Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक समृद्धिमा बाघ पर्यटनको महत्व

आर्थिक समृद्धिमा बाघ पर्यटनको महत्व


काठमाडौं । नेपाल वन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताका लागि विश्वमा नै धनी मुलुकका रूपमा परिचित छ । नेपालले जम्मा शून्य दशमलव एक प्रतिशत भू–भाग मात्र ओगटेको छ भने यहाँ विश्वमा पाइने वनस्पति र वन्यजन्तुमा तीन दशमलव दुई प्रतिशत वनस्पति एक दशमलव एक प्रतिशत वन्यजन्तु पाइन्छन् । ती वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित जैविक विविधताहरूको वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट समेत महत्व बढ्दै गइरहेको छ । तसर्थ हामी र हाम्रा सन्ततिले जैविक विविधताहरूको निरन्तर उपयोग गर्न र प्राकृतिक सन्तुलन कायम राख्नका लागि तिनको संरक्षण गर्नु हाम्रो प्रमुख दायित्व हो ।

नेपालको इतिहासलाई केलाउँदा राजा महाराजा तथा राणा शासन र विदेशी पाहुनालाई शोख पूरा गर्न तथा खुसी बनाउन धेरै बाघ मारिएको पाइन्छ । त्यसबेला कूटनीतिक मिगोको रूपमा शिकार रहेको थियो । पूर्वी सभ्यतामा बाघलाई देवीको बाहन मानिन्छ । त्यही सभ्यतामा हुर्केका राजा महाराजाले बाघको शिकार गर्न बहादुरी ठानेपछि युद्ध कौशलमा निपूर्ण भएको मानिन्थ्यो । त्यसबेला राजा महाराजाले जति धेरै बाघ मार्यो त्यति पुरुषार्थ हुन्थ्यो । तत्कालीन श्री३ जङ्गबहादुर राणा विसं १९०६ मा बेलायतमा यात्रा गर्दा महारानी भिक्टोरियालाई थुप्रै बाघका छाला, गैँडाको खाग, हस्ती हाडका अनेकौँ कोशेली लगेको इतिहास पाइन्छ । जङ्गबहादुर राणा राजकाजबाट फुर्सद हुनेबित्तिकै चितवनमा बाघको शिकार खेल्न पुग्थे । सन् १९११ को डिसेम्बर आठदेखि २८ सम्म राजा जर्ज फेडरिक पाँचौँले आफ्नी रानीका साथ नेपाल भ्रमणमा रहँदा बाघको शिकार गरे । श्री तीन चन्द्र शमशेरको आयोजनामा भएको शिकार अभियानमा उनी आएका थिए । सो अभियानमा ३९ वटा पाटे बाघ, १८ गैँडासहित धेरै अन्य जनावर शिकार गरिएको थियो । यो कार्यबाट खुसी भई राजा जर्जले प्रधानमन्त्री चन्द्र शमशेरलाई शाही भिक्टोरिया पुरस्कारबाट समेत सम्मानित गरेका थिए । त्यसबेला कूटनीतिज्ञको महत्वपूर्ण अङ्गको रूपमा शिकार भएको विभिन्न दस्तावेजले प्रमाणित गर्छ । पञ्चायती व्यवस्थामा पनि शासन गर्ने राजा महाराजाले पनि धेरै बाघ, गैँडा मारेको इतिहासले बताउँछ ।

इतिहासका पाना पल्टाउँदा नेदरल्यान्डकी महारानी जुलियानाको शासनकालमा वन्यजन्तु संरक्षणको विशेष थालनी भएको पाइन्छ । राजकुमार बर्नाड र राजकुमार फिलिपले सन् १९६१ मा विश्व वन्यजन्तु कोषको स्थापना गरेका थिए । त्यसको कार्यालय नेपालमा पनि रह्यो । राजा जर्जको भ्रमणको पचास वर्षपछि महारानी एलिजावेथ र उनको पति फिलिप भ्रमणमा नेपाल आएका थिए । राजा महेन्द्रले पुरानो परम्पराअनुसार शिकारको निम्तो गरेको पाइन्छ । तर, यी दुवै विशिष्ट पाहुनाले शिकार नगरेको कुरा विभिन्न दस्तावेजबाट प्रमाणित हुन्छ ।

नेपालको सन्दर्भमा इतिहासलाई नियाल्दा राणा शासनको अन्तपछि बाघको वैध शिकार केही घटे पनि शाहकालीन शासनबाट हट्न नसकेको बाघको शिकार राजा वीरेन्द्रको पालामा आइपुग्दा संरक्षणको आधार बन्यो । राजा वीरेन्द्रको शासनकालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ बनाई संरक्षित क्षेत्रको घोषणा, विसं २०३० सालमा बाघ, गैँडा लगायतको वन्यजन्तुको संरक्षण, चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो । तैपनि बाघ नासिने निसानामा परिरह्यो । विदेशी पाहुना र तस्करको निसानामा बाघ व्यापारको वस्तु बनेको पाइन्छ । सन् १९९३ ताका बाघको संख्या जम्मा ९३ वटामा रहेको थियो ।

यसै सन्दर्भमा नेपालमा सन् १९९३ मा ९३, सन् १९९५ मा ९८ वटा, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८, सन् २०१८ मा दुई सय ३५ र सन् २०२२ मा तीन सय ५५ रहेका छन् । सन् २०१० यता १२ वर्षमा नेपालमा दुई सय ३४ वटा बाघ बढ्यो । हाल नेपालमा बाघको संख्या वृद्धि भए पनि विश्वमै भने संख्या कमी आएको तथ्याङ्कले देखाउँछ । यसको मुख्य कारण जंगल फँडानी, बासस्थानको कमी, आवश्यक आहाराको अभाव, मौसमी परिवर्तन, गैरकानुनी शिकारी आदि हुन् । बाघलाई प्रतिकारात्मक प्राणीको रूपमा लिइन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक र ऐतिहासिकरूपले पनि महत्वपूर्ण मानिन्छ । वातावरण सन्तुलनमा यसको महत्वपूर्ण योगदान छ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकोले ठूलै जंगल संरक्षित गरिनुपर्छ । सो संरक्षित गर्दा अन्य धेरै प्राणीको संरक्षण हुन्छ अर्थात् वातावरण संरक्षण भई मानव तथा पशुपन्छीको जीवन कल्याण हुन्छ ।

बाघको संख्या वृद्धिसँगै सो अवधिमा बाघको आक्रमणबाट धेरै मानिस घाइते तथा ज्यान गएको पाइन्छ । निकुञ्जभित्रका बाघ स्थानीय समुदायका समृद्धिको आधारशीलाको रूपमा हुनुपर्छ, द्वन्द्वको रूपमा होइन । बाघ संरक्षण त नेपालको उन्नति र प्रगतिको सकारात्मक सन्देश, निकुञ्ज वरिपरिका बस्तीमा जान जरुरी छ । घाँस दाउरा, निउरो आदि लिन जंगल जाउँ, फर्केर आइन्छ कि आइन्न भन्ने त्रास हटाउने व्यवस्थापन मिलाउन आवश्यक छ । त्यसै कारणले सरकारले यस वर्ष विश्व बाघ दिवसको नारा ‘मानव बाघ सहअस्तित्व’ राखेर बाघको संख्या बढ्दा मानव बाघ द्वन्द्वको घटना बढेको वास्तविकता मनन् गर्दै त्यो घटना न्यूनीकरण गर्न बाघको बासस्थान व्यवस्थापन गर्नेलगायत आदि कार्य गर्नुपर्ने जनाएको पाइन्छ । सम्बन्धित विज्ञका अनुसार एउटा बाघलाई हिँडडुल गर्न करिब ४० किमि क्षेत्रफल आवश्यक पर्छ । बाघको संख्या बढे पनि आरक्ष, निकुञ्ज, वन, संरक्षित क्षेत्रको क्षेत्रफल खासै नबढेकाले बाघ मानव बस्तीमा पुग्ने गर्छ । हाल बाघ ठूलो कि मानिस ठूलो भन्ने बहस चलेको देखिन्छ । बाघको संख्या बढी हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम र चर्चा होला तर त्यस क्षेत्रका मानिस गाँस, बासका लागि जङ्गली चिजबिज उपभोग गर्न जाँदा मृत्युवरण गर्नुपरेको वास्तविक स्थितिलाई सम्बन्धित पक्षले निराकरण गर्नुपर्ने समय आएको छ ।

यसै सिलसिलामा बाघसम्बन्धी जानकारहरूका अनुसार बच्चासँगै भएको पोथी बाघ, भालेपोथी समागमको बेला आफ्नो क्षेत्र कब्जा गरेर हैकम जमाउन भाले–भाले लडाइँ भएर हारेको बेला मानसिक समस्या भएर वा बुढो वा शिकार गर्न असक्षम भएको बाघले मानवलाई आक्रमण गर्छ । बाघले विनाकारण आक्रमण गर्दैन, सकेसम्म बाघका गतिविधि हुने क्षेत्रतिर नजान भनेरभन्दा बाघ मात्र बढी प्राथमिकतामा परेको हो कि ! भनेजस्तो भान हुन्छ । तर पनि सरकारले व्यवस्था गरेको राहत र क्षतिपूर्तिले बाघले मारिसकेको मानिस फिर्ता आउँदैन । घरैमा आएर बाघले आक्रमण गरेर प्रतिकार गर्दा बाघलाई केही भए बाघ संरक्षण कानुनले त्यही पीडित मानिसलाई नै सजाय दिन्छ । यसबारे सोच्न आवश्यक छ ।

बेला बखत मानिसलाई बाघले आक्रमण गरी क्षति पुर्याएको दुःखित समाचार आउने गरेको पाइन्छ । किन गर्छ त मान्छेलाई आक्रमण ! बच्चासँगै भएको पोथी बाघ, पोथी र भालेबीच संसर्गको अवस्था, बुढो र शिकार गर्न अशक्त तथा आफ्नो क्षेत्र अधिक्रमणको क्रममा तथा भाले–भालेबीच लडाइँ हुँदा बाघ बढी आक्रामक भई मानिसमाथि आक्रमण गर्छ । बाघसहितको आक्रमण बढेपछि सम्बन्धित पक्षले त्यस्ता वन्यजन्तुलाई नियन्त्रण गरी राख्न रेस्क्यु सेन्टर बनाउन जोड दिएको छ । यो रेस्क्यु केन्द्र हाल चितवनको देवनगर, बर्दिको रम्भापुर, पोखरा र भक्तपुरमा छ । मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर रेस्क्यु सेन्टरमा राख्नुभन्दा रेस्क्यु सेन्टरलाई विकास गरी टाइगर रेन्चिङ्को व्यवस्था गरी ठूलो वन क्षेत्रमा बाघ थुन्ने गरेमा बाघको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुगी देश आर्थिक समृद्धिमा चलायमान हुन सक्ने थियो । स्मरण रहोस्, नेपालमा भित्रिने पर्यटनमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटक प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको दृश्य अवलोकन गर्न संरक्षिण क्षेत्र घुम्ने गरेको पाइन्छ ।

पृथ्वीमा रहेका वन्यजन्तु तथा वनस्पतिहरू विभिन्न कारणले गर्दा लोप भइरहेका छन् । वासस्थानको क्षति, अन्तर्राष्ट्रिय बजारमा रहेको उपयोगको उच्च माग, अधिक प्रयोग, चोरी शिकारी, बेरोजगारी तथा अज्ञानता तिनीहरू लोप हुनुको प्रमुख कारण हुन् । वैज्ञानिक, सांस्कृतिक, मनोरञ्जनात्मक र आर्थिक दृष्टिकोणबाट वन्यजन्तु तथा वनस्पतिहरूको बढ्दो महत्व, निश्चित क्षेत्रमा भएका ती वन्यजन्तु तथा वनस्पतिहरूको संरक्षण गर्ने उपयुक्त संरक्षणकर्ता सम्बन्धित राज्य र जनता नै भएको र अन्तर्राष्ट्रिय माग पूरा गर्नका लागि हुन सक्ने अधिक संकलन र व्यापारलाई नियन्त्रण तथा नियमन गर्दै उक्त प्रजातिको संरक्षण गर्नुपर्ने अपरिहार्य छ । सो कुरालाई मध्यनजर राखी सन् १९७३ मार्च ३ को दिन संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसीमा विश्व संरक्षण संघको संयोजकत्वमा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भयो । सो सम्मेलनमा ८० राष्ट्रका प्रतिनिधिले सहभागिता जनाई दुर्लभ वन्यजन्तु तथा वनस्पति प्रजातिको संरक्षणका लागि अन्तर्राष्ट्रिय संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ‘साइटिस’ नामाकरण गरियो । सो महासन्धि सन् १९७३ मा पारित भई सन् १९७५ को जुलाई १ बाट कार्यान्वयन हुँदै आएको छ । पछिल्लो तथ्याङ्कअनुसार यस महासन्धिमा विश्वका एक सय ८३ देश संलग्न रहेका छन् । यो सम्मेलन आयोजना हरेक दुई–दुई वर्षमा हुने गर्छ । यस महासन्धिको अभिप्राय सम्बन्धित राष्ट्रहरूले आफ्ना मुलुकहरूमा भएका लोपोन्मुख वन्यजन्तु र वनस्पतिलाई यथासक्य प्राकृतिक अवस्थामा नै संरक्षण एवं सुरक्षा गर्नु र अन्ततः राष्ट्रिय व्यापार नियमन गर्नु हो । साइटिस सचिवालयसँग नियमित सम्पर्क र समन्वय गर्न नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई प्रमुख व्यवस्थापन निकायको रूपमा तोकेको पाइन्छ ।

साइटिस महासन्धिले दुर्लभ वन्यजन्तु र अन्तर्राष्ट्रिय व्यापार नियमन र नियन्त्रण गर्ने उद्देश्यले यसमा सूचीकृत वन्यजन्तु र वनस्पतिलाई तिनीहरूको अवस्थाको आधारमा तीनवटा अनुसूचीमा वर्गीकरण गरेको छ । तीनैबारे संक्षपमा उल्लेख गर्न जमर्काे गरिएको छ । साइटिस महासन्धिको अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजाति समावेश गरिएको पाइन्छ । ती प्रजाति व्यापारका कारणले अझै खतरामा पर्ने भएकाले तिनीहरूको व्यापार र ओसारपसारलाई नियन्त्रण गरिएको छ । पूर्वरूपमा संरक्षण गर्नुपर्ने भएकाले व्यापारमा रोक लगाइएको छ । अध्ययन अनुसन्धान शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनाको लागि यस अनुसूचीअन्तर्गत रहेको वन्यजन्तु तथा वनस्पतिको सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिसको आधारमा ओसारपसार गर्न पाइन्छ । विनाइजाजत ती वनस्पति र वन्यजन्तु निकासी, पैठारी गर्न पाइँदैन । निकासी गर्ने इजाजत पत्र लिनुभन्दा पहिले पैठारी गर्ने मुलुकले पैठारी पत्र र इजाजत पत्र पनि दिएको हुनुपर्छ । निकासी र पैठारी इजाजतपत्र दिनुभन्दा अगाडि सम्बन्धित वैज्ञानिक निकायहरूले सो कार्यबाट उक्त प्रजातिको अस्तित्वमा हानि पुग्दैन । साथै, पैठारीकर्ता त्यसको हेरचाह गर्न सक्षम छ भन्ने कुरा सन्तुष्टि भएको हुनुपर्छ ।

