Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रविधिमैत्री समाजवाद

प्रविधिमैत्री समाजवाद


काठमाडौं । उहिले–उहिले मीठो चामलको भात र मैदाको परिकारहरूमा मानिसहरू धेरै रमाउँथे । धनीमानीको खान्कीमा पर्दथ्यो यो । गरिब गुरुवाको खान्की मकैबाट पनि झरेर कोदाको ढिँडो वा रोटी र सिस्नुको तिउन थियो । यस्तो चीज खानेलाई गरिब भनिन्थ्यो । सबैले हेला गरेको अनाज भएकाले यसको मूल्य पनि केही सस्तो थियो । आजकल यस्ता चिजहरूको मूल्य ह्वात्तै बढेका छन् । मानिसहरूले कोदाको पाउरोटीसम्म निकाले । कारण यो हो कि मीठो खानेहरूलाई रोगले च्याप्दै ल्यायो । स्वास्थ्यका लागि यी वस्तुहरू राम्रा र फाइदाजनक देखिए । यसैले अब यो मध्यम वर्ग र धनीमानीको रोजाइको खान्की बनिरहेको छ । अब त कोदोको खान्कीको प्रचारका लागि मिटिङ, गोष्ठी र प्रवचनहरू हुन थालेका छन् । कोदोको गुणगान गाउँदै विभिन्न देशहरूमा पुस्तकहरू पनि निस्किरहेको छ । यसैले भनिन्छ, कुनै पनि चिजको दिन आउँछ ।

हाम्रा राजनीतिक विचारहरू पनि यसैगरी विकास हुँदै आएका हुन् । पुँजीवाद चारैतिर हाबी भइरहेको थियो । किनभने मानिसले हातले गर्ने काम मेसिनले विस्थापित गरिरहेको थियो । कपडा बुन्ने हाते तानहरू बेकम्मा भई थन्किन थालेका थिए । किनकि मेसिनले छिटो र धेरै परिमाणमा सामनहरू उत्पादन गर्न थाले । हजारौंहजार थान सामानहरू केही घण्टामा उत्पादन हुने भएपछि हिजोका हाते तान सञ्चालन गर्नेहरूको कामको औचित्य हराएको थियो । उनीहरू पनि त्यही प्रकारको कारखानामा काम गर्ने मजदुर हुन बाध्य भएका थिए । पावर लुमहरूको महत्व बढ्यो । यस्ता सामानहरू बेचेर पुँजीपतिहरूले अथाह पुँजी जम्मा गर्न थाले । संसारमा पुँजीवादको चकचकी बढ्यो । यसको प्रशंसा पनि चारैतिर हुन थाल्यो । किनभने संसारमा भित्रिएको यो नौलो प्रविधि थियो । तर यसैभित्र मजदुरहरूको पीडा छुट्टै थियो । त्यो सुनिदिने कुनै निकाय थिएन । तैपनि पुँजीवाद हाबी भइरहेको थियो । यही समयमा मार्क्सवादको पनि जन्म भयो । मेसिनबाट अथाह सामानहरू उत्पादन हुन थालेपछि देशभित्रको बजारमा खपत भएर सामान सकिएन । यसैले सामान बेच्न दोस्रो मुलुकमा बजार खोज्नुपर्ने बाध्यता आइलाग्यो । यस्तो औपनिवेशिक बजारका लागि संसारभरका पुँजीवादी मुलुकहरूको टकराव र लुछाचुडी सुरु भयो । यही समयमा मार्क्सवादको महत्व अझ बढ्यो । मार्क्सवाद अरू केही नभएर श्रम सम्पत्ति र सत्ताको सन्तुलनको सिद्धान्त हो । राज्यभित्र यी तीन कुराको सन्तुलन मिलाउन कोसिस गर्नुहोस निकै ठूलाठूला समस्याहरूको पनि सामाधान निस्किन थाल्छ । तर हामीले पुँजीवाद र माक्र्सवाद दुवैलाई अलिक जटिलरूपमा बुझ्यौँ । यी दुवै वाद मानिसहरूको व्यवहार र विचारको विकासकै परिणामहरू थिए ।

खानपान र स्वास्थ्य विज्ञानमा मानिसहरूको ध्यान ज्यादा गयो । यसैले यस क्षेत्रमा निकै विकास भयो । गाँस, बास र कपासको आवश्यकता पूर्ति गर्न र स्तरीय जीवन जिउन मानिसहरूले प्रविधिमा पनि स्तरीयताको विकास गर्दै गए । भौतिक विज्ञान, रासायनिक विज्ञान र अन्य विज्ञानको क्षेत्रमा पनि मानिसहरूले विकास गर्दै गएको पाइन्छ । यी सबै विकास मानिसका आधारभूत आवश्यकताको पूर्ति गर्ने क्रम र स्तरीय जीवन जिउने चाहनाको कारण थियो ।

आवश्यकताको आपूर्तिसँगै मानिसहरूको धन कमाउने शोख कहिल्यै पूरा भएन । जसले अथाह पुँजी जम्मा गरिसकेको छ, उसलाई त्यतिले अझ पुगेन । ऊ धन कमाउन अझ लालायित भयो । जसलाई बाँच्न र परिवार पाल्न धौँ–धौँ परेको छ उसमा कसरी जीवन जिउने भन्ने चिन्ता मात्र बाँकी रह्यो । यसैले जिउनका लागि संघर्ष गर्नेहरू र अथाह पुँजी जम्मा गर्नेहरूको बीच मनमुटाव सुरु भयो । एकातिर जसरी भए पनि मजदुरलाई कम ज्याला दिई अतिरिक्त पुँजी जम्मा गर्नेतिर पुँजीपति लाग्यो । मजदुर आफ्नो नारकीय जीवनबाट मुक्त हुन ज्याला वृद्धि र हप्तामा एक दिन छुट्टीको व्यवस्थाका लागि संंघर्ष गर्न थाल्यो । सर्वप्रथम बेलायतमा भएको औद्योगिक क्रान्तिले यो अवस्थाको सिर्जना गरेको थियो । गाउँ–गाउँबाट मानिसहरू कामको खोजीमा सहरतिर आउन थाले । नयाँ–नयाँ खुलेका उद्योगहरूमा उनीहरूको श्रम खपत भयो । पुँजीवादको सुरुवात औद्योगिक क्रान्तिबाट भएको थियो । औध्योगिक क्रान्ति अठारौँ शताब्दीको मध्यदेखि उन्नाइसौँ शताब्दीको मध्यसम्म रह्यो । औद्यौगिक क्रान्तिको असर संसारभर देखापर्यो । बेलायतपछि फ्रान्स, नेदरल्यान्ड, बेल्जियमजस्ता राष्ट्रको त्यतिखेर खुब नाम चलेको थियो । यी राष्ट्रहरूले ठूलाठूला साम्राज्य खडा गरेका थिए । औद्योगिक सहरहरूमा ठूलाठूला मजदुर आन्दोलनहरू हुन थाल्यो । यसको नेतृत्व मार्क्सवादी कम्युनिस्टहरूले गर्न थाले ।

संसार दुई विचारमा विभक्त भए । एकातिर पुँजीवाद र अर्कातिर समाजवादी विचार थियो । समाजवादी विचारको कार्यरूप सर्वप्रथम सोभियत संघमा लेनिनको नेतृत्वमा सम्पन्न भयो । सोभियत संघ संसारमा पहिलो समाजवादी राष्ट्र बन्यो । दोस्रोमा चीन आयो । माओत्सेतुङ्गको नेतृत्वमा चिनियाँ सत्ता देखापर्यो ।

समय क्रममा पुँजीवादले पनि आपसी झगडा र लुछाचुडीवाट हानि हुने कुरा पत्ता लगाए । यसले गर्दा पुँजीवादीहरू आपसी मेलमिलापबाट अगाडि बढ्न थाले । यो नै पुँजीवादको आजको रूप हो । सिन्डिकेट, कार्टेल र निगमको माध्यमबाट पुँजीवादीहरू आजकल मिलेर काम गर्न लागेका छन् । सिन्डिकेट भनेको उस्तै प्रकारका उद्योगीहरू आपसमा मिलेर चल्ने अवस्था हो । यसले प्रतिस्पर्धाबाट हुने नोक्सानीबाट बचाउँछ । कार्टेल पनि एउटा त्यस्तो संगठन हो जसले प्रतिस्पर्धाबाट अवमूल्यन हुने नोक्सानीबाट आफूलाई बचाउँछ । ओपेक एउटा कार्टेलको महत्वपूर्ण उदाहरण हो । यो विश्वमा तेल उत्पादक राष्ट्रहरूको संगठन हो । यसले तेलको मूल्य निश्चित गर्छ र मनोपोली सिर्जना गर्छ । अत्यधिक नाफा कमाउनु यसको उद्देश्य हो । यस्तैगरी निगमले पनि विश्वबजारलाई कब्जा गर्दछ । उपभोक्तालाई काहीँ उम्किन नदिनु यसको उद्देश्य हो । यसका लागि यसले सियोदेखि रकेटसम्म आफैँ उत्पादन गर्छ । बजारमा उसका मात्र सामान पाइने भएपछि त्यो किन्न उपभोक्ताहरू बाध्य हुन्छन् । प्रशस्त मुनाफा कमाउनु यसको पनि उद्देश्य हो । बहुराष्ट्रिय निगम यसको उदाहरण हो । जस्तो कि सिंहदरबार वैद्यखानाले ‘भुवनेश्वर बट्टी’ नामको एक किसिमको ग्यास्ट्रिकको औषधि उत्पादन गर्दथ्यो । यो ग्यास्ट्रिकका लागि असाध्यै फायदाजनक औषधि हो । बहुराष्ट्रिय निगमले भुवनेश्वर रस भनेर निकाल्यो । आजकल वैद्य खानाले यो औषधि निकाल्नै छाडेको छ । तपाईं हामीले चलाउने टुथपेस्ट पनि बहुराष्ट्रिय निगमले नै निकाल्छ । यसरी आज पुँजीवादले भू–मण्डलीकृतरूपमा आफूलाई विकास गरेको छ ।

