Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकलमी फलफूलको बोट र जोखिम न्यूनीकरण

कलमी फलफूलको बोट र जोखिम न्यूनीकरण


काठमाडौं । परम्परागतरूपमा गेडा वा बीउ रोपिएका फलफूलका रुखहरू ठूला हुन्छन्, जमिन पनि धेरै ओगट्छ । बोट हुर्किन पनि वर्षौँ लाग्ने हुँदा फल्न पनि समय लाग्छ । यी कुराहरूले गर्दा हालका दिनहरूमा कलमी गरिएका फलफूलका बोटहरू लगाउने चलन आइसकेको छ । गुदीभन्दा गेडाको भाग धेरै भएको र बोक्रा पनि बाक्लो भएका फलहरू रुचाउन छोडिएको छ । अहिले पनि गाउँघरमा कोया ठूलो भएको आँप पाइन्छन् । बजारका आँपहरूमा कोया सानो भएको पाइन्छ । नेपालमा ग्राफ्टिङ अर्थात् कलमी प्रविधि र चलनको विकास भएको धेरै वर्ष भइसक्यो । कलमी गरिएको बिरुवा रोपेको एक दुई वर्षमै फल्न सक्छ । यस लेखकका पिताजीले २०३२/३३ सालमा प्युठानको खलंगास्थित कृषि कार्यालयबाट आँप, कागती र अम्बा अर्थात् बेलौतीको कलमी बिरुवा ल्याउनुभएको थियो । आँपको बिरुवा रोपेको पहिलो वर्षमै तीनवटा दाना फलेको थियो । पहिलो वर्षमै सानो बोटमा फूल देखेपछि सबैजना अचम्ममा पर्यौं । यो दृश्य देखेर हामी मात्र होइन गाउँका धेरै मान्छे चकित भएका थिए । दुई फिट पनि उचाई नभएको बोटमा फुल्नु र फल्नु तथा दाना देखिनु अनौँठो कुरा मानिएको थियो । दोस्रो वर्षमा सो कलमी आँपको बोटमा १०/१२ वटा फल लागेको थियो । पाकेपछि चाख्दा निकै स्वादिष्ट लागेको थियो । सो बोट अहिले पनि छ, त्यो आँपको नाम नै कलमे आँप रहेको छ । कागतीचाहिँ हुर्किन सकनेन् भने अम्बा दुई/तीन वर्षमा फलेको थियो । अम्बाको दाना एउटा आधा किलोसम्मको फल्थ्यो, तर दानाभित्र गेडा हुनुपर्नेमा कालो धुलो बस्ने थोरै क्षेत्रफल देखिन्थ्यो । कुनै कुनैमा मात्र गेडा देखिन्थे । बाटो विस्तारको क्रममा त्यो अम्बा ढालिएको थियो भने सोको गेडाबाट उम्रिएको एक बोट अझै पनि छ ।

कलमी गरिएका बोटहरू साना–साना हुने भएकाले साना केटाकेटीहरू पनि चढ्न सक्छन् । केटाकेटीहरूलाई रुख चढ्न र पौडी खेल्न सिकाउनुपर्छ । किनकि मान्छेलाई कुन बेला के संकट आउँछ थाहा हुँदैन । कतिपय पाकेको फलहरू भुइँबाट टिप्न सकिने हुँदा कलमी गरिएका बोटहरू उपयुक्त ठानिन्छ । ठूला रुखमा चढ्न कठिन हुने र जोखिम पनि हुने हुँदा कलमी गरिएका बोट सहज हुने हुन्छ । कलमी प्रविधिबाट एउटै बोटमा बहुप्रजातिका फलफूल फलाउन सकिने भएकाले यो प्रविधिको चलन व्यापक हुँदै गइरहेको छ । बगैँचालाई पनि सुन्दर तुल्याउने हुँदा कलमी गरिएका आँप, आरु, आरुबखडा, नासपाती, कागती, बिमिरो, निबुवालगायतका फलफूलहरूको बोटहरू रोप्नु आवश्यक देखिन्छ । सहरमा कसैकसैले छतमा समेत ठूला गमलामा कलमी फलफूलका बोट रोपेर फलफूल फलाउने गरेको देखिन्छ । सहरबाहिर भने व्यावसायिक हिसाबले बढी मात्रामा फलफूलका बोटहरू रोप्ने गरिएको छ । थोरै रोपिएमा घरपरिवारका सदस्य र पाहुनाहरूलाई ठिक्क हुन्छ । धेरै रोपिएमा बढी भएको फलफूल बिक्री गरेर नगद आम्दानी गर्न सकिने हुन्छ ।

जरासँगको एउटा बिरुवामा अर्को बोटको हाँगालाई जोड्ने प्रविधि नै कलमी अर्थात् ग्राफ्टिङ हो । यसप्रकार कलमी प्रविधिबाट नयाँ किसिमको बिरुवा बन्दछ । विज्ञहरूका अनुसार यस्ता बोटहरूमा दुवै बोटको बास्ना र स्वादसहितका गुण र विशेषता हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने हुँदा कलमीमा जोड दिइएको पाइन्छ । बोटलाई स्याहारको खासै जरुरत पर्दैन भने रोग किरा पनि कम लाग्ने बताइन्छ । एउटै बोटमा थरिथरिका फलफूल फलाउन सकिने हुँदा पनि कलमीतर्फ किसानहरू आकर्षित हुनेगरेको पाइन्छ ।

नेपाललाई अहिले कृषिप्रधान देश भन्नसकिने अवस्था छैन । किनकि यहाँका युवायुवतीहरू कामको लागि खाडी मुलुकहरूमा र अध्ययनको बहानामा अमेरिका, अस्ट्रेलियालगायतका मुलुकहरूमा ओइरिएका छन् । देशमा रोजगारीका अवसरहरू घट्दै गइरहेका छन् । सरकारी होस् वा निजी उद्योगहरू ठप्प छन् । उद्योगहरू नचलेपछि कच्चापदार्थ उत्पादन गर्ने कृषकहरूको अप्रत्यक्ष रोजगारी समेत खोसिएको छ । नेताहरूलाई कुर्सीसँग मात्र मतलब छ । गरिब जनता र किसान–मजदुरहरूको हितमा कुनै पनि पार्टी देखिएका छैनन् । केवल घोषणापत्रमा लेखिन्छन् र भाषणमा मात्र बकिन्छन् जनताका समस्या र समाधानका उपायहरू । युवायुवतीहरू विदेश पलायन भएको कारण गाउँगाउँमा खेतबारी बाँझो भएपछि आयातमा निर्भर हुनुपरेको छ अर्थात् परनिर्भर हुनुपरेको छ । विदेशबाट आयात गरिएको तित्री वा इमली काठमाडौंमा किलोको नौ सयमा किनेर खानुपरेको छ भने नाइजेरियाको मकै किलोको एक सय ६० मा किनेर भुटेर खानुपरेको छ । त्यस्तै, फापर, कोदो, मकैलगायतका कैयन अनाजहरू भारतबाट आयात भएको पाइन्छ । भारतबाट आयातित पालिस लगाएको चामल मन पराइने गरिएको छ, जुन दुःखको कुरा हो । देशमा पहिलेको जस्तो जडन र मार्सीलगायतका रैथाने धान उत्पादन हुन छाडेका छन् ।

कृषि मन्त्रालय, कृषि विभाग मात्र होइन यहाँ कृषि अनुसन्धान परिषद् पनि छ । त्यस्तै, जिल्लाजिल्लामा कृषि ज्ञान केन्द्रहरू पनि छन् । तर देशमा झन्पछि झन् कृषि उपजमा न्यूनता आएको पाइन्छ । मलमा सधैं राजनीति हुने गरेको छ, जसका कारण किसानले समयमा मल नपाएर हैरानी व्यहोर्नुपरेको छ । असार १५ मा मन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाएको समाचार पनि आउँछ ।

कलमी प्रविधिको प्रचारः: देशमा रहेका किसानहरूका लागि कलमी प्रविधिको प्रचारप्रसार गर्न जरुरी छ । किनकि सामान्य तालिमबाट पनि कलमी बनाउन सकिन्छ । यसप्रकारको प्रविधिबाट धेरैभन्दा धेरै फाइदा लिन सकिन्छ । रोपेको एक÷दुई वर्षमै फल्ने र टिप्न पनि सजिलो हुने हुँदा यसतर्फ किसानहरूलाई सरकारले पनि प्रोत्साहन दिनु जरुरी छ । देशमै रहेर नगद आम्दानी गर्न सकियो भने विदेशमा गएर निम्नस्तरको काम गर्न कसलाई पो रहर लाग्दो हो र ?

किसानहरूलाई अनुदान: किसानहरूलाई कलमी गर्न र कलमी फलफूलको खेती गर्नको लागि सरकारले अनुदान दिनसकिएमा किसानहरू हौसिएर बढीभन्दा बढी उत्पादनशील कार्यमा लाग्ने थिए ।

स्वदेशका फलफूल कुहिन्छन्: हिमाली भेगमा स्याउ उत्पादन यथेष्ट मात्रामा हुन्छ । तर बजार पहुँच र सडक अभावका कारण बोटमै कुहेर जान्छ तथा गाईभैँसीलाई खुवाइन्छ भने भारत र चीनबाट आयात गरिएका स्याउ महंगो मूल्यमा किन्नुपर्ने अवस्था छ ।

महंगा मसलाहरू उत्पादन गर्ने: भारतलगायत विदेशबाट आयात हुने महंगा खालका सुकमेल, ल्वाङ, बदाम, काजु, किसमिसलगायतका मसलाहरू नेपालमै उत्पादन गर्न सकियो भने विदेशी मुद्रा विदेशिनबाट बच्ने हुँदा मुलुककै लागि आर्थिक फाइदा हुने निश्चित छ । यसतर्फ पनि सरकारले आवश्यक कदम चाल्न जरुरी देखिन्छ ।

