देश किन बनेन ?
काठमाडौं । देश बनाउन वा विकास गर्न धेरै परिश्रम गर्यौं । धेरै पसिना बगायौँ । धेरै लगानी गर्यौँ । धेरै समय खर्चियौँ । यद्यपि विकासले बाटो लिन सकिरहेको छैन । २००७ सालदेखि हामी विकासकै कुरा गरिरहेका छौँ । विकासको लागि देशमा धेरै पटक राजनीति परिवर्तन गरियो । व्यक्ति परिवर्तन भए । धेरै कुरा परिवर्तन भए तर जनताको अवस्थामा परिवर्तन भएन । अहिले यही नै आम नागरिकको चिन्ता हुन गएको छ ।
विकासलाई निरन्तरता दिन आवधिक योजनाको आवश्यकता पर्छ । त्यसकारण २०१३ सालमा योजनाबद्ध विकासको लागि प्रथम पञ्चवर्षीय योजना प्रारम्भ गरियो । अहिले १६औँ आवधिक योजनाको प्रारम्भिक चरणमा आइपुगेका छौँ । विकासलाई गतिदिन अन्तर्राष्ट्रिय सहयोग लिन थालियो । दातृ संस्थाहरूले धमाधम सहयोग गर्न थाले । न्यून ब्याजदरमा ऋण प्राप्त गरियो । विकासमा जनसहभागिता बढाइयो । जनताबाट ठूलो राजस्व उठाइयो । विभिन्न विकासमूलक आकर्षण नारा लगाइए । विकासको लागि जनचेतना कार्यक्रम ल्याइयो । विकासको लागि आवश्यक पर्ने सबै अवयवहरू जुटाउने काम भयो । सबै पूर्वाधार तयार हुँदाहुँदै पनि जनताले विकास पाउन सकेनन् । त्यसैले अहिले आमनागरिक विकास किन हुन सकेन भनेर प्रश्न उठाइरहेका छन् । किन विकास भएन ? देश किन बनेन ?
विकास कुनै एक क्षेत्र, समुदाय, वर्ग, जाति, परिवार र व्यक्तिमा मात्र सीमित हुनुहुँदैन । विकासले सबैलाई समेट्नुपर्छ । तपाईँले लगाउनुभएको टोप जसरी तपाईँलाई मिलेको छ त्यो टोप मेरो टाउकोमा पनि त्यसरी नै मिल्नुपर्छ । टोपको प्रकृति नै यस्तो हो कि जसले लगाए पनि मिल्ने हुन्छ । विकास पनि त्यस्तै हो । भनाइको अर्थ विकास सबैसँग उत्तिकै मिल्नुपर्छ । विकासले कुनै क्षेत्र, वर्ग, जातजाति, सम्प्रदाय, परिवार, व्यक्ति भनेर छुट्याउनु हुँदैन । तर, विकासबाट बञ्चित भएकाहरूलाई भने विशेष सुविधा उपलब्ध गराएर बराबरीमा ल्याउनुपर्छ ।
विकासको सन्दर्भमा हामी कहाँ भ्रम सिर्जना गरेको पाइन्छ । नभएको विकासलाई भएको विकास भनेर भाष्य निर्माण गरिन्छ । हो, केही मात्रामा विकास भएको छ । त्यो विकास कहाँ र कसरी भइरहेको छ भन्ने बुझ्नुपर्छ । ७४ वर्षअघिको विकास र अहिलेको विकासमा निश्चय नै फरक छ र फरक हुनुपर्छ पनि । २००७ सालसम्म देशमा केही विकास नै भएको थिएन । सानातिना विकास निर्माण कार्य व्यक्तिको लागि भएका थिए । त्यस समयमा राष्ट्रिय साधन पनि न्यून थिए । जे–जति थिए शासक निजी प्रयोगमा खर्च गरिन्थ्ये । त्यसकारण विकासबारे धारणा समेत निर्माण भएको थिएन ।
अहिले देशको परिस्थिति भिन्न भएको छ । देश अन्तर्राष्ट्रिय जगतसँग जोडिएको छ । विश्व समुदायसँग जोडिएकाले वैदेशिक सहयोग उपलब्ध भइरहेको छ । कुल वार्षिक बजेटमा वैदेशिक सहयोगको अंश ठूलो रहँदै आएको छ । मित्र राष्ट्रहरूले फिर्ता नगर्नेगरी अनुदान दिँदै आएका छन् । थोरै ब्याजदर र लामो अवधिमा फिर्ता गर्ने गरी ऋण समेत उपलब्ध गराइरहेका छन् । कतिपय देशहरूले आफैँले निर्माण कार्य गरेर सरकारलाई साँचो हस्तान्तरण पनि गर्दै आएका छन् । यसरी निर्माण भएका कामहरूमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय आदि छन् । त्यसैगरी प्राविधिक उपकरण, सवारी साधन, एम्बुलेन्स, शैक्षिक सामग्री, छात्रवृत्ति आदि प्राप्त भइरहेको छ । यस्तो अवस्थामा पनि विकास अघि बढ्न सकेको छैन । धेरै साधन स्रोत खर्चिँदा त देखिने विकास हुनुपथ्र्यो तर विकास देखिएको छैन । बरु देशमा आर्थिक तथा राजनीति भ्रष्टाचार व्यापकरूपमा बढ्दै गएको देखिएको छ । आश्चर्यलाग्दो यो कुरा छ कि देशमा विकास देखिदैन बरु प्रत्येक दिन भ्रष्टाचार भएका ठूला–ठूला काण्ड आइरहेका देखिन्छन् ।
नगन्य विकास पनि योजनाबद्ध किसिमबाट भएको देखिँदैन । सत्ता र पहुँचको आधारमा भएका विकासलाई कसरी विकास भन्न सकिएला र ? केही बाटाघाटा, पुलपुलेसा, विद्यालय, भवन बनेका होलान् । केही स्वास्थ्य चौकी बनेका छन् । यिनीहरूको दृष्टान्त दिएर विकास भएको छ भन्नेहरूसँग वादविवाद गर्नु पनि उपयुक्त नहोला । यथार्थ के हो र के भइरहेको छ भन्नेतिर लाग्नु नै राम्रो हुनेछ ।
अहिले भइरहेको विकास जंगलमा सानासाना बोटबिरुवा उभ्रिए जस्तै हो । केही नगरे पनि बोटबिरुवा उम्रिएकै हुन्छन् । तपार्इँ हाम्रो अनुहारमा दाह्रीजुँगा उमार्न केही गर्नुपर्छ र । त्यसरी नै विकास भएको छ हाम्रो देशमा । विकास गरौँ भनेर गरिएको विकास होइन । आफैँ भएको विकास हो । विकास गरौँ भनेर योजनाबद्ध किसिमबाट गरिएको विकास भए पो विकासले निर्दिष्ट बाटो अवलम्बन गर्न सक्थ्यो र ?
कुलिन परिवारको लागि विकास भएको छ । शक्तिमा बस्नेहरूको लागि विकास पुगेको छ । अनि जसको पहुँच पुगेको छ उसको लागि विकास पुगेको छ । सामान्य नागरिकको लागि विकास पुगेको छैन । प्रतिफल पाउने त कुरै भएन । स्वदेशमा रोजगारी नपाएर विदेश पलायन भएका छन् । देशमा शिक्षा र रोजगारीको अवसर नभए पछि १२ कक्षा कहिले उत्तीर्ण भइएला भनेर विद्यार्थी प्रतीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ऊर्जाशील युवा जनशक्ति स्वदेशमा पाउन मुस्किल छ । त्रिभुवन विमानस्थलबाट प्रत्येक दिन तीन हजारका दलहरूले युवा विदेशिने गरेका छन् । गाउँका घर खाली छन् । खेतबारी बाँझो जग्गामा परिणत भएका छन् । वृद्ध बा–आमाले बुढो घर कुरिरहेको अवस्था छ । विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ ।
अहिले प्रत्येक नेपालीको शिरमा ८१ हजारभन्दा बढी ऋण पुगेको छ । यथार्थमा भन्नुपर्दा विप्रेषण र ऋणले देशकै अर्थतन्त्र धानिएको छ । विप्रेषण बन्द हुने र ऋण प्राप्त नहुने हो भने देशको अर्थतन्त्र कस्तो अवस्थामा पुग्ला सहजै अनुमान लगाउन सकिन्छ ।
सरकार नभएका होइनन् । केन्द्रदेखि तलसम्म सात सय ६१ ओटा सरकार नै छन् । यति ठूलो शासकीय संरचना हुँदा पनि जनताले विकास निर्माण तथा सेवा सुविधा पाउन सकिरहेका छैनन् । एकैछिन विकासलाई कृषकका कुरा गरौँ । कृषकहरूले पैसा तिर्दा पनि समयमा मल, बीउ, उपकरण, सिँचाइ पाउन सकेका छैनन् । सिँचाइ र अन्य कुरा त निकै परेका विषय हुन् । कृषिप्रधान मुलुकमा खाद्यान्नलगायत कृषिजन्य पदार्थमा परनिर्भर बढ्दै गएको छ । ठूलो मात्रामा आयात गर्नुपर्दा दुर्लभ मानिएको विदेशी मुद्रा खर्च गर्नुपरेको छ ।
प्रत्येक दिनका अखबारले विकास निर्माणका समाचारभन्दा भ्रष्टाचारका समाचारले पृष्ठ भरिएका हुन्छन् । सत्तामा पुग्न र टिकी राख्नको लागि जे पनि गर्नपछि पर्दैनन् । ठूला माछादेखि साना माछासम्म भ्रष्टाचारमा संलग्न भएका घटनाहरू देखिएकै छन् । मन्त्रीदेखि सचिवसम्म सांसददेखि संवैधानिक अंगका प्रमुख तथा सदस्यहरू र सभामुखदेखि सुरक्षाकर्मी भ्रष्टाचारमा मुछिएका छन् । त्यस्तै, न्यायमूर्तिजस्ता महत्वपूर्ण ठानिएका पदाधिकारीहरू पनि मुछिएका अवस्था छ । सुन तस्करीदेखि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर देशको अस्मीता बेच्ने कार्यमा को–को संलग्न भएका छन् भन्ने कुरा सबैलाई थाहा भएकै छ । यसरी उच्च पदस्थहरूबाट ठूलो मात्रामा भ्रष्टाचार हुनाले राष्ट्रिय ढुकुटीमा दबाब पर्न गएको छ ।
