नेपालमा सहकारी बजार समस्या तथा सुझाव
काठमाडौं । सामान्य अर्थमा सहकारी भन्नाले सँगै मिलेर काम गर्नुलाई जनाउँछ । कानुनी नजरमा सहकारी भन्नाले समान इच्छा आकांक्षा र अवस्था भएका व्यक्तिहरूको प्रजातान्त्रिक नियन्त्रण, नैतिकता, इमान्दारिता, समानता एवं समन्यायमा आधारित त्यस्तो स्वतन्त्र सांगठनिक प्रयास हो, जसको उद्देश्य आफ्ना सदस्यहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदै उनीहरूको आर्थिक तथा सामाजिक विकास गर्नेतर्फ परिलक्षित रहेको हुन्छ । सहकारीलाई आर्थिक संगठनको त्यस्तो रूपमा लिन सकिन्छ, जुन निश्चित सिद्धान्त, मूल्य, मान्यता, घनिष्टता एवं पारस्परिकतामा आधारित हुन्छ र आफ्ना सदस्यहरूको साझा इच्छा र चाहनाको परिपूर्तिका लागि प्रयन्तरत रहन्छ । सहकारिताको सिद्धान्तअनुसार गरिब र साधनहीन मानिस पारस्परिकरूपले मिलेर व्यापारिक सहयोगद्वारा धनी र साधन सम्पन्न मानिसहरूलाई उपलब्ध हुने भौतिक लाभ र सुख प्राप्त गरी आफ्नो नैतिक विकास गर्छन् । समानताका आधारमा स्वेच्छा र पारस्परिकरूपले संगठित व्यक्तिहरूको सामूहिक संस्थालाई सहकारी संगठन भन्न सकिन्छ, जसमा सबै सदस्यहरू आर्थिक र सामाजिक उद्देश्य पूर्तिका लागि सम्मिलित हुन्छन् । यस्तो संगठनको उद्देश्य नाफा कमाउनु नभई संगठनभित्रका सदस्यहरूका लागि सेवाभावनाले कार्य गरी सहयोग गर्नुहुन्छ । सामूहिक हितको लागि पारस्परिक सहयोग गर्न तथा स्वावलम्बी हुन धेरै व्यक्तिहरू मिली व्यवसाय गर्ने माध्यम नै सहकारिता हो भन्न सकिन्छ ।
बजार स्थापना गर्ने अर्को निकाय सहकारी संस्था हो । कृषक र कृषि उपजलाई एकत्रित गर्ने उत्तम विधिका रूपमा सहकारितालाई लिइन्छ । सङ्कलन केन्द्रमा कृषिउपजको सङ्कलनगर्न तथा संयुक्त ढुवानीको व्यवस्था गर्नमा यसले सहजीकरण गर्दछ । भारतका दुईवटा राज्यहरू तमिलनाडु तथा मध्यप्रदेशले कृषि उत्पादन बजार समितिको व्यवस्थापन सहकारीहरूले सम्हाल्ने गरी आ–आफ्ना राज्यको कृषि उत्पादनबजार नियमन ऐनहरूमा व्यवस्था गरेका थिए । तर, भारतको ५० वर्षको इतिहासमा कुनै पनि बजारको सञ्चालन तथा व्यवस्थापन गर्न सहकारीहरू, अगाडि आएको एउटै पनि उदाहरण छैन । नेपालको सन्दर्भको कुरा गर्ने हो भने कलङ्की खसीबजार सहकारी संस्थाद्वारा सञ्चालित बजार हो । अर्थनीतिमा प्रत्यक्ष प्रभाव पार्ने अर्को पक्ष कुटिर उद्योग हो । सहकारीले आफ्नो नीतिमा कुटिर उद्योगलाई प्राथमिकता दिएको छ । स–साना कुटिर उद्योग हाम्रोजस्तो मुलुकमा ठूला उद्योगधन्दा लाभदायी हुने (कुरालाई समाजवादी अर्थनीतिले झैँ सहकारीले पनि प्राथमिकता दिनुको तात्पर्य पनि त्यही हो प्रत्येक गाउँ टोल र छिमेकभरि नै कुटिर उद्योग सञ्चालन होऊन् र स्वरोजगारका अवसरहरू गाउँ–ठाउँमै स्थापित बन्न सकून् । सहकारी पद्धतिअन्तर्गत सहकारी समिति स्थापित गरेर उत्पादकहरूबाट आवश्यक वस्तुहरू प्रत्यक्षरूपमा खरिद गरिन्छ, तब यसप्रकारको संगठनलाई उपभोक्ता सहकारी भण्डार भनिन्छ । अर्को शब्दमा जब उपभोक्ताहरू परस्परमा एकसाथ मिलेर सस्तो तथा उचितमूल्यमा वस्तुहरू प्राप्त गर्नका लागि भण्डारको स्थापना गर्छन् । तब यसप्रकारको भण्डारलाई सहकारी भण्डार भनिन्छ । यसप्रकारको भण्डारको स्थापनाको मुख्य उद्देश्य वितरणको क्षेत्रबाट मध्यस्थहरूको अन्त्य गरेर आफ्ना सदस्यहरूलाई सस्तो मूल्यमा वस्तुहरू उपलब्ध गराउनु हो ।
साना तथा सीमान्तकृत कृषकहरूलाई बढ्दो बजारको माग सम्पर्क कायम गराउन सहकारी संस्थाहरूले ठूलो भूमिका खेलेका छन् । सहकारी आन्दोलले नेपालमा आर्थिक क्रियाकलापका सबै क्षेत्रमा प्रवेश गरेको छ । सहकारी बजार व्यवस्थापनबाट त्यस्ता गाउँहरूमा कुशल बजार व्यवस्थापन सेवाहरू प्रदान गर्न सकिन्छ जुन ठाउँमा यसअघि त्यस्ता सेवाहरूको चलन थिएन । यस्तो बजार व्यवस्थापनबाट कृषकहरूले आफ्नो उपजबाट राम्रो प्रतिफल प्राप्त गरेर आम्दानी बढाउन सक्छन् । सहकारी संस्थानहरूको बजार प्रसारमा ठूलो भूमिका हुन्छ । संस्थाका सदस्यहरूलाई बजार स्थिति, माग आदिबारेमा जानकारी दिन, सूचना प्रदान गर्न र बजार व्यवस्थापनसम्बन्धी जानकारी तथा व्यवस्था गर्न सक्रिय भूमिका खेल्न सक्छन् :
–सार्वजनिक–निजी–सहकारी साझेदारी
–साझेदारी पद्धति
–कृषक पाठशाला
–प्रदर्शन तथा कार्यशाला गोष्ठी
–भ्रमण तथा अवलोकन भ्रमण
–आमसम्पर्क तरिका
–बजार सूचना
–कृषि मेला÷महोत्सव
नेपालका बहुसंख्यक कृषकहरूबाट उत्पादित वस्तुहरूउनीहरूले घरमा नै उपभोग गर्ने हुँदा बिक्रीयोग्य परिमाण थोरै मात्र बाँकी हुन्छ । त्यस्ता कृषकहरूको ग्रामीण बजारहरूसँगको पहँुच सहज छैन । धेरै समय लाग्ने र खर्चिलो पनि छ । थोरै परिमाणमा उत्पादित वस्तु बजारमा लगेर बेच्दा त्यसबाट आउने प्रतिफल अथवा मूल्य पनि थोरै हुने हुँदा धेरैजसो अवस्थामा त सामान बेचेर आएको पैसाले लागत पनि उठ्न नसक्ने हुन्छ । यस्तो अवस्थामा औपचारिक वा अनौपचारिक तरिकाले कृषकहरूलाई एक ठाउँमा भेला गराई उनीहरूका सानो परिमाणका उत्पादनहरू सामूहिकरूपमा खरिद–बिक्रीको बन्दोबस्त गर्न सकिन्छ ।
सहकारी संस्था विश्वमान्यताप्राप्त सहकारी मूल्य–स्वावलम्बन, स्वःउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय ऐक्यबद्धता, इमान्दारिता, खुलापन, सामाजिकदायित्व र अरूप्रतिको चासो तथा सिद्धान्त (स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरूको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारी संस्थाहरूका बीच सहयोग र समुदायप्रति चासो) मा आधारित व्यावसायिक संगठन हो । नेपालमा पनि यस किसिमका सहकारी संस्थाहरूमा समाज/समुदायका व्यक्तिहरू सम्मिलित भइरहेका छन् । ‘गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी’भनी विगतको बजेटमा आएको विशेष कार्यक्रमले पनि सहकारी खेतीतर्फ जोड दिन खोजेको देखिन्छ । नारामा मात्र अब सीमित नभई वास्तविकरूपमा नै साना कृषकहरूलाई सहकारी खेती, दुग्ध उत्पादन, कृषि बजारीकरण गर्न उत्प्रेरित गर्ने खालका विशेष कार्यक्रमहरूलाई कार्यान्वयन नै गर्न सके सहकारी खेतीलाई उत्पादनशील आर्थिक आन्दोलनको अङ्ग बनाई समग्र मुलुकको भविष्य सुदृढ पार्न सकिने हुन्छ । सहकारी संस्थाहरूले बजार मूल्यलाई स्थिर बनाउन विभिन्न बजारहरूको निरीक्षण गरी राम्रो बजारको खोजी गर्न सक्छन् । बजार व्यवस्थापन गर्ने सहकारीहरूले राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारहरू, बालीका गुणहरू र जात, थोक र खुद्रा मूल्य, अरू क्षेत्रको उपज मागको उतार चढाव, उपजहरूको संकलन, ग्रेडिङ, भण्डारण, प्याकिङ, बिक्री र प्रचारप्रसार गर्नेजस्ता धेरै कामहरू आफ्ना सेयर सदस्यहरूका फाइदाका लागि गर्न सक्छन् ।
सहकारी बजार व्यवस्थापन संस्थाका उद्देश्यहरूमा सदस्यहरूद्वारा उत्पादित कृषि उपजहरूको बिक्रीको लागि आवश्यक व्यवस्था गर्ने । कृषि उपजहरूको सुरक्षणमा सदस्यहरूलाई ऋण प्रदान गर्ने । सदस्यहरूलाई परिष्कृत र गुणस्तरीय वस्तुहरूको खेती गर्न उत्साहित गर्ने । सदस्यहरूका उपजहरूको भण्डारण गर्ने व्यवस्था गर्ने । सदस्यहरूका उपजहरूको प्रशोधन गर्ने व्यवस्था गर्ने र सदस्यहरूबीचमा आपसी सहयोग, मितव्ययिता र एक आपसमा अनुभव आदानप्रदान सहयोग गर्नका लागि उत्साहित गर्ने रहेका हुन्छन् ।
कुनै एक निश्चित ठाउँका धेरै कृषकहरू सदस्य भएको सहकारी संस्थाले ठूलो परिमाणको व्यवसाय पनि सञ्चालन गर्न सक्छ र ढुवानी र भण्डारणजस्ता सेवाहरूमा वास्तविक मितव्ययिता हाँसिल गर्न सक्छ । यस्ता सहकारी संस्थाहरूले कृषकहरूलाई सस्तो मूल्यमा परिष्कृत सेवाहरू प्रदान गरी सहकारीमार्फत ठूलो परिमाणको व्यवसाय गरेर समूहगत बजार व्यवस्थापनबाट हुने फाइदाहरू प्राप्त गर्न सक्छ । सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई बजारमा धेरै माग भएका विविध वस्तुहरू उत्पादन गर्न प्रेरणा दिन सक्छ । उत्पादित वस्तुहरूको ग्रेडअनुसार आफ्ना सदस्यहरूलाई रकम भुक्तानी गरेर सहकारी संस्थाले उचित व्यवस्था गर्न सकिन्छ । उत्पादक तथा उपभोक्ता सदस्यहरूले उचित मूल्यमा वस्तु तथा सेवा खरिद बिक्री गर्न सक्दछन् ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया