सिंहदरबार गेटमा सधैँ भिडभाड किन ?
काठमाडौं । सिंहदरबारका तीन वटा गेटहरूमध्ये दक्षिण गेटमा हरेक हप्ता आइतबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदाका दिनमा बाहेक अन्य दिनहरूमा सेवाग्राहीहरूको भिडभाड देखिन्छ । भिड हेर्दा लाग्छ कि, सिंहदरबारभित्र भोज भतेर चलिरहेको छ । आखिर किन हुन्छ त त्यहाँ भिडभाड ? कतिपय सेवाग्राही सेवा लिनका लागि सिंहदरबार प्रवेश गर्छन् भने कतिपय सिंहदरबार अवलोकन तथा घुमघामका लागि छिर्ने गरेका हुन्छन् । कोही त झन मन्त्री वा सरकारी पदाधिकारीसँगै उभिएर फोटो खिचेर फेसबुकमा हाल्ने उद्देश्यले पनि सिंहदरबार छिर्ने गरेको पाइन्छ । ठूला पार्टीका संसदीय कार्यालयहरू पनि सिंहदरबारभित्रै छन् । सिंहदरबारको पश्चिमतर्फको मूल गेटबाट सरकारी नम्बर प्लेटका सवारी साधनहरू प्रवेश गर्छन् । त्यस्ता सरकारी सवारी साधनहरू मन्त्री, सचिव, सहसचिव र गाडी सुविधा पाएका उपसचिवसम्मले प्रवेश पाउँछन् । दक्षिण गेटबाट भने निजी गाडी तथा सरकारी एवं निजी नम्बर प्लेटका मोटरसाइकल र साइकल प्रवेश हुन्छन् । त्यस्तै, सवारीसाधनको सुविधा नपाएका अधिकृत तथा सहायक कर्मचारीहरू पनि उक्त गेटबाट पैदल प्रवेश गर्छन् । यसैगरी पूर्वीगेट कर्मचारीहरूका लागि मात्र बिहान नौबजेदेखि एघार बजेसम्म र बेलुकी जाडोको दिनमा तीन बजेदेखि पाँच बजेसम्म तथा दिन लम्बिएपछि बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुला हुन्छ । विगतको कुरा कोट्याउँदा बखतबखतमा पश्चिमतर्फको बग्गीखानानिरको सैनिक गेटबाट पनि कर्मचारीहरूलाई आवतजावत गर्न छुट दिइएको थियो । उक्त गेट समय–समयका फरक–फरक गृहमन्त्रीको आदेशमा कहिले खुला राखिने कहिले बन्द गर्ने काम भए । सो गेट बन्द गरिएपछि कर्मचारीहरूमा गृह मन्त्रालयप्रति आक्रोश बढेको थियो । उक्त गेट बन्द गरिँदा कर्मचारीहरूले हैरानी खेप्नुपरेको थियो । पुतलीसडक हुँदै बस चढ्नका लागि सुन्धारा वा रत्नपार्क जान दक्षिण गेटभएर घुमेर निस्कनुपर्ने भएकाले समयको बर्बादी र थकान पनि हुनेहुँदा कर्मचारीहरूमा असन्तोष हनु स्वाभाविकै हो ।
सिंहदरबारको पुराना प्रसंग: राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईसं १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । अचम्मको र पत्याउनै नसकिने कुरा यो छ कि यसको निर्माण कार्य सुरू भएको एक वर्षभित्र नै सम्पन्न भएको थियो । निर्माण पूरा हुँदा यसमा १७ सय वटा कोठाहरू थिए, जुन त्यस बेलाको नेपालको मात्र नभएर एसियाकै सबैभन्दा ठूलो दरबार थियो । यसको निर्माणका लागि त्यसबखतको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो । यो नेपालको एक ऐतिहासिक दरबार हो । विसं २००७ सालमा जहानियाँ राणा शासनको अवसान भएपछि यो दरबारमा धेरैजसो सरकारी निकायहरू रहनुका साथै सार्वजनिक संस्थान नेपाल दूरसञ्चार संस्थानको केन्द्रीय कार्यालय रह्यो । पछि दरबार परिसरमा नेपाल टेलिभिजन र राष्ट्रिय कम्प्युटर केन्द्र राख्ने काम पनि भयो ।
२०४६ सालअघिको व्यवस्था: २०४६ सालअघि कर्मचारीहरूलाई मात्र होइन, जो कोहीलाई पनि सिंहदरबार प्रवेशका लागि परिचयपत्र तथा प्रवेश पास अनिवार्य गरिएको थिएन । २०४६ सालको आन्दोलनपश्चात् धर्ना, जुलुस, विरोधलगायतका कार्यक्रमहरू भइरहने हुँदा सिंहदरबारलाई संवेदनशील क्षेत्र ठानियो र परिचय–पत्र तथा प्रवेश पास अनिवार्य गरियो । त्यतिबेला सिंहदरबारभित्र जथाभावी मान्छेहरूको लर्को पनि लाग्दैन’थ्यो । काम परेकोबाहेक अन्य मान्छेहरू सिंहदरबारभित्र पस्न हिच्किचाउँथे । सिंहदरबारभित्र आवश्यक गाडीहरू मात्र गुड्थे, त्यतिबेला अहिलेको जस्तो प्रदूषित थिएन सिंहदरबार परिसर ।
असुरक्षित सिंहदरबार ? कुनै बखत सिंहदरबारभित्र एकजना सहसचिवले नै गाडीका पार्टपूर्जा चोरी गरेपछि उनी विवादमा परेका थिए । सिंहदरबार असुरक्षित भएको केही प्रसंग देख्न सकिन्छ ।
विसं २०३० सालमा यस दरबारमा ठूलो आगलागी भएको थियो । आगलागीबाट दरबारको पछाडिपट्टिको धेरैजसो भाग जलेर नष्ट भएको थियो । त्यसमा कैयन अभिलेखलगायत सरकारी कागजातहरू जलेका थिए । त्यस भीषण तथा कहालीलाग्दो आगलागीपश्चात् कैयन सरकारी कार्यालयहरू अन्यत्र सार्ने काम भएको थियो । हाल सिंहदरबार परिसरमा नयाँ भवनहरू थपिँदै गएका छन् । यो दरबार पूर्णतया युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यसबेला उनले दरबारका भित्ताहरूमा शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू समेत युरोपबाटै झिकाइएका थिए । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको यो दरबारलाई रेक्ट्रोफिटिङ गरेर नयाँस्वरूप दिइएको छ । दरबारको माथिल्लो कौशीमा पश्चिततर्फ फर्किएको पित्तलको ठूलो सिंहको मूर्ति राखिएको छ । जहाँ स्थापनाकालमा नेपाल टेलिभिजनको यही चौथो तलाबाट प्रसारणको सुरुवात भएको थियो ।
राणाकालदेखि नै प्रशासनिक केन्द्र रहेको सिंहदरबारमा अहिले प्रायःजसो मन्त्रालयहरू छन् । सुरुसुरुमा दरबार परिसरभित्र धेरैजसो मन्त्रालय थिए । पछिल्लोपटक बाहिरबाट सिंहदरबारमा सारिएका मन्त्रालयहरूमा स्थानीय विकास मन्त्रालय, खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालय हुन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने अहिले पनि सिंहदरबारको बाहिरपट्टि अर्थात् सिंहदरबारको पश्चिमपट्टि रहेको छ । कुनै बखत सिंहदरबारभित्र रहेको मुख्य भवनको पश्चिमपट्टि बग्गीखानातर्फको खाली जमिनमा सर्वोच्च अदालतको भवन निर्माणस्थल भनेर बोर्ड पनि राखिएको थियो । तर सर्वोच्च अदालतले साविककै स्थान र भवनबाट नै सेवा प्रवाह गर्दै आइरहेको छ ।
