Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगुरुपूर्णिमाको गरिमा

गुरुपूर्णिमाको गरिमा


काठमाडौं । गुरुलाई देवता र पिता समान सम्मान दिने हाम्रो संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक कालदेखि नै गुरु अर्थात् शिक्षकको महिमा अतुलनीय रहँदै आएको छ । वेदको रचयिता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ पूर्णिमाको दिनको सम्झनामा यस दिन गुरुहरूको सम्झना र पूजा गरेर यो पर्व मनाइँदै आएको छ । वेद व्यासले वेद, अठार पुराण, उपनिषद्हरू लेखी पूर्वीय संस्कृतिलाई मार्गदर्शन प्रदान गरेका छन् । संस्कृतमा ‘गु’ भनेको अन्धकार र ‘रू’को अर्थ उज्यालो अर्थात् अज्ञानरूपी अन्धकारबाट चेतनास्तर वृद्धि गरी उज्यालोतिर लैजाने व्यक्तिलाई नै गुरु भनिन्छ । पौराणिककालको जस्तो गुरुशिष्यको सम्बन्धमा शिष्टता, आत्मीयता र समर्पणको भावना वर्तमानमा पाइँदैन । गुरु शिष्यको सम्बन्ध सौहार्दताभन्दा पनि कृत्रिमता बढी पाइन्छ । गुरुपूर्णिमाको गरिमालाई आत्मसात गर्नुभन्दा पनि कर्मकाण्डी पाराले मनाउनु्ले यसको गरिमा जोखिममा पर्दै गएको भान हुन्छ ।

वर्तमानमा गुरु भन्नाले कर्मकाण्ड गराउने पण्डित र शिक्षक÷प्रशिक्षकलाई बुझाउँछ । यहाँ गुरुलाई शिक्षकको रूपमा प्रस्तुत गरिएको छ । वर्तमानमा कतिपय शिक्षकले सम्मानभन्दा पनि सम्पत्तिलाई महत्व दिने प्रचलन हाबी भएकाले शिक्षण पेसा अन्यको तुलनामा उपेक्षित हुन पुगेको गुनासो गर्नेको कमी छैन । डाक्टर, इन्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदि उत्पादन गर्ने महान् शिक्षण पेसालाई कम आँक्नु विवेकहीनता हो । त्यस्तै, स्वयम् शिक्षकबाट पनि मर्यादित शिक्षण पेसाको उपहास हुने गरी आचारसंहिताविपरीत कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने कामप्रति उद्दत रहनु गुरु गरिमाको लागि शुभसंकेत होइन । शिक्षक र शिक्षण पेसाको गरिमालाई निष्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहम् भूमिका रहन्छ नै । गुरुपूर्णिमालाई फूलमाला खादाको सामान्य सम्मानको कर्मकाण्डी मात्र नबनाएर शैक्षिक गुणस्तरलाई उन्नत बनाउन शिक्षक, विद्यार्थी र व्यवस्थापनले प्रण गर्ने दिनको रूपमा मनाउन सके मात्र गुरुपूर्णिमाको सार्थकता बढ्ने छ ।

गुरुपूर्णिमाको महिमा र गरिमा गुरुको आचरण, विचरण र उच्च नैतिकतामा मात्रै फस्टाउँदै र निष्कलंक रहने कुरामा दुईमत हुन सक्दैन । परम्परागत गुरुशिष्यबीचको सुमधुर र सौहार्द सम्बन्ध अहिलेका शिक्षक र विद्यार्थीले अनुशरण नगरेको विभिन्न निन्दनीय घटनाले पुष्टि गरेको छ । अचेल विद्यार्थीले शिक्षकलाई अपमान, हातपात एवं कालोमोसो दल्नेजस्ता निन्दनीय कार्यहरू सामान्य बन्दै जानु गुणस्तरीय र संस्कारयुक्त शिक्षाको लागि शुभसंकेत होइन । शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् । शिक्षकहरूका व्यक्तिगत, सामाजिक र पेसागत विशेष गुणहरू हुनु आवश्यक छ । व्यक्तिगत गुणमा राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि । सामाजिक गुणमा पक्षपातरहित, पष्टवक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव, क्रियाशील, विनोदप्रिय, नेतृत्व गर्ने क्षमता र समाज र समुदायको ज्ञान आदि । पेसागत गुणहरूमा विषयगत उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानका ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञाषु र अध्ययनशील, खोज आदि प्रमुख रहेका छन् ।

अचेल शिक्षाको गुणस्तर बारे चर्चा बाक्लै हुने गरेको छ । गुरुस्तर गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षकभन्दा राम्रो हुन सक्दैन । अर्थात् शिक्षक राम्रो भए विद्यालय पनि स्वतः राम्रो हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउन शिक्षकको पेसागत दक्षता तथा निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्छ । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनुपर्छ । साधनस्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । जसका लागि प्रतिभाशाली जागरिलो पेसाप्रति समर्पित उत्साही शिक्षक अपरिहार्य हुन्छ । साथै, शिक्षण पेसामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरूमा भएको मौजुदा ज्ञानसिपलाई परिस्कृत र पारंगत गर्दै सक्षमता ल्याउन समयानुकूल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

शिक्षकलाई पेसाप्रति समर्पित र जाँगरिलो बनाउने खालका रणनीति अवलम्बन गर्न राज्य चुक्नुहुन्नँ । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेसागत उत्कृष्टता हासिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निष्कलंक, निस्वार्थता, नियमितता, नीतज्ञता, निसंकोचता, निर्दिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नुपर्छ ।

शिक्षण संस्थालाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउदै सिक्ने थलोको रूपमा विकसित गरिनुपर्छ । शिक्षक ज्ञान, सिप, अभिवृत्तिबाट कहिल्यै बुढो हुँदैन अतः निरन्तर नवीन कुरालाई सिक्ने सिकाउने भावनाबाट प्रेरित हुनुपर्छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हुँदा उनीहरूको कार्यगत क्षमता, लगनशीलता तथा पेसाप्रति समर्पणमा ऊर्जा थप्न पेसागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।

शिक्षण पेसामा प्रवेश गर्न तथा पेसागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समितिप्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्षरूपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको वृत्तिविकासमा पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितोसत्य हो । यसरी शिक्षकको पेसागत मर्यादामा विनाकारण पूर्वग्राही ढंगबाट आँच पुर्याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीन वर्षे कार्यकालका लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नुपर्छ । जानीजानी पदीय हैसियतलाई दुरूपयोग गर्नेलाई कानुनी दायरामा ल्याउनसके शिक्षकमा स्वभिमानीपूर्वक आफ्नो पेसागत धर्म निर्वाह गर्न उत्साही बनाउने छ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रीयस्तरमा संवैधानिक शिक्षक सेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुटै न्यायालयको व्यवस्था भएमा शिक्षण पेसामा दक्ष जनशक्तिको आकर्षण अझ बढ्नेछ ।

शिक्षकको पेसागत दक्षतालाई विद्यार्थीको उपलब्धिसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शीरूपमा गर्न सके गुणस्तरीयता कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले छ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घरपरिवारमा नै बिताउने साथै बालबालिकाको लागि घरपरिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्ततालगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरञ्जीवी सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेन्डर बनाइनुपर्छ । त्यसको अनुशरण भएनभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नुपर्छ । विद्यमान ऐन नियममा भएअनुसार कम्तीमा दुई सय २० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनुपर्छ । त्यस्तै, विद्यालयमा अनुशासित एवम् मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनुपर्छ । विद्यालयलाई बन्द हड्तालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनुपर्छ ।

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनुपर्छ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकर्षक रोचक रतिने खालको वातावरण हुनुपर्छ । शिक्षाकर्मीहरू विद्यार्थीप्रति उत्तरदायी हुनुपर्छ । उनीहरू नै रोजगारदाता हुन् भन्ने यथार्थलाई बिर्सनुहुँदैन, किनकि विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगारी सिर्जना हुने भएकाले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रूपमा व्यवहार गरिनुपर्छ । विद्यार्थी वनस्पतिको एक दाना बीउजस्तै हो । यदि उपयुक्त हावापानी तथा आवश्यकताअनुसार गोडमेल भएमा राम्रोसँग फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने वातावरण दिन सके मात्रै भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनुपर्दछ । गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षा र संस्कारमा भरपर्ने वास्तविकतालाई मध्यनजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशिल र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x