Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनयाँ योजनामा स्टार्टअपको भूमिका

नयाँ योजनामा स्टार्टअपको भूमिका


काठमाडौं । सामान्य अर्थमा व्यवसाय भन्नाले लाभोपार्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ । हामीले दैनिक जीवनमा साना–साना चियापसलदेखि ठूला–ठूला उद्योगधन्दा, कलकारखानाहरू सञ्चालन भएको देख्छौँ । आफ्ना परिवार छरछिमेकी इष्टमित्र, नातेदारहरूले जीविकोपार्जन गर्नका लागि कुनै न कुनै आर्थिक क्रियाकलापमा संलग्न रहेको पाउँछौँ । उनीहरूले पुँजी लगानी गरेर जोखिम बहन गरेबापत त्यसबाट मुनाफा कमाउने अभिप्राय लिएका हुन्छन् । त्यसैले व्यवसाय भनेको मुनाफा कमाउने उद्देश्यले मानिसले सञ्चालन गर्ने आर्थिक क्रियाकलाप हो । व्यवसाय धेरै क्षेत्रहरू समावेश भएको व्यापक शब्द हो । शाब्दिक अर्थमा व्यवसायले ‘व्यस्त रहने अवस्था’ भन्ने बुझाउँछ । यो अर्थ ज्यादै व्यापक छ किनभने मानिस कुनै पनि समय कुनै न कुनै काममा व्यस्त रहेको हुन्छ । तर ती सबै व्यस्ततालाई व्यवसाय भन्न सकिन्नँ । आर्थिक उद्देश्य राखेर मानिसद्वारा सम्पादन गरिने कार्यलाई मात्र व्यवसाय भनिन्छ । त्यसैले व्यवसायअन्तर्गत जीवनोपार्जन तथा जीविकोपार्जनको लागि गरिने सम्पूर्ण मानवीय कार्यहरू पर्दछन् ।

सामान्यतः मुनाफाआर्जन गर्ने उद्देश्यबाट सञ्चालित सामाजिकरूपमा स्वीकार्य र वैध आर्थिक क्रियाकलापलाई ‘व्यवसाय’ भनिन्छ । व्यवसायको प्रमुख लक्ष्य समाजमा बस्ने मानिसहरूको असीमित आवश्यकताहरूको पूर्ति गर्नु हो । त्यसैले उद्योग, व्यापार र वाणिज्य सेवाहरूद्वारा वस्तु तथा सेवाहरूको महत्व सिर्जना गरी अन्तिम उपभोक्ताको आवश्कयता पूरा गर्नुपर्छ । यसरी व्यवसायको सम्बन्ध वस्तु तथा सेवाहरूको उत्पादन, वितरण र विनिमयसँग रहेको पाइन्छ । व्यवसाय नाफाद्वारा प्रेरित आर्थिक क्रियाकलाप भए पनि यसमा सधैँ नाफा नै हुन्छ भन्ने छैन । यसमा जोखिम तत्व समावेश हुन्छ । त्यसैले भनिन्छ ‘जोखिम छैन भने व्यवसाय हुँदैन’ । साथै, व्यवसाय निरन्तर चलिरहने प्रक्रिया हो । यदि कुनै आर्थिक क्रियाकलाप निरन्तररूपमा गरिँदैन भने त्यो व्यवसाय हुँदैन ।

व्यवसायको विकास र विस्तार जतिसुकै भएको भए पनि यसको स्थापना एवं सञ्चालन गर्ने विषय सजिलो छैन । पुँजी, जोखिम, उद्यमशीलताजस्ता थुप्रै पक्षमा गम्भीर भएर विश्लेषण गरेपछि मात्र कुनै व्यवसाय गर्ने वा नगर्ने निधो गर्न सकिन्छ । व्यवसायलाई धैर्य र युक्तिको काम मानिन्छ । भावना, संवेदनशीलता एवं पक्षपातमा यसको कुनै संलग्नता रहँदैन । यसैले कठोर कारोबार गर्नुपर्दा ‘यो व्यवसाय हो भावना होइन’ भन्ने गरिन्छ । व्यावसायिक स्वार्थ भनेको निःस्वार्थ होइन । आर्थिक स्वार्थका लागि व्यवसाय अँगालिन्छ । यसर्थ थुप्रै पक्ष र विषय विश्लेषण गरेर मात्र व्यवसायमा प्रवेश गर्ने निर्णय लिनुपर्छ । नयाँ व्यवसाय गर्न चाहने प्रत्येक व्यक्तिले कुन व्यवसाय गर्ने हो त्यसको पहिचान गर्नु साह्रै आवश्यक हुन्छ । सुरुमै एकैपटक यो व्यवसाय गर्ने भनेर रोज्न त सकिन्नँ, तैपनि व्यवसायको क्षेत्र र प्रकृति भने रोज्नैपर्छ । व्यवसाय रोज्न केही पृष्ठभूमिले सघाउ पुर्याउँछ । कसैको पुर्ख्यौली व्यवसाय हुन्छ, त्यसकै अनुभवबाट व्यवसाय रोज्न सकिन्छ । यसका साथै विभिन्न किताब पढेर, सम्बन्धित व्यक्तिसँग छलफल गरेर, व्यवसायको अवलोकन गरेर आदिमध्ये कुनै किसिमबाट यो व्यवसाय ठीक होला भनी पहिचान गर्नु उपयुक्त हुन्छ । व्यावसायिक वातावरणले व्यावसायिक संगठनमा विभिन्न किसिमले प्रभाव पार्ने भएकाले व्यावसायिक वातावरणको ठूलो महत्व हुन्छ ।

सफल व्यावसाय प्रारम्भ गर्ने पहिलो चरण असल परियोजना विचारहरूकोे खोजी गर्नु भनिन्छ । सफलताको कुञ्जी ठीक समयमा ठीक व्यावसायमा प्रवेश गर्नुमा हुन्छ । यस्तो परामर्श सरल देखिन्छ । तर सु–सम्पादन गर्न कठिन हुन्छ । किनकि असल व्यावसायिक अवसानहरू दुर्गाहृदय हुन्छन् । यस्ता अवसरहरू पहिचान गर्नका लागि कल्पना, वातावरणीय परिवर्तनमा संवेदनशीलता र संस्थाले के गर्न सक्छ भन्ने सम्बन्धमा यथार्थवादी मूल्याङ्कन आवश्यक हुन्छ । अवसर पहिचान गर्ने कार्य विभिन्न कुरामा निर्भर हुन्छ र विभिन्न कुराले असर पार्छ । यस कार्यका लागि आंशिकरूपमा परिमाण व्यक्त गर्नयोग्य तत्वहरूका वस्तुगत विश्लेषण आवश्यक हुन्छ र आशिंकरूपमा गुणात्मक तत्वहरूका विषयगत विश्लेषण आवश्यक हुन्छ । त्यस्तै, यस कार्य आशिंकरूपमा केन्द्रित सोचाइ र आशिंकरूपमा विचलित सोचाइमा निर्भर गर्छ । पहिचान भनेको विश्लेषणात्मक अभ्यास नभएर सञ्चालन गर्ने प्रक्रिया हो । पहिचानका धारणा सजिलो भए पनि यसलाई सम्पन्न गर्न कठिन हुन्छ । किनकि यस कामका लागि मार्गदर्शन गर्ने कुनै सुपरिभाषित सिद्वान्त छैन ।

विचार सिर्जनाको विधिको प्रयोग गर्न धेरै जानकारी र स्वतः विश्लेषणपश्चात पनि निश्चित व्यावसायिक विचार सिर्जना हुन नसकेमा विभिन्न उपायद्वारा व्यावसायिक विचारको सिर्जना गर्नुपर्छ । समूह केन्द्रित विधिअन्तर्गत व्यावसायिक विचार सिर्जना गर्ने बेलामा केही व्यक्तिहरू जो प्रत्यक्षरूपमा व्यवसाय सञ्चालनमा आबद्ध हुन्छन् । तिनीहरूलाई निश्चित खाकामा जानकारीहरू दिन लगाइन्छ । अन्त्यमा ती सबै जानकारीको विश्लेषण गरी व्यावसायिक विचारको छनोट गरिन्छ । यस्तो समूहमा बस्ने मानिसहरू आठदेखि १४ जनाको सङ्ख्यामा हुन्छन् र विषयगत ज्ञाता पनि हुन्छन् । मानसिक दबाब विधि समूह केन्द्रित विधिमा छलफल गरेर विचार सिर्जना हुने गरिएको हुन्छ । तर यस विधिमा समूहको एउटा व्यक्तिले अर्को व्यक्तिको आलोचना गर्न पाउँदैन । यस विधिमा चाहिँ व्यक्तिले बृहत् विचार भने राख्न पाउँछ र विचारहरू असङ्ख्य सङ्ख्यामा आउनुपर्छ । त्यसैगरी यस विधिमा सुधारात्मक विचारहरू राख्ने छुट पनि हुन्छ । मानसिक दबाब विधिको प्रमुख उद्देश्य भनेको विचारको गहिराइमा पुग्नु हो । जसले सामान्यदेखि जटिल समस्याको पहिचान गरी व्यावसायिक अवसर छोप्ने आधार प्रष्ट्याउन सक्छ ।

व्यावसायिक अवसरको पहिचान व्यावसायिक अवसर भनेको बाह्य वातावरणको एउटा यस्तो क्षेत्र हो, जसको सदुपयोग गर्न सकेमा उद्यमीले उच्च कार्यसम्पादन एवम् सफलता प्रापत गर्न सक्छ । यसले उद्यमीलाई नयाँ व्यवसाय आरम्भ गर्न र आफ्नो हित अभिवृद्धि गर्न उत्प्रेरित एवम् सक्षम बनाउँछ । विभिन्न आर्थिक, राजनीतिक, कानुनी, सामाजिक–सांस्कृतिक एवम् प्राविधिक वातावरणीय तत्वहरूमा आउने परिवर्तनले व्यावसायिक अवसरहरू सिर्जना गरेर नयाँ व्यवसायको आरम्भ गर्नमा उद्यमीहरू सक्षम हुनुपर्छ ।

व्यवसाय नै मानवीय गतिविधि भएकाले मानवीय उद्देश्य रहनु अस्वाभाविक होइन र व्यवसायलाई मानवीय कार्य मानिनुको अर्थ कामदार र ग्राहकबाहेक अन्य पक्षमा पनि मानिसकै संलग्नता रहनु हो । सामान आपूर्तिकर्ता, वितरण माध्यमका प्रत्येक विन्दुमा संलग्न मध्यस्थहरू, अन्य व्यक्तिहरू सबैको हित हेर्नु व्यवसायका कर्तव्यभित्र पर्दछन् । उद्योगलाई व्यवसायको आधारभूत क्षेत्र मानिन्छ । सबै औद्योगिक गतिविधि व्यवसायको क्षेत्रमा पर्दछन् । औद्योगिक गतिविधिअन्तर्गत निष्कर्षणात्मक उद्योग, उत्पत्तिजनक उद्योग, उत्पादनमूलक उद्योग, निर्माण उद्योग आदि पर्न आउँछन् । व्यवसायले राष्ट्रिय विकासका लागि ठूलो योगदान पुर्याउँछ । राष्ट्रिय विकासका मापदण्डका रूपमा कुल गार्हस्थ उत्पादन, रोजगारी, आर्थिक गतिविधि, श्रमशक्तिको प्रयोग आदि रहने गर्दछन् ।

जब वस्तु तथा सेवा अरूको भन्दा केही फरकखालको हुन्छ त्यसले उपभोक्तालाई आकर्षण गर्न सक्छ । यसबाट आकर्षित उपभोक्तालाई सन्तुष्ट पार्न सकियो भने ऊ सधैँको ग्राहक बन्न सक्छ । जसबाट व्यापार व्यवसायमा वृद्धि हुन्छ । व्यवसायमा नयाँ प्रक्रियाको प्रयोग वस्तु उत्पादनका क्रममा त्यसलाई प्याकिङ गर्ने क्रममा, त्यसलाई डिजाइनिङ गर्ने क्रममा र त्यसलाई प्याकिङ गर्ने क्रममा, त्यसलाई डिजाइनिङ गर्ने क्रममा र त्यसलाई विभिन्न किसिमले प्रवद्र्धन गर्ने क्रममा प्रयोग गर्न सकिन्छ । यसबाट आफ्नो वस्तु तथा सेवालाई अरूको भन्दा आकर्षक र फरक बनाउन सकिन्छ । जुन बजारशास्त्रको महत्वपूर्ण पक्ष पनि हो । आजको प्रतिस्पर्धी तथा छनौट पूर्ण जमानामा ग्रामीण जनताले पनि आफ्नो वस्तु तथा सेवाहरूलाई बजारमा बिक्री गर्नको लागि विभिन्न रणनीति अपनाउनु पर्दछ । यसको लागि उपयुक्तत विचार र रणनीति सधैं आवश्यक हुन्छ । जसबाट उनीहरू आफ्ना वस्तु तथा सेवालाई सजिलोसँग बजारीकरण गर्न सक्षम हुन्छन् । हाम्रो ग्रामीण क्षेत्रमा प्रचुर मात्रामा प्राकृतिक स्रोत व्यावसायिक सिपहरू कला संस्कृतिहरू रहेका छन् । तिनीहरूलाई कसरी एक व्यावसायिक उत्पादन बनाएर बेच्न सकिन्छ ? त्यसबाट कसरी जीवनस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने विषयमा चिन्तित हुनुपर्दछ । यसरी ग्रामीण स्रोतहरूलाई विवेकपूर्ण तरिकाले उपयोग गरौँ, बजारमा बिक्रीयोग्य बनाउन सके ग्रामीण बजारीकरणमार्फत् ग्रामीण विकास सम्भव हुन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x