Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्रको निराशाजनक पाटो

अर्थतन्त्रको निराशाजनक पाटो


काठमाडौं । हामी उत्पादन र निर्यातमा साह्रै कमजोर भएका छौँ । आयात र निर्यातको तथ्याङ्क हेर्दा हाम्रो कहालीलाग्दो अवस्था देखिन्छ । हाम्रो उत्पादन शक्ति सबै किसिमले कमजोर भएको छ । हामीले निर्यात गर्ने भनेको श्रमशक्ति मात्रै भएको छ । अर्थात् हामी हाम्रो उत्पादन गर्ने जनशक्ति खासगरी युवा जनशक्ति सबै बाहिर निर्यात गर्ने भयौँ । आन्तरिकरूपमा श्रमशक्तिको अभावमा आप्mना कृषि तथा औद्योगिक उत्पादन घट्दै जाने परिस्थिति बनायौँ । आफँैले उत्पादन गरेर आत्मनिर्भर मात्र होइन कि बाहिर निर्यात गर्न सक्ने वस्तु पनि आयात गर्ने अवस्थामा पुग्यौँ । कस्तो परनिर्भरको अर्थनीति अपनायौँ हामीले ? सार्वजनिक भएका अनेक तथ्याङ्कले हामी कति धेरै परनिर्भर भएका छौँ । हाम्रो व्यापारघाटा कति धेरै असन्तुलित भएर गएको छ र हाम्रो आयात र निर्यातको अन्तर कति फराकिलो भएर गइरहेको छ भन्ने जाहेर गर्दछ । जसले हाम्रा नीति निर्माता र सत्ता फेरबदलाका खेलाडीहरूलाई अवश्य सोच्न बाध्य पारेको हुनुपर्छ ।

भन्सार विभागको हवला दिएर विभिन्न सञ्चारमाध्यममा आएका विवरणहरूलाई केलाएर हेर्दा पनि हाम्रो व्यापारघाटा कहालीलाग्दो छ । हामी कस्तो अवस्थामा हिँडिरहेका छौँ भनेर छिमेकबाटै सुरु गरौँ । भारतसँग मात्रै भएको एक वर्षको विवरण केलाएर हेरेमा थाहा लाग्छ कि हाम्रो व्यापारघाटा कति कहालीलाग्दो छ भनेर । भन्सार विभागका अनुसार एक वर्षमा मात्रै भारतबाट हामीले नौ खर्ब ९६ अर्ब ६८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेका रहेछौँ । सोही अवधिमा हामीले अर्थात नेपालबाट एक खर्ब तीन अर्व रुपैयाँ बराबरको वस्तु निर्यात गरेका रहेछौँ । यहीँ नै देखिन्छ कि हामी एक वर्षमा नै भारतसँग आठ खर्ब ९३ अर्ब पचास करोड ५१ लाख रुपैयाँ व्यापारघाटामा छौँ ।

अब अर्को छिमेकी देश चीनसँगको व्यापारको अवस्था केलाऔँ । त्यता पनि उस्तै असन्तुलित अवस्था पाउँछौ आयात निर्यातमा । सोही अवधिमा चीनबाट नेपालले दुई खर्ब ९८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेछ भने दुई अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेछ । चीनसँग मात्रै दुई खर्ब ९८ अर्ब ६० करोड रुपैयाँको व्यापारघाटा भएको तथ्यले बताउँछ । उत्तरमा पनि घाटा दक्षिणमा पनि घाटा जता गयो घाटैघाटा ।

हाम्रोमा उत्पादन नहुने पेट्रोलियम पदार्थले सबैभन्दा धेरै व्यापारघाटा बढाउन योगदान दिएको देखिन्छ । नेपालमा पेट्रोलियम पदार्थ सबै भारतबाट नै आयात गरिन्छ । एक वर्षमा पेट्रोलियम पदार्थको लागि मात्रै तीन खर्ब ३७ अर्ब ३४ करोड रुपैयाँ बाहिर गएछ । जसमा सबैभन्दा धेरै एक खर्ब ४४ अर्ब लगभगको डिजेल मात्रै आयात भएको रहेछ । त्यस्तै, एक वर्षमा ६८ अर्ब १० करोड ८४ लाख २५ हजारको पेट्रोल आयात भएको रहेछ । खाना पकाउने एलपी ग्यास भने ५५ अर्ब ६१ करोड ८४ लाखभन्दा बढीको आयात भएछ । त्यसरी नै २० अर्ब ७८ करोड ४१ लाखको हवाई इन्धन आयात भएको रहेछ ।

नेपालमा अहिले काहीँ पनि फलामखानी सञ्चालनमा आएको छैन । उहिले फलाम खानी चलाएका थिए भनेर कतै पढिएको र कतै खानी भएको देखिएको पुष्टि हुन्छ । आफ्नो उत्पादन नभएपछि र आफूलाई जरुरत परेपछि बाहिरबाट आयात गर्नु अनिवार्य नै हुन्छ । यसै सन्दर्भमा नेपालले पनि फलाम तथा स्टिलबाहिरबाट आयात गरेको छ वर्षेनि । यो वर्ष मात्रै अर्थात् एक वर्षमा नेपालले एक खर्ब २५ अर्ब रुपैयाँ बराबरको फलाम तथा स्टिल आयात गरेको छ । जसमा ८५ अर्ब रुपैयाँ बराबरको त सवारीसाधन मात्रै आयात गरेको छ नेपालले । सवारीसाधनमा यति धेरै नेपालले खर्च गर्नुपर्ने हो कि होइन विचारणीय प्रश्न छ । यसमा सरकारी क्षेत्रमा कति र अन्य क्षेत्रमा कति केलाएर हिसाबबाहिर आउन सके नीति बनाउन सजिलो हुने थियो ।

अहिलेको पुस्ताले मात्र होइन पुरानो पुस्ताले पनि बरु भात छोड्न सक्छन् तर मोबाइल छोड्न नसक्ने अवस्थामा छन् । यसले पनि जाहेर गर्दछ कि नेपालमा मोबाइलको बजार ठूलो छ । मोबाइल एकतिर नशा अर्थात् एकातिर लत भएको छ भने अर्कोतिर जनजीवनको अनिवार्य आवश्यकता पनि भएको छ । यसले पनि नेपालमा मोबाइल पनि धेरै आयात हुने वस्तुमा पर्छ । नेपालमा मोबाइल उत्पादन हुँदैन । त्यसैले पनि यो आयात हुने वस्तुमा पर्छ । अझ महँगा ब्रान्डका मोबाइल किन्ने प्रतिस्पर्धा र एकैजनाले धेरै मोबाइल राख्ने सोखले पनि मोबाइलको खरिद बिक्री धेरै भएको छ । धेरै भएपछि आयात पनि बढ्ने भो आयात बढेपछि त मोबाइलले पनि व्यापारघाटा बढाउन सहयोग गर्ने नै भयो । यो एक वर्षमा नेपालमा २८ अर्ब ६६ करोड ६२ लाखभन्दा बढीका स्मार्ट फोन आयात भएका रहेछन् । मोबाइलमार्फत पनि नेपालको धेरै विदेशी मुद्राबाहिर जाँदो रहेछ ।

अरू त आफ्नो देशमा उत्पादन नभएका वस्तु आयात भएकोमा चित्त बुझाउन सकिएला । तर आफ्नै देशमा उत्पादन गरेर निर्यात समेत गर्न सकिने वस्तुहरू समेत आयात गरेको समाचार पढ्दा पनि मन कटक्कै खान्छ । नेपालमा २८ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु मात्रै आयात भएको रहेछ । त्यो पनि प्रायः सबै भारतबाट । यो नै नेपाली अर्थतन्त्रको सबैभन्दा निराशाजनक पाटो हो । नेपालमा उत्पादन हुन सक्ने तरकारीमा समेत यति धेरै रुपैयाँबाहिर जाने अवस्था आउनु भनेको वास्तवमा राष्ट्रिय लज्जा नै हो । नीति निर्माणमा हामी कहाँ चुकेका छौँ यो आत्मसमीक्षाको विषय हो । तरकारी मात्रै होइन नेपाली चुलोमा पाक्ने खाद्यान्नलगायत सबै वस्तु यसरी नै ठूलो मात्रामा बाहिरबाट आयात गर्ने अवस्थामा नेपाल छ । नेपाल अहिले श्रमिक निर्यात गर्ने श्रमिकले पठाएको पैसाले बाहिरबाट खाद्यान्नलगायत सबै आयात गर्ने हानिकारक आर्थिक नीतिमा छ । यदि भोलि नेपाली श्रमिकबाहिर गएर काम नपाउने अवस्था वा परिस्थिति बन्यो भने या बाहिरबाट खाद्यान्नलगायत आयात हुन नसक्ने अवस्था आयो भने त्यसबेला नेपाल ठूलो संकटमा फस्न सक्छ ।

१५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरका वस्तुहरू आयात हुँदा मात्र एक खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात हुन सकेको अवस्थाले नेपालको व्यापारघाटा कति असन्तुलित भएर गएको रहेछ भन्ने जाहेर गर्छ । यो आँकडाले पनि जाहेर गर्छ कि नेपालको व्यापारघाटा मात्रै १४ खर्ब ४० अर्बको भएको देखिन्छ । यो डरलाग्दो अवस्था हो । अहिले आर्थिक वर्ष २०७९/८० मा त झन् १६ खर्ब ११ अर्ब ७३ करोडभन्दा बढीको आयात भएको थियो । युक्रेन रुस र मध्यपूर्वको लडाइ समेतको कारणले आएको आर्थिक मन्दीको कारणले समेत गर्दा आयातमा निकै गिरावट आएको देखियो ।

नेपालले विश्वका एक सय ७० देशसँग वैदेशिक व्यापार गरेको छ । तर यी देशमध्ये मात्र ३५ वटा देशसँग मात्रै नेपाल व्यापारमा नाफामा छ । अरू देशसँगको व्यापारमा भने घाटामा नै छ नेपाल । नेपालले समग्र आर्थिक नीतिको मूल्याङ्कन गरेर नीति परिवर्तन नगरेमा व्यापारघाटा झन् बढेर जान्छ र नेपाल झन् आर्थिक संकटमा फस्दै जान्छ । यस्तो अवस्था आएमा राजनीति तथा सामाजिक अराजकता बढ्ने खतरा भइरहन्छ । जसको कारणले राष्ट्रियता धरापमा पर्न सक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x