Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘ह्यात्रुङ झरनॉ, ‘लीः ढुङ्गा’ र पर्यटनको कुरा

‘ह्यात्रुङ झरनॉ, ‘लीः ढुङ्गा’ र पर्यटनको कुरा


काठमाडौं । प्राकृतिकरूपले भरिपूर्ण विश्वको केही देशको सूचीमा नेपाल पनि पर्छभन्दा कसैले असहमति नजनाउलान् । हुन पनि यहाँ प्राकृतिकरूपमै निर्मित हिमाल, महाभारत पर्वत, चुरे पर्वत र दुन अनि तराई–मधेश गरी मुख्यतयाः पाँच प्रकारका भूगोल रहेका छन् । यी पाँच प्रकारका भूगोलमा अनेकौँ ताल, तलैया, पोखरी, दह, छहरा, छाँगा, झरना, डाँडा–काँडा, पाखो–पखेरो, किल्ला, दुर्ग, गुफा, ओढार, खोला, नदी–नालाहरू रहेका छन् । यो लेखचाहिँ नेपाललाई प्रकृतिले निर्माण गरिदिएका अनेकौँ निधिहरूमध्ये पूर्वी पहाडको तेह्रथुम जिल्लाको तत्कालीन सम्दु र इसिबु गाउँ विकास समितिको सीमाका रूपमा छङछङ गर्दै बग्ने (झर्ने) रहेको ‘ह्यात्रुङ झरना’बारेमा लेख्दैछु ।

पछिल्लो पटक नेपालमा लागू भएको संघीयतको ढाँचाअनुसार तत्कालीन सम्दु गाविस फेदाप गाउँपालिकाको वडा नम्बर–४ हो भने, इसिबु गाविसचाहिँ वडा नम्बर–५ हो । स्मरण रहोस्, यसअघि केही अनलाइनमा इसिबु गाविस फेदाप गाउँपालिकाको वडा नम्बर–३ भनी लेखिएकोमा क्षमायाचनासहित भुलसुधार गरिएको छ । जे होस् (हिउँदो र बर्खा दुवै याममा) सधैं छङछङ गर्दै बगिरहने, खसिरहने ‘ह्यात्रुङ झरना’ सम्दु र इसिबुको सीमाका निर्धारण गर्ने सीमाझरनाका रूपमा पनि रहेको छ भनी माथि नै उल्लेख गरिएको छ । धेरै लामो समयसम्म निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, राष्ट्र बैंक, वाणिज्य बैंक नेपाल बैंक आदिमा जागिर खान चाहनेहरूका लागि लोक सेवा आयोग (लोसेआ) ले अनिवार्यजस्तै सोध्ने प्रश्न र सामान्य ज्ञानहरूमा पनि नेपालको अग्लो झरना कुन हो ? भनी ‘ह्यात्रुङ झरना’लाई प्रश्नका रूपमा समाविष्ट गर्ने, राख्ने गरिन्थ्यो । यसरी हेर्दा धेरै लामो समयसम्म नेपालकै अग्लो झरना मान्ने गरिएको, मानिएको ‘ह्यात्रुङ झरना’ दुुर्गम र यातायातको उपलब्धता नभएका कारण सधैँ ओझेलमा पर्ने गरेको थियो । स्थानीयवासीले ‘ह्यात्रुङ झरना’बाट फाइदा लिन सक्नुपर्ने थियो, त्यति लिन सकेनन् । त्यसको एउटै कारण हो, ‘आन्तरिक तथा बाह्य पर्यटकहरू ‘ह्यात्रुङ झरना’ अवलोकन गर्न जानुपर्ने थियो, त्यति गएनन् । त्यस्तै, गरेर राज्य र मूलधारका मिडियाहरूका लागि पनि ‘ह्यात्रुङ झरना’ रोजाइमा पर्न सकेन ।

तीन सय ६५ मिटर उचाइ रहेको ‘ह्यात्रुङ झरना’ धेरै समयसम्म नेपालको अग्लो झरना भनी आम मानिसमाझ स्थापित भएको थियो । मान्यता पाएको भए पनि अहिले खासै चर्चामा छैन, जति पहिले धेरचोर चर्चा हुने गरेको थियो । त्यसो हुनुमा ‘ह्यात्रुङ झरना’ अहिले नेपालको दोस्रो अग्लो झरनाको स्थानमा झरेकाले गर्दा हो भन्न सकिन्छ । किनभने, पछिल्लो पटक कर्णाली प्रदेशको कालिकोट जिल्लाको तत्कालीन राम्नाकोट गाविसको खान्द्रु गाउँमा रहेको ‘पचाल झरना’ नेपालको सबैभन्दा अग्लो झरना भनी स्थापित भएको छ । स्मरणरीय छ, ‘पचाल झरना’को उचाइ तीन सय ८१ मिटर रहेको छ (स्रोतः ‘गुगल/हिमाल दर्पण अनलाइन’ लगायत अन्य पत्रपत्रिकाहरू) । त्यसो भए पनि पछिल्लो पटक कच्ची सडक निर्माण भएसँगै ‘ह्यात्रुङ झरना’को अवलोकन गर्न आन्तरिक पर्यटकहरू आउन थालेका छन् । नेपालकै सबैभन्दा अग्लो झरनाका रूपमा रहेको भए पनि पहिले ‘ह्यात्रुङ झरना’ आसपासमा बास बस्नलायक होटल त के सामान्य चिया पसल समेत थिएन । तर अहिलेचाहिँ ‘ह्यात्रुङ झरना’को डिलैमा एक होटल खोलिएको छ ।

अहिलेचाहिँ यहाँसम्म पुग्न गाडीको सुविधा रहेको छ । यहाँसम्म पुग्न गाडीबाट ओर्लेर आधा घण्टाजति ओरालो झर्नुपर्छ भने फर्किँदाचाहिँ झण्डै एक घण्टा उकालो चढ्नुपर्छ । ह्यात्रुङ झरनालाई स्थानीय लिम्बु समुदायले ‘हात्ती के लेङ्मा–हात्ती लेङे’ भनी पुकार्ने गर्छन् भने पूरै खोलाको नामचाहिँ ‘हिंवा खोला’ हो । आजभोलि आन्तरिक पर्यटक तथा अन्य आगन्तुकका साथै पछिल्लो छिमलका स्थानीय बासिन्दाहरूले समेत ‘ह्यात्रुङ’ भनेरै चिन्न थालेका छन् । कथनअनुसार (वास्तविकता पनि यही हो) राणा शासनकालमा सरकारी कर्मचारीहरू धनकुटा हुँदै ओलाङचुङगोला–वालुङसम्म भोटको कर उठाउन जान्थे । राणाका कर्मचारीहरू हात्ती लिएर छ थर, मेयोङलुङ (म्याङलुङ), जलजले, सिम्ले, इसिबु, तत्कालीन सम्दु गाउँ पञ्चायतको पैपुङ, तुम्फुङ्ला, संगपु, केराबारी, खाम्लालुङ, हाङ्पाङ, चाँगे हुँदै तमोर (तम्बर खोला)को बाटा भएर ओहोर–दोहोर गर्ने गर्थे । यसरी आउनेजाने क्रममा एक रात तुम्फुङुला र पैपुङको सीमा (सम्दु गाविसको वडा नम्बर ६ र ७) मा रहेको ‘गोदाम’ भन्ने ठाउँमा बास बस्ने गर्थे, राणाका कर्मचारीहरू । तत्कालीन सम्दु–१ का सेमन्त निरौलाका भनाइअनुसार उनले स्थानीय बुढापाकाहरूको भनाइअनुसार भनेअनुसार चाहिँ राणा प्रधानमन्त्री जुद्ध शमशेर स्वयम् गोलाचुङ गोलाको भ्रमण (उहिलेको भाषामा दौडाहा) मा गएका थिए । सो क्रममा सम्दुको वडा नम्बर ६ र ७ मा रहेको ठूलो गरा (बारी) मा ‘गोदाम’ बनाउन र हात्ती बाँध्नका ठूलो अग्लो ढुंगो (खाँबो !) गाड्ने हुकुम दिएका थिए । सो ठाउँमा ठूलो गरा भएको बारी अभैm पनि छ । त्यहाँ ऊबेला हात्ती बाँध्ने गरिएको ठूलो अग्लो ढुंगो (खाँबो !) पनि संरक्षण गरेर राखिएको छ । साथै, यो ठाउँलाई अभैm पनि नै ‘गोदाम’ भन्ने गरिएको छ । अहिले गोदाममा कुलुङ जातिका एक थरी ‘देउराम’ थर (पाछा) परिवार बसेका छन् ।

यसरी धनकुटा हुँदै ओलाङचुङ गोला–वालुङसम्म ओहोर–दोहोर गर्ने, आउनेजाने क्रममा नै हो, एकपटक ‘ह्यात्रुङ झरना’बाट हात्ती लडिम¥यो । त्यसरी हात्ती लडेर मरेपछि लिम्बु समुदायले ‘हात्ती के लेङ्मा–हात्ती लेङे’ भन्न थाले । पछि त्यही लिम्बु भाषाको नाम ‘हात्ती के लेङ्मा–हात्ती लेङे’ नाम अपभ्रंश भएर ‘ह्यात्रुङ झरना’ भयो, भन्न थालियो । अझै पनि प्रचारप्रसार भएमा गर्न सकिएमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

सार्क मुलुक र तेस्रो मुलुकका पर्यटकहरूलाई ‘ह्यात्रुङ झरना’ मा आउन, ल्याउनका लागि ‘तीन जुरे, मिल्के र जलजले (टीएमजे) क्षेत्र हुँदै, गुफा पोखरी, मेन्छ्यायेम ढाप, सम्दु, खाम्लालुङ, छोटी बजार (टुकुरे), संक्रान्ती बजार, फिदिम (फेदेन) हुँदै इलामको चिया बगान अवलोकन गराउने अथवा ‘तीन जुरे, मिल्के र जलजले (टीएमजे), गुफा पोखरी, सम्दु, खाम्लालुङ, हाङपाङ, दोभान हुँदै पाथीभरा देवी (मुक्कुमलुङ) दर्शन गराउने टुर प्याकेज बनाउन सकिन्छ । स्मरणीय छ, पाथीभरा डाँडोबाट पश्चिमतर्फ मकालु हिमाल, चाम्लाङ हिमाल, मेरा पिक हिमालदेखि लिएर पूर्वका कञ्चनजंघा (सेवालुङ), कुम्भकर्ण (फक्ताङलुङ), किरात चुली, नेपाल पिक, गिमीगेला, टेन्ट पिकलगायत कयौं साना–ठूला हिमालहरू हेर्न, अवलोकन गर्न सकिन्छ । यसका लागि हामीले कम्तीमा पनि नौ दिनदेखि बढीमा १२–१३ दिनसम्मको ‘टुर प्याकेज’ बनाउन सक्छौँ । खाम्लालुङ हुँदै संक्रान्ती बजार जाने क्रममा बाटामा ‘लीः ढुंगा’ भन्ने ठीकठीकैको ढुङगो रहेको छ । बुढापाकाको भनाइअनुसार उहिल्यै महिला र पुरुषले सो ढुङ्गोबाट जसले पिसाब गरेर–फेरेर वारपार गराउन सक्छ, उसले बाजी जित्ने भनेर प्रतिस्पर्दा भएछ । त्यसरी बाजी राखेपछि प्रतिस्पर्धा हुने क्रममा पुरुषलाई महिलाले जितेकी (महिलाले पिसाब फेरेर पार गराएको पुरुषले पार गराउन नसकेको भनाइ रहेको छ) थिइन् रे । अहिले पनि ‘लीः ढुंगा’ पुग्दा बुढापाकाले भनेको कुरो सम्झने गरिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x