Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसृष्टि थाम्न सृष्टि कोष खडा गरौँ

सृष्टि थाम्न सृष्टि कोष खडा गरौँ


काठमाडौं । यदि महिलाहरूले बच्चा जन्माउन छोडे भने सम्झनुहोस् मानव जातिको अस्तित्व अन्त्य भयो । मानव जातिको अस्तित्व बाँचेको नै महिलाहरूले बच्चा जन्माउन मन्जुर भएकोले नै हो । यसबाट बुझ्नुपर्छ कि मानव जातिको अस्तित्वलाई निरन्तरता दिइरहन कति महान् योगदान रहेछ महिलाहरूको । यसलाई कसैले पनि गम्भीरतापूर्वक लिइएको पाइएको छैन । यदि कुनै महिलाले एकजना बच्चा जन्माइन् भने त्यो बच्चा उनको लागि मात्र जन्मेको हुँदैन । उनको लोग्ने वा बच्चाको बाउको लागि मात्र जन्मेको हुँदैन । उनको परिवार वा समुदायको लागि मात्र जन्मेको हुँदैन । उनको राष्ट्रको लागि मात्र जन्मेको हुँदैन । अन्तर्राष्ट्रिय जगतको लागि मात्रै जन्मिएको हुँदैन । साँचो अर्थमा मानव जातिको अस्तित्व थाम्नलाई मानव जातिको लागि नै जन्मेको हुन्छ । यसबाट बुझ्नुपर्छ कि बच्चा जन्माउने काम मानव जातिको लागि कति महत्वको काम रहेछ । प्रकृतिले भनौँ या भगवान्ले भनौँ महिलाहरूलाई बच्चा जन्माउने कति ठूलो जिम्मेवारी दिइएको रहेछ । यतातिर सबैको ध्यान गम्भीरताका साथ जानुपर्छ ।

भन्छन् नि ! सुत्केरी नहुनेलाई सुत्केरीको व्यथा थाहा हुँदैन । आमा हुनु हरेक महिलाको लागि गर्वको कुरो हो । जब महिलाले गर्भ बोक्छन् तब उनमा गर्वको क्रम बढ्न थाल्छ । जब उनी सफलताको साथ सन्तानलाई जन्मदिन सफल हुन्छिन् । उनमा खुसीको सीमा नै हुँदैन । तर यसमा आइपुग्न उनले ठूलै युद्ध जितेको जस्तो हुन्छ । एकजना महिला कयौँ मृत्यु जितेर मात्रै आमा हुन सफल भएकी हुन्छिन् । मान्छेले सोचेका हुन्छन् यो त सजिलो र सामान्य काम हो, स्वाभाविक काम हो । सामान्य काम भएकाले नै संसारमा यति धेरै मानिसको जनसंख्या भएको हो । तर तिनीहरूलाई यो थाहा छैन कि यति धेरै मानिस जन्माउँदा कति महिलाहरूले बलिदान दिएका छन् । कति धेरै सुत्केरी सहिद भएका छन् । तर कुनै राज्यले सुत्केरी सहिदको मान्यता दिएको छ कि छैन ? कुुनै राहत दिएको हुन्छ ? दिएको हुँदैन । कि त भगवान्को भर कि त आफन्तको भरमा महिलाहरूले सुत्केरी हुनुपरेको छ । यति ठूलो जोखिम र कष्ठ उठाएर ज्यान हत्केलामा राखेर महिलाहरूले सन्तान जन्माइदिएर वंश थामिदिएका छन्, परिवार थामिदिएका छन्, समुदाय थामिदिएका छन्, राज्य थाम्ने जनशक्ति दिएर राज्य थामिदिएका छन् । अझ यी सबैभन्दा माथि उठेर माथि लेखिएको कुरालाई दोहोर्याएर अझ ठूलो स्वरमा भन्दा समग्र सृष्टि थामिदिएका छन् । तर महिलाको यति ठूलो वा महान् योगदानलाई राज्य वा विश्व समुदायले कुनै उच्च मूल्याङ्कन गरेको छ त ? व्यवहारमा गरेको देखिँदैन । त्यसैले भनिएको हुनुपर्छ जननी जन्मूमिश्च स्वर्गदापी गरीयसी जहाँ नारी पुजिन्छन्, त्यहाँ ईश्वर रमाउँछन् ।

चीनले केही दशक अगाडि हरेक दम्पतीले एकजना बच्चा मात्र जन्माउन पाउने कानुन बनाएको थियो र व्यवहारमा कडाइका साथ कार्यान्वयन गरेको थियो । उसले जनसंख्या नियन्त्रणको लागि यो गरेको थियो । अहिले आएर चीनले महसुस गर्न थालेको छ कि यो नीति गलत भएछ । उसलाई थाहा भयो कि यो नीतिको कारणले चीनमा युवा पुस्ताको कमी र प्रौढ पुस्ता धेरै हुने परिस्थिति भएछ । जसको कारण चीनमा श्रम शक्तिको कमी हुने खतरा बढ्ने संकेत देखिन थालेछ । अझ चीनको चिन्ताको विषय के पनि देखिन थालेछ भने नयाँ पुस्ता विवाह नै गर्न नचाहने विवाह गरे पनि सन्तान जन्माउने चाहना नै नगर्ने । त्यस्तै, कामकाजी वा पढाइ सक्ने त्यसपछि रोजगारी चाहने महिलाहरूले कित ढिलो विवाह गर्ने कि त विवाह नै नगर्ने विवाह गरे पनि सन्तान नै नजन्माउने । यो चिन्ताको विषय भएकोले चीनले अनेक सहुलियत घोषणा गरेर उचित समयमा नै विवाह गर्न र सन्तान जन्माउन उत्प्रेरित गर्न थालेको छ । जापान र दक्षिण कोरियालाई यस्तै समस्याले पिरोल्न थालेको छ । युवाविहीन मुलुक भएर श्रमशक्ति वा जनशक्तिको अभावमा उनीहरू सबैका राष्ट्रिय लक्ष्य भताभुङ्ग हुने खतरा बढ्दो छ । यो उनीहरूको राष्ट्रिय चिन्ताको विषय भएको छ । युरोप र पश्चिमा मुलुकको अवस्था पनि यस्तै किसिमले देखापरिरहेको छ । यो त विवाह नै नगर्ने या त सन्तान नै नजन्माउने ।

माथि चीन, जापान, दक्षिण कोरिया आदि देशले महिलाहरूलाई उचित समयमा विवाह गर्न र उचित समयमा सन्तान जन्माउन प्रोत्साहनवापत अनेक अफर अघि सारेको उदाहरणले पनि के पुष्टि हुन्छ भने कुनै दम्पतीले सन्तान जन्माउँछन् भने त्यो सन्तान उनीहरूको मात्र होइन राज्यको पनि हो । अझ उनीहरूको भन्दा बढी राज्यको आवश्यकता पनि हो । उनीहरूले सन्तान जन्माएनन् भने यो उनीहरूको भन्दा राज्यको क्षति हो । धेरैले सन्तान जन्माएनन् भने राज्यको सुरक्षाका लागि जवानको अभाव हुन्छ । सबै क्षेत्रमा श्रमशक्तिको अभाव हुन्छ । उत्पादन र उत्पादकत्व घटेर राज्यका सबै क्षेत्रको आम्दानी घटेर राज्य आफै ढल्न सक्छ । यसले पुष्टि हुन्छ कुनै एकजना महिलाले जन्माएको सन्तान उनको मात्र होइन राज्यको लागि पनि हो ।

केही महिनाअघि रुसका राष्ट्रपति पुटिनले माग गरे कि हरेक रुसी महिलाले पहिलेको जस्तै कम्तीमा सातवटा सन्तान जन्माउन । सबैलाई थाहा भएको कुरो हो अहिले रुस युक्रेन युद्धमा फसेको छ । युक्रेनसँग मात्रै लड्नु परेको भए त रसियाले युद्ध केही महिनामा नै जितिसक्थ्यो होला । तर युक्रेनलाई अमेरिका तथा युरोपले पनि साथ सहयोग दिएकाले यो युद्ध लम्बिन गएको छ । यो युद्ध लम्बिने मात्रै नभएर फैलने खतरा पनि देखेर नै पुटिनले युद्ध जनशक्तिको लागि रसियाली महिलाहरूलाई सात वटाभन्दा बढी सन्तान जन्माउन आह्वान गरेको सजिलै बुझ्न सकिन्छ । अहिले नै युद्ध जनशक्तिको अभावमा रसियाले विदेशी भाडामा सेना खरिद गरिरहेको समाचारबाहिर आइरहेको छ । जसमा धेरै नेपालीहरू रसियाको लागि युद्ध मोर्चामा जीवन आहूति दिइरहेको दुःखद् समाचार आइरहेको छ । यसले पनि पुष्टि गर्छ कि जुनै पनि देशकी महिलाले जन्माउने सन्तान उनको लागि मात्रै नभएर राज्यको लागि पनि हो ।

अरू देशको मात्रै किन उदाहरण दिइरहने आफ्नै देश नेपालतिर फर्कऔँ न । नेपालमा पनि अहिले शिक्षित युवा महिलामा ढिलो विवाह गर्ने भरसक सन्ताज नजन्माउने अथवा किन विवाह गर्नु पर्यो किन सन्तान जन्माउनु पर्योजस्ता मानसिकता बढ्न थालेको पाइएको छ । यसले भोलि नेपालले सबै क्षेत्रमा जनशक्तिको चौतर्फी अभाव भएको अवस्थामा छट्पटिनु पर्नेछ । नेपालकी कुनै पनि महिलाले जन्माएको सन्तान अहिले नै न उनको न नेपालको भएको छ । उमेर पुगेपछि विदेशीको श्रमशक्ति हुने भएको छ । यसरी एकतिर नेपाली महिलाले कम सन्तान जन्माउने र जन्माएका पनि ठूलो भएपछि सबै विदेशतिर जाने र उतै बस्ने भएपछि नेपाल रित्तिने र सिद्धिने बाटोमा गइरहेको छ भनेरभन्दा यो बढाइचढाइ गरेको विश्लेषण न मानिएला ।

यीमाथिका नेपाललगायत अन्य केही मुलुकका उदाहरणलाई प्रतिनिधिमूलक उदाहरण मानेर विश्लेषण गर्दा हामी के कुरामा स्पष्ट हुनैपर्छ भने हरेक महिलाहरूले जन्माएका सन्तान उनको वा परिवारको लागि मात्र नभएर राज्यका लागि पनि हुन् । जब उनीहरूले जन्माएका सन्तान राज्यका लागि पनि हुन् भने राज्यको दायित्व गर्भवती महिला वा सुत्केरी महिलाको लागि हुनुपर्छ कि पर्दैन ? यसरी नै महिलाहरूले बच्चा जन्माउन छोड्दै गए भने भोलि राज्यको सुरक्षा निकायमा काम गर्ने जनशक्ति भएन भने राज्यको सुरक्षा कसले गर्छन् ? अन्य उत्पादनको क्षेत्रमा कसले काम गर्छ ? त्यसैले राज्य हुनलाई जनसंख्या चाहिन्छ । जनसंख्या हुनलाई महिलाहरूले सन्तानको जन्म दिनैपर्छ । सन्तान दिने महिलालाई राज्य थाम्ने जनशक्ति दिने महिला समेत ठानेर उनीहरूलाई राज्यले नीति बनाएर सहयोग दिनुपर्छ कि पर्दैन ? यो अहिलेको जल्दोबल्दो सवाल नै यही हो ।

मुस्लिम विश्वमा यो समस्या छैन होला । त्यहाँ बहुविवाह, अनमेल विवाह, बालविवाह व्याप्त छ । त्यहाँ परिवार नियोजन पनि धार्मिक कानुनले खासै लागू गरेको पाइएको छैन । मुस्लिम महिलाको जन्मदर अन्यको भन्दा धेरै देखिन्छ । त्यस्तै, धेरै गरिबहरू भएका अशिक्षित भएका मुलुकमा पनि जनसंख्या धेरै नै पाइन्छ । किनभने त्यहाँ पनि जन्मदर धेरै नै देखिन्छ । ढिलोछिटो यो क्षेत्रमा पनि माथि भनिएजस्तो सन्तान नपाउने वा कम पाउने क्रम बढ्न सक्छ ।

हरेक महिलाले जन्माएका सन्तान राज्यका पनि शक्ति मानिएपछि अझ अनिवार्य आवश्यक जनशक्ति मानिएपछि राज्यको यो क्षेत्रमा अनिवार्य ध्यान आकर्षित भएको हुनुपर्छ । राज्यलाई चाहिने आवश्यक जनशक्तिको निरन्तरताको लागि नेपाली महिलाहरूलाई सन्तान जन्माउन प्रोत्साहन दिन स्थायी प्रकृतिको सृष्टि कोष खडा गर्नुपर्छ । केही कुरामा स्थायी प्रकृतिको सृष्टिकर लगाएर यस्तो स्थायी कोष खडा गर्न सकिन्छ । जसको सदुपयोग विवाहित गर्भवती महिला वा सुत्केरी महिलालाई प्रोत्साहन गर्न सदुपयोग गर्न सकिन्छ । यो सृष्टि थाम्ने सृष्टिकर मानिन्छ । साथै, गर्भवती वा सुत्केरी महिलाहरूलाई प्याकेजमा नै अनेक सहुलियत सुविधा घोषणा गरिनुपर्छ । राज्यलाई सम्पन्न बनाउने परिस्थिति बनाएर विवाहित जोडीलाई स्वदेशमा नै रोजगारीको सुनिश्चित बनाएमा यसले सन्तान बढाउने परिस्थितिलाई सहयोग दिन्छ । अहिले त विवाह गरेको छोटो समयमा नै विदेश जाने र लामो समयसम्म भेटघाट सम्पर्क नभएपछि सन्तान जन्माउने क्रम घटेर गएको एउटा कारण हो । शिक्षा र स्वास्थ्य अतिमहंगो भएकोले पनि धान्न नसकिने निष्कर्ष निकालेर पनि सन्तान जन्माउन धेरै दम्पती अनिच्छिुक देखिन्छन् । राज्यले यसको ठोस समाधान खोज्नुपर्छ । आशा गरौँ राज्य चलाउने र नीति बनाउने र सम्बन्धित सबैको ध्यान यतातिर तानिने नै छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x