पुँजीवादीहरू आपसमा मिलेर अगाडि बढ्न थालेकाले उहिलेजस्तो लडाइँझगडा उनीहरू बीचमा देखिँदैन । यी सबै क्रियाकलापले पुँजीवादले आफूलाई सच्याएर अगाडि बढेको देखिन्छ । समाजवादीहरूले समयक्रममा सिक्नुपर्ने ज्ञान सिकेनन् । बदलिँदो समय क्रमसँगै बदलिएको अवस्थाअनुसार आफूलाई परिष्कृत गर्न सकेनन् । यद्यपि बितेको समयले सिकाएको पाठ निम्नअनुसार थियोः–
१) सोभियत संघ र पूर्वी युरोपमा समाजवादी सत्ता एकपछि अर्को ढल्दै सिध्यिए । राज्य नियन्त्रित अर्थतन्त्रको असफलता यसको कारण थियो । राज्यसत्तामा हुनेहरू मालिकजस्ता, साधारण जनता कामदारजस्ता भए । कामदारहरूको इच्छा र मागहरू त्यहाँ गौण हुन थाल्यो । सत्तासीनहरूको इच्छा प्रमुख बन्यो । जनता पाउरोटी चाहन्थे, सरकार ठूलाठूला भारी मेसिनहरू र युद्ध सामग्रीमा पैसा खर्च गर्दथ्यो । समूह र समुदाय केन्द्रित अर्थतन्त्र विकल्प हुन सक्थ्यो । त्यता सत्तासीनहरूको ध्यान कहिल्यै गएन । त्यत्रो ठूलो राष्ट्र सोभियत संघमा त जनता पाउरोटी पाउन लाइन लागेको देख्दा टीठ लागेर आउँथ्यो ।

२) उत्पादक शक्तिमा परिवर्तन: बीसौं शताब्दीको मध्यसम्ममा विज्ञान र प्रविधिले अत्यधिक विकास गर्यो । प्रायः सबै काम मेसिन र रोबोर्टले गर्न थाल्यो । यसबाट मजदुरहरूको काम खोसियो । मजदुर वर्ग बेरोजगार हुन थाले । माक्र्सले भन्ने गरेको उत्पादक शक्ति मजदुर अब उत्पादक शक्ति रहेनन् । उत्पादक शक्ति अब मजदुर नभएर प्रविधि हुन गयो । अबको उत्पादक शक्ति मानिस होइन प्रविधि हो । ज्यादै न्यून संख्यामा मानिसहरूको प्रयोग हुन्छ । त्यो पनि प्राविधिकहरू हुन्छन् । उनीहरूलाई यथेष्ट तलब र सुविधाहरू प्राप्त हुनाले उनीहरू क्रान्तिकारी हुँदैनन् । यी कुराहरूलाई ख्याल गरी अबको समाजवाद पनि प्रविधिमा आधारित हुनुपर्छ ।

३) सधैँ सत्तामा टासिरहने प्रवृत्ति: समाजवादी भनिएको सरकारमा बस्ने प्रमुख व्यक्तिहरू कहिल्यै सत्ताबाट ओर्लिन चाहेनन् । जसका कारण जनताबाट तिरस्कृत उनीहरूलाई जनताले घोक्रेठ्याक लगाएर सत्ताबाट खसाल्नुपरेको थियो । जस्तै, रुमानियाका चाउचेस्कुलाई यस्तै गर्नुपरेको थियो ।

यसैले समाजवादीहरू पनि सच्चिनु जरुरी छ । समाजवादी अर्थतन्त्र भनेको राज्य नियन्त्रित अर्र्थतन्त्र मात्र हैन । यो जनता नियन्त्रित पनि हुनुपर्छ । यो समूह र समुदाय केन्द्रित हुनुपर्छ । समूह र समुदाय हाम्रो पुरानोभन्दा पुराने सामाजिक संगठन हो । यसले आफ्नो समुदायको हित के हो ? राम्रोसँग चिन्दछ । हाम्रोजस्तो विकासोन्मुख देशमा समुदाय केन्द्रित उद्योगहरू खोलिनुपर्छ । यस्ता उद्योगहरू कृषि पशुपालन र जडिबुटीसँग सम्बन्धित हुनु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x