अमेरिका भनेर आश्चर्य मान्नुपर्ने केही छैन
कृष्णमणि पराजुली
काठमाडौं । संसार एउटै छ । पृथ्वी एउटै छ । मानिस भन्ने जात एउटै हो । भिन्नभिन्न भूगोल, रहज सहन र वातावरणले गर्दा मानिस फरकजस्तो देखिएको हो । सार तत्वमा संसारभरका मानिस एकै हुन र एकै सम्झनुपर्छ । यही कुरा बुझ्न नसकेकाले मानिसको बुझाइ र विचारमा भिन्नता आएको हो ।
यहाँ प्र्रसंग छ अमेरिकाको । अमेरिका नआउनेहरूका लागि अमेरिका के–के न छ । यो स्वाभाविक पनि होला । संसारको विकसित देशप्रति जिज्ञासा हुनु स्वाभाविक पनि हो । किनभने सजिलोसँग अमेरिका छिर्न सकिँदैन । भिसा लिन कठिन भएको हुनाले नै यो देशप्र्रति आकर्षण बढ्न गएको हो । कतिपय हामीहरू अमेरिकाको विषयमा जानकार छौँ । कतिपयले सुनेर थाहा पाएका छौँ । कतिपयले पढेर थाहा पाएका छौँ । जसरी भए पनि केही न केही जानकारी लिएकै छौँ । अमेरिकाको विषयमा बुझ्नैपर्छ भन्ने पनि केही छैन । अहिले सामाजिक सञ्जालको कारणले गर्दा आफ्नै घरमा बसेर पनि पूर्ण ज्ञान लिन सकिन्छ ।
कुनै पनि बीउविजन उस्तै हुन्छ । नेपालको होस् वा भारतको अथवा अमेरिकाको । त्यसलाई उमार्ने, रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने र हुर्काएर फसल प्राप्त गर्ने सबैको एकै किसिमको तरिकाले काम गरेको हुन्छ । यस दृष्टिकोणबाट हेर्दा आश्चर्य मान्नुपर्ने कुरा केही छैन । यो एउटा सामान्य प्रतिनिधिमूलक उदाहरण मात्र हो ।
एकदम भिन्न हो भनेर बुझ्नु हुँदैन । हामी पनि उस्तै हौं भनेर बुझ्नुपर्छ । उनीहरू धेरै परिश्रम गर्दछन् । काम गरेपछि मात्र सुख प्राप्त हुन सक्छ भन्ने उनीहरूको विचार हुँदो रहेछ । त्यसकारण जस्तोसुकै काम भए पनि कुनै फरक पर्दो रहेनछ अमेरिकामा । सानोतिनो काम गर्दा सानो भइने र ठूलो काम गर्दा ठूलै मानिस भइन्छ भन्ने पटक्कै हुँदो रहेनछ । सबैले सबैलाई उत्तिकै इज्जत दिने हुँदा कोहीदेखि कोही उपेक्षित हुनुपर्ने अवस्था नै आउँदो रहेनछ ।
अमेरिकामा मानिसलाई नै सर्वेसर्वा मानिँदो रहेछ । अर्थात् मानवमैत्री । जेजति काम गरिएका हुन्छन् ती सबै मानिसलाई नै केन्द्रविन्दु बनाएर गरिँदो रहेछ । मानौँ कुनै सडक निर्माण गरिँदै छ भने त्यो सडक सबैले उत्तिकै उपभोग गर्न पाउनुपर्छ भन्ने हुँदो रहेछ । भनाइको अर्थ फरक किसिमका मानिसले पनि उत्तिकै उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यता रहेछ । विकास मानिसको लागि हो भन्ने धारणाले गर्दा सबै कुरा मानिस केन्द्रित हुँदा रहेछन् । कुनै विदेशी नागरिक कुनै कागजातविना अमेरिका प्रवेश गर्यो भने पनि उसलाई औषधि उपचार गरिएकै हुन्छ । पैसा नभएको कारणले औषधोपचार गर्न नपाएर मानिस मर्दैन । मानवताको दृष्टिकोणबाट सरकारले खर्च गरिदिन्छ । अस्पताल जान सवारी साधन नभए पनि अस्पतालले नै सवारी साधनको व्यवस्था गरिदिन्छ ।
कुनै मानिस बाटोमा हिँडी रहेको छ र कथंकदाचित त्यो मानिस सडकमा आइहाल्छ कि भन्ने सम्भावनालाई ध्यान दिएर सवारी चालक एकदम होसियार हुन्छन् । पहिलो प्राथमिकतामा फुटपाथमा हिँड्ने मानिस पर्दारहेछन् । त्यसपछि मात्र सवारी चालक पर्दारहेछन् । हरेक क्रियाकलापमा मानिसलाई नै महत्व दिनुपर्ने कुरा यहाँको एक प्रकारको प्रचलन नै रहेछ ।
अमेरिका र अमेरिकन भनेर आश्चर्य मान्नुपर्ने कुनै कुरै छैन । हो उनीहरूले धेरै विकास गरेका छन् । मानिस इमान्दार, नैतिकवान र परिश्रमी हुने हो भने देश विकास हुन त्यति समय लाग्दो रहेनछ । छोटो अवधिमा अमेरिकाले जुन विकास गर्यो यसले भने सबैलाई चकित नै बनाएको छ । जहाँसुकै सडक, बत्ति, पानी, अस्पताल, रोजगारी पुर्याएका छन् । मानिसले आर्जन गर्ने अवसर प्राप्त गर्न सक्यो भने अरू कुरा स्वतः नै आउँदा रहेछन् । हामीले भने पूर्वाधार निर्माण गर्न नसकेको हुनाले विकासमा पछि परेका हौँ । अल्छि भएर गन्तव्यमा कहिल्यै पुग्न सकिँदैन । अलिअलि गरेर भए पनि अघिसर्दै जाने हो भने हामीले पनि विकास गर्न सक्छौँ । हामी अल्छि भयौँ । कुरा गर्ने मात्र भयौँ । काम गर्न जानेनौँ । विकास त्यसै आउने होइन । काम गरेर आउने हो । अमेरिका पनि स्वतः विकास भएर आएको देश होइन । धेरै परिश्रम गरेर विकास भएको देश हो । परिश्रम गर्ने हो भने कुनै पनि देश अविकसित हुनै सक्दैन ।
देश हाक्ने भनेको राजनीतिले हो । राजनीतिले बेइमानी गरेपछि देश उँभो लाग्नै सक्दैन । हामीले बेइमानी मात्र गर्न सिक्यौँ । अरू कुरा सिक्न सकेनौँ । विकास निर्माण कार्यलाई ओझेलमा पार्ने र आफ्नो मात्र स्वार्थ हेर्दा देशको अवस्था यसरी लथालिङ्ग भएको हो । उनीहरूले धेरै परिश्रम गरे । राष्ट्रिय साधन स्रोतको उच्चतम परिचालन गरे । निर्धारित लक्ष्य प्राप्त गरे । विकासलाई केन्द्र बनाए । यसरी विकास गरेको हुनाले अहिले विश्वको एक नम्बर धनी देश बन्न पुगेको छ । चिच्याएर विकास हुने होइन । देश विकास कर्मले हुने हो ।
अमेरिका धेरै महंगो देश हो । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यजस्ता कुरा महंगा भए पनि राम्रो आय आर्जन गर्ने भएकाले यसको असर नागरिकमा त्यति पर्दो रहेनछ । जुनसुकै देशमा पनि आवास र स्वास्थ्य महंगो हुन्छ नै । अमेरिकामा पनि आवास र औषधोपचार महंगो नै हुन्छन् । महंगा भए पनि सानो किस्तामा लामो अवधिमा भुक्तानी गर्न पाउने सुविधाले आवासको त्यति कठिनाइ हुँदो रहेनछ । औषधि उपचार मूलतः बीमामा भरपर्दो रहेछ । बीमाको सानो रकमले ठूलो रोगको उपचार गर्न सकिँदो रहेछ । बीमा नभएकाहरूले भने औषधि उपचारमा ठूलै रकम खर्च गर्नुपर्छ । त्यसकारण सबैले बीमा गराउँदा रहेछन् । यहाँको विशेषता भनेको नै हुनेले धेरै कर तिर्ने र नहुनेलाई त्यही करबाट सेवा उपलब्ध गराइने हुँदा सामाजिक न्याय प्रणाली उत्तम रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
देश बन्न पैसा नै आवश्यक हुन्छ । राज्य बलियो हुन पैसा नै चाहिने हुन्छ । त्यसैले देश बनाउन नागरिकले पाइलैपिच्छे कर तिनुपर्छ । एउटा सानो चकलेट किन्दा होस् वा एक टुक्रा पाउरोटी किन्दा होस् नागरिकले कर तिर्नैपर्छ । सरकारले प्रगतिशील कर प्रणाली अपनाएको हुनाले नै विकास सम्भव भएको छ । करबाट कसैले पनि छुटकारा पाउन सक्दैनन् । प्रत्येक कारोबारमा कर तिर्नुपर्ने र करको उच्चतम प्रयोग हुने भएकाले विकास सहज भएको देखिन्छ । राज्य सञ्चालन हुने भनेको नै करबाट हो । सरकार आफैँ केही होइन । यसले नागरिकबाट कर असुल्छ र त्यही कर नागरिकको इच्छाअनुसार खर्च गर्ने हुँदा कर तिर्नु नागरिकको लागि गौरवको विषय हुँदो रहेछ । सबैले काम गर्ने । सानो काम भनेर उपेक्षित नगर्ने र एउटा मानिसले अर्कोलाई इज्जत दिने भएकोले सबै कुरा मानिस केन्द्रित हुँदा रहेछन् । यसकारणले गर्दा विकासले द्रूततर गतिलिन सक्दो रहेछ ।
विज्ञान र प्रविधिको उच्चतम विकासले गर्दा अमेरिका पृथक देखिएको हो । भू–धरातल, वनजंगल, खेतीपाती, बाटोघाटो, सडक, शिक्षा, स्वास्थ्य आदि सबै देशका उस्तै हुन् । मुख्य सवाल भनेको उनीहरूले यस्ता सबै क्षेत्रहरूको विकास गरे र विकासको उच्च चरणमा पुगेका हुन् । हामीहरूले यी अवयवहरूको विकास गर्न सकेनौं र अहिलेसम्म पछि परिरहेका छौँ । फरक यत्ति मात्र हो ।
विकास मूलतः राजनीति, आर्थिक र सामाजिक पक्षसँग जोडिएको हुन्छ । अमेरिकाले यी तीनै क्षेत्रको विकास गरेको छ र समन्वय पनि गरेको छ । राज्य प्रणालीमा प्रत्येक नागरिकको योगदानलाई कदर गरेको छ । सवै कुरा मानव केन्द्रित भएको हुँदा सबै नागरिकमा विकास हाम्रै लागि हो र हाम्रै योगदान आवश्यक हुन्छ भन्ने भावनाले ठूलो काम गरेको देखिन्छ ।
यहाँ भन्न खोजिएको कुरा के हो भने अमेरिका भनेर आश्चर्य मान्नुपर्ने कुरा केही छैन । यहाँ केही नगरी बोटबाट फल टिपेजस्तो गरी पैसा टिप्न सजिलो छैन । उनीहरूले धेरै परिश्रम गरेर नै विकास गरेका हुन् । हामीले पनि जाँगर लगाउन सक्यौँ भने नेपालमा विकासको सम्भावना धेरै छन् । हामीले अवसरहरूबाट फाइदा लिन सकिरहेका छैनौँ । विकास गर्ने इच्छा शक्ति र प्रतिबद्धता हुने हो भने सबै मुलुकमा विकासका सम्भावना हुन्छन् नै । त्यसकारण सम्भावनाहरूलाई यथार्थमा परिणत गरौँ । अनि विकासले गति लिइहाल्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया