Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचिनियाँ पर्यटक बढाउन हवाई उडानमा ‘फोकस’ गरौँ

चिनियाँ पर्यटक बढाउन हवाई उडानमा ‘फोकस’ गरौँ


काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड–१९ अघिसम्म नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको धेरै संख्यामा भारतीय पर्यटकपछि सधैँ चिनियाँ पर्यटक हुने गरेको थियो । यो क्रम सन् २०१०–११ देखि सुरु भयो भने सन् २०१३ देखि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्या एक लाख नाघ्न थाल्यो । त्यस्तै, गरेर सन् २०१९ मा सबैभन्दा धेरै एक लाख ६९ हजार पाँच सय ४३ जना चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरे । तर सन् २०१९ को डिसेम्बर अन्तिममा विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ पछिको जुन चार वर्षको समय बित्यो, त्यो समयमा भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात् तेस्रो, चौथो, पाँचौँ, छैठौँ र…स्थानमा झर्यो । हुन पनि कोरोना महामारी सुरु भएपछि नेपालको पर्यटन क्षेत्रमा मात्रै नभएर विश्व पर्यटन बजारमै एक किसिमको सन्नाटा छायो । तापनि सन् २०२३ माचाहिँ सन् २०१९ को नजिक पुग्न लागेको अवस्था रहेको छ, विश्व पर्यटनको अवस्था ।

जे भए पनि चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि चिनियाँ पर्यटकहरू विश्वकै धेरै (संख्याका साथै धेरै खर्च गर्ने) पर्यटकका रूपमा दरिएका छन् । त्यही भएर पनि विश्वका विभिन्न देशले आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए–थालेका छन् । जस्तो कि यहाँ एक उदाहरण दिनुपर्दाखेरि पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्षअघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नो देश घुम्न दिने गरेको छ । त्यसैगरी सन् २०२२ को अन्तिम ताका ट्रिप डट कमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बरमसम्म (जुनबेला कोरोना महामारी साम्य भएको भनी औपचारिकरूपमा घोषणा भएको थियो) दुई सय ५४ प्रतिशत चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि ‘एयर टिकट’ काटेको तथ्याङ्क रहेको थियो ।

त्यसैले यो पङ्क्तिकारको विचारमा चाहिँ हामीले आगामी दिनमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने सहरहरू चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिनलगायत सहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै, अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरू साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, शाङ्घाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा हप्ताको दुई–तीन उडान गराउनका पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै कम्तीमा पनि २०–२२ देखि ३२–३४ उडान गर्न सके झनै राम्रो हुन्छ । तर त्यसअघि हामीले प्रचारप्रसारमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

त्यसो त सन् २००३ को सुरुदेखि मात्रै चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल आउन थालेका हुन् । त्यसो भए पनि सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ पर्यटकहरू नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो, गएको चार वर्ष (सन् २०२०, २०२१, २०२२ र २०२३ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशका नागरिकहरूलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेश घुमिरहेका र सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरूले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ । सन् २०२३ को १२ महिनामा नेपाल भ्रमण गर्न आएका चिनियाँ पर्यटकको संख्या अर्थात् तथ्याङ्क तल उल्लेख गरिएको छ ।

जनवरी महिनामा एक हजार चार सय ३६ जना । फेब्रुअरी महिनामा दुई हजार दुई सय ६६ जना । मार्च महिनामा दुई हजार छ सय ३५ जना । अप्रिल महिनामा चार हजार सात सय ७० जना । मे महिनामा चार हजार छ सय ६७ जना । जुन महिनामा चार हजार तीन सय ४२ जना । जुलाई महिनामा पाँच हजार पाँच सय ९३ जना । अगस्ट महिनामा पाँच हजार २७ जना । सेप्टेम्बर महिनामा आठ हजार एक सय ७४ जना । अक्टोबर महिनामा छ हजार आठ सय ८० जना, नोभेम्बर महिनामा सात हजार छ सय एक जना र डिसेम्बरमा सात हजार तीन सय ७० जना । यसरी हेर्दा सन् २०२३ मा ६० हजार चानचुन चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । अर्को भनेको तथ्याङ्ककै कुरा गर्दा सन् २०२३ मा दुई महिना मात्रै चिनियाँ पर्यटकले नेपालमा दोस्रो स्थान ओगट्यो । त्यसपछि तेस्रो, चौथो, नवौँ र ११ औँ स्थानसम्ममा झरेका थिए । जुन तथ्याङ्क साह्रै नै दुःखद् तथ्याङ्क हो भन्न सकिन्छ । किनभने चीन सरकारले १५ मार्चदेखि दोस्रो पटक आफ्नो देशका नागरिकहरूलाई पर्यटक भई घुम्न अनुमति दिएको देशहरूमा नेपाल पनि परेको थियो, छ । त्यसपछि चकाचक चिनियाँ पर्यटकहरू नेपाल भ्रमण गर्न आउलान् भन्ने जुन अपेक्षा गरिएको, त्यस्तो भएन । हुन त पछिल्लो पटक आएको एक समाचारअनुसार जति सक्दो धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउनका लागि सन् २०२५ मा चीनमा नेपाली पर्यटनलाई प्रवर्द्धन गर्न भनेर ‘नेपाल पर्यटन वर्ष–२०२५’ मनाउने घोषणा गरिएको छ । निश्चय नै यस्तो कार्यले नेपालमा चिनियाँ पर्यटकहरूको आगमन दरमा बढोत्तरी हुने आशा गर्न सकिन्छ । तथापि पनि हामीले तत्कालै सोच्नुपर्ने एवम् कदम चालिहाल्नुपर्ने विषयचाहिँ नेपालको काठमाडौं, पोखरा र भैरहवाबाट माथि नै उल्लेख गरिएका चीनका ठूला–ठूला र घना जनसंख्या भएका विभिन्न सहरहरूमा हवाई उडान जतिसक्दो छिटो गर्ने कुरोलाई नै ‘फोकस’ गर्नु देखिन्छ, प्राथमिकता दिनुपर्ने देखिन्छ ।

त्यसो गर्न सके मात्रै नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या ठूलो पैमानामा बढ्न सक्ने आशा गर्न सकिन्छ । भलै यो बीचको समयमा अनेक कारणहरूले गर्दाखेरि हामीले सोचे जसरी र भने जसरी चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आएनन्, आउन सकेनन् । तर पनि हामीले चीनका आगामी दिनमा अहिलेको भन्दा चार, पाँच गुण बढीले चिनियाँ पर्यटकको नेपाल आगमन हुने आशा गर्न सकिन्छ । यसरी हेर्दा पछिल्लो पटक चीन सरकारले आफ्ना देशका नागरिकलाई दुई चरणमा गरेर विश्वका विभिन्न देशमा समूहमा भ्रमण गर्न जान अनुमति दिएको ४०+२० वटा देशमा नेपाललाई पनि पारेकोमा त्यसका लागि हामीले चीन सरकारलाई धन्यवाद दिनुपर्छ । साथै, पछिल्लोपटक ‘कोटरी’ले सन् २०२३ मा एक सय १० (११०) मिलियन चिनियाँ पयर्टक विश्व भ्रमण गर्न निक्लने जुन प्रक्षेपण गरेको छ, ती एक सय १० मिलियन चिनियाँ पर्यटक कहाँ जालान् ? सबै देशका सरकार प्रमुख, पर्यटन व्यवसायी र पर्यटनविद्हरूको नजर चिनियाँ पर्यटकमाथि परेको देखिन्छ । त्यसैले हामीले पनि सन् २०२३ मा विश्व भ्रमण गर्न निक्लने एक सय १० मिलियन चिनियाँ पर्यटकमध्ये शून्य दशमलव एक प्रतिशत चिनियाँ पर्यटकलाई मात्रै पनि नेपाल भ्रमण गर्नका लागि आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि ठूलो उपलब्धि हुने थियो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x