भारतबाट आयात हुने तरकारीमा बन्देज: नेपालका किसानहरूले उत्पादन गरेका कृषि उपजहरूभन्दा भारतबाट आयात हुने कृषि उपजहरू सस्तो पर्ने हुँदा नेपाली किसानहरूको उपज बिक्री नभएर त्यसै खेर फाल्नुपर्दा किसानहरू निराश हुँदै आएको समाचारहरू सुन्न र पढ्न पाइन्छ । यसतर्फ पनि सरकार गम्भीर हुनु अनिवार्य छ । भारतबाट आयात भएका विषादीसहितका तरकारी तथा फलफूल नेपाली उपभोक्ताका लागि किमार्थ उपयोगी छैनन् । यसका लागि सीमा नाकामा कडाइ गर्नुपर्छ ।

किसानलाई पुरस्कार: जसले धेरै र उत्कृष्ट काम गर्छ, त्यस किसानलाई पुरस्कारको व्यवस्था गरेमा किसानहरूमा उत्साह अर्थात् जाँगर चल्नेमा दुईमत छैन । उत्कृष्ट किसानलाई विदेशी कृषि फार्महरूको अवलोकन भ्रमणको व्यवस्था गरेमा पनि किसानहरूमा प्रोत्साहन मिल्न गई उत्पादकत्वमा वृद्धि हुन जान्छ ।

रैथानेलाई महत्व दिने: आयातितभन्दा पनि रैथाने जातका अनाजहरूलाई अस्तित्वमा राखिराख्न जरुरी छ । जौँ, मकै, कोदो, फापर, जुनेलो, लट्टे, कागुनो, चिनो, उवाजस्ता रैथाने अनाजहरूको खेती गराइराख्नका लागि किसानहरूलाई उपजका लागि उचित मूल्य तोक्नु पनि जरुरी देखिन्छ । विचौलियाहरूले त्यस्ता उपजहरू सस्तोमा खरिद गरेर राजधानी काठमाडौंलगायत अन्य सहरहरूमा महंगो मूल्यमा बिक्री गरेको पाइन्छ । तसर्थ, किसानहरूलाई मर्का नपरोस् भन्नाका खातिर सरकारले बिचौलियाहरूलाई नियन्त्र गर्नुका साथै अनुगमन र निरीक्षणका कार्यहरू पनि गर्नुपर्छ ।

तेल उत्पादनमा वृद्धिः आयातित सूर्यमुखी तेल नेपालमा लिटरको चार सय ४० सम्म पर्ने गरेको छ । नेपालमा पनि सूर्यमुखी तेल उत्पादनका लागि चाहिने सूर्यमुखी फूलको उत्पादनमा जोड दिनु जरुरी छ । मधेशका कतिपय ठाउँहरूमा सूर्यमुखी फूलको खेती गरेको त देखिन्छ । सूर्यमुखी फूलको फार्ममा गएर टिकटक बनाउने गरेको पाइन्छ । रमाइलोका लागि भन्दा पनि यो खेती व्यावसायिक बनाउनुपर्छ । उचित मूल्यमा सोको तेल उपभोक्ताहरूले किन्न सकेमा किसानलाई केही राहत हुने नै छ ।

जंकफुडलाई निरुत्साहन: हाल गाउँगाउँमा पनि चटपटे, चाउमिन, पानीपुरीको व्यवसाय फस्टाउँदै गएको पाइन्छ । घरमा रहेको मकै, भटमास भुटेर खानुभन्दा त्यस्तै जंकफुडमा जोड दिने केटाकेटीहरूको संख्या बढ्दैछ । घरमा बनाएको रोटी र खाजाभन्दा त्यस्तै जंकफुड खानाले स्वास्थ्यमा नकारात्मक असर पर्न जानेमा कुनै शंका छैन ।

फलफूल खेतीमा जोड: किसानहरूको आर्थिकस्तर सुधारका लागि फलफूल खेती अनिवार्य देखिन्छ । यो नगदे बाली वा व्यवसाय पनि हो । फलफूल पाकेपछि उपभोक्ताहरू बोटमै आएर किन्न सक्छन् । बजारमा खासै पुर्याउनुपर्दैन । प्राङ्गारिक फलफूल उपयुक्त भन्ने भनाइ अहिले धेरैले बुझिसकेका छन् । त्यसैले आयातित फलफूलको सट्टा आफैं उत्पादन गरेको फलफूल सेवन गर्ने र बचेखुचेको बिक्री गर्ने गरेमा दुवै फाइदा लिनसकिन्छ ।

अन्त्यमा कलमी फलफूलको खेतीले जोखिम न्यूनीकरण गर्छ । फलफूल टिप्नका लागि ठूला रुखमा चढ्ने मान्छे खस्न सक्छ, घाइते हुन सक्छ र जे पनि हुन सक्छ । साथै, फलफूल संकलन गर्न पनि समय लाग्छ । कलमी गरिएको फलफूल खेती गर्दा छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सकिने भएको हुँदा किसानहरूलाई कलमी फलफूलको खेती गर्नका लागि उत्साह प्रदान गर्नु कुनै पनि सरकारको कर्तव्य हुन आउँछ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x