Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबालिकाको जन्मसंख्या प्राकृतिक कि कृत्रिम ?

बालिकाको जन्मसंख्या प्राकृतिक कि कृत्रिम ?


काठमाडौं । २०७८ को जनगणनाको तथ्याङ्कको आधारमाथि उभिएर केलाउँदा बालकभन्दा बालिका कम जन्मिएको देखिन्छ । नेपालमा एक सय १२ जना बालक जन्मिँदा एक सय जना मात्रै बालिका जन्मिएको तथ्याङ्कले बताउँछ । अर्थात् राष्ट्रिय तथ्याङ्कको अनुसार हरेक एक सय जना बालक जन्मिँदा १२ जना बालिका कम जन्मिएको पाइयो । यो क्रम जारी रहेमा भोलि लैङ्गिक असन्तुलन बढ्ने खतरा देखियो । यस हिसाबले केलाउँदा हजार बालिका जन्मिँदा एक हजार एक सय बीस जना बालक जन्मिने भए । यो सवाल उठ्छ, यो जन्मदर प्राकृतिक हो कि कृत्रिम हो ? प्राकृतिक हो भने पनि चिन्ताको विषय हो, कृत्रिम हो भने पनि चिन्ताको विषय हो । प्राकृतिक हो भने केही गर्न नसकिएला कृत्रिम हो भने उपचार सम्भव होला । किन बालकभन्दा बालिकको जन्मदर थोर भएर बालकको भन्दा जनसंख्या कम भयो भनेर गहिरोसँग राज्यले जाँच पड्ताल गर्नुपर्छ ।

पछिल्ला केही दशकयता सरकारको नीतिबमोजिम बढीमा दुई सन्तान मात्रै जन्माउन पाउने भएको छ । अर्थात् दुई सन्तान ईश्वरको बरदान भन्ने नाराले व्यापकता पाएको थियो । दुई सन्तान वा एक सन्तान जन्माउन चाहेमा छोराको नै चाहना बढ्ता गर्ने दम्पती धेरै पाइन थालेको छ । धेरैले गर्भमा जे छ त्यही नै सकुशल जन्मियोस् भन्ने चाहना गर्छन् । तर एउटा सानो संख्याले छोरो भए मात्रै जन्माउने भनेर डाक्टरी परीक्षण गराएर छोरो भए मात्र जन्माउने र नभएमा भ्रूण हत्या याने गर्भपतन गराएर भए पनि छोरी जन्मनबाट रोक्ने क्रम बढेको छ । छोरी कम जन्मेको एउटा कारण यो पनि हुन सक्छ । यो कारण हो भने यसलाई कृत्रिम कारण भन्न सकिन्छ । यो गहिरोसँग अनुसन्धान र अध्ययन गर्नुपर्छ । प्राकृतिक हो भने वैज्ञानिक अध्ययन र अनुसन्धानको विषय हो ।

राष्ट्रिय जनगणना २०७८ माथि आधारित भएर राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ताले सार्वजनिक गरेको तथ्याङ्कले माथि दिएको बालकभन्दा बालिका कम भएको तथ्य पुष्टि भएको हो । जसअनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ मध्ये १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकाको संख्या ९८ लाख ६९ हजार पाँच सय ३८ भएको पाइएको छ । जनसंख्याको कुल अनुपातमा यो संख्या ३३ दशमलव आठ प्रतिशत मात्रै हो । यसमा बालक र बालिका केलाउँदा ५१ दशमलव आठ प्रतिशत बालक र ४८ दशमलव दुई प्रतिशत बालिका भएको तथ्याङ्कले देखाउँछ । जनगणनामा कुल पुरुषमध्ये ३६ प्रतिशत बालक र कुल महिलामध्ये ३२ प्रतिशत बालिका भएको देखिएको छ । तथ्याङ्कअनुसार सबैभन्दा धेरै बालबालिका १० देखि १४ वर्ष उमेर समूहको देखिएको छ । जो २९ दशमलव पाँच प्रतिशतमा छन् । जनगणनाअनुसार २०५८ बाट २०६८मा आइपुग्दा बालबालिकाको वार्षिक वृद्धिदर शून्य दशमलव ४६ प्रतिशत थियो । २०६८ बाट २०७८ मा आइपुग्दा यो वृद्धिदर ऋणात्मक अर्थात एक दशमलव एक प्रतिशतमा झरेको छ । पछिल्लो दश वर्षको समग्र जनसंख्या १० दशमलव एक प्रतिशतले थप हुँदा बालबालिकाको जनसंख्यामा १० दशमलव नौ प्रतिशशले घटेको छ । यस अवधिमा बालकको भन्दा बालिकाको जनसंख्या चार प्रतिशतले घटेको देखिएको छ । तर समग्र जनसंख्यामा भने पुरुषको जनसंख्याभन्दा महिलाको जनसंख्या छ लाख पचास हजार बढी छ । तर समग्र बालबालिकाको जनसंख्यामा भने बालकको जनसंख्या बालिकाको भन्दा तीन लाख तीन हजारले बढी देखिएको छ । नेपालमा बालबालिकाको अपाङ्गता दर समग्र जनसंख्याको एक दशमलव दुई प्रतिशत छ । यो दश वर्षको बीचमा १५ हजार आठ सय ६८ बालबालिकाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार बालबालिकाहरूको बसाइँसराई दर पनि बढ्दो छ । पछिल्लो जनगणनाअनुसार नौ दशमलव छ प्रतिशत बालबालिकाहरू जन्मस्थानबाट अन्यत्र बसाइँ सरेका छन् । मधेश क्षेत्रमा २० दशमलव सात प्रतिशत बालबालिकाहरू विवाहका कारणले समेत बसाइँसराइमा परेको तथ्याङ्कले देखाएको छ ।

निम्न तथ्याङ्कले बालबालिका पछिल्लो दशकमा घटेको देखिएको छ । यो क्रम झन् घट्ने देखिन्छ । २०५८ सालको जनगणनाले जम्मा एक करोड पाँच लाख ८८ हजार दुई सय ७६ बालबालिका देखाएको थियो । जसमा ५३ लाख ८५ हजार चार सय ४८ बालक र ५२ लाख दुई हजार आठ सय २८ बालिका देखाएको थियो । २०६८ सालको जनगणनाले संख्याले एक करोड १० लाख ८४ हजार तीन सय ११ बालबालिका देखाएको थियो । जसमा ५६ लाख ८५ हजार छ सय चार बालक भएको तथ्याङ्कले देखाएको थियो । बालिकाको जनसंख्या भने ५४ लाख ५८ हजार सात सय सात भएको तथ्याङ्क दिएको थियो । २०७८ सालको तथ्याङ्कले बालक तथा बालिका दुवैको जनसंख्या घटेको देखिएको छ । २०७८ सालमा भने बालबालिकाको कुल जनसंख्या ९८ लाख ६९ हजार पाँच सय ८३ मात्र देखिएको छ । जसमा बालक ५१ लाख १४ हजार पाँच सय पाँच र बालिका ४७ लाख ५५ हजार मात्र तथ्याङ्कले देखाएको छ । यस तथ्याङ्कले देखाउँछ कि २०५८ यता २०६८ सम्ममा चार लाख ९६ हजार ३५ बालबालिका बढेको पाइएको छ । जसमा बालक दुई लाख ४० हजार एक सय ५६ र बालिका २ लाख ५५ हजार आठ सय ७९ छन् । २०६८ यता २०७८ सम्ममा भने १२ लाख १४ हजार सात सय २८ बालबालिकाको संख्या घटेको पाइएको छ तथ्याङ्कअनुसार । २०६८को तुलनामा बालक पाँच लाख ११ हजार ९९ र बालिका सात लाख तीन हजार आठ सय २९ कम भएका छन् ।

जनगणनाको तथ्याङ्कले के पनि देखाएको छ भने नेपालमा ३१ हजार पाँच सय २१ जना बालबालिका नै परिवारका अभिभावकको रूपमा समेत रहेछन् । उनीहरूले बाबुआमा गुमाएकोले यो अवस्था आएको हो । यस्ता परिवारका मुली बालबालिकामध्ये ५३ प्रतिशत बालक र ४७ प्रतिशत बालिका रहेछन् । उनीहरूले आफ्ना अभिभावक नहुँदा अभिभावकत्व समेत सम्हालेका छन् । माथि उल्लेख गरिएका बालबालिकासम्बन्धी सबै तथ्याङ्कहरू १७ वर्षका बालक समूहका हुन् ।

२०७८ को जनगणनाको परिणामले बालबालिकासम्बन्धी चित्र दिएको छ यो निकै गम्भीर र निराशजनक हो । एकतिर बालबालिकाको घट्दो संख्या देखिएको छ भने अर्कोतिर बालबालिकामा पनि बालिकाको संख्या झन् घट्दो देखिनु झनै निराशजनक हो । अहिलेको सामाजिक वातावरण परिस्थिति र युवायुवतीको मनस्थितिको विश्लेषण गर्दा भविष्यमा नेपालमा जन्मदर झनै घट्ने देखिन्छ । त्यसमा पनि बालिकाको संख्या झनै घटेर जाने अवस्था देखिँदैछ । यसले सामाजिक र लैङ्गिक असन्तुलन बढाउने छ । यसको सबै क्षेत्रमा नकारात्मक प्रभाव देखिन्छ ।

घट्दो जन्मदर, बढ्दो विदेश पलायन, घट्दो बालिकाको जन्मदरको निरन्तरता रोकिन सक्ने कुनै बलियो आधार देखिएको छैन । बारम्बारका गठबन्धन सरकारसँग पनि यसलाई सन्तुलनमा ल्याउने कुनै नीतिगत जादुको छडी देखिँदैन । हरेक व्यक्तिमा वा दम्पतीमा समान चिन्ता र चासो आउँछ भन्ने कल्पनाबाहिरको कुरा हो । उनीहरूले त म एकजनाले के फरक पार्छ भन्ने मात्र सोच्ने हो । हरेक एक–एकले त सय हुने हो । सन्तान किन कम जन्माउँछन् अहिलको पुस्ता, अझ किन छोरी जन्माउन चाहँदैनन् र अझ त्योभन्दा बढेरभन्दा सन्तान नै जन्माउन किन चाहँदैनन् भन्ने सवालको जवाफ खोज्न व्यापक सामाजिक मनोविज्ञानको अध्ययन जरुरी देखिन्छ । नयाँ पुस्ताको मनोविज्ञानको अध्ययन जरुरी छ । आम्दानी छैन त सन्तान पनि छैन मानसिकताको अध्ययन गर्नु जरुरी छ । सन्तान जन्माउनु ऋणको बोझ बोक्नु मानसिकतासँग सम्बन्धित अध्ययनको जरुरी छ । महिला, बालबालिका तथा जनसंख्यासम्बन्धी मन्त्रालयले यो सवालसँग जोडिने मन्त्रालयसँग समन्वय गरेर यो सवालको जवाफ खोज्न लाग्नुपर्छ । विकासको योजना बनाउने योजना आयोगले पनि यो पाटोलाई गम्भीररूपमा लिनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x