Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविप्रेषणमा गौरव गर्नु लाजमर्दो कुरा

विप्रेषणमा गौरव गर्नु लाजमर्दो कुरा


काठमाडौं । के नेपालीहरू विदेशमा गएर जोखिमपूर्ण र तल्लोस्तरको काम गर्नु राम्रो हो ? के वैदेशिक रोजगारको लागि देशमा युवाहरू रित्तिँदै जानु उत्तम कुरा हो ? के गाउँमा मलामी र जन्तीहरू घट्नु खुसीको कुरा हो ? के देशका सरकारी उद्योगहरू बन्द हुनु र निजी उद्योगहरूको हालत खराब हुनु उल्लेखनीय कुरा हो ? के नेपालीले नाइजेरियाको मकै भुटेर खानु खुसीको कुरा हो ? के देशभरका कैयन खेतबारीहरू बाँझो रहनु राम्रो कुरा हो ? विदेशमा ट्वाइलेट सफा गरेर आएको विप्रेषणमा खुसी मान्नु गौरवको कुरा हो ? यीलगायत कैयन तमाम प्रश्नहरूको जवाफ कसले दिने ? कता छन् ती अर्थशास्त्रीहरू ? कता छन् ती विश्लेषकहरू ? कता छन् ती विज्ञहरू ? अनि कता लुकेका छन् ती ‘विद्हरू’ ? जनताहरू त चुप लागेर देश जर्जर अवस्थामा पुगेको कुरा चुप लागेर र सहेर बसेका छन् । कम से कम विद्वान कहलिएकाहरूले सरकारलाई घच्घच्याउनुपर्दैन ? जनताका लागि केही सोच्नुपर्दैन ? सरकारी छात्रवृत्तिमा विदेशमा गएर मास्टर्स र विद्यावारिधि गर्ने तर विज्ञतालाई मुलुकको समृद्धिमा उपयोग नगर्ने धेरै छन् देशमा । आफूलाई विज्ञ विद्वान ठानेर कार्यक्रमहरूमा मन्तव्य दिने र सञ्चारमाध्यमहरूबाट कुर्लिने अनि देश अधोगतितर्फ जाँदासम्म सरकारीलाई घच्घच्याउनेतर्फ नसोच्ने हो भने कोटामा विदेशमा अध्ययन गरेको के अर्थ रह्यो ?

स्वदेशमा रोजगारीका अवसरहरू घट्दै जानु र युवाहरूलाई श्रमका लागि खाडी मुलुकहरूमा जान बाध्य पारिनु दुर्भाग्यको कुरा हो । विदेशमा जोखिमपूर्ण र तल्लोस्तरका कामहरू गरेर नेपाली श्रमिकहरूबाट देशमा प्राप्त भएको विप्रेषण अर्थात् रेमिट्यान्समा सरकारले गौरव गर्नु उचित छैन । युवाहरूलाई विदेश पलायनबाट रोक्न र मुलुकलाई उत्थान गर्नका लागि देहायका कुराहरूमा ध्यान जानु जरुरी देखिन्छ ।

पर्यटन प्रवर्द्धनमा जोड दिने: विश्वमा सानो तर सुन्दर देश भनेर चिनिन्छ नेपाल । विदेशी पर्यटकहरू नेपाल घुम्नका लागि लाखौँ खर्च गर्न तयार हुन्छन् । नेपालीहरूले उनीहरूबाट सभ्यता पनि सिक्दै आएको पाइन्छ । तर व्यवहारमा भने लागू भएको देखिँदैन । आर्थिक समृद्धिका लागि पर्यटन विकासले चाहिँ निरन्तरता पाएको देखिन्छ । कोरोना संक्रमणकालमा भने पर्यटन क्षेत्रबाट मुलुकले खासै उपलब्धि हासिल गर्न भने सकेन । यो समस्या नेपालले मात्र भोगेको होइन विश्वले नै भोगेको समस्या हो । पर्यटनका लागि अझ धेरै गर्नु जरुरी छ । जिल्लाजिल्लामा रैथाने उत्पादनबाट बनेका परिकारहरू पर्यटकहरूलाई चखाउनुपर्छ र खुवाउनुपर्छ । जिल्लाजिल्लाबाट रैथाने उपजहरू बाहिरिनु दुःखको कुरा हो । विभिन्न जिल्लाहरूमा रहेका तमाम धार्मिकस्थल वा तीर्थस्थल, ऐतिहासिक दरबारहरू, गढीहरू र झरनाहरूलाई पर्यटकीयस्थल बनाइनुपर्छ । त्यसका लागि सरकारबाट हरेक वर्ष बजेटमा यथासम्भव रकम विनियोजन गरिनु जरूरी देखिन्छ ।

कलकारखानाहरू पुनः सञ्चालन गर्ने: देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने क्षेत्र देशमा बन्द अवस्थामा रहेका सरकारी तथा निजी कलकारखानाहरूलाई ब्युँताउनका लागि सरकारले आवश्यक नीति अवलम्वन गर्नु जरुरी देखिन्छ । २०४६ पछि ध्वस्त भएका कैयन सरकारी औद्योगिक प्रतिष्ठानहरूलाई पुनः सञ्चालनका लागि विशेष ध्यान दिनु जरुरी छ । कतिपय उद्योगहरू लागि आवश्यक पर्ने कच्चापदार्थ कृषिमा आधारित हुने भएकाले कृषकहरूले पनि अप्रत्यक्षरूपमा रोजगारी पाउने कुरा निश्चित हुन्छ । उदाहरणका लागि बन्द रहेको सरकारी उद्योग चिनी कारखाना पुनः सञ्चालनमा ल्याइयो भने उखु कृषकहरूले काम पाउँछन्, नगदे बालीको रूपमा उखु खेती लगाइने हुन्छ । त्यस्तै, हेटौंडा कपडा कारखाना सञ्चालनमा ल्याइएको खण्डमा कपास खेती फस्टाउने र धागो कारखानाहरूले कपास खरिद गर्ने सम्भावना रहन्छ ।

विदेश पलायन रोक्ने: पहिले–पहिले विशेष विषय र विद्यावारिधि तथा मास्टर्स अध्ययनका लागि विद्यार्थीहरूलाई विदेश जाने अवस्था थियो भने हालका दिनहरूमा विद्यार्थीहरू बाह्र कक्षा उत्तीर्ण हुनेबित्तिकै विदेशतिर हुत्तिने चलन सुरु भएको छ । यसरी अध्ययनको लागि जाने र उतै हराउने विद्यार्थीहरूलाई रोक्न सरकारले दह्रो कदम चाल्नु जरुरी छ । त्यस्तै, वैदेशिक रोजगारका लागि युवायुवतीहरूलाई खाडी मुलुकमा जान बाध्य पार्नु सरकारको कमजोरी हो । बरु एकतिहाइ कमाइ होओस् आफ्नै देशमा रमाउन चाहन्छौँ तर जोखिम मोलेर वैदेशिक रोजगारमा जान चाहन्नौँ भन्नेहरू पनि नभएका होइनन्। खाडी मुलुकहरूबाट पटक–पटक कैयनको लास भित्रिनु गम्भीर विषय हो । यसमा सरकारको ध्यान जानुपर्छ । रेमिट्यान्स मात्र हेर्नुहुँदैन, आर्थिक विकासका लागि अन्य विकल्पहरू खोज्नुपर्छ ।

व्यवसायीहरूलाई प्रोत्साहन गर्ने: नेपालमा कम्पनीहरूको संख्या ज्यादै छ, कतिपय कम्पनीहरू झोलाहरूमा थन्किएर बसिरहेका छन् भने कतिपय दर्जनौँ कम्पनीहरू एउटा कोठामा साँघुरिएर बसेका देखिन्छन् । ‘झोलामा खोला’ भन्ने त हामीहरू धेरैले सुन्ने गरेका छौँ । खास सञ्चालनमा आएका कम्पनी, उद्योग तथा व्यवसायहरूले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा त्यसो भएको देखिँदैन । कतिपय कम्पनीहरू सुविधा लिनको लागि मात्र दर्ता भएको पाइन्छ । हालका दिनहरूमा कम्पनी उद्योग तथा व्यवसायहरू खारेज गर्नेको संख्या बढ्दो छ, जुन चिन्ताको विषय हो ।

आयात र परनिर्भरता कम गर्ने: देशलाई परनिर्भर र आयातमुखी बनाइनुले नै देशमा बेरोजगारीको समस्या चरम उत्कर्षमा पुगेको छ । कल कारखानाहरू सबैजसो बन्द अवस्थामा छन् । व्यावसायिक खेती, पशुपालनमा र त्यसका लागि बजार पहुँचका निमित्त सरकारले गम्भीरतापूर्वक जोड दिएमा मात्र उपलब्धिमूलक हुनेछ, जसले गर्दा आयात र परनिर्भरतामा कमी आउने निश्चित हुन्छ । उत्कृष्ट कृषकलाई पुरस्कार र प्रोत्साहनको व्यवस्था भएमा खेतबारी बाँझो पल्टिने थिएनन् । आधुनिक जीवनशैलीको नाममा उपभोक्ताहरूले स्वास्थ्य बिगारिरहेको पाइन्छ । हामीहरूले जानीजानी प्राकृतिकभन्दा अप्राकृतिक उपभोग्य सामग्रीहरू बढी मात्रामा उपभोग गर्नेगरेका छौँ । यसका लागि पनि सरकारीस्तरबाटै जनचेतनाको खाँचो छ । पहिले–पहिले बोटमा चढेर तित्री वा इमली, तिँदु, चिउरी टिपेर खाने चलन थियो । हाल त्यो चलनमा कमी हुँदै आएको पाइन्छ । अहिले गाउँगाउँका विभिन्न दोबाटोहरूमा साना बजारहरू पनि खुल्दै गइरहेका छन् । जहाँ विभिन्न खालका पसलहरू सञ्चालनमा छन् । त्यसमध्ये फलफूल पसल पनि चल्छन्, जहाँ मधेशबाट तथा भारतबाट आयात गरिएका फलफूलहरू पाइन्छन् । सजिलैसँग किनेर खान छाडेर रुखमा को चढोस् ? भन्ने मनस्थितिमा छन् अहिले गाउँघरका बासिन्दाहरू । गाउँमा युवाहरू पनि खासै देखिँदैनन्, उनीहरू रोजगारको सिलसिलामा देशभित्रका अन्यत्र स्थानमा र विदेशमा छन्। बुढाबुढी र बालबालिका रुख चढ्ने कुरा पनि आउँदैन । त्यसैले गाउँघरका कैयन फलफूलहरू बोटमै सुकेर वा कुहिएर जाने अवस्था छन्। मकै, कोदो, फापरलगायतका अनाज समेत भारतबाट आयात हुनु विडम्बनाको कुरा हो । खेतबारीहरू बाँझो राख्दै युवाहरू कामको सिलसिलामा विदेश जाने बाध्यताले गर्दा गाउँ पहिलेको जस्तो छैन । कतिपय बसाइँ सरेर मधेश तथा सदरमुकाममा गइसकेका छन् । कतिपयका गोठहरू खाली भइसके भने कतिपयका घर तालाबन्दी अवस्थामा भेटिन्छन् । आवश्यकता हेरेर आधुनिक जीवनशैली पनि अपनाउने र साथसाथै परम्परागत शैलीलाई पनि नछोड्ने हो भने जनस्वास्थ्यमा असर पर्ने छैन । गाउँघरमा पाइने सिजनअनुसारका फलफूलभन्दा बढी मैन दलिएका स्याउ, कोल्डस्टोरमा जबरजस्ती बचाइएका सुन्तला, विषादीयुक्त आँप र अंगुर उपभोग हुँदै आएको पाइन्छ । तिँदु, चिउरी र तित्री वा इमली खानु आफूलाई सानो सम्झिने अवस्था छ, स्याउ किनेर खाँदा ठूलो मान्छे भइने सोचाइ छ अहिले । अहिले घरघरमा औषधीहरूको थुप्रो देख्न सकिन्छ । ट्याब्लेट, क्याप्सुल र झोलको रुपमा । कतिपयले अन्दाजको भरमा औषधी किन्ने र औषधी पसलेले पनि नाफालाई मात्र ध्यान दिई जथाभावी औषधी र शक्तिबर्धक सामग्रीहरू भिडाउने प्रचलन पनि बढ्दै गएको पाइन्छ ।

यसो गर्दा देश केही हदसम्म उँभो लाग्छ
१. सौन्दर्य प्रसाधनका वस्तुहरू स्वदेशमै उत्पादन गरी त्यस्ता वस्तुहरूको आयात पूर्णरूपमा बन्द गर्ने ।
२. काजु, अलमोन्ड, किसमिसलगायत महंगा खालका मसलाहरूको आयातमा प्रतिबन्ध लगाई त्यस्ता उपजहरू स्वदेशमै उत्पादन गर्न किसानहरूलाई प्रोत्साहन गर्ने ।
३. बैंक, वित्तीय संस्थाहरूमाथि कडाइ गर्नका लागि आवश्यक नीति अवलम्बन गर्ने ।
४. सहकारीहरूमा भएको बेथितिलाई निरुत्साहित गर्न आवश्यक नीति कार्यक्रम बनाई तत्काल लागू गर्ने ।
५. सरकारी जग्गा मिलेमतोमा हडप्नेहरूमाथि छानबिन गरी ती जग्गाहरू सरकारको नाममा ल्याउने ।

देश हाँक्नेहरूलाई सुझाव: देशको दुर्दशा झन्पछि झन् बढ्दो छ । देश गम्भीर दुर्घटनामा परिसकेको छ, देशलाई यथास्थतिमा फर्काउन सबै पार्टीका नेताहरू एकजुट हुनु जरुरी छ, खेलाँची गर्ने अवस्था छैन । प्रतिपक्षको खबरदारीलाई पनि सरकारमा बस्ने पार्टीका नेताहरूले स्वीकार गर्नैपर्छ । एकोहोरो चालाले मात्र देशमा समृद्धि आउँदैन । घरिघरि फेरिने सरकारको अनिश्चितताले गर्दा जनताहरू रनभुल्लमा पर्दैआइरहेका छन् । जनताका लागि आयआर्जनका खातिर आवश्यक योजनाहरू बनाइनुपर्छ, जसका लागि सम्बन्धित मन्त्रालय, विभाग कार्यालयका साथै संघसंस्थाहरू सक्रिय हुनु नित्तान्त आवश्यक छ । हरेक आवका बजेट भाषणमा फलाकिएका कैयन कामहरू थाती रहन्छन्, गर्न सकिने कामका लागि मात्र बजेटमा व्यवस्था हुनुपर्छ ।

जनता जागरुक नभएकै कारण मुलुक झन् पछि झन् नाजुक अवस्थामा पुगेको छ । सरकारका कमीकमजोरीका बारेमा बेलाबेलामा जनताले खबरदारी गरेको पनि देखिँदैन । कुनै पनि समय नेपाल टाट पल्टने अवस्थामा पुग्न सक्छ । त्यसैले सरकारले पनि जनमुखी कार्य गर्नका लागि विभिन्न योजना तर्जुमा गर्ने, बजेटको व्यवस्था गर्ने र योजना पूरा हुने अवस्थामा र पूरा भइसकेपछि कडाइका साथ अनुगमन र निरीक्षण गर्ने र कैफियत तथा कमजोरी देखिएमा दोषीउपर कडा कारबाही गर्ने गरेमा देश उभो लाग्ने देखिन्छ । त्यसैले हामी सबै मिलेर देशको उन्नतितर्फ लागौँ, हरेक क्षेत्र डावाँडोल भएको टुलुटुलु हेरेर नबसौँ । देश बिग्रिँदा चिन्ता नलिने र चाडपर्वहरूमा शुभकामना आदानप्रदान गर्दा त्यसले कुनै अर्थ राख्दैन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x