Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंरक्षण र प्रवर्द्धनको पर्खाइमा यार्सागुम्बा

संरक्षण र प्रवर्द्धनको पर्खाइमा यार्सागुम्बा


काठमाडौं । कुनै पनि देशको चौतर्फी विकासका लागि विपुल सम्भावनाको व्यावहारिक उपयोग गर्न नित्तान्त आवश्यक छ । यस सन्दर्भमा वनस्पति पनि महत्वपूर्ण सम्भावना भएको एक क्षेत्र हो । यसको के–कति महत्व छ भन्ने कुरा यार्सागुम्बाको उच्च बजार, मूल्य र भागबाट प्रष्ट हुन्छ ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँ विभिन्न किसिमका जडिबुटीहरू पाइन्छन् जसमध्ये यार्सागुम्बा पनि एक हो । यसलाई छोटकरीमा यार्सा भनिन्छ जसको स्वरूप आधा वनस्पति र आधा किराजस्तो हुन्छ । यो जाडोमा किरा र गर्मीमा घाँस बन्छ । त्यसैले यसलाई एक अनौंठो प्रजातिको मिश्रित जीव मानिन्छ ।

झन्डै दुई शताब्दीअघि चीनको तियान भन्ने व्यक्तिले यार्सागुम्बालाई सर्वप्रथम एक शक्तिवद्र्धक जडीबुटीको रूपमा प्रमाणित गरेका थिए । त्यसपछि विश्वका केही देशमा यसको सेवन विस्तारै बढ्न थाल्यो र थोरै वर्षपछि यसलाई एक महँगो जडिबुटीको रूपमा मान्न थालियो ।

विशेषतः यार्सागुम्बाको खास बजार हङकङ र ताइवान हो । तर हाल सिङ्गापुर र तिब्बतमा पनि यसको व्यापार बढ्न थालेको छ ।

यार्सागुम्बाको माग विश्वभरि नै दिनदिनै बढिरहेको छ । यो विशेषतः नेपाल, भुटान र चीनको केही प्रान्तहरूमा पाइन्छ ।

यो नेपालको हिमाल र पहाडी जिल्लाहरूको ठण्डा ठाउँ र लेकमा पाइन्छ । यो खास गरी जुम्ला, मुगु र डोल्पा, मुस्ताङ, म्याग्दी, दार्चुला, बझाङ, रसुवा, गोर्खा, रुकुम र लमजुङ जिल्लामा पाइने हुनाले यी जिल्लाहरूमा प्रत्येक वर्ष हजारौं व्यक्तिहरू यार्सागुम्बा संकलनका लागि जम्मा हुन्छन् । केही दशकयता यो जडीबुटी स्थानीय व्यक्तिहरूका लागि मात्र नभई यसको व्यापार गर्ने व्यक्तिहरूको लागि पनि एक भरपर्दो आयस्रोत भएको छ ।

साधारणतः नेपालमा यार्सागुम्बा वैशाखदेखि साउन महिनासम्म संकलन गरिन्छ । परन्तु, यो काम सोचेअनुरूप सहज छैन । एकतर्फ यसको पहिचान गर्न सजिलो छैन भन्ने अर्कोतर्फ एक किलो यार्सागुम्बा जम्मा गर्नु सात–आठ व्यक्तिलाई सरदर एक महिना लाग्छ । यसको लागि धेरै परिश्रम र धैर्यता चाहिन्छ । जुन धेरै व्यक्तिहरूमा कमी छ ।

नेपाल एक अतिकम विकसित राष्ट्र भएकाले यहाँका हिमाली र पहाडी जिल्लाहरूमा गरिबी जताततै व्याप्त छ । सरकारले गरिबी न्यूनीकरणका लागि केही प्रयास गरे पनि आजसम्म पनि यहाँका जनतालाई जीविकोपार्जन गर्न कठिन छ । यसै सन्दर्भमा यार्सागुम्बा संकलनले यहाँका जनतालाई जीविकोपार्जन गर्न केही सघाउ प्रदान गरेको छ ।

केही वर्षयता यहाँको हिमाली तथा पहाडी जिल्लाहरूमा प्राथमिक तथा माध्यमिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा संकलनमा संलग्न हुन थालेका छन् । फलतः यी जिल्लाहरूमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसबारे सरकारको लगानी केही मात्रामा भए पनि खेर गए पनि स्थानीय जनताको जीवनयापनको लागि आवश्यक भएको छ ।

प्रत्येक वर्ष यार्सागुम्बा संकलन गर्न जाने व्यक्तिहरूले खाने र बस्ने समस्याहरू सामना गर्नुपरेको छ । तसर्थ, उनीहरूमध्ये केही बिरामी हुन्छन् भने केही अकालमा मर्छन् । यसबाट प्रत्येक वर्ष देशको क्षति हुने गरेको छ ।

वर्तमान समयमा अन्तर्राष्ट्रिय बजारमा यार्सागुम्बाको माग तीव्ररूपले बढेकाले यसको मूल्य पनि निकै नै बढेको छ । तर सबै यार्सागुम्बाको गुणस्तर समान नहुनाले सबैको मूल्य समान हुँदैन । हालै गुणस्तरको एक किलो यार्सागुम्बा अन्तर्राष्ट्रिय बजारमा बाह्र लाखसम्म बिक्री हुन्छ । यसबाट व्यक्ति तथा देशलाई समेत धेरै फाइदा हुनेछ ।

नेपालको यार्सागुम्बा खास गरी ताइवान, हङकङ, सिङ्गापुर र तिब्बतमा निर्यात गरिन्छ । तर विगतमा यसलाई तिब्बतमा निर्यात गर्दा बढी फाइदा भएको छ । किनभने यहाँ प्राप्त हुने यार्सागुम्बाको मूल्य अन्य देशहरूको तुलनामा केही बढी छ ।

यार्सागुम्बालाई बहुउपयोगी जडीबुटी मानिए पनि यो कुन–कुन कामको लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा आजसम्म पनि कुनै पनि देशमा अनुसन्धान गरिएको पाइँदैन । यद्यपि, केही वर्षयता आयुर्वेदमा यसको प्रयोग बढेकाले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढेको हो । तर, भविष्यमा यसको उपयोगिताबारे अध्ययन अनुसन्धान गर्न नित्तान्त आवश्यक छ । यसको लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु जरुरी छ ।

केही वर्षअघि यहाँका हिमाली तथा पहाडी जिल्लाहरूमा प्रशस्त मात्रामा यार्सागुम्बा पाइन्थ्यो । तर, पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन तथा अवैज्ञानिक तरिकाले संकलन गर्नाले यी जिल्लाहरूमा यार्सागुम्बाको उत्पादन घट्न थालेको छ । केही जिल्लाका केही ठाउँमा त संकलन गर्न जाने धेरै व्यक्ति रित्तो हात पनि फर्किनु परेको छ । त्यसैले, भविष्यमा यार्सागुम्बा संकलनकर्ताहरूलाई सम्बन्धित स्थानीय निकायमार्फत वैज्ञानिक तरिकाबाट संकलन गर्ने ज्ञान दिनु आवश्यक छ । अन्यथा उक्त जडीबुटी विस्तारै लोप हुँदै जानेछ ।

आज विश्वको अर्थतन्त्र शिथिल अवस्थामा छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धिदर न्यून रहने र सन् २०२४ मा केही सुधार हुने प्रक्षेपण गरेको छ । परन्तु, केही समयअघि रुस र युक्रेनबीच भएको युद्धको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि एवं आपूर्तिमा कमीजस्ता कारण मुद्रास्फीति उच्च रहनुका साथै बैंकहरूको ब्याजदर वृद्धि हुनाले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त नै छ ।

निःसन्देह विश्व अर्थतन्त्रले झेल्दै आएको उच्च मुद्रास्फीतिको स्थितिमा केही सुधार नभएको होइन । यद्यपि कर्जाको मूल्यमा अनिश्चितता, रुस र युक्रेनबीच जारी रहेको युद्ध आर्थिक मन्दीको सामना गर्न अवलम्बन हुन नीतिगत लचकताका कारण भविष्यमा विश्वमै मुद्रास्फीति बढ्न सक्ने जोखिम अझ पनि छ ।

आजसम्म विश्व अर्थतन्त्रमा मुद्रास्फीति उच्च रहेको र विद्यमान भू–राजनीतिक तनावका कारण इन्धन तथा अन्य वस्तुहरूको मूल्यवृद्धि अझसम्म पनि कायमै छ । यसबाट विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकाले नेपाल पनि अछुतो रहन सकेको छैन । यहाँको अर्थतन्त्रमा सुधार ल्याउन यार्सागुम्बाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

यथार्थतः यार्सागुम्बा नेपालको सम्पत्ति हो । यसबाट यहाँको अर्थतन्त्रमा केही योगदान पुग्ने हुनाले यसको संवद्र्धन तथा प्रवद्र्धन गर्न नित्तान्त आवश्यक छ । जसको लागि सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x