एकजनाको साथमा १५ वटा पास: २०६८ सालमा यो लेखक काम विशेषले चक्रपथस्थित एउटा इन्जिनियरिङ कन्सल्टेन्सीमा गएको थियो । इन्जिनियर आइनपुगेकाले लेखक कुर्सीमा बसेर उनलाई कुरिरहेको थियो । अर्को कोठाबाट आएको आवाज यस लेखकको कानमा ठोक्कियो ‘किन धन्दा मान्छौ ? सिंहदरबार छिर्ने पास मसँग त १५ वटा छन् । कति चाहिन्छ, मलाई भन्नु ।’ लेखकले सोच्यो– ‘सिंहदरबारभित्रको संवेदनशीलतालाई सिंहदरबारभित्रै रहने कसैले पनि गम्भीरतापूर्वक लिँदारहेनछन् ।’ यो त एउटा उदाहरण मात्र हो, अरूसँग पनि हुन सक्छन् त्यस्ता अवैध पास ।
मन्त्रीमाथि हातपात: यो लेखक खेलकुद मन्त्रालयमा कार्यरत रहँदा मन्त्रीको सचिवालयबाट सिंहदरबारभित्र प्रवेशको लागि गेटबाहिरबाट पन्ध्रजनाको पास माग भयो । स्वकीय सचिवले जान्ने भएर पन्ध्रजनाको पास पठाइदिनुभयो । ती १५ जना व्यक्तिहरू खेलकुद मन्त्रालयमा नआई पर्यटन मन्त्रालयमा गई पर्यटनमन्त्रीको कठालो समाएर हातपात गरेपछि सिंहदरबारमा तरंग पैदा भयो अर्थात् हल्लिखल्ली मच्चियो । त्यसैले सिंहदरबारभित्रको सुरक्षा व्यवस्था अत्यन्तै फितलो छ भन्नुमा अत्युक्ति हुनेछैन ।
फाइदा लिनेहरूमा टाठाबाठा: अहिले सिंहदरबारभित्र छिर्नेहरूमा टाठाबाठाका साथै चुल्ठे, मुन्द्रे, ट्याटु खोपेका, हाफपाइन्ट लगाएका सबैले प्रवेश पाउँछन् । कतिपयले सहायक कर्मचारीहरूलाई नटेर्ने र अनुमति नै नलिई मन्त्री तथा सचिवको कार्यकक्षमा सिधै पस्ने गरेको यस लेखकले प्रत्यक्ष देख्दै आएको कुरा हो । काम पट्याउन यस्तै टाठाबाठाहरूलाई सिधासादाको तुलनामा सजिलो हुने गरेको पाइन्छ । बजेट हत्याउने र नीति निर्माणमा समेत असाधारण किसिमबाट दबाब हुने गरेको कुरा पनि यदाकदा सुनिने गरेको छ । त्यसैले भन्न सकिन्छ– ‘पहुँच छ भने काम हुन्छ र पहुँच छैन भने सिंहदरबार जति प्रवेश गर्न सफल भए पनि हातलाग्यो शून्य हुन्छ ।’
प्रवेश पास पहिले र अहिले: सिंहदरबार प्रवेश गर्नका लागि पहिले सम्बन्धित मन्त्रालय वा निकायले लिखितरूपमा पास प्राप्त गर्नका लागि प्रहरी सुरक्षा गणलाई पत्राचार गर्नुपथ्र्यो । तर कारण खुलाएर मात्र पत्र लेख्नुपथ्र्यो । अहिले भने नागरिकता वा सवारी चालक अनुमतिपत्र बोकेका जसलाई पनि पास दिनेगरेको पाइन्छ । सिंहदरबारभित्र रहेका निकाय वा मन्त्रालयहरूबाट तोकिएका कर्मचारीमार्फत् अनलाइन पद्धतिबाट पास पठाइने व्यवस्था सुरुवात भएको करिब १५ वर्ष भइसकेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया