँच दशकमा हिमालय क्षेत्रमा हिमनदीको सतहको क्षेत्र १५ प्रतिशतले घटेको छ । जसका कारण हिमताल बन्नका लागि अनकूल अवस्था सिर्जना गरेको छ । सोसम्बन्धी एक अध्ययनले नेपालका हिमालयमा हिमालको संख्या र क्षेत्रफलमा वृद्धि भएको छ ।

छ दशक अगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब तीन करोड पुगेको अनुमान छ । तर वन, जङ्गल र जमिनको क्षेत्र बढेको छैन, जमीनको उत्पादकत्व बढेको छैन । कृषि आकाशे पानीमा निर्भरता, आयातीत बीउ, रासायनिक मल र कीटनाटक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए पनि गुणस्तरीय र स्वास्थ्य खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०/८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ । नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायुप्रदुषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनाश चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सिर्जना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौती भएकोले सो को समाधान गर्नु अतिआवश्यक भएको छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अतिआवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत्रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वको लागि वन जंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वन जंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकी वातावरणीय विनाशबाट ।

हाम्रो देशमा अनियन्त्रितरूपमा डोजर चलाई प्राकृतिक स्रोत साधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनको लागि उचित ल्यान्डफिल्ड साइड नभई सोसम्बन्धी उचित कार्ययोजनाको कमी पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ । फोहोरमैलाको उचित व्यवस्थापनको अभावले सो उचित कार्यान्वयनको अभावमा राष्ट्रिय समस्या भई वातावरणमा तीव्र हानि पु¥याएको छ । यस्तै, भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वनविनाश, सवारी साधन तीव्र वृद्धि अनियोजित सहरीकरण, अनियोजित औद्योगिकीकरण जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमश्रृङ्खला जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज हुन् । वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षायाममा अतिवृष्टि, अनावृष्टि तथा अल्पवृष्टिजस्ता समस्या आई कृषि उत्पादनमा ठूलो असर परेको छ ।

अतः जलवायु परिवर्तनको प्रभावबाट हुने जोखिमको नियमित अध्ययन, अनुसन्धान तथा अनुगमन गर्ने, अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई नीति, रणनीति तथा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयनमा प्रयोग गर्ने, जैविक इन्धनबारे अनुसन्धान गर्दै खाद्य सुरक्षालाई प्रतिकूल प्रभाव नपर्ने गरी सोको प्रवर्द्धन तथा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । जलवायु परिवर्तनले पार्ने वा पारेका भौगोलिक तथा विषयगत जोखिम क्षेत्रहरूको पहिचान तथा प्रभावको सहभागितात्मक अध्ययन एवम् प्रभाव न्यूनीकरण उपायहरूको खोजी गर्ने, जलवायु परिवर्तनको प्रक्रिया तथा प्रभावहरूको पहिचानमा देशको सम्पूर्ण भू–भागको प्रतिनिधित्व हुने गरी जलवायु अवलोकन केन्द्रको सञ्जाल विस्तार र तात्कालिक तथ्याङ्क प्राप्त गर्ने प्रणालीको विकास गरी प्राप्त तथ्याङ्कको विश्लेषण गर्ने कार्य गर्न आवश्यक छ । प्रविधि विकास, हस्तान्तरण तथा उपयोग, जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यून गर्न उपयुक्त प्रविधिको पहिचान तथा विकास गर्ने, जलवायु–मैत्री परम्परागत स्थानीय प्रविधि एवम् मौलिक सिप तथा ज्ञानको पहिचान र उपयोगको अभिलेख तयार पारी प्रविधिमा आवश्यक सुधार गरी व्यवहारमा ल्याउनुपर्छ ।

जल उपलब्धता हेरी बाढी–सिँचाइजस्ता पद्धतिको विकल्पमा पानी किफायत हुने आधुनिक प्रविधिको विकास गर्ने, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्ने स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास तथा तिनको दिगो प्रयोगलाई बढावा दिने, मिथेन, सल्फर कम उत्सर्जन गर्ने, कृषि प्रविधिको विकास तथा विस्तार गर्ने कार्यलाई जोड दिनुपर्छ । जलवायु–मैत्री प्रविधिको प्राप्ति, हस्तान्तरण तथा दिगो उपयोगमा जोड दिने तथा तिनको उपयोगको लागि क्षमता अभिवृद्धि गर्ने खडेरी तथा डुबान (थोरै र बढी पानी) को भार सहन सक्ने कृषि प्रजातिको पहिचान तथा विकास गरी प्रयोगमा ल्याउने, जलवायु समानुकूलन विकास पूर्वाधार एवम् संरचना निर्माणका लागि आवश्यक अनुसन्धान मार्फत प्रविधि विकास गरी सोको उपयोग गर्ने, जलवायुमैत्री प्राकृतिक स्रोत व्यवस्थापन, वैज्ञानिक भू–उपयोग प्रणालीको विकास गरी लागू गर्ने, जीविकोपार्जनका वैकल्पिक उपायहरू सिर्जना गर्न वन सम्पदाको उचित संरक्षण, सम्बद्र्धन तथा विकास गर्नु आजको आवश्यकता हो ।

जलवायु परिवर्तनको प्रभाव सम्बोधन हुने प्रकारले दिगो वन व्यवस्थापन, कृषि–वन, चरन क्षेत्र तथा भू–संरक्षणसम्बन्धी कार्यक्रमहरू प्राथमिकताका साथ लागू गर्ने, स्वच्छ ऊर्जा स्रोतका रूपमा रहेको जलविद्युत् उत्पादनमा प्राथमिकताका साथ राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय लगानी प्रोत्साहित गर्नुपर्छ । माटो र पानीको संरक्षण गर्नका लागि मुहान संरक्षण, वर्षा–पानी संकलन एवम् पर्यावरणीय सरसफाइजस्ता उपायहरू अवलम्बन गर्ने, कार्वन सञ्चितीकरणलाई प्रोत्साहन गर्ने र वन पैदावारको प्रयोगबाट प्राप्त लाभको केही अंश वन डढेलो नियन्त्रण एवम् सबै प्रकारका वनको संरक्षणमा लगानी गर्ने, वन क्षेत्रको क्षयीकरण तथा वन विनाश रोकी हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्रोतहरूबाट अत्यधिक फाइदा प्राप्त गर्ने संयन्त्रको विकास गर्ने, जलस्रोतको उतार–चढावको नियमित अनुगमन गर्दै पानीको व्यवस्थापन गर्नेजस्ता कार्यहरू गर्न अतिआवश्यक छ । तब मात्र हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x