महानगर प्रमुख बालेन ! तिमीबाट के सिक्ने ?
काठमाडौं । बालेनले काठमाडौं महानगर प्रमुख पदभार सम्हालेको दुई वर्ष नाघेको छ । हालसम्म उहाँको नेतृत्वमा भएका, गरेका, बोलेका, व्यवहारका कुराहरू सुन्दा र गतिविधिहरू नियाल्दा जनता दुई चिरामा विभाजित भइसकेको देखिन्छ । सामाजिक सञ्जालमा हेर्ने हो भने बालेनको वाहावाही, चमत्कार गर्यो भन्नेको जमात सोचेभन्दा धेरै देखिन्छ । त्यो कसरी हुन गयो अर्कै छलफलको विषय हुन सक्छ । तर ३२ वडाका मतदाता र स्थानीय बासिन्दाहरूमा निराशा देखिन थालेको छ ।
बालेन सेलिब्रिटी हुन् कि नेता ? नेता र सेलिब्रिटीमा आकाश जमिनको फरक हुन्छ, जुन बालेनलाई हाइहाइ गर्ने सम्पूर्ण अनुयायीहरूलगायत सम्बन्धितले बुझ्नुपर्ने कुरा हो । सेलिब्रेटी त्यो व्यक्ति हो जो प्रसिद्ध हुन्छ ख्यातिप्राप्त हुन्छ । विशेषगरी मनोरञ्जनका क्षेत्रहरूजस्तै चलचित्र, संगीत, लेखन वा खेलकुद । बालेन नेपालको मानिने संगीत र्यापर हुन् । र्यापरका रूपमा सामाजिक सञ्जाल र युट्युबमा उहाँका धेरै गीतहरू सुन्न पाइन्छ । उहाँका केही सामाजिक विकृति र गरिब वर्गका नाममा मन छुने गीत प्रख्यात भएको पनि भनिन्छ । उहाँका लाखभन्दा बढी, खासगरी युवा अनुयायीहरूले पछ्याउने गरेको सुनिन्छ । ठाउँठाउँमा मनोरञ्जन दिन मञ्चमा गाएको, नाचेको, नचाएको पाउँछौँ । अनुयायीहरू बालेन हाईहाई, बालेन हाईहाई, गरेको हेर्न र सुन्न पाउँछौँ । चाहे त्यो कुनै जात्रमा किन नहोस् । नगरप्रमुखको नाममा हाईहाई गरेको पक्कै हुन् त ?
पल शाह, सन्दिप लामिछाने, रवि लामिछाने जो विभिन्न काण्डमा आरोपित भएका पात्रहरू भए पनि हाईहाई गरेको पाउँछौँ नेपालमा । कोही पनि यसबाट भ्रमित हुनुपर्ने देखिन्नँ । बालेनका अनुयायीहरू काठमाडौंबाहेक देशविदेश जहाँ पनि हुन सक्छ । सेलिब्रेटीहरू आफ्नो क्षेत्रमा जति अब्बल हुन सक्थ्यो अनुयायीहरू थप्ने क्रम हुन्छ । नेता र सेलिब्रेटीबीच काम कर्तव्य र जिम्मेवारीमा धेरै फरक हुन्छ । नेता जनसमुदायप्रति अनिवार्य जवाफदेही हुनुपर्ने हुन्छ भने सेलिब्रेटीमा त्यो जिम्मेवारी हुँदैन र कसैप्रति उत्तरदायी हुन् पर्दैन । बालेन इन्जिनियरिङ पेशा भए पनि सो क्षेत्रमा प्रसिद्ध र ठूलो व्यवस्थापकमा अनुभव प्राप्त व्यक्ति होइनन् । बालेनले चुनावमा उम्मेदवारी दिँदा, र्यापरका पारखीहरूबाहेक काठमाडौंका मतदाताहरूले चिनेको नाम पनि होइनन् ।
दुई वर्षमा उहाँ ‘डोजर’को उपनाममा चिनिसकेका छन् । उहाँले सयौँको संख्या नगर प्रहरी परिचालन गरी बल प्रयोग गर्ने, तर्साउने, भत्काउने, लुट्ने, चेतावनी दिने काम भएको दिनका दिन हेर्न पाइन्छ । यही काम सहमतिमा विनादर त्रास पनि गर्न सकिन्थ्यो होला । नगर प्रहरीको काम, कर्तव्य, जिम्मेवारी के हो बुझी नसक्नु छ र साँच्चैभन्दा काठमाडौंमा नेपाल प्रहरीहरू नै फिक्का हुन थालेको छ ।
नेताले आफ्नो संगठनको नेतृत्व लिई महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । आफ्ना जनसमुदायलाई सकारात्मक परिवर्तनहरू पूरा गर्न उत्प्रेरित गरी उदाहरण बनाउनुपर्ने हुन्छ । नेताहरूले आफ्ना क्षेत्र विकासका दूरदृष्टि, कार्य योजना प्रस्तुत गरी जनसमुदायसँग जति सक्यो राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ । नतिजाको लागि राम्रो व्यवस्थापक भई अविश्वसनीय उपलब्धिहरू पूरा गर्न मार्गदर्शन दिनुपर्ने हुन्छ । के महानगर प्रमुख बालेनले यस्तो गरिरहेको छ त ?
काठमाडौंवासीले बालेनलाई महानगर प्रमुखजस्तो महत्वपूर्ण गरिमामय पदमा चाहेर वा नचाहेर, ठूला राजनीतिक दलहरूलाई लत्याएर एक स्वतन्त्र, अपरिचित व्यक्तिलाई आसिन गरेको हो । यसको प्रमुख कारण राजनीतिक दलहरू र दलहरूले प्रस्तुत गरिएका उम्मेवारहरू प्रति असन्तुष्ट भएकै कारण आक्रोशको नकारात्मक, ‘नो भोट’ तथा विकल्पको रूपमा मौका दिएको हो । बालेनले आफू योग्य भएर जितेको सोचाइ राखेको हो भने ठूलो गल्ती हुनेछ। काठमाडौंका जनता आफूले चाहेमाथि उचाल्न र नचाहे भुइँमा पछार्न पनि पछि नपर्ने एक उदहारण हो यो ।
बालेनले चुनावी अभियान र पदभार सम्हाल्दा धेरै आश लाग्दो विकासका जनमुखी कुरा राखेको थियो । युवा नेता र स्वतन्त्ररूपमा काम गर्ला भन्ने आशा जनसमुदाय राखेको थियो ।
बालेनले नेतृत्व लिएपश्चात केही प्रशंसनीय कामहरू पक्कै गरेको छ । पदमार्ग (पेटी) का व्यापारीहरूलाई हटाउने, पुराना व्यापारिक केन्द्रजस्तै असन, इन्द्रचोकजस्ता ठाउँमा भुइँ पसल हटाउने, सम्पदा क्षेत्रलगायत जग्गा मिची बनाएका अवैध संरचनाहरू भत्काउने, सहरी मुख्य क्षेत्रमा केही सफाइको अनुभूति आदि पर्न आउँछ ।
यद्यपि बलजफ्ती र डोजरको त्रास देखाएरभन्दा व्यवस्थितरूपमा गर्न सकेको भए अझ राम्रो र दिगो हुने थियो भन्नेहरूको ठूलै समूह नभएको होइन । व्यवसायीहरूलाई संगठितरूपमा विकल्प दिनुपर्ने हो । जुन हालसम्म भएको देखिँदैन । तिनीहरू पनि नेपाली नागरिक नै हुन् र अधिराज्यमा जहाँ अवसर मिल्छ त्यहाँ गरिखाने अधिकार हो । जन सहभागितामा अरू सम्बन्धित निकायहरूसँग समन्वय गरी दीर्घकालीन समाधानको खोजी गर्नुपर्ने नजरअन्दाज गरिएको देखिन्छ ।
बालेनको जीतले नेपाली राजनीतिमा हलचल एवं तरङ्ग त पक्कै ल्याएको छ । गत सम्पन्न संघीय आमचुनावमा नयाँ दलहरूको शानदार उपस्थिति, खासगरी पुराना ठूला दलहरूलाई खबरदारी र सचिनुपर्ने सन्देश प्रवाह गरेको छ र सच्चिनुको विकल्प छैन । यसको श्रेय बालेनलाई नै दिनुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी जसरी आगम भयो हालैको उपनिर्वाचनमा जमानत जफत समेत भएको पनि उदाहरण छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएपश्चात् बोलेका कुरा पूरा गर्न नसकेको र धेरै विवादमा परेको देखिन्छ । जनता सचेत र जागरुक भइसकेका छन् ।
बालेनले सुरु गरिएका धेरैजसो कामहरू असफल पनि भएको र बाध्य भईपछि हट्नुपरेको वा विवादित हुन पुगेको पनि देखिन्छ । जस्तै, टुकुचा उत्खनन् र सुकुम्बासी समस्या । यसको मुख्य कारण यसमा महानगरले विनायोजना अपरिपक्वता देखाएको नै हो । सुकुम्बासी बस्तीमा विनातयारी हात हाल्दा नगर प्रहरी प्रमुख स्वयंले लात खान पुग्यो र ज्यान जोगाउन समेत धौधौ पर्यो । खुलामञ्चको भूमिगत पार्किङ विवादित भएको तथा सम्बन्धित वडाध्यक्षले वक्तव्य नै जारी गर्दै कुनै पनि हालतमा सो काम गर्न नदिने अडान लिएको थियो । निजी क्षेत्रसँग मिलेर शौचालयको कुरा कता हरायो ? इमरजेन्सी एम्बुलेन्स, नर्भिक अस्पतालको जग्गा, ट्राफिक जाम र यातायात व्यवस्थापन, घरघरमा फोहर छुट्याउने आदिआदि ।
यो किन र कसरी हुन गयो लेखाजोखा गर्न उपयुक्त हुने देखिन्छ । युवा जोश, निडर, आँटिलो हुँदाहुँदै बालेनमा विकासमा हुनुपर्ने ‘दूरदृष्टि’ महानगरमैत्री केन्द्रित योजना प्रष्ट देखिएन । भएका योजनाहरूको प्राथमिकताको आधारमा छनौट गर्न नसक्नु अर्को कमजोरी देखिन्छ । जस्तै, हालै नयाँ सडक पेटी बधाउने काम जुन महानगर बोर्डको प्रत्यक्ष प्रसारण हेर्दा लाग्छ नगरप्रमुख र वडा प्रमुखबीच राम्रो छलफल समेत नभएको र विनायोजना कार्यान्वयन गरेको देखियो । कुनै पनि संगठन राम्रो चल्न दरिलो टोली र टोलीको भावना अनुरूप कार्य योजना तर्जुमा गरी सोको कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर बालेनमा त्यसको अभाव देखियो । महानगरका वडाप्रमुखहरूसँग समेत टिममा काम गर्न अनिच्छुक र विश्वास खडेरी परेको हो कि जस्तो पनि देखियो ।
योजना छनौट गर्दा नगरका प्राथमिकताका आधारमा ‘नगरी नहुने’जस्तै खानेपानी, ढल र नाली व्यवस्थापन, दुर्गन्धरहित महानगरमा बग्ने खोला नाला, युवा र मतदाताहरूको आयआर्जन र बेरोजगारी समाधान, यातायात व्यवस्थापन, ट्राफिक जामजस्ता जनसमुदायलाई त्यस्तै बालबालिका, वृद्ध, महिला, युवा आदिलाई सम्बोधन हुने र दैनिक असर पार्ने थुप्रै काममा ध्यान किन गएन ? नयाँ सडक पेटी बधाउने काम के नगरी नहुने तत्कालको प्राथमिकतामा पर्छ ? जुन कारण देखाइयो महिलामाथि यौन दुर्व्यवहार, पाकेटमारी आदि खाली नयाँ सडकको १००/२०० मिटर लामो पेटीमा मात्र सीमित छ त ? पेटी बढाएर समाधान होला र ? असन, मखँगल्ली आदि क्षेत्रमा हुँदैन होला ? यस विषयले महानगरमा शान्ति सुरक्षाको डरलाग्दो समस्याको उजागर भएको छ ? के काठमाडौं महानगर बस्न लायक र सुरक्षित छ ? महानगरको आफ्नो के धारणा छ सम्बन्धितले स्पष्ट पार्नैपर्छ ।
विनासहभागितामा र अपर्झट पेटी विस्तार गर्ने जुन प्रयास गरियो त्यसबाट स्थानीयवासी, भोलि सम्पदा संरक्षण गर्ने, गुठी चलाउने, टोल छिमेक र समवेदन सिल नेवार नेवारमा फाटो मात्र ल्याएन सडक विभाग र महानगर पालिकाबीच सँगै मिलेर काम गर्नुपर्नेमा तकरार ल्यायो । के यो महानगरको दिगो विकासको लागि राम्रो सन्देश हो ?
साथै, स्वतन्त्र नेताले जे पनि गर्न सक्छ भन्ने चुनौती राजनीतिक दलका नेताहरूलाई दिएको छ । यस्तै, हो भने आउँदो चुनाव राजनीतिक दलहरूले स्वतन्त्र उम्मेदवारहरूसँग कडा प्रतिस्पर्दा गर्नुपर्ने हुन्छ । बालेनले आफ्नाहरूको समूहको स्वतन्त्र उमेदवार बनाई आउँदो स्थानीय चुनावमा अघि सरे अचम्म मान्नुपर्ने छैन ।
महानगर एक सशक्त स्थानीय सरकारी निकाय हो । तर प्रमुखको काम गराइ र सोचाइ कुनै निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतजस्तै आत्मकेन्द्रित र आफ्नो लहडमा दौडेको देखिन्छ । पारदर्शिता, प्रक्रिया, नतिजा र परामर्शविना निर्णय लिने गरेको बुझिन्छ । जसले गर्दा सुरुवातदेखि नै विवादित हुन पुगेको धेरै उदाहरण सबैको सामु छर्लङ्ग छ ।
महानगरको विकास निर्माणको मुख्य साझेदारी जनसमुदाय अथवा नगरवासी नै हो । तर हालसम्मको अनुभवमा बालेन जनसमुदायसँग सम्पर्क राख्न र राम्रो सम्पर्क स्थापित गर्न इच्छुक नदेखाएको धेरै गुनासो आएको पाइन्छ । समस्या सुन्नु, बुझ्नु र समयमा सोको हल गर्नेभन्दा जनताका कुरा नै नसुन्ने प्रवृत्ति देखिन्छ । ठूलाठूला मुद्दाजस्तै खुला मञ्चमा भूमिगत पार्किङ, दरबार मार्ग ‘नो पार्किङ’ विषयमा सम्बन्धित प्रतिनिधिबीच वार्ता गर्न अस्वीकार गरेको पाइयो र जनसमुदायको पहुँचभन्दाबाहिर देखियो । जसका कारण सम्बन्धित जनसमूहहरू आफ्ना समस्या पोख्ने वातावरणबाट बञ्चित हुनुपरेको देखिन्छ । काठमाडौं महानगर क्षेत्रमा बेलायतको ब्रुनेल युनिभर्सिटी र महानगरपालिका मिलेर महामारी विज्ञानसम्बन्धी अध्ययन अनुसन्धानको लागि एकपल्ट भेट्ने मौका पाएको थिएँ । सो भेटघाटमा कुराकानी धेरै राम्रो भएको थियो तर पुनः कुराकानी अगाडि बढाउनु नगर प्रमुखसँग भेट्ने प्रयास गरियो तर उहाँका आसेपासेबाट त्यो मौका दिइएन । बालेनलाई आफ्ना सीमित समूहबाहेकका व्यक्तिहरूसँग बाहेक आँखा जुधाएर सञ्चार गर्न असहज हुने कमजोरी हो ? त्यो सीमित समूहबाट बाहिर निस्किनै उहाँको लागि राम्रो हुनेछ ।
