राजनीतिमा सत्ताको दाउपेच
काठमाडौं । करिब ५३ वर्ष पहिले पढेको आलेख अहिले पनि सम्झना भइरहेको छ । त्यो आलेख बाल्यकालसँग जोडिएको थियो । बाल्यकाल सबैको अज्ञानताले भरिएको हुन्छ नै । त्यसकारण हुने नहुने काम गरिएका हुन्छन् । अबोधता हुन्छ । विवेकको कमी हुन्छ । यो स्वाभाविक पनि हो ।
प्रायः गरेर बाल्यकालमा भाँडाकुँडी खेलिएको हुन्छ । एउटा बालक बेहुला बनेको हुन्छ । अर्की बालिका बेहुली बनेकी हुन्छिन् । यसरी दुलहा दुलही बन्छन्, खेल्छन् रमाइलो गर्छन् र धेरै समय बिताएका हुन्छन् । भनाइको अर्थ विवाह हुनुपूर्व सबै बालबालिका नाटकीयरूपमा भए पनि विवाह बन्धनमा बाँधिएका हुन्छन् । यथार्थमा उनीहरू जस्ताको त्यस्तै हुन्छन् ।
लाग्छ, अहिले नेपालको राजनीति त्यस्तै भएको देखिन्छ । केटाकेटीले बिहे गरेजस्तो । भाँडाकुँडी खेले जस्तो र ख्यालख्यालको बिहेजस्तो । केही समयअघि नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाए । यी दुई दलबीच न सिद्धान्त मिल्थ्यो न विचार नै मिल्थ्यो । यद्यपि सत्ता स्वार्थको कारणले गर्दा सरकार सञ्चालन गरे । लामो समयसम्म नजाने स्वतः सिद्ध नै थियो । त्यसैले प्रचण्डले स्वजातीय नेकपा एमालेसँग सत्ता समीकरण गरे । यसबाट नेपाली काँग्रेसले प्रचण्डलाई धोकेबाज भनिरहेको थियो किनभने पूरै अवधि आलोपालो मिलाएर सत्ताको रजगज गर्ने सम्झौता समेत गरेका थिए ।
एमालेसँग स्वजातीय सरकार चलाई आए पनि केपी ओली माओवादीसँग सन्तुष्ट थिएनन् । माओवादी केन्द्र आफ्नो स्वार्थपूर्ति गर्न कहिले काँग्रेससँग र कहिले एमालेसँग सरकार बनाउने दाउपेच गर्र्दै आएको अवस्थाले गर्दा ठूला दल भनिएकाहरू नेपाली काँग्रेस र एमाले दुवै खुसी थिएनन् । दुवै दल सशंकित थिए नै । दुई ठूला दलले नेतृत्व समाल्न नपाउने र तेस्रो दलले बिरालाले मुसाको बच्चा खेलाएको जस्तो गरेर खेलाई रहेको अवस्था बढ्दै गएको हुनाले नेकपा एमाले पनि सत्ता गठबन्धनबाट खुसी थिएन । त्यसकारण नेकपा एमालेले सत्ता गठबन्धनबाट बाहिरिएर नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्न पुगेको अहिलेको अवस्था हो ।
प्रचण्डलाई एक प्रकारको आत्मविश्वास के भयो भने यी दुई ठूला दल कहिले पनि मिल्न सक्दैनन् र सर्पले काँचुली फेरेजस्तो गरी पूरा अवधि सत्तामा रहिरहन्छु भन्ने अभिव्यक्ति पनि सार्वजनिक गरेका थिए । उनको अभिव्यक्तिमा ठूला दलहरूलाई निम्न कोटीमा राखेका कुरा छर्लङ्ग नै देखिन्थ्यो । यसै सन्दर्भमा नेपाली काँग्रेसका नेता रमेश लेखकले भनेका पनि थिए– प्रचण्डजी, तपाइँले धोका दिएका सबै दलहरू एकै ठाउँमा आए भने तपाईँको हालत त्यस बखतमा कस्तो हुनेछ, हेक्का राख्नुहोला । नभन्दै अहिले नेकपा एमाले प्रचण्ड सरकारको सत्ताबाट बाहिरियो र नेपाली काँग्रेससँग सत्तासमीकरण गरेर आफ्नै नेतृत्वमा सरकार सञ्चालन गरिरहेको अवस्था छ । यहाँ भन्न खोजिएको कुरा केहो भने बेला न कुबेला जथाभावी बोलिदिँदा आफँैलाई बेफाइदा हुने नै हुन्छ । यस्तै हुन गयो माओवादी केन्द्रलाई ।
तेस्रो दलले सत्तामा बस्न पाउनु एक प्रकारले राजनीतिमा अनौँठो नै हुन्छ । यद्यपि प्रचण्डले काँध फेरिफेरि सत्ता चलाउन पाएकै थिए । तित्राको मुखैबैरी भन्नेजस्तो प्रचण्डले बेलाबेलामा बोलेका शब्दले बाटो बिराउन पुग्यो । प्रचण्डले विश्वास नै नगरेका कुरा राजनीतिमा देखापर्न गयो । अहिले दुई ठूला दल मिलेर सरकार बनाएका छन् र माओवादी केन्द्र सत्ताबाहिर रहनुपर्यो । नेकपा एमालेका केपी ओलीले स्वर्ग गए पनिसँगै नर्क गए पनि सँगै भने पनि यो सत्य हुन सकेन । यसरी प्रचण्ड पनि केपी ओलीबाट झुक्याइए । अहिले सरसर्ती हेर्दा राजनीति सर्वश्रेष्ठ नीति भनिए पनि घिनलाग्दो अवस्थामा पुगेको देखिन्छ । न त प्रचण्डले सत्ता साझेदार नेपाली काँग्रेसलाई बचनले भए पनि राम्रो कुरा देखाउन सके न त केपी ओलीले नै स्वर्ग र नर्कको गरेको कुराको पालना नै गरे । प्रचण्ड र ओली दुवै राजनीति खेलाडी भए पनि इमान्दारिता र नैतिकता भने दुवैले देखाउन नसकेको अहिलेको अवस्था हो ।
राजनीतिमा सबै कुरा जायज हुन्छन् भन्ने कुरा सत्य नै रहेछ । हिजोसम्म माओवादी नेपाली काँग्रेससँग जायज थियो र अहिले नेकपा एमाले र नेपाली काँग्रेस जायज हुन पुगे । त्यसकारण पूरै अवधि सत्तामा रहने र स्वर्ग र नर्कको कुरा पनि जालसाझी मात्र रहेछन् भन्ने कुरा छर्लङ्ग भएका छन् । त्यसकारण राजनीति भनेको सत्ताको स्वार्थ रहेछ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । अर्थात् केटाकेटीले भाँडाकुँडी र बेहुलाबेहली भएर खेलेजस्तो । कहिले कोहीसँग बिहे गर्यो कहिले कोहीसँग बिहे गर्यो ।
राजनीति सम्भावना नै सम्भावनाको खेल भन्ने भए पनि यहाँ त यथार्थताको खेल हुन सकेन । छलकपट र स्वार्थको राजनीतिले नेतृत्वलाई केही फाइदा पुगे पनि आमनागरिकले भने दुःख नै पाउने रहेछन् । सत्तामा हुँदा जादुको छडी घुमाएजस्तो गरेर सबै कुरा ठीक र सत्ताबाहिर हुँदा सबै कुरा बेठीक भन्ने गर्दा राजनीति यथार्थतामा केही सुधार नै भएको हुँदो रहेनछ ।
प्रतिव्यक्ति आय, कुल गार्हस्थ उत्पादनमा वृद्धि, विप्रेषणमा वृद्धि, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धिजस्ता आर्थिक सूचनाङ्क सकारात्मक देखाए पनि तिनीहरूको वृद्धिमा भएको परिवर्तनले आमनागरिकको जीवनस्तरमा कस्तो प्रभाव पारेको छ भन्नेतिर नेतृत्वको चासो रहेको देखिँदैन । केवल एकोहोरो सुधार गर्यो भन्ने कुराको कुनै औचित्य हुँदैन । मुख्य विषय भनेको भुइँमान्छेको जीवनस्तरमा कति सुधार आयो भन्ने नै हो ।जनताले देखेको भोगेको र अनुभव गरेको कुरालाई मात्र पत्याएका हुन्छन् । देशमा भ्रष्टाचार बढ्दै गएको कुरालाई अन्तर्राष्ट्रिय जगतले समेत बुझेको छ । आर्थिक अनियमितता बढेको बढ्यै छ । परिणामस्वरूप बेरुजु बढ्दै गएको छ । भ्रष्टाचार र आर्थिक अनियमितताबारे राजनीतिक नेतृत्वले जति नै सुधार गरियो भने पनि सुधार भएको देखिँदैन ।
अहिले नेपालको राजनीति तीन दलभित्र मात्र सीमित भएको अवस्था छ । स्वार्थ नमिल्दा गालीगलौज गर्ने र मिल्दा भने कहिल्यै नछुटिने भनिँदा जनताले विश्वास गर्ने आधार सिर्जना भएको छैन । कतिपय अवस्थामा काम कुराभन्दा पनि आफूले बोलेका कुराले आफैँलाई हानि पुर्याएका हुन्छन् । तित्राको मुखै बैरी त्यसै भनिएको रहेनछ । जंगलमा भएको तित्रा कराउँदा शिकारीले चाल पाएर बन्दुक चलाएको हुन्छ । जसरी जंगलमा भएको तित्रा कराउँदा शिकारीबाट सताइन्छ अहिले प्रचण्डलाई त्यस्तै हुन गएको छ । राजनीतिमा सबै कुरा सम्भव हुन्छन् भन्दैमा जे पनि गर्न र बोल्न मिल्छ र ? यसबाट हुने घाटा भनेको आफैँलाई हो । अहिले राजनीति भनेको सत्तामा जानु मात्र देखिएको छ । जसरी पनि सत्ता हत्याउने कार्यले राजनीति गर्नेलाई त राम्रै होला तर आमनागरिकलाई भने पीडामाथि पीडा नै हुने हो । कुन र कसको सरकार आएर जनतालाई सुख भएको छ र ?
सत्ताबाट बहिर्गमन हुनुपर्दा पीडा हुनु स्वाभाविक नै हुन्छ । तर जनताको पीडा पनि त बुझिदिनुपर्छ नि । नबुझेर नै यो अवस्था आएको देखिन्छ । जुन सरकार र जसको नेतृत्वले पनि अरूले नगरेका र आफूले गरेका कामको ठूलै फेहरिस्त निकालेका नै हुन्छन् । तर वास्तविकरूपमा जे भने पनि ती सबै जनतालाई भ्रम सिर्जना गर्नको लागि बुनिएका कथा मात्र हुने गरेका छन् ।
देश र जनताको लागि गर्नुपर्र्छ भन्ने कुरा नेपालको राजनीतिमा अहिलेसम्म हुन सकेको छैन । एउटा मात्र नेतृत्वले काम गर्न सकेको भए पनि देशको अवस्था अर्कै हुने थियो । अहिले जेजति विकास भएको छ त्यो स्वतः भएको विकास भन्न सकिन्छ नै । राज्यले ठूलो ऋण लिएको छ । दाताहरूले अनुदान दिइरहेका छन् । सरकारलाई विश्वास गर्न नसकेर कतिपय सहयोगी देशहरूले सडक, पुल, भवन, विद्यालयजस्ता आधारभूत संरचना निर्माण गरेर साँचो मात्र सरकारलाई हस्तान्तरण गरेका छन् । विकास विदेशीले गरिदिने, अनुदान विदेशी दिने, ऋण विदेशी देश र अन्तर्राष्ट्रिय संघसंस्थाहरूले दिने, शिक्षा स्वास्थ्य, खानेपानीजस्ता सामाजिक सेवा विदेशीहरूले नै गरिदिने र रिवन मात्र काट्ने काममा सरकार अभ्यस्त भएपछि विकासको लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ र ?
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया