नियुक्तिपूर्वको शपथलाई किन भुल्छन् भ्रष्ट कर्मचारीहरू ?
काठमाडौं । सरकारी जागिर खानको लागि लोकसेवा आयोगको परीक्षा पास गर्नैपर्छ । पहिले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र लिखित परीक्षामा सामेल हुन पाइन्छ । प्रवेश परीक्षाका लागि पनि कम मेहनतको आवश्यकता पर्दैन । घोटिएर तयारी गरेपछि मात्र परीक्षामा उत्तीर्ण हुन सकिन्छ । प्रवेश परीक्षामा सहभागी कैयन परीक्षार्थीहरूबीच कडा प्रतिस्पर्धा गरेर उक्त परीक्षा उत्तीर्ण गरेपश्चात् लिखित परीक्षाका लागि पनि लगनशीलता र यथेष्ट पूर्वतयारी भएमा मात्र सहभागी हुनु जरुरी हुन्छ । लोकसेवा आयोगको परीक्षालाई केटाकेटीको खेल ठान्नुहुँदैन। प्रवेश परीक्षाअन्तर्गत धेरै प्रतिस्पर्धीहरूबाट छानिएपछि लिखित परीक्षाका लागि भने थोरै प्रतिस्पर्धीहरूसँग दिमागी भिडन्त गर्नुपर्ने हुन्छ । यसरी लिखित परीक्षा उत्तीर्ण भएपछि अन्तर्वार्तामा अझ थोरै परीक्षार्थीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । लिखित परीक्षाबाट छनौट भइसकेपछि अन्तर्वार्ताका लागि पुनः पूर्वतयारी गर्नुपर्ने हुँदा सोहीअनुसार अध्ययन गर्नु जरुरी हुन्छ। अन्तर्वार्ताका लागि नहडबडाइ आत्मविश्वासका साथ उपस्थित हुनु आवश्यक हुन्छ । मन–मस्तिष्कलाई स्वतन्त्र छोडिदिनुपर्छ त्यसलाई बन्धनमा पारेजस्तो गरिनुहुँदैन । ‘कस्तो प्रश्नहरू सोधिने हुन् ?’ भनेर सोँच्नुभन्दा त्यो सोँच्ने समयमा थप अध्ययन गर्नु बुद्धिमानी ठहर्छ ।
प्रवेश परीक्षा र लिखित परीक्षा तथा अन्तर्वार्ताबाट नियुक्तिका लागि छनौट हुने अर्थात् सरकारी जागिरका लागि सफलता प्राप्त गर्ने परीक्षार्थीहरू वा उम्मेदवार खुसीले गद्गद् हुनु सामान्य कुरा होइन । उनीहरूले आफूलाई प्रेरित गर्ने, पढ्नका लागि वातावरण बनाइदिने, संस्कार प्रदान गर्ने तथा आशीर्वाद दिने माता–पिता, गुरु र शुभचिन्तकहरूलाई सम्झनुपर्ने हुन्छ, जसले उसलाई सफलता प्राप्त गर्नका लागि विभिन्न समयमा र विभिन्न कोणहरूबाट अमूल्य सहयोग गरेका थिए ।
अन्तर्वार्तामा सफल भएपछि लोकसेवा आयोगको सिफारिससहित रिक्त दरबन्दी भएको निकाय वा मन्त्रालयमा छनौट भएका उम्मेदवारलाई पठाइन्छ र ती निकाय वा मन्त्रालयले आफ्नोमा रिक्त भए त्यहीँ र विभाग वा कार्यालयहरूमा भए त्यतै नियुक्ति दिएर पठाइन्छ । नियुक्तिपूर्व कर्मचारीले निरोगिताको प्रमाणपत्र र शपथग्रहण गरेको कागज पेश गर्नुपर्छ । शपथग्रहण यस्तो संहिता हो जुन कुनै पनि कर्मचारीले नियुक्ति भएदेखि अवकाश हुँदासम्म भुल्नुहुँदैन ।
तर जागिर खाने क्रममा नयाँ कर्मचारीहरूलाई वरिष्ठ कर्मचारीहरूले अवैध किसिमले धन कमाएको शहरमा घडेरी किनेको, आलिसान महल ठड्याएको, महँगो गाडी किनेको, मधेशमा बिघौँबिघा जमिन जोडेको, छोराछोरीलाई महँगो विद्यालय र कलेजमा पढाएको लगायतका कुराहरू जानकारी हुँदै जान्छ । कर्तव्यनिष्ठ र इमानदार कर्मचारीहरूले त आफ्नो छवि बचाउन उक्त अवैध काम गरेर भ्रष्ट बन्न आवश्यक ठान्दैनन् । तर कतिपय कर्मचारीहरूले नियुक्तिपूर्व ग्रहण गरेको शपथलाई भुलेर भ्रष्टाचारमा लिप्त भएको पाइन्छ । नेपालको कर्मचारी वृत्तमा पहिलेदेखि नै भ्रष्ट कर्मचारीहरूको दबदबा छ । उनीहरूको पहुँच माथिसम्म हुन्छ, चाहे त्यो प्रशासनिक होस् वा राजनीतिक । उनीहरूले प्रशासनिक कार्यमा जतिसुकै नकारात्मक कार्यहरू गरे पनि उनीहरू सुरक्षित हुने गरेको पाइन्छ । प्रायःजसो सानो र झिनामसिना भ्रष्टाचार गर्नेलाई समातिएको पाइन्छ भने ठूला महाभ्रष्टहरूलाई समातिएको कमै सुनिन्छ । सीमित भ्रष्ट कर्मचारीहरूले गर्दा अधिकांश इमानदार कर्मचारीहरूको मनोविज्ञानमा नकारात्मक असर परेको छ ।
सोझासिधा कर्मचारीलाई कार्यालय नभएको ठाउँमा समेत सरुवा गरेर दुःख दिने गरिन्छ भन्ने कुरा यो लेखक स्वयं एक उदाहरण हो । मलाई २०७५ सालमा बाराको सिम्रौनगढमा सरुवा गरियो । तर उक्त ठाउँमा मलाई पठाउने भनि तोकिएको कार्यालय २०७९ भदौमा मात्र स्थापना भयो । अर्थात् म अनिवार्य अवकाश भएको दुईमहिनापछि खडा भयो। राती नौ बजेसम्म मन्त्रालयमा खटेर काम गर्दा र सार्वजनिक बिदाका दिनहरूमा समेत विभागमा रहँदा खटेर काम गर्दा पनि मलाई कुनै पनि प्रोत्साहन नमिलेको र बेइमान कर्मचारीहरूले निजामती पुरस्कार पाएको थाहा छ । राष्ट्रपतिबाट सम्मानित भएकी मालपोत कार्यालय पाँचथरकी एक महिला मालपोत अधिकृत भ्रष्टाचारको आरोपमा अहिले मुद्दा खेपिरहेकी छन् । यस्ता कैयन भ्रष्टहरूलाई समातिएका खबरहरू आजकल विभिन्न सञ्चार माध्यमहरूबाट दिनहुँजसो पढ्न र सुन्न पाइन्छ ।
पीडित कर्मचारीलाई मानवीय व्यवहार गरिँदैनः
यो लेखकलाई २०७५ सालमा कार्यालय नभएको ठाउँमा सरुवा गरिएपछि एक वर्षसम्म तनाव भोग्नुपरेको हुँदा सामान्य प्रशासन मन्त्रालयमा बारम्बार गुनासो गर्दा पनि काठमाडौंस्थित कार्यालय भएको ठाउँमा सरुवा गरिएन । आफू सिकिस्त बिरामी भएको र मेडिकल बोर्डको सिफारिस पेश गर्दा समेत मलाई अनुकूल हुनेगरी सरुवा मिलाइएन । मेरो पिडा थाहा पाएका साथीहरूले भन्ने गर्थे– ‘पैसा खुवाउ न, भनेको निकायमा सरुवा भइहाल्छ नि !’ म कुनै एक मन्त्रालयमा कार्यरत रहँदा राम्रो काम गरेको भन्दै केही फटाहा कर्मचारीहरूलाई ग्रेड वृद्धि पुरस्कार दिनेगरेको पनि पाइएको थियो । जुन मैले सेवा अविधभर खटेर र डटेर काम गर्दा पनि पाउन सकेन ।
इमानदार नबन्न साथीहरूको सल्लाहः
मैले इमानदारीपूर्वक काम गरेको देखेर मन्त्रालयका सचिव, सहसचिव र उपसचिवहरू खुशी हुँदै मलाई बढी खोज्ने गर्नुहुन्थ्यो । मौखिकरूपमा स्याबासी पनि पाउँथेँ । यसरी मलाई मन पराएको सहन नसकी केही साथीहरूले मलाई ‘इमान्दार भएर काम नगर्दा हुन्छ, किन इमानदार भएर काम गर्नुप¥यो?’ भन्थे ।
चाकडी चाप्लुसी नै ठूलो योग्यताः
नेपालको प्रशासन क्षेत्र पहिलेदेखि नै चाकडी र चाप्लुसीबाट जकडिएको पाइन्छ । कृपावाद नै प्रशासनमा सबैभन्दा दोषी छ । हाकिमको नजिक जो पर्छ र चाकडी तथा चाप्लुसी गर्छ ऊ सधैं पुरस्कृत बन्छ । साथै, उसले स्याबासी पाउँछ र आकर्षक अड्डामा सरुवाका लागि प्राथमिकता पनि पाउँछ ।
पैसा भए सम्बन्धित पार्टी हुनुनपर्नेः
पैसा भएपछि सत्तासीन पार्टीको समर्थक नभए पनि सरुवा हुन्छ भन्ने नसुनिएको होइन । खासगरी मालदार अड्डाहरूमा सरुवा हुनको लागि सामान्य प्रशासन मन्त्रालयको गोप्य कोठामा नगद लेनदेन चल्दैआएको कुरा वर्षौं पहिलेदेखि नै सञ्चार माध्यमहरूले प्रकाशमा ल्याइरहेकै छन् ।
गञ्जागोल सामान्य प्रशासन मन्त्रालयः
सामान्य प्रशासन मन्त्रालयमा सधैं गञ्जागोल भएको देखिन्छ । सिंहदरबारको दक्षिण गेटदेखि सामान्य प्रशासन मन्त्रालयको मूलढोकासम्म सरुवाका लागि सधैं कर्मचारीहरूको सलबलाहट देखिन्छ । दुर्गमबाट आएका कर्मचारीहरूलाई बढी हैरानी खेप्नुपर्ने हुन्छ सरुवाका लागि । काठमाडौंको महँगीमा बाहिरका कर्मचारीहरू धेरै बस्न रुचाउने कुरै छैन। उनीहरूलाई काठमाडौंका होटलहरूको खाना र पानी पनि पच्दैन, पेट बिग्रिने र टाउको दुख्ने भइहाल्छ । किनकि राजधानी काठमाडौंमा प्राङ्गारिक खाद्यवस्तुहरू पाउन मुस्किल छ जुन गाउँमा सहजै पाइन्छन् ।
बदनाम मन्त्रालयः
सामान्य प्रशासन मन्त्रालयको छवि धेरै पहिलेदेखि नै राम्रो छैन, सधैं बदनामीमै चलिरहेको छ मन्त्रालय । फटाहा कर्मचारीहरू सल्बलाउने र सोझा र सिधासादा कर्मचारीहरूलाई दुःख दिने निकायको रूपमा चिनिन्छ सामान्य प्रशासन मन्त्रालय । त्यो मन्त्रालयमा रहने निष्ठुरी कर्मचारीहरूका कारण छट्टु कर्मचारीहरू मालदार अड्डाहरूमा पठाइन्छन् भने घरपायक खोज्ने बाहिरी जिल्लाका कर्मचारीहरूलाई नराम्ररी झुलाइन्छन् ।
घुस्याहा र दलालहरूकै हालिमुहालीः
भ्रष्ट र घुस्याहा कर्मचारीहरूकै कारण नेपालको प्रशासन क्षेत्रको छवि पहिलेदेखि नै धमिलिएको छ । नजिकका कर्मचारीहरूलाई मालदार अड्डाहरूमा सरुवा गर्नका लागि उनै भ्रष्टहरूबाटै चलखेल हुने गरेको पाइन्छ । कर्मचारीहरूको कुनै संगठनको सदस्यता प्राप्त गरेका त्यस्ता कर्मचारीहरू आफ्नो पार्टीको सरकार रहेको बखत रोजेको ठाउँमा सरुवा हुन्छ ।
वैशाखी टेकेर आउनेले पनि राहत नपाउनेः अशक्त, सुत्केरी, बिरामी र वैशाखी टेकेर आउने अपांग कर्मचारीहरूलाई पायक पर्ने ठाउँमा मिलाउनको लागि पनि अनेक बहाना बनाइन्छ । मनमा धर्मको बास नभएका उक्त मन्त्रालयका कर्मचारीहरूमा दयाको भाव देखिँदैन । अशक्तहरू सामान्य प्रशासन मन्त्रालयमा धाइरहेको दृश्यहरू सामान्य प्रशासन मन्त्रालयमा देखिइरहन्छन् । सोझा कर्मचारीहरूले आफ्नो मर्का मन्त्रालयको प्रशासनले नसुनेको गुनासो पनि गर्ने गर्छन् । यति मात्र होइन सोझा र इमानदार कर्मचारीलाई पाखा लगाइने काम पहिलेदेखि नै भइआएको छ । जुन साह्रै नै दुःखको कुरा हो ।
लेखापालहरूकै बदमासीः
लेखापालहरूले आफूलाई आफू कार्यरत कुनै पनि निकायको सेकेण्डम्यान ठान्छन् । उनीहरूको सिधा सम्पर्क कार्यालय प्रमुखहरूसँग हुने हुँदा अरू अधिकृत तथा कर्मचारीहरूलाई खासै टेर्दैनन् । यो लेखकले अलग–अलग समयमा आफू कार्यरत दुई निकायका लेखापालहरूमध्ये क्रमशः एक लेखापालले पोशाक भत्ता दिएका थिएनन् भने अर्का लेखापालले नागरिक लगानी कोष कट्टीबापतको रकम कोषमा दाखिला नगरिँदा दुई निकायका लेखापालबाट १६ हजार गुमाउनुपरेको थियो ।
हिँड्ने गोरुको पुच्छर निमोठ्नेः
इमानदार भएर काम गर्ने कुनै पनि कर्मचारीलाई कार्यालय प्रमुखले राम्रो व्यवहार गरेको पाइए तापनि निजामती पुरस्कार पाउने बेला बेइमान कर्मचारीहरूले पाउनेगरेको देखिन्छ । साथै, इमानदार कर्मचारीहरूलाई काममा घोटाउने र बेइमान र कामचोर कर्मचारीहरूलाई छाडा बन्न प्रश्रय दिनेगरेको पनि पाइन्छ । अर्थात् ‘हिँड्ने गोरुको पुच्छर निमोठ्ने’ उखान यहाँ चरितार्थ हुन्छ ।
समग्र कर्मचारीहरूको बदनामः
कोही कर्मचारीहरू भ्रष्ट छन् भन्दैमा समग्र कर्मचारीलाई भ्रष्ट ठान्नु मुर्खता हो। यहाँ धेरै इमानदार कर्मचारीहरू पनि छन् । कोही कोही भ्रष्ट र बेइमान छन् भन्दैमा सबैलाई त्यस्तै ठान्नु गलत सोचाइ हो भन्नुमा दुईमत छैन ।
पोशाक लगाएका कर्मचारीहरू दिउँदै बाटोमाः
कतिपय राष्ट्रसेवकहरू कर्मचारी पोशाक लगाएकै अवस्थामा बाटोमा हिँडिरहेका हुन्छन् । कोही कार्यालयमा हाजिर गरेर घरको कामका लागि हिँडेका पाइन्छन् भने कोही अनियमित कामका लागि सेटिङ मिलाउन कुनै रेस्टुरेन्टमा बसेका पनि हुन्छन् । कार्यालयबाट कुनै सप्लायर वा निर्माणकर्तालाई काम मिलाइदिँदा आउने कमिसनको कुराका लागि पनि कार्यालय बाहिरको खाजा घर वा रेस्टुरेन्टलाई रोज्नेगरेको पाइन्छ ।
सरकारी सवारी साधन दुरुपयोगः
कतिपय अधिकृतहरूलाई सरकारले दिएको सवारी साधनहरू जस्तैः मोटर र मोटरसाइकल व्यापकरूपमा दुरुपयोग हुने गरेको पाइन्छ । छोराछोरी विद्यालय वा कलेज पुर्याउन र ल्याउन समेत सरकारी सवारी साधनहरू प्रयोग गर्नेगरेको पाइन्छ। जुन एक किसिमको भ्रष्टाचार नै हो भन्नुमा फरक नपर्ला।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया