Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनरेन्द्र मोदीबाट नेपालले सिक्नुपर्ने विकासको पाठ

नरेन्द्र मोदीबाट नेपालले सिक्नुपर्ने विकासको पाठ


काठमाडौं । नेपालका दुई छिमेकी भारत र चीनमा अलग राजनीति प्रणालीका असमानताबीचमा एउटा समानता पनि छ । त्यो समानता भनेको दुवै देशका नेता लोकप्रिय छन् आ–आफ्नो देशमा । दुवै देशका नेता शक्तिशाली छन् आ–आफ्नो देशमा । त्यसरी नै दुवै देशका नेताले आ–आफ्नो मुलुकलाई सबै किसिमले बलियो बनाउन अथक र इमान्दारीपूर्वक काम गरिरहेका छन् र दुवै नेताले आ–आफ्नो लक्ष्य हासिल गर्न सफल र व्यवहारबाट प्रमाणित भएकाले दुवै नेतालाई उनीहरूका देशका जनताले विश्वास गरेर सत्ताको जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन् र लाग्छ अझै लामो समयसम्म दिन पनि सक्छन् । यदि यी नेताहरू उनीहरूको देशका लागि यसरी नै प्रभावशाली काम गरिरहन सक्षम भइरहन्छन् भने । यी नेताहरू हुन् चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमत्री नरेन्द्र मोदी । यो लेखमा चीनका नेता सि जिङ पिङलाई चीनतिरै छोडेर हामी भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न र खोतल्न लागौँ ।

भारतका प्रधानमन्त्री सत्तामा बसेर लोकप्रियता नगुमाउने बरु सत्ताबाट लोकप्रियता कमाउने थोरै नेताहरूमा पर्छन् । उनले यो तथ्यलाई आगामी निर्वाचनमा पनि प्रमाणित गर्न सक्छन् भन्ने धेरैले अनुमान लगाएका छन् । मोदी भारतमा त्यति सजिलै प्रधानमन्त्री पदमा पुगेका होइनन् । प्रधानमन्त्रीमा पुग्न अथवा प्रधानमन्त्री पदको दाबी पेस गर्न नरेन्द्र मोदीले गुजरातको सफल र चर्चित मुख्यमन्त्री नरेन्द्र मोदीको कार्यकाल पेस गरेका थिए । आज यिनै भारतका सफल र प्रभावशाली नेता नरेन्द्र मोदीले मुख्यमन्त्री र प्रधानमन्त्रीको रूपमा काम गरेर कसरी सफलता र लोकप्रियता हासिल गरे भनेर चर्चा गरौँ । जसले मुलुक कसरी बनाउनुपर्छ भन्ने ज्ञान हाम्रा नेतालाई थोरै मिलोस् भनेर मोदीबारे केही शब्द खर्चिन गइरहेको छु । धन्यवाद ! दरबार हाइ स्कुलको पुस्तकालय जसले मलाई मोदीबारे थप जानकारी पाउने पाठ्यसामग्री दिएर सहजीकरण गरिदियो ।

मोदी काम देखाएर आफूलाई प्रधानमन्त्रीको लागि योग्य उम्मेदवार बनाएर प्रधानमन्त्रीको पद प्राप्त गरेका नेता हुन् । मोदी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभन्दा पहिला उनीले गुजरातको मुख्यमन्त्री भएर काम गरेको लामो अनुभव बटुलेर ख्याती कमाएका थिए । गुजरातको मुख्यमन्त्रीकाल अरू मुख्यमन्त्रीजस्तो सामान्य मुख्यमन्त्रीकाल नभएर विशेष चर्चाको मोदीकाल भएको थियो । मोदीको मुख्यमन्त्रीकाल गुजरातको विकासकाल थियो । गुजरातको विकास मोदी मोडल भनेर पनि चर्चित भएको थियो ।

नरेन्द्र मोदीले २००२, २००७ र २०१२ सालमा गुजरातको विधानसभामा चुनिएका थिए । उनी मुख्यमन्त्री भने २००१ अक्टोबर ७ मा भएका थिए । भाजपाले तत्कालीन मुख्यमन्त्री केशुभाइ पटेललाई हटाएर नरेन्द्र मोदीलाई गुजरातको मुख्यमन्त्री बनाएको थियो । त्यसपछि भएका हरेक निर्वाचन पछि उनी गुजारातका मुख्यमन्त्री भएका थिए । उनले गुजरातको चार कार्यकाल बिताए । उनको पहिलो मुख्यमन्त्रीकालले दोस्रो मुख्यमन्त्रीकालको आधार तयार गरेको थियो । दोस्रो कालले तेस्रो कालको आधार तयार गरेको थियो र चौथो कार्यकालले प्रधानमन्त्रीको आधार तयार गरेको थियो । यसले पनि पुष्टि गर्छ कि नरेन्द्र मोदी जनताले चाहेका र जनताले अनुमोदन गरेका मुख्यमन्त्री थिए ।

गुजरातको मुख्यमन्त्री भएपछि मोदीले आफ्नो सबै ध्यान विकास र जनताको जीवनस्तर उठाउने काममा केन्द्रित गरे । गुजरात विकासको मोडलले भारतभित्र र बाहिर सबैको ध्यान आकर्षित गर्न सफल भएको थियो । मोदी गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिला गुजरातमा गहुँको उत्पादन ८० लाख टन रहेछ । मोदीको कार्यकाल सकिदा त्यो बढेर चारसय लाख टन भएको थियो । यो आश्चर्यजनक फड्को थियो । यही अनुपातमा कृषिका अन्य सबै वस्तुहरूको उत्पादन बढेको थियो । २००३ मा गुजरातको विद्युत् उत्पादन नौ हजार मेघावाट थियो । १० वर्षपछि अर्थात् २०१३ मा आइपुग्दा त्यो बढेर झण्डै २४ हजार मेघावाट पुगेको थियो ।

यसले थाहा हुन्छ गुजरातलाई विकासमा मोदीले कसरी फड्को मराएका थिए भनेर । गुजरातमा मोदीको कार्यकालमा दोहोरो अंकमा अर्थात् १० प्रतिशतभन्दा बढीले विकास भएको थियो । २००५ र २००६ मा त १५ प्रतिशतले विकास भएको थियो । समग्र कृषि उपजमा सय प्रतिशतले विकास भएको थियो । गुजरातमा बाह्य लगानीको बाढी नै ल्याएका थिए मुख्यमन्त्री मोदीले ।

गुजरातको मुख्यमन्त्री भएको चारवटै कार्यकालमा मोदीले ठूला योजना र साना योजना, ठूला लगानी र साना लगानी सहरको विकास र गाउँको विकासलाई अत्यन्तै सन्तुलित किसिमले अघि बढाएका थिए । मोदी गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिला गुजरातमा खानेपानी र सिँचाइको हाहाकार थियो । जमिनमुनिको पानी सकिएर इनारबाट पानी आउन छोडेका थिए । तलाउहरू सुक्दै गएका थिए ।

तलाउ पोखरीमात्रै होइन नदीहरूमा पानी घटेर बगरमा परिणत हुने क्रम बढिरहेको थियो । गुजरातका अठार हजार गाउँमध्ये नौ हजार गाउँमा सधैँ पानीको हाहाकार थियो । मोदीले विभिन्न ठाउँमा चेक ड्याम बनाएर जमिनमुनि पानी घुसाउने योजना बढाए । उनले कल्पनासार ठूलो परियोजना अघि सारे । उक्त परियोजनामा ६५ किलोमिटर लामो बाँध निर्माण गरे । त्यसमा ठूलो झरना बनाए । जसमा नर्मदा नदी समेत गरेर १२ नदीहरूको पानी जोडेर खसाले । जसबाटा बिजुली उत्पादन गरे सिँचाइ र खानेपानीको समस्या समाधान गरे ।

अब गुजरात अँध्यारो र खानेपानीको समस्यालाई मोदीले एकादेशको कथा बनाए । यो महत्वकांक्षी परियोजना सफल बनाउन लाखौँ जनसहभागिता पनि जुटाएका थिए । यो परियोजनापछि इनार तलाउहरूमा पुनः पानी भरिन थाल्यो सुकेका नदीमा पानी भरिन थाल्यो गुजरात हरियालीले भरिन थाल्यो । मोदीले गरे के हुँदैन भनेर प्रमाणित गरे । तीन सय ३२ किलोमिटर लामो नहर २१ वटा नदी पार भएर बग्ने रिचार्जवाला नहर गुजरातको अर्को आश्चर्य हो । मोदीले क्रान्तिलाई विकास बुझे रक्तपात बुझेनन् । काम समयमा नै सकाउने र गुणस्तरीय बनाउनेमा मोदीले ध्यान दिएकाले सबै काम समयमा नै सम्पन्न गर्न मोदी सफल भए । उनले सुशासनमा पनि त्यतिकै जोड दिएका थिए ।

मोदीको कार्यकालमा गुजरातमा ठूलै हिन्दु–मुसलमानको दङ्गा भयो । धेरै मान्छे मारिए । यसको पनि मोदीले कुशलतापूर्वक समाधान गरेर आफूलाई प्रमाणित गरेर देखाए । मोदीकै पालामा गुजरातमा विनाशकारी भुइँचालो आयो । यसको पनि उनले कुशलतापूर्वक समाधान गरे । मोदी गुजरातमा सबैभन्दा लामो मुख्यमन्त्री बन्ने रेकर्डधारी हुन् । उनी गुजरातमा चार पटक मुख्यमन्त्री भए । त्यो अवधिमा उनी भारतको नम्बर वान मुख्यमन्त्रीको धेरै पटक धेरै विधामा अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए । नरेन्द्र मोदी भारतका अनेक मुख्यमन्त्रीमध्ये नमुना र विकासका मुख्यमन्त्री भएकाले नै उनको पार्टी भारतीय जनता पार्टीले पुरस्कारस्वरूप उनलाई भारतको प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमियो र बहुमत पनि प्राप्त गर्न सफल भयो ।

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भएपछि भारतलाई एउटा शक्ति राष्ट्रको रूपमा खडा गरेर भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा उँचो बनाएका छन् । भारतलाई अन्तरीक्ष शक्तिमा स्थापित गरेका छन् । चन्द्रमामा मानवसहित सफल यान उतार्ने राष्ट्रको लाममा भारतलाई उभ्याउन उनी सफल भएका छन् । त्यस्तै, मंगल ग्रह तथा सूर्यमा समेत अध्ययनका लागि महत्वकांक्षी अन्तरीक्ष कार्यक्रम अघि सारेका छन् । चीनलाई जनसंख्यामा उछिनेर विश्वको सबैभन्दा जनसंख्या भएको मुलुक भएको भारत मोदीकै कार्यकालमा विश्वको तेस्रो आर्थिक शक्ति राष्ट्रको रूपमा उभिएको छ ।

मोदीको कार्यकालमा संविधान बनिने सवालमा मतभेद भएर नेपालमा नाकाबन्दी लगाउने काममा भारतले सहयोग गरेको थियो । सतहमा देखिने संविधानमा देखिने मधेश आन्दोलन भए पनि पर्दा पछाडि भारत थियो । मोदीले नेपालका नेतालाई नेपाललाई हिन्दुराष्ट्र बनाउने सुझाव दिएका रहेछन् तर नेपालका नेताले पश्चिमाको सुझावलाई मानेर हतारमा धर्मनिरपेक्ष संविधान घोषणा गरेकोले मोदी रिसाएर मधेसीलाई उचालेर नाकाबन्दी लगाएको चर्चा चलेको थियो । त्यसले नेपाल भारतको सम्बन्धमा निकै नोक्सान पुर्यायो ।

नरेन्द्र मोदी मुख्यमन्त्रीदेखि प्रधानमन्त्री भएसम्म भ्रष्टाचारका कुनै काण्ड सुनिएका छैनन् । उनी भारतको हित र जितबाहेक केही सोच्दैनन् । भारतमा नेताहरू पनि उच्चस्तरका राजनीति संस्कार भएका रहेछन् । हाम्राजस्ता सरकारमा जान महिनैपिच्छे दल फुटाउनेस्तर नभएका रहेनछन् । भारतमा राजनीति स्थायित्व ल्याएका छन् मोदीले । हिन्दु सभ्यताको लहर ल्याएका छन् । अन्य भने मोदीसँग रिसाइका पनि छन् । तर विकास र सुशासनले मोदीले उनीहरूको मुखमा बुजो लगाएका छन् ।

मोदीले भारतीय जनताको मन जितेका रहेछन् भने आगामी चुनावमा पहिलाभन्दा बहुमतले दललाई जिताएर पुनः लोकप्रिय प्रधानमन्त्री होलान् मन जितेको रहेनछन् भने जनताले विपक्षी गठबन्धलाई सत्ता सुम्पेलान् । परिणाम पर्खिंनैपर्छ ।

देशको हित र जितमा कसरी काम गर्नुपर्छ स्वधर्म र संस्कृति बचाउन कति मेहनत गर्नुपर्छ कस्ता नीतिअघि सार्नुपर्छ कसरी सुशासनका लागि काम गर्नुपर्छ । सत्ताको खेलमा लाजमर्दो किसिमले लागिरहने राष्ट्रघात र भ्रष्टाचारका आरोप आलोपालो बोकिरहने नेपालका नेताहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट धेरै सिक्न सक्छन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x