शिक्षालाई श्रम तथा जीवन र जगतसँग जोडौँ
काठमाडौं । शिक्षालाई श्रम तथा जीवन र जगतसँग जोडिनुपर्छ । मानव जीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्यमान्यता पहिचान र समायानुकूल परिमार्जन तथा परिष्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्छ । शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्छ । श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्य केन्द्रित शिक्षाका नीति तथा कार्यक्रम हुनुपर्छ ।
रोजगारीको लागि नेपालीहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धविनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिँएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलव्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलपूmल खेती, भेँडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुगलाननै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? जस्ता प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नुहुदैन ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्ताड्ढको आधारमा निक्र्यौल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ड्याड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आउँछभन्दा डेरीबाट भन्ने गाई भैँसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यावहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनुपर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताड्ढभन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
पेपर–पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्याङ्कन गर्ने उपायहरू खोजिनुपर्छ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्छ । हाम्रो मूल्याङ्कन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एक सय पूर्णाड्ढमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाड्ढ प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्नँ । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक पौरिख शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्छ । त्यस्तै, विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्छ । साथै, उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठ्यक्रमका अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ ।
विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्याङ्कन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्छ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनुपर्छ । अतः शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नु पर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्ने गरी विषयवस्तु र विधिको छनौट गरिनुपर्छ । अभिभावकले अँगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनुपर्छ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनुपर्छ । विद्यार्थीले सामान्यतया छ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ, घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्छ ।
घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठन बारेमा अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्छ । त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रूचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने गराउने सहज अवसर पाउने खालको हुनुपर्छ । उनीहरूको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो । बालबालिकाभन्दा हामी जान्ने छौँ हामीले भनेको मात्र उनीहरूले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तको रूपमा लिन सकिन्छ । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठ्यक्रम निर्माण र कार्यान्वयन गरिनुपर्छ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास गराउनुपर्छ ।
मानवीयलगायतका साधन स्रोतको उच्चतम प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ । शिक्षाकर्मीहरूको पेशागत दक्षता र समर्पण बढाउने खालका सेवासुविधाको व्यवस्था गरिनुपर्छ । त्यस्तै, शिक्षक र त्यससँग आबद्ध शिक्षाकर्मीहरूको पेशागत दक्षताको मूल्याङ्कन विद्यार्थीको उपलब्धिको आधारमा गरिनुपर्छ । त्यस्तै, बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्षरूपमा बढाउन बाल क्लबलाई स्थापना गरी सक्रिय बनाउनुपर्छ । उनीहरूमा आत्मबल र आत्मविश्वासको वृद्धि र विकास गर्न सामाजिक परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनुपर्छ । किनकि विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साक्षेदार हुन् भन्ने मान्यताअनुरूप उनीहरूको संलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्छ । त्यसैगरी विद्यार्थी विद्यालयबाट भागेर घर जानेभन्दा पनि घरबाट भागेर विद्यालय आउने खालको उत्साहजनक स्वस्थ वातावरण विद्यालयमा सिर्जना गर्न सक्यौँ भने उनीहरूले आफ्नो क्षमता चाहनाअनुरूपको व्यावहारिक ज्ञान सिप अभिवृद्धि हासिल गर्न सक्छन् । कक्षाकोठा र क्रियाकलाप लोकतान्त्रिक अभ्यास र अनुभुति दिने हुनुपर्छ । अनुशासनको नाममा भावना र विचार प्रष्फुटन हुनुलाई कुण्ठित गर्ने परम्परालाई निरुत्साहित गरिनुपर्छ । ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात् आफ्नो खुट्टामा आफैँ उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा विद्यालय बन्नुपर्छ । अतःउच्च प्राप्ताङ्कलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार संस्कृति र भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको पूजा गर्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछि त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्न सक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने शिक्षा आजको खाँचो हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया