Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराजनीतिक अस्थिरता र गुलामी संस्कृतिबीचको सम्बन्ध

राजनीतिक अस्थिरता र गुलामी संस्कृतिबीचको सम्बन्ध


काठमाडौं । नेपालमा अस्थिर राजनीति भित्रिएको कति वर्ष भयो होला ? यसको इतिहास ज्यादै लामो छ । जंगबहादुर राणाको मृत्युपछि राणाहरूको भाइभाइको झगडा र एकले अर्कोलाई सिध्याउने खेल हामीले नदेखे पनि पढेका र सुनेका छौँ । यो सबै श्री ३ प्रधानमन्त्रीको पद प्राप्तिको लागि थियो । राणा शासनअघि पनि राजाहरू बालक हुनुका कारणले मुख्तियारी चलाउनेको होडबाजी थियो । सत्ता र शक्ति प्राप्तिको लागि खिचातानी भइरहने भएकाले नेपालमा सामाजिक सेवा र विकास निर्माणका काम प्रायः औपचारिकतामा सीमित भइरहेका छन् । विज्ञान र प्रविधिले फड्को मारिसकेको आधुनिक विश्वमा हामी भने टुलु–टुलु हेर्नु शिवाय अरू केही गर्न सक्दैनौँ ।

हाम्रो काम भनेको सत्तासीनहरूको पक्षविपक्षमा लागेर चाकडी बजाउनु मात्र हो । नेपालमा बहुदलीय व्यवस्थाको आगमनसँगै राजनीतिमा अस्थिरता झनै भित्रिरहेको छ । हाम्रो देशमा १७ पटकसम्म चुनाव गर्दा पनि प्रधानमन्त्री छनौट हुन नसके पनि पदमा उठिरहने इतिहास रचेका राष्ट्रपति छन् । पद सत्ता र शक्ति सबैभन्दा मुख्य कुरा हो भन्ने संस्कृति हाम्रो राजनीतिमा छ । राजनीतिमा इमान्दारिता, नीतिगत र नैतिक अनुशासन भन्ने कुरा कुन चराको नाम हो भन्ने अवस्था छ । यसैले गणतन्त्र, लोकतन्त्र र समाजवादजस्ता शब्दावली केवल सिद्धान्त र किताबमा मात्र सीमित भएको छ । यसले समाज र लोकलाई केही दिन सकेको अनुभूति भएको देखिँदैन ।
जसरी धनबहादुर नाम गरेको सबै मानिस धनी हुन सक्दैनन्, गुणवति नाम गरेकी सबै छोरीहरू सर्वगुणले सम्पन्न हुन सक्दैनन् । यसैगरी लोकतन्त्र समाजवादजस्ता शब्दावलीले सुशोभित गरेको भरमा लोक कल्याणकारी राज्य बन्न सक्दैन । इ.सं. १९७५ देखि १९७९ सम्म कम्बोडियामा पोलपोट नाम गरेका शासक थिए । उनको शासनकालमा सर्वहाराको अधिनायकत्वको नाममा आफ्ना विरोधीहरूलाई निमिट्यान्नै पार्न चाहन्थे । यसैले उनको शासननिरीह मानिसहरूको लासहरू र अस्थिपञ्जरको थुप्रोमाथि अडिएको थियो । त्यतिखेरको उनको कार्यकालको त्यहाँको शासन व्यवस्थाको नाम पनि कम्युनिस्ट शासन थियो । कम्युनिस्ट र जनवादी व्यवस्थाको नाममा उनी र उनका मतियारहरूले त्यहाँ त्यस्तै प्रकारका शासन चलाएका थिए ।

शोभियत संघमा पनि स्टालिन र स्टालिनपछिका शासकहरूले यस्तै खालको शासन सञ्चालन गरे । इ.सं. १९९१ डिसेम्बर २५ मा सोभियत युनिएन बिघटन भयो । जनअधिकार, वाक् तथा प्रकाशन स्वतन्त्रताजस्ता प्रजातान्त्रिक हक जनतालाई थिएन । सबैकुरा राज्यको नियन्त्रणमा भएका कारण राज्यसत्तामा जो छ उसले चाहेका कुरा मात्र राज्यमा लागू हुन्थ्यो । जनताका दैनिक आवश्यकताको उपभोग्य सामान उत्पादन गर्नतिर राज्यको ध्यान थिएन । यसको सट्टा युद्ध सामग्रीको उत्पादन राज्यले ज्यादा गथ्र्यो । पाउरोटी पाउनका लागि पनि जनता घण्टौँसम्म लामो–लामो लाइनमा बस्नु पथ्र्यो । यस्ता खालको त्यहाँको शासन व्यवस्थाको नाम पनि समाजवादी भन्ने थियो ।

अब भन्नुहोस् त नामले मात्र के हुने रहेछ र यही सोभियत संघको समर्थनमा भित्रिएका तत्कालीन पूर्वी युरोपका समाजवादी सत्ताहरू पनि लोकलाई वाक्क पार्दै अलोकप्रिय भएपछि एकपछि अर्कोगरी ढल्दै गए । कम्युनिस्ट सत्ता संसारमा बदनाम हुनुको कारण पनि त्यही हो । समाजवाद नाम मात्रको भएपछि पुँजीवादी देशहरू खुसी भए । चीनमा माओको शासन भएको बखत सोभियत संघ र चीनलाई समेत मिलाउँदा संसारको तीन चौथाइ भू–भागमा कम्युनिस्ट व्यवस्था लागू भइसकेको थियो । यसैले त्यसबेला माओत्सेतुङ्गले भन्नुभएको थियो ‘हामी युद्ध चाहँदैनौँ यदि अमेरिका युद्ध गर्नै चाहन्छ भने अब संसारको सबै भू–भाग कम्युनिस्टमय हुनेछ ।’

यद्यपि त्यतिखेरको कम्युनिस्ट सत्ताहरू अनुसन्धान खोज र प्रयोगबाट नै अघि बढ्नु अनिवार्य थियो । प्राप्त भएको सत्ताको सही प्रयोग हुन सकेन । रगतको खोलो बगाएर जनताको नाममा मजदुरको नाममा प्राप्त भएको सत्ताले उनीहरूकै हित गर्न सकेन । जसले समयको माग र जनताको आशा आकांक्षा बुझ्नसके त्यो अहिले पनि लोकप्रिय छ । तपाईं आधुनिक चीन र यसको प्रगतिलाई हेर्न सक्नुहुन्छ । बरु संसारभरका साम्यवादीहरूको आवाज र आन्दोलनको फलस्वरूप बाध्य भएर पनि पुँजीवादी देशहरूले धेरै हदसम्म आफूलाई सच्याएको देखिन्छ । सहकारी सिद्धान्त, निःशुल्क स्वास्थ्य, शिक्षाजस्ता थुप्रै कुराहरू साम्यवादी आन्दोलनका देनहरू हुन् ।जो अहिले कतिपय पुँजीवादी मुलुकहरूमा समेत लागू भएको छ । हाम्रो देशमा चाहिँ सहकारीप्रायः ठगी खाने भाडोमा परिणत भएको देखिन्छ । तुलनात्मकरूपमा हेर्दा सिङ्गापुर, क्यानडा, स्विडेन, डेनमार्क र स्विजरल्यान्डजस्ता देशहरू नमुनालायक नै छन् । माक्र्सवादी शिक्षाले हामीलाई सिकाएको छ कि संसार परिवर्तनशील छ । परिवर्तनशील विश्वलाई पहिचान गर्दै माक्र्सवादी सिद्धान्तलाई पनि बेला–बेला विकास र परिमार्जन गर्नु आवश्यक छ । सिद्धान्त व्यवहारबाट जन्मन्छ र यसले पुनः व्यवहारकै सेवा पनि गर्दै जान्छ । यसैले सिद्धान्तलाई शासकीय व्यवहारमा मात्र हैन, जनव्यवहारको कसीमा जाँच्दै लानुपर्ने हुन्छ र यसको विकास गर्दै पनि लानुपर्ने हुन्छ । सायद मदन भण्डारीले ‘हामी जुत्ताको नापअनुसार खुट्टा काट्दैनौँ, बरु खुट्टाको नापअनुसार जुत्ताको छनौट गर्दर्छौँ’ भन्नुको तात्पर्य यही होला ।

जो संसारका ठूला र ख्यातिप्राप्त दार्शनिक थिए । जसले मजदुर र गरिबका हितको खातिर सबैभन्दा नवीन दर्शन विश्वलाई दिए । उनैका छोराछोरीहरू दरिद्रताको जीवन बिताउँदै भोक र रोगले मरेका थिए । मृत्युको बेला कात्रो किन्नेसम्म पैसा उनीसँग थिएन । देश निकालाका कारण कहिले कुन र कहिले कुन देश भौतारिरहे । यस्ता गरिब र मजदुरको हितमा समर्पित दार्शनिक मार्क्सले पोलपोटजस्ता शासक र उनको हितका लागि पक्कै दुःख गरेका थिएनन् । संसारमा कम्युनिस्टलाई बदनाम गर्नेहरू पनि कम्युनिस्टको नाममा सत्ता सञ्चालन गर्ने गैरकम्युनिस्टहरू नै हुन् । मार्क्सवादी सिद्धान्त जो आफैँमा विज्ञान हो । यद्यपि, यसो हो भने जनताको अहित गर्ने नीति सिद्धान्त र व्यवहारलाई परित्याग गर्दै, परिमार्जन गर्दै जानु अनिवार्य सर्त हो । नत्र यस्तो सिद्धान्त र यस्तो सत्तालाई कम्युनिस्टको बिल्ला लगाइरहने अधिकार पनि छैन ।

मैले माथिका उदाहरण दिनुको कारण यो हो कि कुनै पनि शासन व्यवस्था जब अलोकप्रिय हुन्छ, तब त्यस देशमा विदेशी शक्तिले खेल्ने ठाउँ पाउँछ । जुन देशमा लामो समयसम्म अस्थिरताले घर गरिरहन्छ । त्यस देशमा कुनै पनि लोक हितकारी काम पनि हुनै पाउँदैन । अस्थिरता र अलोकप्रियताका कारण सही मार्ग निर्देशन दिने कुनै शक्ति देशभित्र देखा नपरेपछि त्यो परिपूर्ति गर्न तम्सिने विदेशी शक्ति हुनु सामान्य कुरा हो । प्रत्येक देशका आ–आफ्ना स्वार्थ हुन्छ । यस्ता विदेशी स्वार्थहरूलाई आफ्नो देशको राष्ट्रिय स्वार्थले किच्न सक्नुपर्छ ।

तर नेपालमा त्यसो भएन । नेताहरू शक्ति र सत्ताका लागि विदेशीहरूसँग पनि हारगुहार गर्ने भए । विशेष गरेर नेपालमा प्रजातन्त्र ल्याउन २००७ साल कार्तिक महिनामा राजा त्रिभुवन स–परिवार भारतीय दूतावासबाट दिल्ली पुगेपछि नै भारतीय राजनीतिक खेल नेपालमा भित्रिएको भन्न सकिन्छ । स्व वीपी कोइरालाले राजा त्रिभुवनलाई पाल्पामा लगेर राख्ने योजनामा रहेछन् । किनकि त्यतिखेर पाल्पा नेपाली कांग्रेसको आधार क्षेत्रजस्तै रहेछ । उनको त्यो योजना सफल हुन सकेन । दिल्लीले राजा राणा र नेकाको त्रिपक्षीय वार्ताको लागि बोलाउँदा सुरुमा त बाध्य भएर वीपी कोइराला दिल्ली गएका थिए । त्यसपछिका दिनमा नेपालको क्याबिनेटको बैठकमा भारतीय राजदूतावासको प्रतिनिधि उपस्थित हुनुपर्ने थिति बसालियो । अनि त ‘जसोजसो बाहुनबाजे उसै–उसै स्वाहा’ भनेजस्तो भयो । नेपालको शासकीय मामलामा भारतीय सत्ताले चाहेअनुसारको निर्णय हुन थाल्यो । २०१५ सालको चुनावपछि बनेको नेपाली कांग्रेसको सरकारले पनि त्यो क्रम यथावत नै राखेको थियो ।

जो आजको गणतान्त्रिक व्यवस्थामा पनि अप्रत्यक्षरूपमा किन नहोस् अवस्था उस्तै छ । राष्ट्र बैंकका एकजना अधिकृत देहरादूनमा एउटा बैंकिङ तालिममा गएका रहेछन् । तालिमको क्रममा उनको एकजना भारतीय जासुसी संस्थाका मानिससँग भेट भएछ । उसले भनेछ, ‘नेपालमा प्रत्येक मन्त्रालयमा हाम्रा मानिस छन् ।’ त्यहाँ कुन कर्मचारीको सरुवा र बढुवा हुँदैछ । कुन कर्मचारीको सोच के छ ? कुन कर्मचारीलाई सरकारका पावरफुल पर्सनले त्यसप्रति हेर्ने दृष्टिकोण के–कस्तो छ र कसको प्रमोसन हुँदैछ भन्ने कुरासमेत हामीलाई जानकारी हुन्छ । एक प्रकारले नेपालमा हामीले एउटा छाया सरकार नै चलाएका छौँ, सविस्तार बताए । यो कुरालाई यहाँको राजनीतिले वास्तवमै पुष्टि गरिरहेको छ ।

२०४७ सालको बहुदलीय व्यवस्थाको आगमनसँगै पुनः भारतीयहरूको गुलामी गरी सत्ता प्राप्त गर्ने खेल आजसम्म यथावत छ । प्रधानमन्त्री तथा कुनै पनि मन्त्री बन्नका लागि हाम्रा नेताहरू भारतीय सत्ताको गुलामी गर्छन् । हुँदा–हुँदा अब कुनै ठूलो कर्मचारी हुन र सरुवा बढुवामा समेत भारतीय दूतावास धाउने चलन आइसकेको छ । एमालेको नौ महिने शासनकालमा जनहितका केही राम्रा कामहरू भएका थिए । त्यसपछिका दिनमा राम्रा गुणस्तरीय र सन्तोषजनक कुनै काम राज्यले गर्न सकेको देखिँदैन । भारतीय नाकाबन्दीमा नेपाली सत्ता र जनता जो भारतीय सत्तासँग झुकेनन्, एउटै मात्र राम्रो उदाहरण हो ।

त्यसबाहेक प्रशंसा गर्न लायक कुनै पनि सरकारले गरेको असल र राष्ट्रिय स्वार्थ अनुकूलको काम देखिँदैन । त्यसैले यो भन्न सकिन्छ कि भ्रष्ट संस्कार, राजनीतिक अस्थिरता र गुलामी संस्कृतिबीच घनिष्ट सम्बन्ध छ । पहिलो कारण हो भने अर्को कारक । लामो समयसम्म गुलामी संस्कृतिमा बानी परिसकेपछि स्वतन्त्र र स्व–निर्णय गर्ने क्षमता देशले गुमाइसकेको हुन्छ । जसरी चुरोट पिउने बानी परेको मानिसले सजिलोसँग चुरोट छोड्न सक्दैन । जबकि चुरोट पिउनु स्वास्थ्यको दृष्टिकोणले ठीक होइन भन्ने जानकारी र ज्ञान पनि छ । कुलतमा फसेका आजकलका केटाकेटी जसरी सुधारगृहमा राख्दा पनि राम्रोसँग सुधार हुन सक्दैनन् ।

यो पनि त्यस्तै हो । एउटा बानी मात्र नभएर संस्कार बनिसकेको हुन्छ । कतिपय राजनीति कर्मीहरू कति सजिलैसँग भन्दिन्छन् । हामी भारतलाई नसोधी केही पनि गर्न सक्दैनौँ । डा स्वर्णीम वाग्लेको भारतीय सत्तालाई हामीले मानेर चल्नुपर्छ भन्ने भनाइ त्यही कुरालाई पुष्टि गर्ने सबैभन्दा पछिल्लो उदाहरण हो । यसको मतलब यो हो कि गुलामी संस्कृति हाम्रो नियति बनिसकेको छ । अरू त के कम्युनिस्टको आदर्श र दर्शन बोकेर सत्तामा पुगेकाहरूको पनि नियति उही भइदिँदा प्रश्न चिह्न लागेको छ । जो अगुवा उही के जाति भनेजस्तो अवस्था भयो । यसैले जबसम्म हामी देशमा विद्यमान राजनीतिक अस्थिरतालाई निर्मूल पार्न सक्दैनौँ । तबसम्म गुलामी संस्कृतिलाई पनि तोड्न सक्दैनौँ ।

यद्यपि अस्थिरतालाई जरैदेखि फाल्ने हो भने गुलामी संस्कृतिलाई आजैदेखि त्याग्न सुरु गर्नुपर्छ । गुलाम र गुलामीहरूको देशलाई अझै अस्थिर बनाउन विदेशीले थप मलजल गरिरहेका छन् । डा खगेन्द्र संग्रौला भन्नुहुन्छ, नेपाल गरिब भइरह्यो भने क्रिस्चियन धर्म फैलाउन सजिलो हुन्छ, पश्चिमाको चाहना हो । नेपाल गरिब भइरह्यो भने यहाँ अस्थिरता भित्र्याउन पाइरहिन्छ भन्ने भारतीय चाहना हो । नेपालमा विकास भयो भने पश्चिमाले भनेकोअनुसार हुँदैन ऊ आफ्नै सुरले चलिरहन्छ भन्ने चीनको चाहना हो भन्ने छ ।’ यसैले नेपालमा अस्थिरता चाहने र गरिबी चाहने शक्ति विश्वमा धेरै रहेछन भन्ने बुझिन्छ । गरिबी र अस्थिरताबीच उनीहरूको नाजायज स्वार्थ पूरा गर्नु तिनीहरूको मुख्य उद्देश्य हो । सुरुमा अस्थिरता हाम्रो बढपनको लागि हामी आफँैले निम्त्याएको भए पनि अब विदेशीले उनीहरूको स्वार्थपूर्तिको लागि अस्थिरता थोपरिरहेका छन् । यही हामीलाई गुलियो भइदिएको छ । यसैले अस्थिरता र गुलामी संस्कृति यति झाङ्गिएको छ कि झाङ फाँड्नै हामीलाई धेरै गाह्रो हुन गएको छ । जननेता स्व मदन भण्डारी र राजा वीरेन्द्रको मृत्युको कारण पनि यही हो । यसैले हामी निकै गम्भीर र संवेदनशील हुनुपरेको छ । मृत्यु त सामान्य हो, एक दिन सबै मर्नुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x