नीतिमा सर्वश्रेष्ठ राजनीति हो । राजनीतिबाट नै अन्य नीति निर्दिष्ट हुने हुन् । तर अहिले राजनीतिले बाटो विराएको देखिन्छ । राजनीति भनौँ वा शासकीय प्रणाली जस्तोसुकै भए पनि विकास गर्नका लागि केही फरक पर्दैन । हामी अहिले विश्वमा नै उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक शासकीय प्रणाली अपनाई आएका छौँ । त्यसकारण शासकीय प्रणालीलाई दोष दिन सकिँदैन । फराकिलो शासकीय संरचना हुँदाहुँदै पनि जनताका अपेक्षा र यथार्थतामा ठूलो भिन्नता देखापरेको छ । त्यसकारण व्यवस्थाभन्दा पनि जनताको अवस्थामा परिवर्तन ल्याउनुपर्ने हो । जनताको अवस्थामा केही परिवर्तन आएको अवस्था छैन ।
जनता गाँस, बास र कपासले आक्रान्त छन् । गरिबीको रेखामुनिको जनसंख्या २० दशमलव २७ पुगेको छ । यति ठूलो प्रतिशत गरिबीको रेखामुनि रहनु भनेको राज्यको लागि शुभ संकेत होइन । विकासको लागि अरू कुराभन्दा राजनीति स्वच्छ हुनुपर्दो रहेछ । नेतृत्वमा रहने वर्गले विकासप्रति कटिबद्ध हुने हो भने एक जनाले पनि देश बनाएका कुरा हामीले देखेका छौँ । मलेसियाका महाथिर महमुद र कोरियाका लि क्वान युले कसरी देशको विकास गरेका छन् र हामीहरूको अवस्था कस्तो छ तुलना गर्नै सकिँदैन ।
देशको राजनीति अस्थिर भएपछि जनताले दुःख पाउनु स्वभाविक नै हुन आउंछ । लोकतन्त्रको मूल्यमान्यता विपरित सरकार गठन हुने गर्दछन् । सामान्य मान्यताअनुसार जुन दलको बहुमत हुन्छ उसले सरकारको नेतृत्व गर्ने हो । उसले बहुमत पुर्याउन नसके दोस्रोले सरकार बनाउने हो । तर, यहाँ त मान्यता मिचेर स्वार्थको आधारमा सरकार गठन र विघटन हुने गर्छन् । एक वर्षमा तीन पटक सरकार परिवर्तन हुँदा राजनीति र प्रशासनिक क्षेत्रमा उथलपुथल हुनु हो । अहिले कुनै नौलो कुरा होइन ।
कमजोर राजनीतिले गर्दा कूटनीति मामलामा नेपालको छवि खस्किँदै गएको अवस्था छ । पटक–पटक सरकार परिवर्तन हुँदा नेपालको प्रतिनिधिको रूपमा रहेका राजदूतहरू फिर्ता बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्ध खलबलिएको अवस्था छ । अर्को कुरा सरकार परिवर्तन हुँदा स्थायी सरकार भनिने प्रशासनमा पनि आमूल हेरफेर हुँदा विकास निर्माणका कार्यहरू लथालिङ हुन पुगेका छन् । प्रशासनमा एक प्रकारको स्पोइल प्रणालीको विकासले राजनीति मात्र घिनलाग्दो होइन कि प्रशासनिक क्षेत्र पनि विकासमूलक हुन सकेको देखिँदैन ।
देशलाई विकासको बाटोमा लैजाने काम मूलतः राजनीतिको हो । राजनीति विकासमूलक हुन सकेन । प्रशासनलाई बिगार्ने काम पनि राजनीतिबाट नै हुने गरेको छ । राजनीति र प्रशासनमा सुधार नहुने हो भने विकासको बाटो कठिन छ । विकासको लागि आवश्यक हुने डाडुपन्यू जनतासँग हुँदैन । जनताले देखाउनुपर्ने सक्रियता देखाएकै अवस्था छ । विकासका अभिकर्ता भनेका राजनीति, प्रशासन र सार्वभौम जनता नै हुन् । यी तीनको सक्रियतामा विकासलाई अघि बढाउनुको विकल्प देखिँदैन ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया