Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसंग्रहदेखि पुँजीवादसम्म

संग्रहदेखि पुँजीवादसम्म


काठमाडौं । संग्रह या बचत मानिसको जिन्दगीको ज्यादै राम्रो पक्ष हो । यो भविष्यको आधार पनि हो । जो संग्रह गर्न जान्दैन उसको जीवन पनि सुरक्षित छैन भन्न सकिन्छ । मानिसले मुद्राको आविष्कार हुनुअघि कुनैबेला पशुहरूको संग्रह गर्थे । यो पशुपालन युगको कुरा थियो । खेतीपातीको युग सुरु भइसकेपछि अन्नको संग्रह गर्ने चलन चल्यो । वेदमा पनि व्यापार व्यवसायको कुरा उल्लेख छ । जसअनुसार मानिसहरू त्यतिबेला धान, चामल, भेँडा, बाख्रा, गाई, गधा, सुन आदिको सट्टापट्टा गर्थे । यसबाट बुझ्न सकिन्छ की त्यसबेला यी चिजहरूको संग्रह हुन्थ्यो ।

जोसँग पशुहरू धेरै छ, जोसँग अन्न धेरै छ, जोसँग जमिन धेरै छ, जोसँंग सुन धेरै छ, उही धनी कहलिन्थ्यो । धनीको समाजमा इज्जत प्रतिष्ठा पनि धेरै हुने भयो । यसले गर्दा मानिसहरूले कसरी धनी बन्ने भन्ने कुरा मात्र सोच्न थाले । सामान्य परिश्रमबाट मात्र यो सम्भव छैन भन्ने मानिसले बुझ्न थाले । यसको लागि सोझासाझालाई ठग्न पनि थाले । सोझो औँलाले घिउ आउँदैन भन्ने उखान सायद त्यसैबेला बनेको हो । जमिन र अन्य सम्पत्ति हडप्नेदेखि सोझालाई सित्तैमा काम लगाउनेसम्म गर्न थाले । बाठाहरूले जमिनमा काम गर्न दासहरू पनि राख्न थाले ।

यसरी संंग्रह गर्ने मानिसको बानीसँगै शोषण प्रधान समाजको सुरुवात र वर्गीय समाजको आरम्भ पनि सँगसँगै भएको देखिन्छ । हामीले अफ्रिकी देशहरूबाट काला जातिलाई अमेरिकनहरूले जबरजस्ती समातेर काममा लगाउने गरेको इतिहास पढ्न पाउँछौँ । त्यतिखेर भीषण युद्ध पनि हुन्थ्यो । युद्धमा हार्ने पक्षलाई पनि यसैगरी दासको रूपमा काममा लगाइन्थ्यो । संसारका ठूला आश्चर्यमध्येको चीनको ठूलो पर्खाल, भारतको ताजमहल, मिश्रको पिरामिडहरू त्यसैबेला बनेका हुन् । यस्तै, अरूले सजिलै नसक्ने कामहरू दासहरूलाई कोर्रा हानी–हानी लगाइन्थ्यो ।

त्यसो भए पनि दास व्यवस्थाले नै मानव श्रमलाई समाजको आधार बनायो । मानव सभ्यताको सम्पूर्ण आधारको जग नै दास व्यवस्थाले हालेको थियो भन्न सकिन्छ । यसैको जगमा उभिएर नै मानव सभ्यताको विकास हुन सुरु गरेको हो । युनानी सभ्यता, कला र विज्ञान दास व्यवस्थाकै कारण सम्भव भएको हो । रोमन साम्राज्यको अस्थित्व पनि दास व्यवस्थाकै कारण हो । रोमन साम्राज्यले यसको जग नहालेको भए आधुनिक युरोप पनि हुने कुरै थिएन । जसरी पनि दासहरूले गह्रुँगा र अत्यधिक बल प्रयोग गर्नुपर्ने काम सम्पन्न गर्नै पथ्र्यो । यसैगरी विश्वभरी दासप्रथा लामो समयसम्म चल्यो ।

यस्तो प्रथाको उन्मूलन सजिलैसँग भएको हैन । संसारमा दास बिद्रोहका भयानक कथाहरू छन् । मानिसमा आएको सचेतना र बिद्रोह नै दासहरूको मुक्तिको कसी बनेको कुरा विश्वको इतिहासबाट प्रष्ट हुन्छ । हाम्रै मूलुकमा पनि दासप्रथा धेरैपछिसम्म थियो । राणा शासक चन्द्र शमशेरको पालामा दासप्रथाको उन्मूलन भएको हो । यो एउटा युग परिवर्तनको सुरुवात मात्र हो । मान्छेले मान्छेको शोषण गर्ने चलनको अन्त्य भएको भने होइन । कुलीन तथा सामन्तहरूको जमिनमा निरीह मानिसहरूले भोकभोकै काम गर्नुपर्ने बाध्यता आउन थाल्यो ।

मानिसहरू कसैका निजी दास त हुनुपरेन अब । तर बाच्न र खानको लागि जमिन्दारकोमा आश्रित हुनुपर्यो । किनकि जमिन काम गर्नेसँग हुँदैनथ्यो । जमिनमा काम गर्नेको अवस्था दयनीय थियो । उसले काम गरिदिएको सट्टा पाउने अन्नले उसको परिवार र बालबच्चाको प्राण बचाउन धौ–धौ हुन्थ्यो । काम गरिखाने र उसका जहान बालबच्चा सधैँ ख्याउटे र मरनच्यासे हुनुपर्ने अवस्था कायमै थियो । यही बृहत् सामन्तवादी समाजमा सिद्धार्थ गौतमको पनि जन्म भएको हो । त्यतिखेर उनका मावलाका खेतमा हजार हल गोरुले एकै दिन खेत जोत्थे । राजा शुद्धोधन पनि कुनै कमी हुने कुरा भएन । राजा शुद्धोधनको ससुरालीसँग द्वोयस थियो । यो कुरा बालक सिद्धार्थलाई मन परेको थिएन ।

बुबाको तौरतरिका र मावलीसँगको द्वेषले पनि उनी जीवनदेखि बिरक्तिएर ज्ञानको खोजीमा हिँडेका हुन् । एकातिर धनी बन्ने प्रतिस्पर्धा र लडाइँ कलह झगडा अर्कातिर गरिबीको दुरावस्था देखेर नै सिद्धार्थमा प्रश्नमाथि प्रश्न उब्जिएको थियो । मानिसले कसरी सुख पाउन सक्छ ? दुःखका कारण के–के हुन् ? दुःखबाट मुक्ति मिल्न सक्छ कि वा सक्दैन ? उनीसँग गम्भीर र अह्म महत्वका प्रश्नहरू थिए । जे होस् मानिसले यो युगमा आएर बढीभन्दा बढी जमिन बटुली जग्गा जोडेर जमिन्दार र भूमिपति भई अरूमाथि हैकम जमाउने शोख पालेको देखिन्छ ।

यस्तै, नेवारी समाजमा पनि यो अझै परिष्कृत र विभिन्न वर्गीकृतरूपमा भएको पाइन्छ । जस्तै, खेतीको काम गर्ने ज्यापु, चित्र लेख्ने चित्रकार, मासुको काम गर्ने कसाइ, लुगा धुने धोबी, छालाको काम गर्ने चर्मकार आदि । काठमाडौं उपत्यकामा विविध व्यवसायाका मानिसहरू बस्ने गर्थे । कुटिर उद्योग र व्यापार पनि यहाँ निकै फस्टाएको थियो त्यतिबेला । यसैले हुनुपर्छ पेसा र जातको विविधता हुनेगरी राजा जयस्थिति मल्लले समाजलाई वर्गीकरण गरेको कुरा इतिहासबाट प्रष्टिन्छ । सुरुमा यो पेसाअनुसारको नाम दिएको भए पनि कालान्तरमा यो जातको रूपमा रूपान्तरण भएको हो । यस व्यवस्थाले समाजलाई उन्नत र व्यावसायिक बनाउन निकै मद्दत गरेको थियो ।

विस्तारै मानव समाजमा खेतीपातीको साथसाथै उद्योग धन्दातिर पनि दिलचस्पी बढ्दै गयो । यसको कारण हो मानिसलाई खाएर मात्र पुग्दैन । शरीर ढाक्ने पोशाकको पनि आवश्यकता प¥यो । पकाउन खानका लागि भाँडाकुँडाको आवश्यकता पर्यो । यस्तै, घर बनाउन चाहिने सामग्रीहरूको आवश्यकता भयो । यी कुराहरूमा पनि विभिन्न डिजाइन र रूपको सामानको सोख बढ्दै जान थालेपछि त्यहीरूपमा उत्पादन गर्ने उद्योगहरू स्थापना हुन थाले ।

सुरुमा घरेलु र कुटिर उद्योगको रूपमा यो उत्पादन हुन सुरु भएको हो । समयको मागअनुुसार यो आधुनिकरूपमा विकास हुँदै गएको देखिन्छ । सबैभन्दा मुख्य कुरो त मानिसको धन कमाउने चिन्तन र बचत या संग्रह गर्ने बानीको विकासँंगै यी सबै हुदै आएको कुरा प्रष्ट हुन्छ । मुद्राको आविष्कार हुनुअघि पनि हाम्रो वैदिक समाजमा भने निष्क नाम गरेको सुनको टुक्राबाट काम चलाइन्थ्यो । विश्वमा उद्योगधन्दाको विकास हुनुपूर्व मुद्राको आविष्कार पनि भइसकेकै थियो ।

सबैभन्दा पहिले औद्योेगिक क्रान्ति भएको मुलुक बेलायत हो । सत्रौँ शताब्दीबाट यो सुरु भयो । सुरुमा जनशक्ति वा वायु शक्तिबाट पनि मेसिनहरू चलाइन्थ्यो । पछि १७६९ इ.संमा जेम्स वाटले बाष्प शक्तिबाट मेसिन चलाउने विधि पत्ता लगाए । यसैगरी बिजुलीको आविष्कारले त औद्योगिक क्रान्तिलाई ज्यादै बल पुग्न गयो । मालसामानहरू प्रशस्त उत्पादन हुन थाले । स्थानीयको मागभन्दा अत्याधिक र सस्तोरूपमा मालहरू उत्पादन हुन थाल्यो । यसपछि विभिन्न देशमा बजारको खोजी हुन सुरु भयो । सामान ढुवानी गर्न मोटर बाटोले मात्र धान्न सकेन । यसले गर्दा रेल यातायात र जल यातायातको विकास भयो । बेलायतको सामान संसारभर पुग्न थाल्यो । यसपछि अमेरिका र फ्रान्सजस्ता देशहरूले पनि यसको सिको गरे । पुँजी प्रशस्त मात्रामा जम्मा भयो । ठूलोपुँजी जम्मा भएकाले एकातिर पुँजीपति वर्गको जन्म भयो भने अर्कोतिर मजदुर वर्गको जन्म भयो । दुई सम्पन्न र विपन्न वर्गमा समाज रूपान्तरण भयो । मजदुरहरूको अवस्था ज्यादै नाजुक थियो । पहिलेका कालिगढ र कुटिर उद्योग चलाउनेहरू विस्थापित भइसकेका थिए ।

माल्थस नामका पुँजीवादी अर्थशास्त्रीले भनेका छन् । पुँजीपतिले धेरै धन कमाएर मजदुर वर्ग गरिब भएका हैनन् । प्राकृतिक नियमअनुसार जति जीविकाको साधन बढ्छ त्योभन्दा बढी जनसंख्या बढ्दै जान्छ । मजदुरहरूको नराम्रो अवस्थाको दोषी उनीहरू आफैँ हुन् । किनकि उनीहरू पनि किन बढी सन्तान जन्माउने गर्छन् त ? त्यस बखतका संसद् सरकार सबै मजदुरको हैन पुँजीपतिका पक्षपोषण गर्थे । यसका बाबजुद भित्रभित्रै पुँजीपति वर्ग कमजोर र मजदुर वर्ग बलशालीरूपमा अगाडि आइरहेको थियो ।

यसको कारण हो पुँजीपति वर्ग संख्याको हिसाबले ज्यादै सानो घेरामा साँघुरिरहेको थियो । मजदुर वर्गको भने घेरा ज्यादै ठूलो बनिरहेको थियो । ठूला औद्योगिक सहरहरूमा गाउँगाउँबाट कामको खोजीमा मानिसहरू थुप्रिइरहेका थिए । मजदुर वर्गलाई शोषण गरेर थुपारेको धन या माक्र्सको भाषामा भन्ने हो भने मजदुरहरूलाई बढी कामलगाएर जम्मा भएको अतिरिक्त मूल्यकै कारण पुँजीपति वर्गको आयु छोटिइरहेको थियो ।

यसरी जंगली युगबाट मानिसहरू खेतीपातीको युगमा प्रवेश नगर्दैदेखि बाध्यताले मानिसहरूले सिकेको संग्रह गर्ने बानीले विविधवर्गमा समाजलाई विभाजन गर्दै समाज आधुनिकरूपमा आइपुगेको देखिन्छ । बाठाटाठा या धनीमानीको स्वामित्वमा उत्पादनका सारा सामानहरू थुप्रिएको देखिन्छ । उत्पादनका साधनहरू धनी र पुँजीपतिहरूको हातमा भए पनि त्यो सबै जुटाइदिने श्रेयचाहिँ श्रमिक वर्गकै देन हो । यसैले उत्पादक शक्तिको रूपमा सधैँ श्रमिक वर्ग नै देखापर्दै आएका छन् । यसैले उत्पादन सम्बन्धको रूपमा देखापरेका धनीमानी या पुँजीपति र उत्पादक शक्तिको रूपमा श्रमिक वर्गको संघर्षको कथा नै आजसम्मको संसारको ज्ञानवर्धक इतिहास पनि हो । यसैले संग्रह या बचत मानिसले कति गर्ने ? यसले समाजलाई के दियो भन्ने कुराको ख्याल नगरी गरिएको असीमित संग्रह नै समस्याका कारण पनि हुन् । यसको व्यवस्थापनका लागि संसारमा निकै ठूला–ठूला क्रान्ति पनि भए । तर पनि क्रान्तिले उचित सामाधान दिन सफल नभएको देखिन्छ । यसैले यस विषयमा मानिसले धेरै सोचविचार र सामाजिक अनुसन्धान तथा प्रयोग गर्नुपर्ने आवश्यकता अझै खड्केको महसुुस हुन आएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x