Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषयुनुसको काँधमा बङ्गलादेश

युनुसको काँधमा बङ्गलादेश


बङ्गलादेशका २० वर्ष सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री सेख हसिना वाजेद अतिवादी कामले सत्ताबाट बहिर्गमनमात्र होइन देशै छाडेर भाग्नु परेको छ । उनी भागेपछि देशको शासन सत्ता नोबेल शान्ति विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसको काँधमा आएको छ ।

हसिनाले राजीनामा दिएर विदेश पलायनले देशमा थप हिंसा र विध्वंस रोकिएको छ । पहिले एक कार्यकाल र पछि लगातार चार कार्यकाल गरी पाँच कार्यकाल सत्ता चलाएकी हसिना विद्यार्थी आन्दोलन थेग्न नसकेपछि राजीनामा दिएर विदेश पलायनपछि देशको राजनीतिले नयाँ मोड लिएको हो । आन्दोलनरत विद्यार्थीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्रपति मोहम्मद साहबुद्दिनले गत जनबरी ७ मा संसदीय आमनिर्वाचनबाट बनेको संसद् भङ्ग गरेका छन् । नजरबन्दमा रहेकी विपक्षी नेतृ बेगम खालिदा जियालाई रिहा गरिएको छ ।

राष्ट्रपति साहबुद्दिन र सेना प्रमुख वकर उज जमान दुवैको सहमतिमा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । हसिनाको पेलानमा परेर युनुस पेरिसमा बस्दै आएका थिए । अब नयाँ संसद्का लागि छिटो चुनाव गराइने छ । यसबाट छिटै मुलुकले सहज निकास पाउने आशा पलाएको छ ।

सरकारी जागिरमा रहेको विभेद र अन्यायपूर्ण कोटा प्रणालीविरुद्ध विद्यार्थीहरूले चलाएको आन्दोलनमा चर्को सरकारी दमन भएसँगै आन्दोलन झन् उत्कर्षमा पुगेको हो । अगस्ट ४ को आन्दालनमा एकैदिन ९१ मारिएपछि प्रधानमन्त्रीको राजीनामा मागसहित चर्केको आन्दोलन थेग्न नसक्ने चरणमा पुग्यो । देशव्यापी अनिश्चितकालीन कफ्र्यु लगाएर सेना परिचालन गर्दासमेत आन्दोलन रोकिएन ।

अगस्ट ५ अनियन्त्रित हजारौँको भिडले सरकारी कार्यालयहरू, प्रहरी चौकी र अन्य स्थानमा आव्रmमण गर्नुका साथै आगजनी समेत गरेको थियो । हसिनाको पार्टी अबामी लिगका एक नेताको स्वामित्वमा रहेको एउटा होटलमा प्रदर्शनकारीहरूले लगाइदिएको आगोमा परी २४ जनाको मृत्यु भएको थियो । सोमबार राजधानी ढाकालगायत सहरभरि सेना र प्रहरी परिचालन भएका थिए । मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए । सोमबारको हिंसामा पनि ठूलो सङ्ख्यामा आन्दोलनकारी र सर्वसाधारण मारिएको विवरण आए पनि आधिकारिक तथ्य बाहिर आएको छैन ।

अन्ततः जनआव्रशले आफ्नो र परिवारका सदस्यको ज्यानसमेत जोखिममा परेको ठानी हसिनाले अगस्ट ५(सोमबार)मा राजीनामा दिई भारततर्फ पलायन भइन् । उनको सत्ता ढलेसँगै राजधानी ढाकामा आन्दोलनकारीहरूले खुसी मनाउनुका साथै प्रधानमन्त्रीको सरकारी निवासमा र हसिनाका पिता बङ्गलादेशका संस्थापक नेता सेख मुजिबुर रहमानको सालिकसमेत तोडफोड गरे ।

बङ्गलादेशमा विद्यार्थीहरूले लामो समयदेखि कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै आएका हुन् । विद्यार्थीहरूले आन्दोलन गरेपछि हसिना सरकारले सन् २०१८ मा यो प्रणाली हटाएको थियो । तर दुई महिना अघि जुन ५ मा ढाका उच्च अदालतले सरकारको निर्णय उल्टाइदियो । यहीँबाट हसिना सरकारको दिनगन्ती सुरु भएको हो ।

सन् २०१८ मा चार महिनासम्म विद्यार्थीले आन्दोलन गरेपछि हसिना सरकारले कोटा प्रणाली नै खारेज ग-यो । तर अचानक ढाका उच्च अदालतले गत जुन ५ मा सरकारलाई सन् २०१२ को आरक्षण प्रणाली लागू गर्न आदेश दियो ।

अदालतले सन् २०१८ भन्दा पहिले जसरी आरक्षण मिल्थ्यो त्यसलाई त्यही अनुसार नै लागु गर्न आदेश दियो । यसबाट सामान्य वर्गका विद्यार्थीहरू भड्किए र सडकमा उत्रिए । उनीहरूले चार सय जनाभन्दा बढीको ज्यान जाने गरी चलाएको दुई महिनाको हिंसात्मक आन्दोलनले अन्ततः हसिना सरकार नै ढल्यो ।

सन् १९४७ को २८ सेप्टेम्बरमा जन्मिएकी ७६ वर्षीया हसिनाले सन् १९६७ मा वाजेद मियाँसँग बिहे गरिन् । उनका पिता रहमानले सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गरे र स्वतन्त्रतापछि उनी प्रधानमन्त्री बने । सन् १९७५ को १५ अगस्तमा सैनिक ‘कु’ हुँदा ढाकामा रहमान परिवारको हत्या भयो । त्यतिबेला हसिना, उनकी बहिनी रिहाना र पति वाजेद तथा छोराछोरी पश्चिम जर्मनी भएका कारण बाँच्न सफलता मिल्यो । उनीहरु सन् १९७५ मा भारत आएर छ वर्षसम्म भारतमै बसे ।

सन् १९८१ मा हसिनालाई अवामी लिग पार्टीले अध्यक्ष बनाएसँगै उनी राजनीतिमा सव्रिmय भइन् । सुरुका दिनमा उनले देशमा लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष गरिन् । उनले बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) नेतृ तथा पूर्वप्रधानमन्त्री खालिदा जियासँग मिलेर आन्दोलन गरिन् । दुई नेतृको अगुवाइमा सन् १९९० मा भएको आन्दोलनले बङ्गलादेशमा हुसेन मोहम्मद एर्सादको सैनिक शासन अन्त्य भई लोकतन्त्र स्थापना भयो । देशमा लोकतन्त्र ल्याउन दुई नेतृको योगदानको उच्च मूल्याङ्कन भयो । दुई नेतृ मिलेर लोकतन्त्र ल्याएपछि अब मुलुकमा सहमति र मेलमिलापको राजनीतिले स्थान पाउने अपेक्षा गरिएको थियो तर जन अपेक्षा अनुसार काम भएन ।

लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि जियाले पाँच वर्ष शासन सत्ता चलाइन् । यसबीचमा हसिना र जियाबीचको सम्बन्ध चिसियो । जसका कारण बङ्गलादेशको राजनीति अस्थिर बन्न पुग्यो ।

हसिना भने सन् १९९६ मा चुनाव जितेर पहिलो पटक प्रधानमन्त्री बनिन् । त्यसको पाँच वर्षपछि भने उनी जियासँग पराजित भइन् । जसका कारण सन् २००१ देखि २००६ सम्म पुनः जिया प्रधानमन्त्री बनिन् । सत्ताको हानथापले दुई नेतृबिचको सम्बन्ध थप बिग्रियो । यो द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो ।

दुई नेतृबीचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लियो । पछि सेना प्रमुख जनरल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिए ।

अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेलसमेत हालेको थियो । मुद्दा फिर्ता लिइएपछि हसिना सन् २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा भए । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना पुनः प्रधानमन्त्री बनिन् । सन् २००९ यता उनी लगातार चार पटक सत्तामा रहिन् । विपक्षी र आफ्ना विरोधीलाई दमन गर्दै हसिनाले पछिल्ला चार कार्यकाल एकछत्र शासन गरिन् ।

पछिल्लो चार कार्यकालमा त अझ हसिना लोकतन्त्रवादीबाट तानाशाहीको बाटोमा निरन्तर अघि बढेको भन्दै उनको आलोचना भयो । सन् २०१४ यता त जियासहित विपक्षीहरूप्रति हसिना थप कठोर बनिन् । जियालाई भ्रष्टाचारको मुद्दा लगाएर जेल हालिन् । थुप्रै विपक्षी नेता तथा कार्यकर्ता जेल परे ।

त्यसैकारण हरेक चुनाव विपक्षीले बहिष्कार गरेपछि उनको सत्तामा एकलौटी भयो । विपक्षीले बहिष्कार गरेको गत जनबरी ७ मा भएको निर्वाचनमा हसिनाको पार्टीले तीन सय सिटमध्ये २२४ सिट जितेसँगै हसिना पाँचौँ पटक प्रधानमन्त्री बनिन् तर यस पटक भने उनलाई सत्ता शुभ भएन । देशै छाडेर भाग्नु प-यो ।

पछिल्लो निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ । बङ्गलादेशमा लोकतन्त्रको लागि लडेकी हसिना लोकतान्त्रिक आवरणको बलमा अधिनायकवादी बाटोमा हिँड्दा अन्ततः मुलुकै छोडेर भाग्नु परेको हो ।

 


क्याटेगोरी : बिशेष, विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x