नगर प्रमुख देशका नीति, नियम, कानुनप्रति खास वास्ता गरेको पाइएन । पदमा पुगेपछि आफूले नजानेको सिक्ने अथवा सल्लाह लिन नसक्नु (सीमित समूहबाहेक) नै बालेनको ठूलो कमजोरी देखियो । सुकुम्बासी समस्या सबै नगरबासीको समस्या हो र थापाथलीबाट हट्नुको विकल्प छैन तर कसरी निवारण गर्ने ज्ञानको अभावले गर्दा महानगर लज्जित हुन पुगेको छ । सम्बन्धित सरकारी निकायबीच जुहारीसम्म पनि चलेको देखियो र सो निकायहरूलगायत गृह मन्त्रालयबाट सहयोग लिन सकेको देखिएन र समस्या जस्ताको त्यस्तै अवस्थामा हालसम्म पनि यथावत् नै देखिन्छ ।
काठमाडौं महानगरपालिकाले वैशाख १ गते सञ्चालन गरेको ‘सीप मेला २०८१’ मा १० हजारभन्दा बढीले आवेदन दिएका बुझिन्छ भने महानगरले दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्यका साथ मेला आयोजना गरेको र तालिमपश्चात् रोजगारी र आम्दानीमा वृद्धि गरी काठमाडौंलाई समृद्धि गर्ने बुझिन्छ । यो एकदम सकारात्मक प्रयास मान्नैपर्छ । यस्तो कार्यक्रम नेपालका सबै पालिकाहरूले अनुशरण गर्न सक्नुपर्ने हुन्छ र आफ्नो पालिकाका इच्छुकका लागि आफ्नै स्थानमा के गर्न सकिन्छ तालिम दिन सके यसको सही सदुपयोग हुने देखिन्छ स्थानीय क्षेत्रमा रोजगारी र आम्दानीमा वृद्धि हुने ठूलो सम्भावना हुने थियो । काठमाडौंवासीहरू जान्न चाहन्छ के यो महानगरका ३२ वडाका बासिन्दाहरूका लागि मात्र हो या अधिराज्यका सबैका लागि खुला गरिएको हो ? केही वडा अध्यक्षहरूलाई आफ्नो वडाबाट कतिले सहभागिता जनायो भन्ने प्रश्नमा आफ्नो अनभिज्ञता जनाएको देखियो । वडासँग योजना, व्यवस्थापन र समन्वयको कमी देखियो । यदि सहभागी काठमाडौंबाहिरका लागि हो भने महानगरले के बुझ्नुपर्ने हुन्छ भने राम्रो काम हुँदाहुँदै के देश भरका लागि खर्च गर्ने महानगर नीतिभित्र पर्छ ? आफ्नो अधिकार क्षेत्रभित्र पर्छ ? गाउँघरका खासगरी युवा वर्ग गाउँ छोडी सहर (मुख्य त काठमाडौं) र विदेशतिर पलायन हुने क्रममा यसले थप योगदान त गर्ने होइन ? नगरवासीहरूलाई तालिम मात्र नभई काठमाडौंमै रोजगार अथवा उद्यमी बनाउने रणनीति लिएको छ ? नभए ‘काठमाडौं समृद्धि’ नारामा मात्र सीमित हुने पक्का छ । ‘काठमाडौं पहिला’को रणनीति हुनुपर्छ ।
बालेनले समयसमयमा दिएका वक्तव्यहरूजस्तै सिंहदरबारमा आगो लगाउने, न्यायालयको विरुद्ध वक्तव्य दिने, आफ्नै गल्ती हुँदाहुँदै कार्यरत रहेका प्रहरीलाई पदको दुरुपयोग गर्दै अपमान गर्ने, सिंहदरबारभित्रै फोहर नउठाइ असहयोग गर्ने, हालै सडक विभाग अगाडि फोहरको डंगुर फाल्नेजस्ता धेरै असन्तोष, विरोध जनाउने काम गरेको देखियो । मिलेर सहकार्य गरेर जानुपर्ने अवस्थामा यसले के नतिजा दिन्छ ? आश्चर्यको कुरा त के भने यस्ता गतिविधि हुँदा पनि सामाजिक सञ्जालमा बालेनको समर्थन गरेको देखिन्छ ।
‘बालेन सहर/सिटी’ भनी काठमाडौं महानगरको बेनाम गर्ने दुस्प्रयास भइरहेको छ, किन होला त ? के नेपाली जनता यस्तै चाहेका हुन् ? राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिहरू किन मौन छन् ?
आपसी समझदारीबाट समस्या समाधान गर्नुभन्दा डर त्रास देखाई नसुहाउने वक्तव्यबाजी गरी टक्कर लिन इच्छुक देखिन्छ बालेन । यस्ता धेरै उदहारणहरू छन् ।
नगर प्रहरीको ठूलो जत्था (फेरि सयौँको भर्ती गर्दैछ)ले ठाउँठाउँमा डोजर चलाउने अनलाइन र टीभीमा प्रत्येक दिनजस्तो देखाइन्छ । मानौं महानगर रणभूमिमा छ । पीडित जग्गा/घर धनी आफ्नो सम्बन्धित सबै कागजात प्रमाण लियर न्याय मागेको मागै थिए । बिनापत्र गएका टोली डोजर देखाएर, तर्साएर सो सम्पति भत्काएको पाइयो । जे पायो त्यो गर्न पाइन्छ ? लोकतन्त्रको ठाडै उल्लङ्घन होइन र ? के जग्गा धनीले आफ्नो सम्पत्तिको सुरक्षा गर्न नपाउने ? नगर प्रहरीको व्यवहार, बोलाई र अहंकारीपनबाट महानगरबाट न्यायको अपेक्षा गर्न नसकिने जनगुनासो बढ्दो छ । नगर प्रमुखको हैसियतले मातहतका कर्मचारीहरूको काम, कारबाही, व्यवहारको अनुगमन र सही निर्देशन दिनुपर्दैन ? साथै, यो गरिमामय पदमा आसिन भएपछि आफूले पनि जनमैत्री व्यवहार देखाउनुपर्ने हुन्छ ।
काठमाडौं महानगर देशको मुटु राजधानीमा भएकाले यहाँ राम्रो काम गर्नुपर्ने बाध्यता छ, धेरै अवसर छ र साथै अनगिन्ती चुनौती पनि छ । कुल लक्षित जनसंख्या ६०/७० लाख, ठूलो बजेट (२५ अर्ब वार्षिक बजेट), ३२ वडाका सम्बन्धित निर्वाचित जनप्रतिनिधि एवं कर्मचारीको हिसाबले कुनै मन्त्रालयभन्दा कम छैन यो महानगरपालिका । सफल कार्य सम्पादनका लागि प्रमुखका हैसियतले मानव, वित्तीय र परियोजना व्यवस्थापनको आधारभूत ज्ञान, अनुभव हुनुपर्ने नै हुन्छ अथवा विशेषज्ञहरूको सहयोग लिनुपर्ने देखिन्छ । बालेनले हालसम्म सोको प्रदर्शन गर्न सकेको देखिएन । २५ अर्ब सदुपयोग गर्ने हो भने त्यस्तै कार्यक्रम र योजना ल्याउनुपर्ने हुन्छ । सरसर्ती हेर्दा महिनाको दुई अर्ब अर्थात् दैनिक ६.७ करोड खर्च गर्नुपर्ने हुन आउँछ । के महानगरसँग सो खर्च गर्ने कार्यक्रम, क्षमता छ र भइरहेको राखेको छ ? अहिलेको कार्यदिशा हेर्ने हो भने सानातिना माछा समात्नेमा धेरै समय खर्चेको देखिन्छ भने ठूलो माछा (मेघा परियोजना)सम्म पुग्ने कहिले होला ? सदुपयोग गर्न असमर्थ भए नगरवासीप्रति अर्को ठूलो अन्याय हुनेछ । सदुपयोगको नाममा जथाभावी खर्च गर्ने अधिकार राख्दैन ।
काठमाडौंवासी महानगरको समग्र विकास गर्न सक्ने अब्बल, जनप्रेमी, योग्य, इमान्दार, दूरदर्शी नेता चाहेको थियो र छ । झन्डै तीन दशकदेखि जनताले योग्य नेता पाउन नसकेको पक्कै हो । इग्लिसमा भनिन्छ ‘बिहानीले दिन देखाउँछ ।’ अहिले त दुई वर्ष पूरा भइसकेको छ । अनुभव त भइसकेको छ । नगरवासी चिन्तित हुन थालेको देखिन्छ ? बालेनले राम्रो व्यवस्थापन गर्न सकिएन भने बालेनको केही बिग्रिँदैन तर काठमाडौं महानगरको बिग्रिन्छ, नगरवासीले समृद्धि हुनेबाट बञ्चित हुनुपर्ने हुन्छ र अर्को पाँच वर्ष दुःख पाउनुपर्ने र नयाँ नेता कुर्नुपर्ने हुन्छ ।
वडामा राम्रो गरेको पनि नभएको होइन तर ओझेलमा परेको देखिन्छ । खासगरी केन्द्रबाट सञ्चालित परियोजनाहरूमा भने केही वडाप्रमुखबाहेकको सहभागितामा कमी देखिन्छ । सम्पूर्ण वडाध्यक्षहरूले टुलुटुलु नहेरी सक्रिय भूमिका खेल्नुपर्छ र काठमाडौं प्रमुखको गलत निर्णय, योजनाहरूलाई सच्याउन मद्धत गर्नुपर्ने देखिन्छ र बालेन पनि आफ्नो कमजोरीहरूको पहिचान गरी सच्चिनुपर्ने देखिन्छ । अझ समय बाँकी छ ।
विगतका विभिन्न घटनाक्रमहरू हेर्दा बालेन लगामविनाको घोडाजस्तै व्यवहार गरेको भनिन्छ । कार्य योजना तथा जनतासँग संवाद, सहभागिताविना जे मनमा आयो गर्ने । आफ्नो अधिकार क्षेत्रबाहिर गई काम गर्ने गरेको गुनासो सुनिन्छ । धम्की दिने, निहुँ खोज्ने झगडा गर्ने, जे पायो सामाजिक सञ्जालमा लेख्ने यो कदापि महानगरीय अभिभावकको हिसाबले सुहाउँदैन र लगाम लगाउनु नै पर्छ । ठूलो अभिभारा लिने हो भने युवा हो समय छ प्रधानमन्त्री बन्न सकिन्छ तर आफूलाई सुधार्नुपर्छ । अनि युवा वर्ग हालको गतिविधिबाट के सिक्ने ? युवामा धेरै जोश हुने राम्रो कुरा हो तर होस् गुमाउनाले केही समय तहल्का पनि मच्चिएला, भाइरल पनि होला । अन्तमा आफ्नो गन्तव्य पुगिन्छ भन्न सकिन्नँ मात्र होइन दुर्घटना समेत हुन सक्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
लेखाइ राम्रो छ। उत्तीर्णाङ्क प्राप्त गर्दछ।