Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगघरभित्रको आर्थिक व्यवस्थापनका १२ बुँदा

घरभित्रको आर्थिक व्यवस्थापनका १२ बुँदा


काठमाडौं । सामाजिक संस्कार, पारिवारिक संस्कार, मानवीय संस्कारको मात्र कुरा गरिन्छ । संस्कार धेरै किसिमका हुन्छन् । त्यसमध्येको एक संस्कार हो आर्थिक संस्कार । धन सम्पत्ति कसलाई कमाउन मन लाग्दैन र ? धन सम्पत्ति सञ्चित गर्न कसलाई मन लाग्दैन र ? भावी सन्ततिका लागि धन जोहो गरिदिन कसलाई मन लाग्दैन र ? तर सम्पत्ति–सम्पत्ति भन्दै जीवन बिताउने, धन थुपार्ने, तडकभडक र आडम्बर प्रदर्शन गर्ने र समाजका लागि केही पनि नगर्नेलाई सामाजिक मनुष्य भनिँदैन । कालो धन अर्थात् अवैध तवरबाट आर्जन गरिएको धनको भण्डारबाट केही भाग सामाजिक कार्यका लागि दिइन्छ भने त्यो स्वीकार्य हुँदैन । सामाजिक कार्यका लागि स्वच्छ तवरबाट आर्जन गरिएको धन हुनुपर्छ । कसैको चित्त दुखाएर, कसैलाई क्षति पुर्याएर कमाएको धन पनि कालो धन हो । दाजुभाइका बीचमा पनि एक अर्काको धन हडप्ने लहर नेपालमा देखिन्छ । बिहान–बिहान मन्दिर धाउने र निधारमा चन्दन लगाउने अनि मिटरब्याजको धन्दा गर्दै सर्वसाधारणबाट चर्को ब्याज असुल्नेहरू पनि समाजका ऐँजेरुझैँ हुन्छन् ।

महंगा वस्त्र धारण गर्नु, गहनैगहनाले बेरिनु, दिनहुँ मासु भात हसुर्नु तर समाजकल्याण र जनकल्याणका खातिर केही पनि नगर्नुलाई आर्थिक कुसंस्कार भन्दा केही फरक पर्दैन । मन्दिर बनाउनुभन्दा समाज कल्याण र जनकल्याणका लागि सक्रिय संस्था खडा गर्नु बुद्धिमानी ठहर्छ । अहिले धर्मको नाममा व्यापार गर्ने नाफामूलक धार्मिक तथा आध्यात्मिक संस्थाहरूको बिगबिगी छ । भारतमा त यस्ता ठगी गर्ने संस्था त कति छन् कति । यसमा नेपाल पनि अछुतो छैन । मीठो प्रवचन गर्ने र पछाडिबाट लुट्नेधन्दा नेपालमा चलेकै छ । धनको वर्षा गराइदिन्छौँ, सधैँ जवान गराइदिन्छौँ, अजम्बरी तुल्याइदिन्छौँ, जीवन सफल पारिदिन्छौँ, विवाह हुन नसकेकी छोरीको विवाह हुने गराइदिन्छौँ भन्दै विभिन्न नौटङ्की मञ्चन गर्ने र सर्वसाधारणलाई जालमा फसाएर तन–मन–धन लुट्नेहरूको कमी छैन यहाँ । यसरी लुटेर भारतमा तारे होटेलमा सेयर लगानी गर्ने र मस्तिको जीवन जिउनेहरू तमाम छन् ।

जन्मदेखि मृत्युसम्मका आर्थिक व्यवस्थापनको बुँदागत चर्चा देहायबमोजिम गरिएको छः-
पोषणका लागि अर्थः पाँच÷छ महिनासम्म शिशुलाई स्तनपान मात्र गराइन्छ र आमाको दूधबाट नै शिशुले पोषण प्राप्त गर्छ । आमाले खाएको खानामा पाइने तत्वहरू नै आमाकै दूधमा पाइन्छन् । हाम्रो परम्पराअनुसार ठोस खाना पास्नी गरेपछि मात्र खुवाइन्छ । आमाले पोषिलो खाना खाएमा बच्चालाई पुग्दो दूध मिल्छ । तयारी वा धुलो दूध सकेसम्म बच्चालाई पिलाउनुहुँदैन । एकातिर धन खर्च हुने र अर्कोतिर खासै स्वास्थ्य अनुकूल नहुने हुन्छ । लिटो आदि पनि जानकारहरूबाट सल्लाह लिएर आफैँ बनाउन सकिन्छ । यसरी बनाइएको लिटो सुरक्षित हुनुका साथै अनावश्यक खर्चबाट जोगिइन्छ । मातृशिशुका लागि पोषिलो खानापिनाको ब्यवस्था गर्नु कुनै पनि बाबुको कर्तव्य हुन आउँछ । ऊ दायित्वबोधका साथ खानापिनाको प्रबन्धतिर जुट्छ । घरमा उपलब्ध छैन नजिकै बजारबाट पनि केही वस्तु किनेर ल्याउनुपर्ने हुन्छ । जसका लागि अर्थ अर्थात् रकमको आवश्यकता पर्छ ।

वस्त्रका लागि अर्थः बच्चा वा शिशुका लागि पहिले–पहिले आमाका पुराना लुगाहरूलाई टुक्रा पारेर मेखलो वा पेटीभोटो बनाउने गरिन्थ्यो । गाउँघरमा अझै पनि यो चलन छ । पैसा हुनेले रेडिमेड लुगा किनिदिन्छन् भने कम आर्थिक क्षमता भएका अविभावकले भने तीनै पुराना लुगा कपडा सफा गरेर सिलाउन लगाउँछन् । पुराना लुगा कपडाले काम चल्छ भने ऋण सापटी लिएर शिशुका लागि रेडिमेड वस्त्र किन्नु उचित नहोला ।

खेलका लागि अर्थः शिशु जब बालकमा रूपान्तरित हुन्छ, ऊ बामे सर्दै परसम्म पुग्ने र फर्केर आमालाई हेर्ने र मुसुक्क हाँस्ने गर्छ भने उसलाई केही खेल्न मन लागेको छ भन्ने बुझ्नुपर्छ । त्यसैअनुसार आमा स्नेहपूर्वक बालकसँग खेल्न थाल्छन् । बच्चा हिँड्न थालेपछि सहरबजारमा बस्ने बाबुले तीनपाङ्ग्रे साइकल किनिदेलान् तर गाउँघरमा बस्ने बाबुले किनिदिने सम्भावना रहँदैन । आँगनमा एक कुनाबाट अर्को कुनामा कुद्न लगाउने । बालक लडेमा धुलो टक्टकाइदिने । मकैको खोयाको कलात्मक चाङ लगाएर पनि बालबालिकालाई खेलाउन र मनोरञ्जन दिलाउन सकिन्छ । हातमा समाएर बजाउने वस्तु पनि किनिदिन सकिन्छ ।

पढाइका लागि अर्थः सहर बजारमा अहिले शिशु दुई वर्ष कटेपछि अभिभावकले मन्टेस्वरीमा भर्ना गर्ने योजना बनाइहाल्छन् । आमाको दूध चुसाउन छाडेर बच्चालाई मन्टेस्वरीमा जिम्मा लगाउनु राम्रो होइन । बालबालिकाका लागि पहिलो विद्यालय भनेको घर हो भने पहिलो गुरु–गुरुमा भनेका बाबुआमा नै हुन् । त्यसैले फेसनको बहानामा बालबालिकालाई मन्टेस्वरीमा भर्ना गरिनु उचित होइन । जसका लागि थप आर्थिक भार बहन गर्नुपर्ने हुन्छ । उचित उमेरमा मात्र बालबालिकालाई विद्यालयमा भर्ना गरिदिनुपर्छ । उनीहरूलाई कापी, कलमलगायतका मसलन्द सामग्रीका लागि रकमको आवश्यकता पर्छ ।

पेसाका लागि अर्थः सन्तान ठूलो भएर शिक्षादीक्षा हासिल गरिसकेपछि उसलाई रोजगारीको जरुरत पर्छ । त्यसका लागि प्रतिस्पर्धा गर्नका निमित्त तयारी कक्षा लिन तथा अध्ययन सामग्री किन्नका लागि अर्थ अर्थात् रकमको आवश्यकता पर्छ । जसका लागि अभिभावकमा नै भर पर्नुपर्छ । व्यवसायका लागि पनि पहिले आवश्यक पर्ने भनेको अर्थ अर्थात् रकम नै हो ।

सामाजिक कार्यका लागि अर्थः हिन्दु धर्मावलम्बीहरूको सन्दर्भमा भन्नुपर्दा शिशुको न्वारन, बालकको पास्नी, किशोरको चुडाकर्म–ब्रतबन्ध, युवाको विवाह गर्दा अभिभावकलाई चरण–चरणमा अर्थ अर्थात् रकमको आवश्यकता पर्छ । पेसा व्यवसाय गर्नेहरूले त रकम जुटाउलान् तर गाउँघरमा रहने र पेसा व्यवसाय पनि नहुनेहरूलाई कठिनाई झेल्नुपर्ने हुन्छ । उनीहरूलाई भैँसी, बाख्रा, कुखुरालगायतका पशुपन्छी नै बेच्नुपर्ने अवस्था आउँछ । मिटरब्याजीको भरपर्नु भनेको आर्थिक भार बढ्दै जानु भन्ने सम्झनुपर्छ । आफन्तबाट लिएको रकम पछिसम्म तिर्न नसक्दा सम्बन्ध नै बिग्रिने अवस्था आउँछ । त्यसैले क्षमता वा गच्छेअनुसार खर्च गर्नुपर्छ ।

औषधि उपचारका लागि अर्थः दैनिकी गुजार्ने वा धकेल्ने सिलसिलामा मानिसले केही न केही काममा व्यस्त रहनुपर्ने हुन्छ । कारखानामा काम गर्दा मेसिनमा हात च्यापिने, गोडामा घाउ हुने हुन सक्छ । रुख चढ्दा लडिने, खोला पार गर्दा डुब्ने, भिरबाट लड्ने अवस्था पनि आउँछ । घाइतेको औषधि उपचार गराउँदा पनि अर्थ अर्थात् रकमको जरुरत पर्छ । उहिले–उहिले यसरी घाइतेको उपचार गर्न नजिकमा स्वास्थ्य संस्था नहुँदा कतिपयले ज्यानै गुमाउनुपर्थ्यो । हालका दिनहरूमा नजिकमा स्वास्थ्य संस्था हुने हुँदा उपचारका कारण घाइतेको जीवन बच्नेगरेको छ ।

दाहसंस्कारका लागि अर्थः धेरै मानिसको मृत्यु कालगतिले हुन्छ भने कतिपयको अकालमा पनि ज्यान जाने गर्छ । मृत्यु जसरी भए पनि शव जलाउनु वा गाड्नु परिवार, आफन्त र समाजमा बस्नेहरूको परम कर्तव्य हो । अहिले राजधानीमा विद्युतीय शवदाह गृह सञ्चालनमा छ । यसमा शवदाह गर्न कसैकसैको मनले मान्दैन र दाउराबाटै शव जलाइने गरेको पाइन्छ । जसरी जलाउँदा पनि रकम नै चाहियो ।

काजकिरियाका लागि अर्थः सम्प्रदाय र जातजातिअनुसार काजकिरियाका प्रक्रियाहरू फरक–फरक हुन सक्छन् । जेहोस् काज किरियाका लागि पनि रकमको आवश्यकता पर्छ । हिन्दु संस्कारमा काजकिरिया सकिनुअघि खर्चिला खालका दान दिने चलन रहँदैआएको पाइन्छ ।

श्राद्धका लागि अर्थः हिन्दू धर्ममा पितृका सम्झनामा हरेक वर्ष श्राद्ध गर्ने परम्परा छ । श्राद्धका लागि पनि रकमको आवश्यकता पर्छ । चेलीबेटी र भाञ्जा ज्वाइँहरूलाई टीका लगाएर दक्षिणा दिनाले पितृले शान्ति र मुक्ति पाउँछन् भन्ने भनाइ छ ।

पूजापाठका लागि अर्थः रुद्री, ग्रहशान्ति, सत्यनारायण पूजालगायतका कार्यका लागि पनि अर्थको आवश्यकता पर्छ । यस्ता पूजापाठका कार्य निम्न आय भएकाहरूले भन्दा पनि राम्रो आयस्रोत भएकाहरूले गर्दैआएको पाइन्छ । यस्तो पूजापाठमा सामान्य व्यक्तिले थोरैलाई मात्र निम्तो गर्छन् भने हुनेखानेले धेरैलाई निम्तो गर्छन् । विनारकम पूजापाठका कार्य हुनसक्दैनन् ।

अन्त्यमा विश्वमा नोट र सिक्काको चलनअघि वस्तु विनिमय प्रणाली थियो भने नोट वा सिक्काको चलन आएपछि वस्तु विनिमय प्रणाली हराउँदै गएको छ । यो लेखकले थाहा पाएसम्म २०४० साल अघिसम्म सिमीका गेडा, भाँगो, निगुरो, काफल बेच्न आउनेहरूलाई आमाले मास, चामल आदि दिएर पठाउनुहुन्थ्यो । यो एक किसिमको वस्तु विनिमय प्रणाली हो । धनी छु भन्दैमा कुनै पनि कामका लागि जथाभावी खर्च गरेर अरुलाई देखाउने, तामझामका साथ सन्तानको विवाह ब्रतबन्ध गराउने काम समाजका लागि राम्रो होइन । अनावश्यक धन थुपार्ने निहुँमा अपराधका कार्यहरू नगरौँ । कालो अर्थात् अवैध धनलाई प्रश्रय नदिउँ । आर्थिक कारोबारलाई संस्कारयुक्त र सभ्य बनाऔँ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
rabindra pokharel
rabindra pokharel
3 months ago

खर्च हुन्छ गरिन्छ,सके अार्थिक सहयोग नसके नमस्कार यी सामान्य भए जुन कामका लागि हुने खर्च हो त्यसलाई कटौती गर्ने उपाय के हुन सक्छन् कति खर्च गर्नैपर्ने हो,अादि बिषयमा विश्लेषण गरिएको भए अझ अब्बल र थप जानकारी हुने थियोे कि पाठकलाई ?धन्यवाद

1
0
Would love your thoughts, please comment.x
()
x