साइटिस महासन्धिको अनुसूची २ मा वन्यजन्तु तथा वनस्पति प्रजाति जो लोप हुने स्थितिमा पुगिसकेको तर तिनको व्यापारलाई समयमा नियन्त्रण नगर्ने हो भने निकट भविष्यमा लोप हुन सक्ने अवस्थामा रहेका वन्यजन्तु तथा वनस्पति प्रजातिलाई यस अनुसूचीमा समावेश गरिएको छ । अनुसूची २ मा समावेश भएको प्रजातिको निकाशी गर्दा सम्बन्धित राष्ट्रको वैज्ञानिक निकायले त्यस्ता प्रजातिको निकासीबाट अस्तत्विमा खतरा छैन भन्ने कुरा सुनिश्चित भएपछि मात्र व्यवस्थापन निकायले निकासी इजाजत दिन सक्छ । नेपालको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ ले महासन्धिको अनुसूची २ मा उल्लेखित वन्यजन्तु वा वनस्पतिको कुनै प्रजाति वा उपप्रजातिलाई लोपोन्मुख वन्यजन्तु तथा वनस्पति भनि परिभाषित गरको छ । त्यस्तै, अनुसूची ३ मा कुनै देश वा राष्ट्रले आफ्नो राष्ट्रको व्यापार नियमन एवं नियन्त्रण गर्नुपर्ने आवश्यकता महसुस गरेमा त्यस्ता प्रजातिलाई अनुसूची ३ मा समावेश गरेको पाइन्छ । सोही राष्ट्रले ती प्रजातिको संरक्षण र व्यापारलाई नियन्त्रण गर्न कानुनी व्यवस्था गरेको भए पनि एक प्रयासले सम्भव नहुने र त्यसको कार्यान्वयनको लागि अन्य सदस्य राष्ट्रहरूको सहयोग आवश्यक पर्ने हुनाले सहयोग जुटाउनको निम्ति विभिन्न प्रजातिलाई अनुसूची ३ मा समावेश गरेको पाइन्छ । सो ओसारपसारको निमित्त व्यवस्थापन निकायबाट इजाजत पत्र लिएर मात्र ओसारपसार गर्न, निकासी गर्न र पैठारी गर्न सकिन्छ ।

संक्षेपमा भन्नुपर्दा बाघ अवसर हो । यो पर्यापर्यटनबाट आयआर्जन गर्ने मुख्य वस्तु हो । संसारमा भएका ठूला चिडियाखानामा बाघ पालिएका छन् । पछिल्ला दिनमा बाघ पर्यटनको अवधारणाको विकास भएको छ । प्राकृतिक वासस्थानमा रहेका बाघ हेर्न महिनौँ दिन जंगलमा पर्यटन, अध्ययन, अनुसन्धानकर्ता र वैज्ञानिकले कुर्ने गरेको घटना सार्वजनिक भएको छ । हाम्रो देशमा विकसित मुलुकका धेरै पर्यटकको मुख्य गन्तव्य चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने गरेको कारण सो स्थानमा बाघ र एकसिङ्गे गैँडा सहजै लुकामारी गर्न सकिन्छ । बाघ पर्यापर्यटनको लागि अवसर हो । नेपालमा पर्यटन व्यवसायबाट आर्थिक समृद्धि गर्न सकिन्छ । बाघ पर्यटनको मुख्य आधारशिला हो । बाघ संरक्षणमा सफलता हासिल गरेको नेपाल आगामी दिनमा वन्यजन्तु कूटनीतिमार्फत पर्यटन प्रवर्द्धन गर्ने नीति अवलम्बनको आवश्यकता छ । माथि भनेजस्तै बाघ हेर्न आउने पर्यटकको बसाइँ लामो भई बढी रकम खर्च गर्ने पर्यटक मानिन्छ । अतः विदेशस्थित कूटनीतिक आयोगलाई परिचालन गरी बाघ हेर्न आउने पर्यटक वृद्धि गर्ने योजना निर्माण गर्नु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x