Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयुवा विकासमा उद्यमशीलता तथा स्टार्टअप कार्यक्रमको महत्व

युवा विकासमा उद्यमशीलता तथा स्टार्टअप कार्यक्रमको महत्व


काठमाडौं । युवायुवती र किशोरकिशोरीले जनसंख्याले कुल जनसंख्याको झण्डै २४ प्रतिशत भाग ओगटेको छ । आगामी ३० वर्षसम्म अहिलेको किशोरीहरू प्रजनन्शील उमेरमा रहनेछन् । त्यस्तै, प्रकारले झण्डै २० प्रतिशत जनसंख्याको भार युवायुवतीले ओगटेका छन् । त्यसैगरी ध्यान दिनुपर्ने कुरा के छ भने अहिले नै प्रजनन्शील उमेरमा र जनसंख्या वृद्धिको कारकको रूपमा छन् । यदि जनसंख्या वृद्धिदरलाई कम गर्ने हो भने हाम्रो कार्यक्रम यी सबै समूहहरूमाथि केन्द्रित हुनु आवश्यक छ । राष्ट्रिय तथ्याङ् कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को मुख्य नतिजामा उल्लेख गरिएअनुसार कुल जनसंख्याको ६१ दशमलव ९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६ दशमलव ९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७ दशमलव ८३ प्रतिशत र १० दशमलव २१ प्रतिशत रहेको छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्षसम्मका उमेर समूहका मानिसहरूको समूह हो । विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यको दृष्टिकोणबाट १५ देखि २९ वर्षको उमेरसम्मका मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । नेपालमा यो कुल जनसंख्याको करिब २७ प्रतिशत जति पर्न आउँछ । नेपाली राष्ट्र सागर, २०५७ ले युवालाई तरुण, युवक, जवान, नवजवान भनी परिभाषित गरेको छ । यसैगरी अक्सफोर्ड डिक्सनरीले युवालाई ‘युथ द टाइम ह्वेन अ पर्सन इज योङ इस्पेसल्ली द टाइम बिफोर अ चाइल्ड बिकम एन एडल्ट’ भनेको छ । राष्ट्रिय युवा नीति २०६६ मा उल्लेख गरिएअनुसार युवा भन्नाले १६–४० वर्षको उमेर समूहका महिला, पुरुष तथा तेस्रो लिङ्गीहरूलाई जनाउनेछ ।

सरकारी तथ्याङ्कअनुसार करिब ५६ लाख युवाहरू वैदेशिक श्रम बजारमा रहेको देखिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा १५ देखि २९ वर्षका युवामा १९ दशमलव दुई प्रतिशत बेरोजगारी रहेको छ । त्यसैगरी प्रविधिको तीव्र विकास र उपभोक्ताको बढ्दो चाहनालाई सन्तुलन राख्न समेत नयाँ सोचको उद्यमशीलता जरुरी छ । छिमेकी दुई ठुला देशको बजार समेत अध्ययन गरी आर्थिक रूपान्तरण गर्न र रोजगारी सिर्जनाको लागि उद्यमशीलता र स्टार्टअप आजको आवश्यकता बन्दै गएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८० अनुसार निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २० दशमलव २७ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा निरपेक्ष गरिबी २४ दशमलव ६६ प्रतिशत र सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत रहेको छ । पन्ध्रौँ योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीको दरलाई नौ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य लिएको भए पनि कोभिड–१९ महामारी र विश्व परिघटनाबाट आपूर्ति शृङ्खलामा परेको प्रभावको कारण निरपेक्ष गरिबीको दर उच्च रहेको छ । प्रदेशगतरूपमा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गरिबीको दर राष्ट्रिय औसतभन्दा बढी रहेको छ ।

गरिबीको दर सुदूरपश्चिाम प्रदेशमा सबैभन्दा बढी ३४.१६ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम ११ दशमलव ८८ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा गरिबीको विषमता सबैभन्दा बढी आठ दशमलव ४१ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम दुई सय ३३ प्रतिशत रहेको छ । त्यसैगरी, गरिबीको गहनता सबैभन्दा बढी क्रमशः सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा रहेको छ ।

उद्यमशीलता यस्तो प्रक्रिया एवं श्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरू वितरित संसाधनहरू र मूल्यको सिर्जना गर्न सकिन्छ । त्यस्तो खालको मूल्यको सिर्जना समस्याको पहिचानमार्फत परिवर्तनको लागि गरिएको हुन्छ । जहाँ उद्यमीले समस्याहरू तथा अवसरहरू देख्ने गर्दछ र त्यसलाई पहिचान गरी उसले समस्याको प्रभावकारी समाधान खोज्ने गर्छ । उद्यमीले बजार क्षेत्रमा देख्ने अवसरहरू र ती अवसरलाई प्राप्त गर्न सक्ने श्रेयता र त्यही श्रेयता उचित समयमा उचित ठाउँमा गर्न सक्ने कौशलताबाट उसको उद्यमशीलता झल्कन्छ । ती समस्याहरूको समाधान गर्दै मूल्य सिर्जना गर्ने काम नै उद्यमशीलता हो । अर्को शब्दमा उद्यमीले गर्ने वा व्यवसायीले गर्ने हरेक काम र उसले चाल्ने कदम नै उद्यमशीलता हो । जुन सधैँ उसको सिर्जनशीलता, अनुसन्धान र आर्थिक रूपान्तरणको लागि एवं वित्तीय सुधारको लागि एउटा अनुसन्धान अन्वेषण एवं आविष्कार बन्न सक्छ । उद्यमी शब्द वास्तवमा अंग्रेजीमा फ्रान्सेली भाषाबाट लिइएको हो ।

उद्यमीले अर्थात् उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ । उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु¥याएको हुन्छ । यसले पैसा भएकाहरूलाई सिर्जनात्मक कार्यमा लगानी गर्न उत्प्रेरित र आकर्षित गर्दछ । उद्यमीहरूले नयाँ व्यवसाय प्रारम्भ गरेर रोजगारीका अवसरहरू सिर्जना गर्छन् ।

उनीहरू आफैं परिवारका सदस्य तथा समाजका अन्य व्यक्तिहरूलाई रोजगारी प्रदान गरेर राष्ट्रको बेरोजगारी समस्या हटाउन ठूलो सहयोग पुर्याउँदछन् । बेरोजगारी घटनाले मानिसको आम्दानी एवं जीवनस्तर बढ्छ । आज अल्पविकसित देशहरू बेरोजगारीको ठूलो समस्याबाट पीडित छन् । बेरोजगारी नै राजनीतिक अस्थिरताको जड पनि हो । फुर्सदले मानिसहरूलाई नकारात्मक काम गर्ने बनाइदिन्छ । उद्यमीले मानिसहरूलाई फुर्सद दिँदैन ।

विगत पाँच वर्षदेखि अध्ययन अनुसन्धान, नवप्रवर्तन, इन्क्युबेसन र उद्यमका क्षेत्रमा निरन्तर कार्यरत यो संस्थाले हालसम्म ६५ जिल्लाका युवामा आफ्नो पहुँच पुर्याई २,३०४ ओटा नवीन विचारबाट उत्कृष्ट विचार छनोट गरी एक सय ६० ओटा विचारलाई इन्क्युबेट गरिसकेको छ । राष्ट्रिय योजना आयोगको पहलमा अर्थ मन्त्रालयले नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि, २०७६ जारी गरी युवालाई उनीहरूको परियोजना प्रस्तावका आधारमा सुरुआती पुँजी उपलब्ध गराउने कार्यक्रम ल्याए पनि पहिलो पटकको प्रयास कोभिड १९ को विश्वव्यापी महामारीमा आशातित प्रस्तावना पर्न नसकेका कारण सफल हुन सकेन । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स वा अन्य कुनै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले निश्चित समयको अन्तरालमा नवप्रवर्तनको प्रतिस्पर्धा गराई इन्क्युबेसन प्रक्रियामा जान प्रोत्साहन गर्न सक्छन् । यसको साथसाथै विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले देशभरका कलेजका विज्ञान तथा प्रविधि विषयका विद्यार्थीलाई नवप्रवर्तन अनुदान उपलब्ध गराउने, प्रतिस्पर्धा गराउने र इन्क्युबेसन गराउन सक्छ ।

आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा नवीनतम् ज्ञान, सोच सीप र क्षमता भएको उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाहमार्फत सुरुवाती उद्यममा उत्प्रेरित गर्न स्टार्टअप उद्यम कर्जाकोष कार्यविधि, २०७९ स्वीकृत भएको छ । विज्ञान तथा प्रविधिको विकास, नवीनतम चिन्तनको अभ्यास, नवप्रवर्तनमा लगानीजस्ता सूचकहरूमा गरिएको लगानीले देशको विकासको अवस्था झल्काउँछ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनले ग्लोबल इनोभेसन इन्डेक्समा विश्वका एक सय ३२ देशहरूसँगै नेपालसहितको नवप्रवर्तनको अवस्था अध्ययन गरेकोमा नेपाल सन् २०२१ र २०२२ मा १११ औँ स्थानमा रहेको पाइनुले सन्तोषजनक अवस्था नरहेको जनाउँछ ।

वर्तमान पन्ध्रौ योजना २०७६–२०८१ मा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत उद्यमशील संस्कृति, उद्यमशील जनतालाई स्तरोन्नति गरी उच्चस्तरको जनस्तर उत्पादन गर्ने सोच राखिएको छ । त्यस्तै, सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने लक्ष्य पनि राखिएको छ ।

यसको साथसाथै उद्यमशीलता र स्वरोजगारमूलक सीपको विकास गर्नु, नवीनतम् र परम्परागत प्रविधिको उपयोग गर्न सक्ने उद्यमशील जनशक्तिको विकास गर्नु, उपलब्ध स्रोत साधन, स्थानीय पुँजी र प्रविधिको परिचालन गरी स्वरोजगार र रोजगारीका अवसर वृद्धि गर्दै गरिबी निवारणमा योगदान पु¥याउनुजस्ता उद्देश्यहरू पनि राखिएको पाइन्छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिइनुका साथै अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब विनियोजन गरिएको छ । कोष सञ्चालन गर्न आवश्यक कानुन तर्जुमा गरिनुका साथै सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने कार्यक्रम राखिएको छ । प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने नीति लिइएको छ ।

नेपाल सरकारले शिक्षणलाई एकीकृत ढाँचामा सञ्चालन गर्नका लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणितसँगसँगै जोडेर लैजाने नीति समेत लिएको छ । विद्यालयहरूले प्राविधिक धारका कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सिक्दै कमाउँदै कार्यक्रमजस्ता सङ्घीय सरकारबाट प्राप्त हुने कार्यक्रमहरूलाई र प्रदेश सरकारबाट प्राप्त भएका एक विद्यालय एक उद्यम कार्यक्रमलाई यसमा समेटेका छन् ।

कतिपय विद्यालयहरूले आफ्नै स्रोतबाट कार्यक्रम स्टिम कार्यक्रम, विद्यालय उद्यमशीलताका कार्यक्रमलगायतका अन्य नयाँ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हरेक वर्ष विज्ञान प्रदर्शनी, कृषि मेला प्रदर्शनी, कला प्रदर्शनीजस्ता कामहरू गरी आएका छन् । नवयुवाले रोबोट, गाडी, हेलिकोप्टरका नमुना बनाई प्रदर्शन पनि गर्ने गरेका छन् । विद्यालय शिक्षाको पाठ्यक्रमले व्यवहार कुशल सीप र जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्य राखेको छ । विज्ञान र प्रविधिलाई सानै कक्षादेखि सँगसँगै सिकाउने प्रयास गरेको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x