लगानीकर्ता सतर्क हुुनुपर्ने बेला आएको छ
काठमाडौं । झण्डै ३२ वर्षदेखि सञ्चालनमा रहेको, नेपाल फाइनान्स कम्पनीको ७२ करोड ९४ लाख ९६ हजार चुक्ता पुँजी रहेको छ । प्रकाशित आर्थिक विवरणअनुसार २०८० चैत्र मसान्तसम्म कम्पनीको नाफा लगभग शून्य नै छ ।
नेपाल फाइनान्सले आफ्ना सेयर लगानीकर्तालाई फाट्टफुुट्टबाहेक सधैँ निराश नै पार्दै आएको छ । वर्षौंको पर्खाइपछि आव २०६७÷६८मा फाइनान्सले लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिएको थियो । त्यसपछिका झण्डै १२ वर्षसम्म लगानीकर्तालाई जिल्याएको यो कम्पनीले आव २०७८÷७९ मा दश बराबर सात कित्ताका दरले हकप्रद सेयर निष्काशन गरेको थियो । सर्वसाधारणतर्फको हकप्रद सेयर जेनतेन बिक्री भएको थियो भने अधिकांश संस्थापकहरूले नै हकप्रद सेयर खरिद गरेका थिएनन् ।
कम्पनीको खराब व्यवस्थापकीय प्रदशर्नकै कारणले संस्थापकहरूले खरिद नगरेको एघार लाख सोह्र हजार छ सय १६ कित्ता हकप्रद सेयर, प्रथम पटक लिलाम गरिएकोमा मुुस्किलले २२ हजार एक सय ४५ कित्ता मात्र बिक्री भएको थियो । बाँकी रहेको दश लाख ९४ हजार चार सय ७१ कित्ता पुुनः गत महिनामा बिक्रीका लागि सूचना प्रकाशित गरेको थियो ।
२०८१ साल जेठको पहिलो सातातिर नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर चार सय ८७ मा कारोबार भइरहेको थियो । तर दिनहुँ उच्च अंकले मूल्य बढाउँदै असार १३ गते बिहीबार प्रतिकित्ता एक हजार १२ रुपैयाँ पुर्याइयो । जुन अत्यन्तै अस्वाभाविक मूल्य थियो । अझै पनि प्रतिसेयर आठ सय बीस हाराहारीमा कारोबार गरिँदै छ ।
नेपाल फाइनान्स कम्पनीको समष्टिगत आर्थिक तथा व्यवस्थापकीय अवस्थालाई मध्यनजर गर्दा यो कम्पनीले सेयर लगानीकर्तालाई आउँदा दिनमा समेत कुनै प्रतिफल दिन नसक्ने प्रष्ट नै छ । हकप्रद सेयर निष्काशन गरेर पुँजीवृद्धि गर्दै लैजाने वा अन्य बैंकसँग मर्जरमा जानेबाहेक यो कम्पनीको अरू विकल्प देखिँदैन ।
सेयरबजारका केही तथाकथित लगानीकर्ताका रूपमा रहेका ब्वाँंसाहरूले राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीति होस् वा वाणिज्य बैंकहरूको ब्याजदरमा हुुने घटबढका बेला होस् वा नेपाली राजनीतिमा भइराख्ने उथलपुथलको प्रसंगलाई स्यालहुइयाँ मच्चाएर हामी सर्वसाधारण लगानीकर्तालाई मुुर्गा बनाउँदै आएका छन् र अवान्छित फाइदा लिँदै आएका छन् । परिणामस्वरुप, सेयरबजार प्रतिविश्वास एवं भरोसा राखेर सानो तिनो रकम लगानी गर्दै आएका हामी साधारण लगानीकर्ताले ठूलै आर्थिक नोक्सानी व्यहोर्दै आउनुपरेको छ ।
सेयरबजारमा केही व्यक्तिहरूले गर्ने अवान्छित चलखेलमा सर्वसाधारण लगानीकर्ताहरू कसरी फस्ने गरेका छन् भन्ने ज्वलन्त उदाहरण नेपाल फाइनान्स लिमिटेड कम्पनीमा हुँदै आएको अस्वाभाविक सेयर मूल्यवृृद्धिको खेलबाट प्रष्ट नै हुुन्छ ।
सेयरबजारको नियामक निकाय धितोपत्र बोर्ड हो । सेयर कारोबारलाई प्रत्यक्ष निगरानीमा व्यवस्थित ढङ्गले कारोबार गर्ने गराउने कार्य नेपाल स्टक एक्सचेन्जको हो । लगानीकर्तालाई कुनै प्रतिफल दिन नसक्ने नेपाल फाइनान्स लिमिटेडजस्ता कम्पनीका साथै नकारात्मक वित्तीय अवस्थाका अधिकांश कम्पनीहरूको सेयर अत्यन्तै अस्वाभाविक मूल्यमा कारोबार हुुने गरेको छ । नेपाल स्टक एक्सचेन्जले तत्कालै त्यस्तो सेयर खरिद गर्ने गराउने बोक्रर कम्पनीहरूलाई स्पष्टीकरण सोध्नैपर्ने हुन्छ । तर अध्यक्षविहीन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज ‘तैँ चप मैँ चुप’ भइदिनाले हामी सर्वसाधारण लगानीकर्ताहरूले अनाहकमा ठूलो नोक्सानी व्यहोर्दै आउनुपरेको छ ।
त्यसैले दोस्रो बजारमा सेयर खरिद गर्दा कसैको लहैलहैमा लागेर प्रशस्त फाइदा हुन्छ भन्ने लोभमा पर्नुु र फस्नु हुँदैन । लगानी गर्न चाहेको कम्पनीको विगत, वर्तमान र भविष्यमा हुन सक्ने वित्तीय अवस्था एवम् सम्भाव्यतालाई आकलन गरेर मात्र लगानी गरेमा आर्थिक नोक्सानी हुनबाट जोगिन सकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया